फाइल तस्वीर

ट्राभल

सिजन सुरु हुँदा पनि सौराहमा पर्यटक नै आएनन्

By खबरहब

September 24, 2023

सौराहा- सौराहका पर्यटन व्यवसायीका लागि असोज सिजनको महिना हो । यो महिना पर्यटकको चहलपहल र आर्थिक गतिविधि बढ्ने समय हो । विगतका वर्षमा पर्यटकलाई सेवा दिन भ्याइनभ्याइ हुने यहाँका पर्यटन व्यवसायीहरु यस वर्ष भने असोज लागेदेखि पर्यटकको पर्खाइमा छन् ।

पर्यटकीय गन्तव्य सौराहसम्म आइपुग्ने सडक मार्ग सहज नहुनु तथा हवाई भाडा महङ्गो भएकाले पर्यटकको सङ्ख्यामा यस वर्ष कमी आएको व्यवसायीहरुको भनाइ छ । लामो समयदेखि नारायणगढ–मुग्लिन, मुग्लिन–नौबीसे र नारायणगढ–बुटवल सडक खण्डमा मर्मत तथा विस्तारले यातायात असहज बनेको छ ।

पोखराबाट आउनेका लागि मुग्लिन–पोखरा खण्ड पनि विस्तारले अवरुद्ध भइरहेको छ क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीका अनुसार सौराहाका होटलमा यतिबेला जम्मा पाँच प्रतिशत हाराहारी बुकिङ छ । जबकी विगतका वर्षमा यतिबेला ३५ प्रतिशतभन्दा बढी बुकिङ हुने गरेको थियो ।

सडकको दयनीय अवस्था, महङ्गो हवाई भाडालगायतले पर्यटकको सङ्ख्या कम भएको उनको बुझाइ छ । उनका अनुसार एउटा विदेशी पर्यटक काठमाडौँबाट भरतपुर आउँदा एक सय ३५ डलर हवाई भाडा लाग्छ । आवतजावत भाडा मात्रै दुई सय ७० डलर खर्च हुन्छ । निकुञ्जमा जीप तथा हात्ती सफारी, पैदल यात्रा गर्दा खर्च स्वभाविक रुपमा बढ्छ ।

विदेशका लागि निकुञ्ज प्रवेशमा रु दुई हजार खर्च हुन्छ भने हात्ती सफारीका लागि दुई हजार पाँच सय, जीप सफारीका लागि  रु दुई हजार खर्च लाग्छ । सङ्घका निवर्तमान अध्यक्ष दीपक भट्टराईले पर्यटक आकर्षित गर्नका लागि सङ्घले चितवन पर्यटन महोत्सव गर्ने तयारी गरिरहेको बताए । विगतका वर्षमा हुने हात्ती महोत्सवलाई पर्यटन महोत्सवका रुपमा गर्न लागिएको उनको भनाइ छ ।

सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे पर्यटकीय मौसम पछाडि सरेको बताउँछन् । विगतका वर्षमा सेप्टेम्बरको मध्य अर्थात् असोज पहिलो साताबाटै पर्यटक आगमन हुने भएपनि यस वर्ष अझै पर्यटक नआएको उनले बताए । युनाइटेड हात्ती सहकारी संस्था लिमेटेडका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार यसपटक हात्ती सफारीका बुकिङ खासै भएको छैन ।

उनको सहकारीमा हाल ३० वटा हात्तीले दैनिक एउटा ‘ट्रिप’ समेत पाउन नसकेको अवस्था छ । “दैनिक १२ देखि १५ वटा मात्रै ट्रिप आउने गरेको छ, चाडपर्व सुरु भएपछि ट्रिप बढ्नेमा विश्वास छ”, उनले भने । चितवन राष्ट्रिय निकुञ्जभित्र वर्षामा सफारी बन्द गरिन्छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनका अनुसार अब पानी नपरेमा असोज १० गतेदेखि निकुञ्ज खुल्ला गरिने छ । बाटो र पुलहरु धेरै बिग्रिएका ठाउँ बाहेक अन्यत्र खुल्ला गर्न लागिएको उनको भनाइ छ ।