‘गणतन्त्र र संघीयताले नागरिक निराश छन्’ « Khabarhub

‘गणतन्त्र र संघीयताले नागरिक निराश छन्’

‘राष्ट्रवादी शक्ति कमजोर हुँदा राष्ट्रिय एकताको भवना कमजोर भयो’



७० वर्ष यता नेपालको राजनीतिक प्रणालीमा आएको परिवर्तन र परिवर्तनले देखाएका सपना साकार पार्ने सन्दर्भमा राजनीतिक नेतृत्व चुकिराखेको अवस्था छ। ठूलो परिवर्तन भए पनि नागरिकले त्यसको महसुस गर्न पाएका छैनन्। मुख्य रूपमा राष्ट्र र राष्ट्रियताको सन्दर्भमा आधारित रहेर राष्ट्रिय प्रजातन्त्र पार्टी सक्रिय देखिन्छ। यही प्रणाली भित्र बसेर राजसंस्थासहितको प्रजातन्त्र कसरी सम्भव छ ? राप्रपाका नेता राजाराम श्रेष्ठसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

राष्ट्र र राष्ट्रियता कमजोर भएको भनेर तपाईंहरू लागिरहनु भएको छ। राष्ट्र र राष्ट्रियता कमजोर भयो भनेर कसरी प्रमाणित गर्न सक्नुहुन्छ ?
अहिले राष्ट्र र राष्ट्रियता भन्ने विषय प्राय सबै राजनीतिक दलको लागि गौण विषय भएको छ। राष्ट्रियतामा क्रमिक रूपमा आँच आएको अवस्था छ। सबै राजनीतिक दलहरू व्यक्तिगत स्वार्थ भन्दा माथि उठेका छैनन्। पार्टी भित्र पनि आफ्नो प्रकारको गुटको स्वार्थ देखिन्छ। राष्ट्र र राष्ट्रियताको भावना बुझ्न मान्छेले छोडिसकेको छ। अहिले राष्ट्रिय एकताको भावना यसरी कमजोर भएर गएको छ कि राजनीतिक दलका मान्छेले राष्ट्रलाई आफ्नो स्वार्थ सिद्ध गर्न मात्र लागेको छ।

अहिले देखिएका भ्रष्टाचारका काण्डको कुरामा ठेलीका ठेली किताब बन्ने भइसक्यो। मुलुकको राष्ट्रियता बलियो बोलाउनको निम्ति यो गरेँ भन्ने राजनीतिक दललाई केही चासो छैन। अहिले एउटा दर्दनाक स्थिति, लज्जाबोधको स्थिति, सरकार बनाउन र टिकाउनको निमित्त विदेशीको अगाडि लम्पसार पर्ने। सरकार कहिले दक्षिणतिर अडेस लागेको छ। कहिले पश्चिम कहिले उत्तर तिर के गर्दा सत्ता प्राप्त हुन्छ। सत्ताको स्वार्थ लुटेर बस्न पाइन्छ भनेर स्वार्थका साथ लागिरहेको छ।

राप्रपाको कुरामा यो जन्मँदै वैकल्पिक राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने भन्ने पवित्र उदेश्य लिएर बनेको हो। अहिले यो पनि मुलुकको राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नसक्ने अवस्थामा हुनुपर्दथ्यो। यो राष्ट्रवादी शक्ति कमजोर भएको कारणले गर्दा राष्ट्रिय एकताको भावना पनि कमजोर भएर गएको छ। राष्ट्रियता हाम्रो पनि कमजोर भएको अवस्था छ।

राष्ट्रिय एकताको दस्तावेज संविधान हो। तर तपाईंहरू संविधान पनि मान्नु हुन्न, संविधानमा भएका मूलभूत कुरा किन सर्वस्वीकार्य हुँदैन ?
हामीले संविधानलाई पूर्ण रूपले मान्दैनौँ भनेको होइन। यो संविधानलाई हामीले आलोचित संविधान भनेका हौँ। राप्रपाले अंगिकार गरेको एजेन्डा यो संविधानले सम्बोधन गर्न सकेको छैन। त्यो भनेको जनताको भावना समेट्न सकेन।यो संविधान एउटा समाधान गर्नका निमित्त सफल भएन।२०७२ को यो संविधानले मुलुकमा समस्या सिर्जना गर्नेबाहेक समस्या समाधान गर्ने कुनै काम गर्न सकेन। कुनै पनि देशको संविधान भनेको मुलुकमा भएको व्यवधानलाई समाधान गर्नुपर्ने ठाउँमा यो संविधान आफै समस्याको रूपमा उत्पन्न भएको कारणले गर्दा यसप्रति नेपाली जनताको आस्था र भरोसा छैन। यो संविधान रहेसम्म मुलुकको भविष्य झन् अनिश्चित र अन्योल हुने खतरापूर्ण अवस्था छ।

यो संविधानलाई वास्तवमा नेपाली जनतादेखि राष्ट्रपतिसम्मले मानेका छैनन्। मौका पर्यो भने यो संविधानको उल्लङ्घन गर्ने काम सरकार र राष्ट्रपति आफैले गरिराखेको कयौँ उदाहरणहरू विगतको घटनाक्रमबाट हामीले हेरिराखेका नै छौँ। त्यसकारण यो संविधान समाधान होइन।आफै व्यवधान हुन्छ।

यो व्यवधान हो भने तपाईंहरू यो संविधानलाई उपभोग गर्ने सन्दर्भमा आफ्नो अनुकूलमा प्रयोग गर्न पाइयो। संविधानमा तपाईंहरू भित्रै बसेर सरकारमा पनि गइदिने सभामुख पनि खाइदिने मुख्यमन्त्री पनि दाबी गर्दिने आफ्नो प्रतिकुल भइदियो भने आलोचना मात्र गर्ने एकरूपता हुनु पर्दैन ?
हामी द्वन्द्व सिर्जना गरेर मुलुकलाई भड्खालोमा पारेर आफ्नो राजनीतिलाई अगाडि बढाउ चाहदैनौं। शान्तिपूर्ण ढङ्गबाट जनताको अभिमतमा जनताको बलमा जनताको तागत र समर्थनमा यो संविधानलाई परिवर्तन गर्नुपर्छ र गर्न सकिन्छ भन्ने अभिप्रायले हामी लागि परेका छौँ। यो प्रदेश तिर सभामुख खाइदिने मुख्यमन्त्री दाबी गर्दिने सन्दर्भमा पार्टी भित्र धेरै ठुलो विवाद छ।

राप्रपा मात्र होइन कुनै पनि पार्टी वा व्यक्ति एकै पटक दुई वटा बाटोमा हिँड्न सक्दैन। त्यो सम्भव पनि छैन। दुई वटा बाटोमा हिँड्दा लक्ष्यमा पुगिँदैन। प्रदेशको विरुद्धमा संघीयता खारेज गर्नुपर्छ भनेर लाग्ने पार्टीले यो सरकारमा यता कता भागबन्डा गर्न खोज्दा जनताले नपत्याउने र पार्टीको निम्ति पनि एउटा असहज स्थिति भइरहेको अवस्थामा यो सत्य कुरा हो।

यो संघीयताको कारणले गर्दा मुलुकमा महंगी र भ्रष्टाचार बढेर गएको छ। यो संघीयता खारेज नगरेसम्म मुलुकको समृद्धि सम्भव नै छैन। यो जनताको इच्छा आकांक्षा र राष्ट्रको आवश्यकता अनुसार आएको होइन।

यसले मुलुकलाई समृद्ध बनाउनुको साटो संकटपूर्ण अवस्थाबाट लिएर जाने कुरा अहिले प्रष्ट भइरहेको छ। नेपाली जनताको होइन बाह्य मानसिकताको उपज हो। मुलुकको हितको निमित्त यो राख्नु हुँदैन। सकेसम्म छिटो संघीयता खारेज गर्नुपर्छ।

तपाईंहरूको यही एजेन्डा बोकेका शक्तिहरूमा पनि एकता छैन। राष्ट्रवादीको एउटा मोर्चा र संयुक्त रूपमा राष्ट्रवादीको आन्दोलन किन चलाउन सक्नु भएन ?
कुनै पनि राजनीतिक दलका वैचारिक आधार जग भनेको सैद्धान्तिक आधार नै हो। त्यो वैचारिक पक्षलाई कमजोर बनाएर राजनीति गर्छु भन्ने कुरा लामो समयको लागि राम्रो होइन। अहिलेको राजनीतिक अवस्था नैतिकताको बलमा मूल्यमान्यताको आधारमा राजकीय सञ्चालन गर्ने होइन। अहिले आफ्नो व्यक्तिगत सुविधा अनुसार स्वार्थको आधारमा त्यो सिद्धान्तलाई सदुपयोग दुरुपयोग गर्ने चलन छ।

अहिलेको सन्दर्भमा पार्टी भित्रको एकतालाई मात्र बलियो बनाउने होइन। यो सिद्धान्तलाई स्वीकार गर्ने सबै राष्ट्रवादी शक्ति एक ठाउँमा नआएसम्म मुलुकको समस्याको समाधान असम्भव छ। यति जटिल अवस्थामा मुलुक पुगेको छ कि भएका समस्या समाधान होइन थप नयाँ समस्या उत्पन्न भएका छन्।यो अवस्थामा कुनै पनि एउटा व्यक्तिले वा राजनीतिक दलहरूले समस्या समाधान गर्छु भन्ने सम्भव नै छैन। यसको निम्ति राष्ट्रवादी शक्तिहरू एक ठाउँमा उभिनुपर्छ। यो अवस्थाबाट देश गइरहने हो भने देश नै रहने नरहने अवस्थामा पुगिरहेको छ।

अहिले हरेक कुराको दृष्टिकोण नकारात्मक भएको छ। जता गयो आर्थिक मन्दी छ बेरोजगारीका कुरा विकराल बनेको छ। बेरोजगारी सिर्जना गरेको जनताले होइन राजनीतिक दल र सरकारले नै हो। यहाँ निरंकुश भनिएको पञ्चायत व्यवस्थाले स्थापना गरेका ठुला ठुला कलकारखाना कौडीको मूल्यमा बेच्ने काम भयो। यस्तो वातावरण सिर्जना भएकोले युवाहरू यो देशमा बस्न सक्ने अवस्था नै भएन।

हामी समृद्धिका कुरा गर्छौँ। हरेक कृषिको समयमा कृषकले मल पाएका छैनन् उत्पादन छैन। बजार व्यवस्थापन छैन। रोजगारी छैन। यो सबै कुरामा कमिसन र भ्रष्टाचारको खेल छ। सहज रूपमा कुनै पनि वस्तुको आपूर्ति भयो भने त्यहाँ आर्थिक चलखेल गर्न पाइँदैन।

समृद्धितब हुन्छ जब हामी यहाँ उत्पादन बढाउँछौँ। उत्पादित वस्तुको बजारीकरण हुन्छ र रोजगारीको सिर्जना गर्नुपर्यो कृषिमा आधुनिकीकरण हुनुपर्यो। हामी आफ्नो बलियो श्रम बाहिर निर्यात गर्छौ र महंगा सामान आयात गर्छौ। यसले संवृद्धि हुँदैन।

यहाँ उत्पादन बढाउनु पर्यो र त्यसलाई बाहिर निर्यात बढाउनु पर्यो। भाषणले विकास हुँदैन। जनताले अब कसले मिठा कुरा गरेर ठग्ने र कसले राम्रो काम गर्ने भनेर जनताले सबै चिन्न थालेका छन्।

अहिलेको स्थितिमा अहिलेको युवा जो देश बनाउने हतियार हो। त्यसलाई चाहिँ बाहिर पठाएर उसले यो देशमा भविष्य देखेको छैन। युवालाई नेपालमै बसेर केही गरौँ भन्ने भावना विकसित गराउने र त्यो अवसरको सिर्जना गराउने त सरकारले राजनीतिक दलले हो। यहाँ राम्रो काम गर्ने र राम्रो मनसाय भएका मान्छेहरू बाहिर गएपछि त यहाँ विकास हुन सक्दैन।

राष्ट्रवादी शक्तिको बीचमा एकता हुनुपर्छ भन्दै गर्दा राष्ट्रवादी विचारकको बीचमा ध्रुर्वीकरणको आवश्यकता देखिराखेको छ। यो सम्भावना छ त ?
सम्भावना नभएको होइन।अहिले आवश्यक छ। अहिले देशको स्थिति भयावह छ। हाम्रो आर्थिक सूचाङ्कहरू सबै नकारात्मक छन्। सहकारीमा पैसा राख्ने कम छन्। त्यसमा पनि राखेकै पैसा निकाल्न पाइँदैन। यो अवस्था अरु वित्तीय संस्थामा नपरोस् भन्ने प्रयास गर्नुपर्यो तर त्यो प्रयास कतै पनि भएको छैन।

देश जोगाउनु ठुलो कुरा हो। देशको सार्वभौम सत्ता र राष्ट्रियताको पहिला रक्षा गर्नुपर्छ। यसको रक्षा नगरी राजनीति गर्न सक्दैनौ भन्नेमा राजनीतिक दलका नेताहरुमा हुनुपर्छ। तर अहिले सबै ठुला राजनीतिक दल भन्नेहरूमा नेताहरू विदेशीको इसारामा चल्ने र यहाँ अस्थिरता निम्त्याउने काममा सक्रिय छन्। त्यसको लाभ उठाउने जुन विदेशी शक्तिको लामो समयदेखिको योजनाको निमित्त काम गर्ने सबै लाहुरे छन् नेपालमा। यस्तो स्थितिमा राष्ट्रवादी विचार बोक्ने अरु राजनीतिक दलका नेताहरू धेरै छन्। उनीहरूको बीचमा पनि एकता गरेर देश जोगाउन सबै लाग्नुपर्छ।

मान्छे व्यक्तिगत स्वार्थबाट नै उठ्न सकेन। त्यसैले व्यक्तिगत स्वार्थ, राजनीतिक स्वार्थ र पार्टीगत स्वार्थ भन्दा माथि उठ्न सकेन कुनै पनि आफ्नो स्वार्थ नभएको संस्थाको रूपमा राजसंस्थाको अभिभावकत्व तीब्र रूपले फैलिराखेको छ। त्यो राजसंस्थाको अभिभावकत्त्वको अभावमा अहिले मुलुक बेसहारा भएको छ। कुनै सहारा नै छैन। जसले जे गरे पनि हुनेछ। संविधान कानुन केही मान्नु पर्दैन। जति खाए पनि भयो। हाम्रो नेताहरू जति खाए पनि नअघाउने यस्तो स्थितिमा देश समृद्ध बन्दैन।

सार्वभौमसत्ता वा राष्ट्रिय एकता र अखण्डता भन्ने कुरामा भूगोल मात्र राष्ट्रियता हो त ?
राष्ट्रियतामा भूगोलसँगै जनता ,सरकार र त्यहाँको संस्कृति परम्परा पनि जोडिन्छन् । राष्ट्रियताको नाममा आउने विषयवस्तुलाई समाप्त गर्ने योजनाबद्ध ढंगबाट यो विदेशी शक्तिको इसारामा हाम्रा नेताहरूले गरीरहेका छन्। यसले समाप्त पर्छ। यो देशमा रोजगारी सिर्जना गरेर यहाँ बसौँबसौँ लाग्ने बनाउनुपर्यो। युवाहरूलाई पेट पाल्न बाध्यतावश बाहिर जानुपर्ने अवस्था त यी राजनीतिक दलहरूले सिर्जना गरेका हुन्। यहीँ उत्पादन बढाउने, योजना ल्याउने काम सरकारले गर्नुपर्छ। केवल भूगोल मात्र राष्ट्रियता होइन।

तपाईंहरूमाथि भारतका हिन्दुवादी सङ्गठनबाट पैसा ल्याएको गम्भीर आरोप छ ? भोलि पैसा सकिएपछि यो एजेन्डा बिर्सनु हुन्छ कि ?
पुष्टि नहुने आरोप लगाएर के गर्ने ?एउटा हिन्दुत्वको भावना बढेर गइराखेको छ। त्यो भावनालाई रोक्न एउटा पासा फालिएको मात्र हो। त्यसमा कुनै सत्यता छैन। हिन्दु, बौद्ध, मुस्लिम भनेर हामीले धर्म भन्छौँ यो सम्प्रदाय हो, धर्म होइन।धर्मभनेको परिवर्तन हुँदैन। सूर्यको धर्म तापक्रम दिनु हो। त्यो परिवर्तन हुँदैन। बरु सम्प्रदाय परिवर्तन हुन्छ।

हिन्दु राष्ट्रको जुन पहिचान हो। त्यसलाई जोगाउन राप्रपा निरन्तर रूपमा लागिरहेको छ। त्यो केवल राप्रपाको स्वार्थको निमित्त होइन। यसमा राष्ट्रको स्वार्थ, राष्ट्रको इज्जत, सान र गौरव गाँसिएको छ। हिन्दु राष्ट्रले मुलुकमा आर्थिक समृद्धि पनि ल्याउन सक्ने अवस्था छ किनभने यो त विश्वका एक मात्र पर्यटकीय हिसाबबाट हिन्दु राष्ट्र हो। यहाँ भएको सांस्कृतिक धार्मिक कुराहरू अवलोकन गर्न करोडौँ पर्यटकहरू भित्र्याउन सक्ने अवस्था छ।

तपाईंहरूको उदयसँगै अर्को राजनीतिक शक्तिको पनि उदय भयो। कोही घण्टी बजाएर आए कोही लौरो लिएर आए। एजेन्डाका हिसाबबाट नयाँ शक्तिलाई कसरी लिनु भएको छ ?
ठुला राजनीति पार्टी पूर्ण रूपमा असफल भए। जनतालाई जुन आशा देखाए तर नेपाली जनताका इच्छा आकांक्षा पुरा गरेनन्।पुरा गर्ने चेष्टा पनि गरेनन्। जसको कारण जनतामा निराशा छायो। उनीहरू पूर्ण रूपमा असफल भएपछि यसको विकल्पमा आएको राप्रपा घोषणा हुँदा नै यसको प्रस्तावनामा प्रजातान्त्रिक राष्ट्रवादी वैकल्पिक शक्ति भनेर स्थापित भयो। ती कांग्रेस, माओवादी, एमालेले पूर्ण रूपमा असल भइसकेपछि विकल्पका रूपमा रहेको राप्रपाको उदय हुनुपर्ने वा पहिलो शक्तिको रूपमा राप्रपा हुनुपर्ने हो।

एउटा वैचारिक सैद्धान्तिक पक्षबाट विकल्पको उपाय राप्रपा नै हो। अब त्यति हुँदाहुँदै पनि राप्रपा पहिलो शक्तिको रूपमा किन उदाउन सकेन भन्ने कुरा विश्लेषणको स्थिति छ यसको समीक्षा गर्नुपर्छ। नयाँ शक्तिहरूको कुरामा विकल्प खोज्ने क्रममा कुनै नीति विचार सिद्धान्त नभएको व्यक्ति दलको पक्षमा जबरजस्ती ढङ्गबाट नेपाली जनताले त्यो आक्रोश पोख्ने काम गरेका हुन्। पुराना ठुला राजनीतिक दलहरूको विकल्पको रूपमा वास्तवमा राप्रपा नै हो। हामीले त्यो मार्केटिङ गर्न सकेनौँ। असली चिजको विज्ञापन हुन समय लाग्छ।

आवधिक निर्वाचन मिसन २०८४ भनेर कतिपय राजनीतिक दलहरू लागि रहेका छन्। तपाईंहरूको ८४ सम्म पुग्दै गर्दाको रणनीति के छ ?
हामीले राप्रपाको निम्ति दुई चार सिट बढाउने भन्ने होइन। राप्रपाले त मुलुक जुन अहिले खतराको स्थितिमा छ। राष्ट्रियताको स्थिति ज्यादै नाजुक भएर गइरहेको छ। त्यसलाई कसरी उठाउने कसरी राष्ट्रियतालाई बलियो बनाउने भन्ने कुरा हो।

दुई चार सिट जित्ने सरकारमा भागबण्डा गर्ने सरकारको नेतृत्व गर्ने काममा अहिले राप्रपा लागेको छैन। अहिले चुनावलाई भन्दा पनि आन्दोलन गरेर राप्रपाले लिएको एजेन्डालाई स्थापित गर्ने र त्यसलाई नै पहिलो प्राथमिकता मानेर गइरहेको छ चुनावमा ध्यान दिएको छैन। राप्रपा अब सितिमिति रूपमा फुट्दैन।

राप्रपाले राजसंस्था फिर्ता ल्याउँछ ?
राप्रपा राजसंस्था फिर्ता गराउनको निमित्त राजसंस्था पुरस्थापना गर्नको निमित्त निरन्तर लागिरहन्छ। जबसम्म मुलुकमा राजसंस्था फिर्ता हुँदैन तबसम्म मुलुकको सुरक्षा सम्भव छैन।

संघीयता खारेज गर्नु हुन्छ ?
संघीयता राप्रपाको एकल एजेन्डा होइन। मुलुकको एजेन्डा हो। संघीयता यो मुलुकको निमित्त गलगाँड हो। यो मुलुकको रक्षाको निमित्त राजसंस्था सहितको लोकतन्त्र अपरिहार्य छ। हिन्दु राष्ट्र कायम हुनुपर्छ। हिन्दु राष्ट्रको पहिचानलाई विदेशी शक्तिको इसारामा जसरी समाप्त पारियो। जो हिजो हिन्दु राष्ट्र समाप्त पारेर गणतन्त्र ल्याउने, संघीयता ल्याउने जो गणतन्त्रको पक्षधर थिए। ती नै अहिले निराश भएका छन्। गणतन्त्र र धर्मनिरपेक्षबाट नागरिक निराश भएका छन्। हामी त सुरुदेखि नै यो धर्म निरपेक्षता गणतन्त्र संघीयता मुलुकको निमित्त हितकार छैन भनेका हौँ। अहिले अरूले पनि भन्न थाले त्यसकारण यो धर्म निरपेक्षता, गणतन्त्र र संघीयता रहँदैन।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ८ : ३४ बजे

अमेरिका र इरानबीचको दोस्रो चरणको शान्ति वार्ता अन्यौलमा

काठमाडौं- पाकिस्तानमा हुने भनिएको अमेरिका र इरानबीचको दोस्रो चरणको शान्ति

तस्बिरमा हेर्नुहोस्, राप्रपाको सांसद अभिनन्दन तथा नयाँ वर्ष शुभकामना कार्यक्रम 

काठमाडौं– राप्रपाले सांसद अभिनन्दन तथा नयाँ वर्ष शुभकामना कार्यक्रम आयोजना

बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त

भक्तपुर– देशको राज्यव्यवस्था सञ्चालन र सुशासनबारे बालबालिकालाई जानकारी दिने उद्देश्यले

चर्चामा ‘पारी बुटोल’को टिजर

काठमाडौं – ग्याङस्टार जनारमा निर्माण भएको फिल्म ‘पारी बुटोल’ को

गृहमन्त्री गुरुङ भन्छन्- आरोप र सत्य एउटै कुरा होइन

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडिएर उठेको सेयर लगानी