गोरखा– जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय गोरखामा दरबन्दीअनुसार प्राविधिक नहुँदा प्रभावकारी ढङ्गबाट योजना कार्यान्वयनमा समस्या भएको छ । चालु आर्थिक वर्षमा कार्यालयअन्तर्गतका करिब एक सय ५५ योजना कार्यान्वयन गर्नुपर्ने भए पनि प्राविधिक नहुँदा तीव्रगतिमा अघि बढाउन समस्या भएको कार्यालयका प्रमुख मिलन पौडेलले जानकारी दिएका छन् ।
कार्यालयमा छ जना प्राविधिकतर्फको दरबन्दी रहे पनि आधा दरबन्दी खाली रहेको उनले बताएका छन्। ‘दुईजना इन्जिनियरको दरबन्दी रहेकामा दुईवटै खाली छ’, उनले भने, ‘हाम्रा योजना कार्यान्व्यनको मुख्य अङ्ग भने प्राविधिक नै हुन्, योजना कार्यान्वयनका लागि इन्जिनियर र ओभरसियर नहुँदा कार्यान्वयनमा जटिलता भएको छ ।’
दरबन्दीअनुसार कार्यालयमा प्राविधिक नभएकाले योजना कार्यान्वयन प्रक्रिया अगाडि बढाउन ढिलाइ भएको छ । ‘दरबन्दीअनुसार प्राविधिक पठाइदिन मन्त्रालयलाई पत्राचार गरिसकेका छौँ’, उनले भने, ‘मन्त्रालयले पठाउँछ भन्नेमा ढुक्क छौँ ।’ योजना सुरु गरे पनि कार्यालयबाट आवश्यकताअनुसार प्राविधिक अनुगमनका लागि पुग्न नसक्ने अवस्था रहेको उनको भनाइ छ ।
“एउटै योजनाका लागि पाँच–सातपटक जानुपर्ने अवस्था पनि हुनसक्छ, तर थोरै कर्मचारी पर्याप्त नहुँदा दुई–तीन पटकमात्र प्राविधिक फिल्डमा पठाउनुपर्ने बाध्यता हुन्छ”, उनले भने। योजनाको सङ्ख्या हेर्दा भएको दरबन्दीले नपुग्ने अवस्था रहेको कार्यालय प्रमुख पौडेलले बताए।
‘भएको दरबन्दीमात्र भए पनि काम गर्न सहज हुने थियो’, प्रमुख पौडेलले भने, ‘वर्षैपिच्छे योजना सङ्ख्या बढ्दै जाने प्राविधिकचाहिँ घट्दै जाने अवस्था छ ।’ प्राविधिकको अभावमा योजनाको गुणस्तर कायम गर्नसमेत कठिनाइ हुने उनले बताए । ‘सबै कुरा निगरानीको पनि कुरा हो’, उनले भने, ‘प्राविधिकको निगरानी कम हुने अवस्था आयो भने योजनाको गुणस्तर कायम गर्न समस्या हुनसक्छ ।’
प्रतिक्रिया