नियात्रा : भोजपुर–खोटाङको चुचुरोमा पुग्दा... | Khabarhub Khabarhub

नियात्रा : भोजपुर–खोटाङको चुचुरोमा पुग्दा…



पत्रकारिताका झण्डै १० वर्ष बिताउँदा नेपालका चार कुना टेक्ने रहर जागेर आयो । गत वर्ष मानवअधिकारसम्बन्धी एउटा तालिमका क्रममा धुलिखेलको होटल माउन्टेन रिसोर्टमा दुई दिन बस्दा  ‘ताप्लेजुङ–दार्चुला टुर’को योजना बन्यो ।

मूलधारका मिडियाका पत्रकारसहितको तालिममा म काठमाडौंबाट अबेर राति बाइकमा पुगेको थिएँ । भोलिपल्ट बिहान सबैजना गाडीमा फर्किए । म बाइक भएका कारण केही घण्टा रिसोर्टमै बसेँ ।

नेपाल र भारत जोड्ने नेपालका दुईवटा पहाडी जिल्ला ताप्लेजुङ र दार्चुला पुग्ने मेरो सपनाले पूर्ण आकार बनाएको त्यही रिसोर्टको बसाइले हो ।

बिहानी घाममा ब्रेकफास्टपछि म एउटा टेबलमा ल्यापटप, कलम, डायरी र एक कप कफी लिएर बसेँ । पहिले डायरी र पछि जे–जे कुरा ल्यापटपमा लेखिए, त्यो नै ताप्लेजुङ–दार्चुला बाइक टूरको ‘कोरियोग्राफी’ थियो ।

काठमाडौंको बसन्तपुरमा पहिलो ‘नेपाल टुरिजम फेस्टिभल’ सम्पन्न गरेपछि हामीले नेपालको सबैभन्दा लामो मोटरबाइक यात्रा ‘नेपाल टुरिजम प्रोमोसन टुर’ का रुपमा ‘ताप्लेजुङ–दार्चुला बाइक टुर’को यात्रा थालेका हौँ ।’

जेठ १० गतेदेखि ३२ गतेसम्म एकजना कलाकारसहित ६ जना पत्रकारको ताप्लेजुङ–दार्चुला बाइक टुर एउटा अविष्मरणीय यात्रा थियो । म आफैँले नेतृत्व गरेको सो बाइक टुरको पहिलो गन्तव्य थियो, चखेवा ।

हाम्रो साथमा पत्रकार चन्द्र तामाङ, रियाज पौडेल र चन्द्रकला कार्की थिइन् । कलाकारका रुपमा रङ्गकर्मी पवित्रा खड्का थिइन् ।

जेठ १० गते काठमाडौँबाट सुरु भएको यात्राको पहिलो दिन हामी खोटाङको हलेसीमा बास बस्यौँ ।

हिन्दु, बौद्ध र किरातको एउटा महत्वपूर्ण धार्मिकस्थलमा रहेको हलेसीको दर्शनपछि हामी चखेवातर्फ लाग्यौँ । हलेसीपछि खोटाङको सदरमुकाम दिक्तेल पुग्दा स्थानीय पत्रकार दमन राईसँग भलाकुसारी गर्‍याैँ । उज्यालो रेडियो नेटवर्कमा काम गर्दाका सहकर्मी हामीले केही क्षण बात मारेपछि हाम्रो यात्रा चखेवातिर सोझियो ।

हलेसीदेखि दिक्तेलसम्मको बाटो कालोपत्रे छ । तर दिक्तेलदेखि चखेवासम्मको बाटो भने कहीँ ग्राभेल त कहीँ कच्ची छ । एउटा सुन्दर यात्रा गरेका हामी जेठ ११ गते बेलुकी मात्रै चखेवा पुगेका थियौँ ।

हामी त्यहाँ पुग्दा हल्का बतास चलिरहेको थियो । सबैभन्दा पहिले पुग्ने पत्रकार चन्द्र तामाङ र रियाज पौडेलको टिम थियो । कलाकार पवित्रा खड्का र म अन्तिममा पुग्यौँ ।

हामी पुग्दा बादल मडारिएको थियो । सामान्य टिसर्टमा पुगेका हामी त्यहाँ पुगेपछि ज्याकेट लगाउने अवस्थामा पुग्यौँ । नमूना होटलमा हाम्रो बस्ने ग्यारेन्टी थियो । त्यो साँझ भोजपुर पुग्ने योजना नबनेको होइन ।

तर, मडारिएको बादलले बिस्तारै पानी पार्न थाल्यो । पानी परेसँगै अँध्यारो हुन थाल्यो । रात नै परेपछि झन् ठूलो पानी परेको थियो ।

हामी रेनकोट लगाएर भए पनि भोजपुर जाने योजनामा थियौँ । कलाकार पवित्रा खड्का राइडर भन्दा टिपटप बनेर बसेकी थिइन् । तर पानी यति धेरै पर्यो कि हामीले एक पाइला पनि अगाडि बढाउन सकेनौँ ।

अन्ततः थोरै अगाडि बढेर पनि रोकिएपछि पर्यटनमन्त्री सुदन किरातीका प्रेस सल्लाहकार राजन राईलाई फोन गरेर भोजपुर पुग्न नसक्ने जानकारी गरायौँ ।

बाहिर पानी दर्किँदा हामीले तीनवटा रुम लियौँ । झोला, सामान राख्ने र सुत्ने व्यवस्थापन पक्का गर्यौँ । अनि चखेवाको अर्गानिक स्वाद भएको खानेकुरासहित सोमरसको गिलास ‘चियर्स’ गर्‍याैँ । साथमा लाम्चा चखेवाको प्रिय परिकार मानिन्छ ।

अबेर रातिसम्म हामीले यात्रा र आफ्ना भोगाइ अनि आगामी योजनाका लम्बेतान गफ गर्यौँ । जहाँ गफ, त्यहाँ जमघट । यसै पनि हामी नेपालको सबैभन्दा लामो बाइक टुरमा थियौँ ।

हाम्रो यात्राको दोस्रो दिन चखेवाको दृश्यका कारण असाध्यै सुन्दर र प्राकृतिक दृश्यका कारण मनमोहक बन्यो ।

चखेवामा हामीले जेठको गर्मीमा शीतल हावाको स्पर्श भेट्यौँ । समुन्द्र सतहदेखि बाइस सय मिटर उचाइमा रहेको चखेवा भोजपुर र खोटाङको सीमाना हो ।

उचाइमा भएर होला, सुन्दरता र शीतलता असाध्यै मीठो छ । त्यहाँ लाग्ने हावाका एक–एक झोँकाले सुन्दर दृश्यसहितको स्पर्श शरीरलाई सञ्चय गराउँछ । चखेवाबाट सुरु हुने मुन्धुम पदमार्गका कारण पनि यो ठाउँ विशेष मानिन्छ ।

तर, मुन्धुम पदमार्गको जति चर्चा र नाम छ, त्यसले चखेवालाई कहीँ न कतै छायामा पारेको देखिन्छ । हामीलाई यो ठाउँका बारेमा पहिलोपटक नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईँले भनेका थिए, जो ताप्लेजुङ–दार्चुला बाइक टुरका प्रमुख सल्लाहकार हुन् ।

उनको भनाइ थियो, चखेवा जति सुन्दर छ, त्यसको वास्तविकता त्यहाँ पुगेपछि थाहा हुन्छ । काठमाडौँबाट दिनभरिको मोटर यात्रा गरेमा चखेवा पुगिन्छ । तर चखेवा पुग्नेबित्तिकै छाडेर हिँड्न मन मान्दैन ।

बेलुकीपख सूर्यास्तको दृश्य चखेवाबाट असाध्यै सुन्दर देखिन्छ । बिहान सूर्योदयको दृश्य त झन् लोभलाग्दो हुन्छ । बिहानै ५ बजे उठेर सूर्योदयसँगै चखेवा मौसम खुलेको बेला असाध्यै सुन्दर देखिन्छ ।

चिसोका बेला सूर्योदयमा भोजपुरको गाउँ ठाउँ कुहिरोले ढाकेको दृश्य झन् मनमोहक देखिन्छ । वर्षामासका बेला जब पानी पर्छ, चखेवा डाँडा पुरै हरियाली हुन्छ । त्यो हरियालीले धेरैको आँखामा लोभलाग्दो दृश्य राख्छ ।

 

भोजपुर र खोटाङमा अरु पनि धेरै पर्यटकीय गन्तव्य छन् । प्राकृतिक सुन्दरता र हावापानीका हिसाबले चखेवा चुचुरो नै हो । जहाँबाट खोटाङ र भोजपुरका केही गाउँ ठाउँ सुन्दर रुपमा देख्न पाइन्छ ।
हामी ताप्लेजुङसम्म जानुपर्ने भएकाले एक रात बसेर बिहानै सूर्योदयको दृश्य हेर्दै धनकुटातर्फ लाग्यौँ ।

२३ दिन लगाएर हामीले ताप्लेजुङ–दार्चुला बाइक टुर सफलतापूर्वक सम्पन्न गर्दा पनि फेरि–फेरि जान मन लागेको ठाउँ चखेवा नै हो । जुन बाइक टुरका पत्रकार तथा राइडर चन्द्र तामाङ भनिरहन्छन् ।

 

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  १ : १० बजे

इलामको एक मतदान केन्द्रमा विवाद, स्वतन्त्र उम्मेदवारका प्रतिनिधिको मुढा खोसियो

इलाम – इलाम नगरपालिका-७ स्थित रत्नराज्य बहुमुखी क्याम्पस मतदान केन्द्रमा

इलाम–२ मा अहिलेसम्म २२ प्रतिशत मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा

भारतमा विद्युतीय मतदानबारे परेको रिट खारेज

एजेन्सी – भारतमा लोकसभा निर्वाचनअघि विद्युतीय मतदानबारे परेको रिट त्यहाँको

हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित

हुम्ला– हुम्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको