मनहरी – दोस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत पाँच हजार मिटर दौडमा सिन्धुपाल्चोकका मिङ्मार सिंह र निनु तामाङले स्वर्ण पदक जितेका छन्। मङ्गलबार भएको खेलमा मिङ्मार पुरुषतर्फ तथा निनु महिलातर्फ स्पर्धामा पहिलो भएका हुन्।
मिङ्मारले निर्धारित दूरी १८ मिनेटमा नौ सेकेन्डमा पूरा गरे। सोही स्पर्धामा काठमाडौँका धर्म महर्जन र सिन्धुपाल्चोकका विश्वराम कुँवरले क्रमशः रजत र कास्य पदक प्राप्त गरे। महिलातर्फ निनुले निर्धारित दूरी २१ मिनेट आठ सेकेन्डमा पूरा गरिन्। सो स्पर्धामा दोलखाकी सोनु घोतानेले रजत र भक्तपुरकी रोस्टिना सितिखाले कास्य पदक प्राप्त गरिन्।
यसैगरी एथलेटिक्स दुई सय मिटर दौड पुरुषतर्फ मकवानपुरका जिकेश सापकोटा तथा महिलातर्फ मकवानपुरकै दिना गोपालीले स्वर्ण पदक जिते। हेटौँडास्थित पिप्ले क्याम्पा रङ्गशालामा भएको सो स्पर्धामा मकवानपुरकी निर्धारित दूरी २९ दशमलव ३७ सेकेन्डमा तथा जिकेशले २४ दशमलव ६० सेकेन्डमा पूरा गरे। महिला स्पर्धामा भक्तपुरकी स्वागता खाइतु र चितवनकी रोजिता गुरुङले क्रमशः रजत र कास्य पदक प्राप्त गरे। पुरुषतर्फ मकवानपुरका सुजन राईले रजत र चितवनका शेखर उप्रेतीले कास्य पदक प्राप्त गरे।
यस्तै महिला आठ सय मिटर दौडमा ललितपुरकी रजिना दुलालले स्वर्ण जितिन्। उनले निर्धारित दूरी दुई मिनेट ४० सेकेन्डमा पूरा गरिन्। यसै विधामा नुवाकोटकी आस्था राईले रजत र रामेछापकी भगवती खड्काले कास्य पदक प्राप्त गरिन्। सोही स्पर्धामा पुरुषतर्फ चितवनका अृमत बोटले स्वर्ण जिते। उनले निर्धारित दूरी दुई मिनेट आठ सेकेन्डमा पूरा गरे। सिन्धुपाल्चोकका टीकाराम लोप्चनले रजत र नुवाकोटका दिनेश राईले कास्य पदक प्राप्त गरेका छन्।













प्रतिक्रिया