प्रवास

साउदीमा बेपत्तापछि भेटिएका सुबेदी नेपाल फर्किए

By खबरहब

September 24, 2023

दोहा- साउदी अरबमा बेपत्ता भएपछि सकुशल भेटिएका झापा घर भएका घानेन्द्र सुवेदी स्वदेश फर्किएका छन् । फ्लाई दुबईको उडानमार्फत उनी एउटै कम्पनीमा कार्यरत भाइ श्याम सुवेदीसँगै नेपाल फर्किएको झापाली समाज साउदी अरबले जनाएको छ ।

उनी कार्यरत अल अरिध कम्पनीले टिकटसहित २० वर्षको हिसाबकिताब उनलाई ४४ हजार साउदी रियल उपलब्ध गराएको थियो । उनी उक्त कम्पनीमा सन् २००३ अप्रिलदेखि कार्यरत थिए । अस्वस्थताका कारण काम गर्न असमर्थ भएका कारण कम्पनीले उनलाई बिदा गरेको हो ।

समाजका अध्यक्ष राजेन्द्र थापा, सहसचिव राजु बराल र कम्पनीका सहकर्मीले विमानस्थलमा गई उनको विदाई गर्दै स्वास्थ्य लाभको कामना गरेका छन् । केही दिनअघि रियादबाट बेपत्ता भएका सुबेदीको समाजका अध्यक्ष थापा र सहकोषाध्यक्ष सुजन घिमिरको सक्रियतामा सकुशल उद्धार गरिएको थियो ।