जसले आठौँ पटक ताकमकोतको छेलो फाल्ने प्रतियोगिता जिते ... | Khabarhub Khabarhub

जसले आठौँ पटक ताकमकोतको छेलो फाल्ने प्रतियोगिता जिते …


७ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– ठेलो (छेलो) म्याग्दीका युवामाझ लोकप्रिय खेल हो । हृष्टपुष्ट र अग्लो शरीर भएका बलिया बाङ्गा युवाको सोख गाउँघरमा आयोजना हुने छेलो प्रतियोगिता जितेर माल अर्थात् पहलमानको सम्मान पाउने भन्ने हुन्छ ।

धौलागिरि गाउँपालिका–७ स्थित ताकमकोतमा बडादसैँको महानवमी पर्वको अवसरमा तत्कालीन थापा राजाका पालादेखि माल पहिचान गर्नका लागि ठेलो फाल्ने प्रतियोगिता आयोजना गर्ने चलन छ । 

ताकमकोतमा सोमबार भएको परम्परागत ठेलो फाल्ने प्रतियोगिताको उपाधि धौलागिरि गाउँपालिकाको वडा नम्बर ७ का ३४ वर्षीय अशोक खत्रीले जिते । सोही वडाका अध्यक्षसमेत रहेका उनले आठौँ पटकसम्म ताकमकोतको छेलो फाल्ने प्रतियोगिताको उपाधि जितेर इतिहास बनाएका हुन् ।

आठ दशमलव पाँच किलोग्राम तौल भएको फलामको छेलोलाई सहभागीमध्ये सबैभन्दा टाढा फालेका खत्रीलाई ‘माल’ घोषणा गरिएको ताकमकोत पूजा व्यवस्थापन समितिका सदस्य रिमप्रकाश थापाले बताए । 

यसअघि आठपटकसम्म ताकमकोतको छेलो फाल्ने प्रतियोगिता कसैले पनि जितेका थिएनन् । प्रतियोगितामा ताकम र आसपासका गाउँका १८ युवाले सहभागिता जनाएका थिए ।

पश्चिम म्याग्दीको महत्वपूर्ण शक्तिपीठ मानिने ताकमकोतको छेलो प्रतियोगितामा विजयी हुनेलाई यस क्षेत्रमा माल भनेर सम्मान गरिन्छ ।

यसअघि विसं २०७८ र २०७९ मा विजयी भएका मालिका गाउँपालिका–१ निस्कोटका याम परियार दोस्रो बने । विसं २०७१ देखि २०७७ सम्म लगातार सात पटक उपाधि जितेका २०७८ सालमा सहभागिता जनाएका थिएनन् भने २०७९ मा यामसँग पराजित भएका थिए । निरन्तरको अभ्यास, शारीरिक व्यायाम र स्वच्छ खानपानले उपाधि जित्न सहयोग गरेको उनको भनाइ थियो ।

भलिबल र बास्केटबलका खेलाडीसमेत रहेका र स्नातक तहको शिक्षा हासिल गरेका खत्री नेकपा (माओवादी केन्द्र)को वडा कमिटीका अध्यक्ष पनि हुन् । जनप्रतिनिधिको जिम्मेवारी पूरा गरेपछि खेल प्रशिक्षक बन्ने उनको लक्ष्य छ ।

खत्रीलाई गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेम पुन, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, पूर्वउपाध्यक्ष रेशम छन्त्याललगायतले सम्मान गर्नाका साथै स्थानीयवासीले काँधमा बोकेर बाजागाजासहित गाउँ परिक्रमा गराएका थिए ।

माललाई फेटा गुताएर सम्मानका साथै नगद उपहार दिने चलन छ । म्याग्दीको प्रमुख शक्तिपीठ ताकमकोतमा जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवी देवताको मूर्ति रहेका यहाँ नवदुर्गा, जेष्ठी पूर्णिमा, मङ्सिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ ।

विसं १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले कोत घरको रुपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायतका हातहतियार छन् ।

जगन्नाथ अन्नपूर्ण मन्दिरमा पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने विश्वास छ । यस वर्षको दसैँको नवमीका दिन करिब पाँच हजारभन्दा बढीले ताकमकोतमा पूजाआजा गरेका पुजारी गोविन्द पौडेलले बताए ।

कोतघर र मन्दिर पुनर्निर्माण, सडक सुविधा र प्रचारप्रसार भएका कारण ताकमकोतमा धार्मिक पर्यटकको आगमन बढेको छ ।

समुद्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइमा रहेको ताकमकोतबाट धौलागिरि, अन्नपूर्ण र गुर्जा हिमालका साथै अग्ला पहाड, ग्रामीण बस्तीको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । 

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  १० : ३२ बजे

राष्ट्रियसभामा कृषि र शिक्षा मन्त्रालयको खर्च कटौती प्रस्ताव

काठमाडौँ– सांसदद्वय पदमबहादुर परियार र आनन्दप्रसाद ढुंगानाले दुई मन्त्रालयको खर्च

ओलीले देउवालाई पनि धोका दिन्छन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकाका सभापति शेरबहादुर

राष्ट्रियसभा : शिक्षामा बजेट थप्न सांसदहरूको माग

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले शिक्षा क्षेत्रमा बजेट थप्न तथा

वर्षासँगै बिजुली उत्पादन बढ्दै, खेर जाने चिन्तामा प्रवर्द्धक

काठमाडौं– पछिल्ला सातादेखि देशभर वर्षा हुन थालेपछि जलविद्युत उत्पादन गृहहरूबाट

एमालेले आजै सरकार छोड्ने

काठमाडौं– नेकपा एमालेले आजै सरकार छोड्ने तयारी गरेको छ ।