द्वन्द्वग्रस्त सुडानबाट विदेशी नागरिक र दूतावासका कर्मचारी उद्धारको अभियान सुरु | Khabarhub Khabarhub

द्वन्द्वग्रस्त सुडानबाट विदेशी नागरिक र दूतावासका कर्मचारी उद्धारको अभियान सुरु


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुडानमा जारी द्वन्द्वका कारण सडक, हवाई र समुद्री मार्गबाट विदेशी नागरिक तथा दूतावासका कर्मचारीको उद्धारका लागि विभिन्न मुलुक एवम् निकायहरुले अभियान सुरु गरेका छन् ।

राजधानी खार्तुमको मुख्य विमानस्थलमा समेत भिडन्त भएको बताइएको छ । विमानस्थल सेनासँग लडिरहेको अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स आरएसएफको नियन्त्रणमा गएको छ ।

खार्तुमबाट ८५० किलोमिटरको दूरीमा रहेको लाल सागरस्थित पोर्ट सुडान बन्दरगाहबाट पनि उद्धार कार्य भइरहेको छ ।

सुडानमा विभिन्न देशहरूले फसेका नागरिकहरूलाई सुरक्षित स्थानमा पुर्‍याउने प्रयासमा साउदी अरबले सबैभन्दा पहिले पहिलो पटक सफल उद्धारको नेतृत्व गरेको थियो, जसमा नौसैनिक उद्धार टोलीले विदेशी कूटनीतिज्ञ र अधिकारीहरू सहित १५० भन्दा बढी व्यक्तिहरूलाई उद्धार गरेको थियो ।

कुवेत, कतार, संयुक्त अरब इमिरेट्स, इजिप्ट, ट्युनिसिया, पाकिस्तान, भारत, बुल्गेरिया, बङ्गलादेश, फिलिपिन्स, क्यानडा र बुर्किना फासोका गरी १२ मुलुकका नागरिकलाई साउदी अरबले ‘सुरक्षित’ रूपमा उद्धार गरेको जनाएको छ ।

आइतबार अमेरिकी सेनाले खार्तुमबाट अमेरिकी दूतावासका कर्मचारीलाई बाहिर निकाल्न तीन वटा चिनुक हेलिकप्टर पठाएको थियो ।

एक सयभन्दा बढी अमेरिकी सेनाले सोही सङ्ख्यामा एक घण्टाभन्दा कम समयमा मानिसहरूलाई सुडानबाट बाहिरिन सघाएका थिए । अमेरिकी अधिकारीहरुले आगामी दिनमा अमेरिकी नागरिकहरुको उद्दारका लागि व्यापक प्रयास हुने सम्भावना नरहेको बताएका छन् ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानाडाले पनि आफ्नो दूतावासको टोलीलाई बाहिर निकालेको बताएका छन् ।

त्यसैगरी, बेलायती प्रधानमन्त्री ऋषि सुनकले बेलायती सेनाले ‘जटिल र द्रूत’ अपरेसनमार्फत् बेलायती दूतावासका कर्मचारी र उनीहरूका परिवारलाई बाहिर निकालेको बताएका छन् । सुडानमा अझै पनि फसेका बेलायती नागरिकले सामाजिक सञ्जालमा सहयोगको याचना गरिरहेका छन् ।

बेलायतका विदेशमन्त्री जेम्स क्लेभरलीले आइतबार भने, “हामीले तपाईं कति कठिन र डरलाग्दो परिस्थितिमा हुनुहुन्छ भन्ने बुझेका छौं त्यसैले हामी तपाईंलाई सहयोग गर्न काम गरिरहेका छौं ।” नर्वेका राजदूतले नर्वेका अन्य कूटनीतिज्ञ लगायत उनीहरूका परिवारलाई पनि उद्धार गरिएको जानकारी दिएका छन् ।

युरोपियन युनियन (ईयू) ले आइतबार उद्धारका लागि समन्वयको कोसिस भइरहेको बताएको छ । ईयू प्रतिनिधिमण्डलका साथै सात सदस्यको सुडानमा मिसन छ । दुई फ्रान्सेली विमान आइतबार जिबुटीमा विभिन्न देशका २०० जनालाई लिएर अवतरण गरेका थिए ।

नेदरल्यान्ड्सका विदेशमन्त्री वोप्के होक्स्ट्राले केही डच नागरिकलाई फ्रान्सेली विमानबाट उद्धार गरिएको र अर्को समूह संयुक्त राष्ट्रसङ्घको लस्करमार्फत खार्तुमबाट सडकमार्ग हुँदै प्रस्थान गरेको बताएका छन् । ग्रीसको विदेश मन्त्रालयले फ्रान्सको सहयोगमा सुडानबाट उद्धार गरिएकाहरूको पहिलो समूहले खेद प्रकट गरेको जनाएको छ ।

इटालीले आइतबार गरेको सैन्य उद्धारमा ‘देश छोड्न आग्रह गरेका’ सबै इटालियन नागरिक, स्विट्जरल्यान्डका नागरिक र भ्याटिकनका प्रतिनिधिसहित अन्य २०० जनालाई सुरक्षित स्थानमा सारिएको जनाएको थियो ।

जर्मनीले बुधबार जर्मन र अन्य राष्ट्रियताका नागरिकसहित तीन वटा विमान प्रयोग गरी ३०० जनालाई उद्धार गरेको जनाएको छ । स्पेनका अनुसार ३० जना स्पेनी र ७० जना अन्य देशका नागरिक गरी १०० जना यात्रु लिएर स्पेनी सेनाको विमान आइतबार जिबुटीका लागि उडेको छ ।

स्वीडेनका रक्षामन्त्रीले आइतबार एएफपीसँग कुरा गर्दै कूटनीतिज्ञ र अन्य स्वीडेनी नागरिकको उद्धारका लागि १४० देखि १५० सैनिक परिचालन गरिएको बताएका छन् । सुडानमा रहेका १५० जना नागरिकको उद्धारका लागि आयरल्याण्ड सरकारले जिबुटीमा १२ जना सुरक्षाकर्मी तैनाथ गरेको छ ।

त्यस्तै, टर्कीले आफ्ना अनुमानित ६०० नागरिकमध्ये केहीलाई उद्धार गर्न खार्तुमका दुई जिल्ला र दक्षिणी शहर वाड मदनीबाट सडकमार्ग हुँदै आइतबार बिहानैदेखि उद्धारको काम शुरु गरेको जनाएको छ । तर खार्तुमको एउटा मस्जिद नजिकै ‘विष्फोट’ भएपछि उक्त स्थानबाट उद्धार गर्ने योजना स्थगित गरिएको टर्कीको दूतावासले जनाएको छ ।

इजिप्टको सेनाले गत साता सुडानबाट आफ्ना १७७ सैनिकलाई निकालेको थियो । आइतबार विदेश मन्त्रालयले ४३६ जना नागरिक स्थलमार्गबाट बाहिरिएको जनाएको छ ।

सुडानमा १० हजारभन्दा बढी इजिप्सियन नागरिक रहेको अनुमान गरिएको छ । जोर्डनले शनिबार करिब ३०० नागरिकको उद्धार कार्य शुरु गरेको र संयुक्त अरब इमिरेट्स (युएई) र साउदी अरबसँग निरन्तर सहकार्य भइरहेको जनाएको छ ।

इराकी दूतावासका कर्मचारीले शनिबार खार्तुम छोडेको विदेश मन्त्रालयका प्रवक्ता अहमद अल–साहाफले जानकारी दिएका छन् । लेबनानी अधिकारीका अनुसार आफ्ना ६० जना नागरिकले खार्तुमबाट सडक मार्ग हुँदै प्रस्थान गरेका छन् भने ८३ जना लिबियाली नागरिक पनि सुडान बन्दरगाह पुगेका छन् ।

ट्युनिसियाली दूतावासले सोमबारका लागि उद्धार अभियान सञ्चालन गर्ने घोषणा गरेको छ, जसमा केही नागरिक साउदी जहाजमा चढेर गइसकेका छन् । उद्धारको तयारी गरिरहेका अन्य देशहरूमा दक्षिण कोरिया र जापान पनि सामेल छन्, जसले नजिकका देशहरूमा सेना तैनाथ गरेका छन् ।

भारतको विदेश मन्त्रालयले साउदी अरेबियामा वायु सेनाका दुई विमान ‘तयारी अवस्थामा’ रहेको र नौसेनाको एउटा जहाज पोर्ट सुडान आइपुगेको बताएको छ । चिनियाँ कूटनीतिज्ञहरूलाई बाहिर निकाल्ने प्रयासमा पनि समन्वय गरिरहेको सुडानी सेनाले जनाएको छ ।

इन्डोनेसियाका अनुसार खार्तुमस्थित दूतावास परिसरमा ४३ जना नागरिक आश्रय लिइरहेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ७ : १६ बजे

संविधानको पुनरावलोकन : केलाउनैपर्ने कनिका

नेपालको संविधान (२०७२) कार्यान्वयनको नवौं वर्ष पूरा भएर आजदेखि १०

ग्रिनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो

कोपेनहेगन । ग्रिनल्यान्डको तटमा बिहीबार २० हजार लिटर डिजेल लिएर

इमान्दारिताका साथ काम गरे संविधानको पूर्ण कार्यान्वयन हुन्छः बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेताहरुले

बिजुली उत्पादन बढाउन भारतमा ‘प्रधानमन्त्री सूर्यघर योजना’

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका १ करोड ३०

हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू

काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले