अन्तर्राष्ट्रिय

सोमालियामा भएको आत्मघाती आक्रमणमा परी १३ जनाको मृत्यु

By खबरहब

September 24, 2023

मोगादिशु- सोमालियामा भएको आत्मघाती आक्रमणमा परी १३ जनाको मृत्यु भएको छ । घटनामा अन्य ४५ जना घाइते भएका छन् ।

एक जना आत्मघाती हमलाकारीले विस्फोटक पदार्थले भरिएको ट्रकलाई शनिबार बेलेडवेन सहरको सुरक्षा चौकीमा ठोक्काउँदा उक्त भवन भत्किएको छ । भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार जारी रहेकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्नसक्ने सुरक्षा अधिकारीहरूले बताएका छन् ।

एक जना प्रहरी अधिकारीले आइतबार एएफपीलाई बताएअनुसार ज्यान गुमाउनेको सङ्ख्या १३ नाघेको छ तर उनले मृतकको यकिन सङ्ख्या बताउन सकेनन् । विस्फोट भएको ठाउँमा खोजी जारी छ । भग्नावशेषबाट शव निकाल्न नरोकिएकाले वास्तविक मृतकको सङ्ख्या बताउन कठिन भएको उनले जनाए ।

सोमालियाका राष्ट्रपति हसन शेख मोहम्मदले आक्रमणमा परी ज्यान गुमाएकाहरूका परिवारजनप्रति शोक प्रकट गर्दै आफ्नो सरकारविरुद्ध लागेको अतिवादी समूह अल–शबाब लडाकुहरूलाई परास्त गरेर छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । “यस्ता घटनाहरूले हामीलाई आतङ्कवादीहरूलाई निर्मूल गर्ने अभियानबाट कहिल्यै रोक्न सक्दैनन्” उनले एक विज्ञप्तिमा भनेका छन् ।