बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी « Khabarhub

बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कृष्णपुर नगरपालिका–१ निगालीका भक्तबहादुर विष्ट चरन क्षेत्रमा बाख्रा लैजाने तयारीमा जुटेका छन्। चुरे क्षेत्रमा रहेको गोठमा बाख्रा चराउनका लागि उनले सुरसार गरेका हुन् ।

मङ्सिरको पहिलो हप्ता चुरेमा रहेका गोठमा यस क्षेत्रका बासिन्दाले बाख्रा लगेर वर्षात्को समय सुरु हुन थालेपछि तराई झर्ने गरेका छन् । डेढ दशकदेखि विष्टले परम्परागतरूपमा बाख्रापालन गर्दै आएका छन् । उनका गोठमा जमुनापारी र तोतापारी जातका सय बढी बाख्रा रहेका छन् । 

वार्षिकरूपमा बाख्रापालन गरी रु पाँच लाखदेखि रु सात लाखसम्म उनको आम्दानी हुने गरेको छ । गएको दसैँ र तिहारमा मात्रै उहाँले रु तीन लाख २८ हजारका खसीबोका बिक्री गरेका छन् । यी जातका खसीबोका ६५ किलोदेखि ७० किलोसम्मको हुने गरेको उनले जानकारी दिए । जिउँदो खसी पाँच सय ५० प्रतिकिलोका दरले गोठबाटै काठमाडौँ, नेपालगञ्जलगायत क्षेत्रका व्यापारीले खरिद गरेर लैजाने गरेका छन् ।

‘कोरोना महामारीअघि खसीबोकाको बजार निकै राम्रो थियो, आम्दानी चाहेजस्तै हुन्थ्यो’, उनले भने, ‘कोरोना महामारी फैलिएपछि र त्यसपछिको समय खसीबोकाको व्यापार नहुँदा थोरै मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता भयो, अहिले विस्तारै पुरानै अवस्थमा व्यवसाय फर्किन थालेपछि सहज भएको छ ।’

किसान विष्टले बाख्रापालनकै कमाइबाट बेदकोट नगरपालिकाको दैजीमा घरघरेडी जोडेका छन् । निगालीमा डेढ बिघा जग्गा खरिद गरी खेती गर्दै आएका छन् । बाख्रापालनसम्बन्धी तालिम नलिएका विष्टले पुरानै तरिकाले बनाइने खोरमा बाख्रा राख्दै आएका छन् । बाख्रालाई रोगव्याधी लागे, चोटपटक लाग्यो भने उपचार भने आफैँले गर्दै आएका छन् । भेटेरेनरी प्राविधिकसँगको सङ्गतले उपचार गर्न सक्षम भएको उनको भनाइ छ ।  

‘चुरे क्षेत्रमा चरनको राम्रो व्यवस्था भएकाले डेढ दशकदेखि बाख्रा चराउने काम गर्दै आएका छौँ’, उनले भने, ‘चरन क्षेत्रमा केही वर्षयतादेखि पहिरो जान थालेपछि बाख्रापालन संकटमा पर्न थालेको छ ।’

चुरे क्षेत्रमा भइरहेको वन विनाशसँगै ढुङ्गा, गिट्टीलगायतको दोहन रोक्नुपर्ने उनले बताए । ‘चुरे क्षेत्र जोगिएमात्रै बाख्रापालन गर्न सकिने हो’, उनले भने, ‘यसलाई जोगाउन सबैको हातेमालो आवश्यक छ ।’ विष्टजस्तै निगाली गाउँका १५ बढी परिवारको जीविका चलाउने आधार बाख्रापालन नै रहेको छ । परम्परागतरूपमा बाख्रापालन गर्दै आएका परिवारसँग कम्तीमा ५० देखि बढीमा दुई सयसम्म बाख्रापालन गरिएका छन् । बाख्रापालनमा लागेका परिवारको वार्षिक  कमाई रु पाँच लाख बढी हुने गरेको छ ।

बाख्रापालन व्यवसायमा लागेका देव बोहराले स्थानीय तहले खोर व्यवस्थापन, घाँसखेती, औषधोपचारको तालिम दिएर सक्षम बनाउनुपर्ने बताए। ‘बाख्रापालनमा लागेका व्यवसायीलाई सहुलियत दरमा ऋणसँगै अनुदानको व्यवस्था गरिनुपर्छ’, उनले भने , ‘वर्षौँदेखिका चरन क्षेत्रमा बाख्रा चराउनका लागि सहज वातावरण कायम गरिनुपर्छ ।’ व्यवसायीले हालसम्म सरकारी तवरबाट सञ्चालन हुने कार्यक्रममा नसमेटिएको जनाउँदै गुनासो पोखेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ७ : ५० बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु