थारु समुदायको मेडरी नाच लोप हुने खतरा « Khabarhub

थारु समुदायको मेडरी नाच लोप हुने खतरा


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- प्राचीन कथामा आधारित भएर थारु समुदायले नाच्ने मेडरी (माहाभारत) नाचप्रति युवाहरुले चासो नदिँदा लोप हुने खतरा बढेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का थारु समुदायले मात्रै द्वापर युगको महाभारतका मुख्यपात्र कौरव र पाँच पाण्डवको कथामा आधारित भएर नाच्ने मेडरी नाच हराउँदै जान लागेको हो । जिल्लाको मध्यविन्दु–३ लेढाहाका थारु अगुवा होमबहादुर थनेतले सय भाइ कौरव तथा पाँच पाण्डवको जन्मदेखि कुरुक्षेत्रको युद्धसम्मको कथा मेडरी नाचमा प्रस्तुत गरिने बताए ।

मेडरी नाच्नुअगाडि धाजो (बाँसका दुईवटा लिङ्गो) गाडेर पूजा गरेपछि मात्रै नाच सुरु हुने उनको भनाइ थियो । “धाजो हाल्दा ठूलो र सानो लिङ्गो गाडिन्छ”, उनले भने, “तीमध्ये ठूलो मर्दाना (पुरुष) र सानो जनियानी (महिला) को प्रतीकका रुपमा गाडिएको हुन्छ ।” अहिलेका थारू युवाहरुले मेडरी नाच सिक्न र नाच्न नमान्दा प्राचीन संस्कृति नै लोप हुने अवस्थामा पुगेको थनेतले गुनासो गरे ।

“केटाहरुले डिस्को नाच्न थाले । हामी बूढाहरुले मात्रै मेडरी नाच्नुपर्ने अवस्था आयो,” उनले भने, “यो नाच छोड्नै नमिलेका कारण हामीलाई नाच्न कर लालेको छ । अहिलेका यसवा सिक्न र नाच्न नमान्दा प्राचीन संस्कृति नै हराउने चिन्ता लागेको छ ।” मेडरी नाचमा महाभारतको सबै कथा भनेर नाच्ने गरिएको भन्दै ८० वर्षीय थनेतले एकै ठाउँमा सबै गीत गाउन नसकिए पनि खण्डखण्डमा गीत गाउने गरेको बताए ।

“हामीले भाकल गरेर यो नाच सुरु गर्छौं, नाच्नुभन्दा अगाडि धाजो खाँबो गाडेर त्यसको पूजा गरेपछि मात्रै नाच सुरु गरिन्छ”, उनले भने । धाजो नगडी नाच्न सुरु गरे अशुभ हुने उनको भनाइ छ । “पहिले गुरौँ (थारु समुदायको पुरोहित) ले पूजा गरेपछि नबोल्ने साना बालबालिकालाई पूजा गर्ने थानमा लगेर मेडरी नाच छोड्न मिल्छ कि नाई भनेर सोध्दा उनीहरुमा देउता प्रवेश भएर यो नाच छोड्न मिल्दैन छोड्यो भने अनिष्ट हुन्छ भनेपछि हामीले नाचलाई निरन्तरता दिँदै आएका छौँ,” थनेतले भने, “हामी बूढाहरुले यहाँसम्म ल्याएको प्राचीन संस्कृति अब हामीपछि अगाडि बढ्दैन कि भन्ने चिन्ता लागेको छ ।”

पञ्चायतको पालामा राजा महेन्द्रले यो नाच हेर्ने नवलपुरका थारुहरु पोखरा गएर राजालाई नाच देखाउने गरेको उनले जानकारी दिए । “राजा वीरेन्द्रको निमन्त्रणामा हामीले बुटवलमा पुगेर पनि नाच देखाएका छौँ,” थनेतले भने, “अहिलेका धेरै नेताहरुले हाम्रो नाच देखेका छन् तर संरक्षणमा ध्यान दिएका छैनन् ।” अश्विन शुक्ल प्रतिपदादेखि कार्तिक शुक्ल एकादशीसम्म मेडरी नाच्ने गरिएको भन्दै उनले एकादशीको दिन पाण्डवहरुलाई जम्मै कुरा भनेर यस वर्षको नाच समापन गरिने बताए । मध्यविन्दु–३ का विकाराम गुरौँले कुनै संस्था वा समुदायले प्राचीन मेडरी नाचका लागि निमन्त्रणा गरेपछि मात्रै नाच्ने गरिएको बताए ।

“विधि पुर्‍याएर नाच्नका लागि निकै कठिन छ । त्यसैले पनि युवाहरुले खासै चासो दिएका छैनन्,” उनले भने, “उनीहरु हिन्दी तथा डिस्को नाच्न थालेपछि यो नाच लोप हुँदै गइरहेको छ ।” मेडरी नाचको पूरै कथा समेटिने गरी भिडियो निर्माण गरेर राख्दा पछिल्ला पुस्ता यसप्रति आकर्षित हुनसक्ने उनको भनाइ छ । “अहिलेका युवाले महाभारतको अर्थ बुझ्दैनन् । द्वापर युगमा भएको घटनाबारे चासो दिएका छैनन्,” गुरौँले भने, “पाण्डव र कौरवको जन्म, उनीहरुबीच राजकाजका लागि भएको विवाद, लडाइँसहितका सबै घटनाक्रमलाई मेडरी नाचमा प्रस्तुत गरिन्छ ।”

नयाँ पुस्तालाई आफ्नो कला र संस्कृतिप्रति चासो दिनुपर्छ, सिक्नुपर्छ भनेर भन्दा पनि उनीहरुले चासो नदिएका उनले गुनासो गरे । “हाम्रो संस्कार संस्कृति संरक्षण गर्दै अघि बढ्नुपर्छ,” गुरौँले भने, “संस्कृति नै हरायो भने हाम्रो अस्तित्व पनि हराउन सक्छ । यसतर्फ युवालाई जागरुक बनाउन राज्यले पनि भूमिका खेल्नुपर्छ ।” गाउँभरिका मानिस भेला भएर महाभारतको कथालाई गीतमार्फत गाउँदै धाजोलाई घुमेर मेडरी नाचिने उनको भनाइ छ ।

महाभारत युद्धमा प्रयोग भएका अर्जुनको घोडा, तरवार, भाला, गदालगायतका सामग्रीका रुपमा काठबाट बनेका सामग्री लिएर मेडरी नाच्ने प्रचलन रहेको गुरौँले जानकारी दिए । “यो नाच हामीले कात्तिकको ठूलो एकादशीमा समापन गर्छौँ” उनले भने, “एकादशीमा नाचेपछि हामीले पञ्चपाण्डवलाई तिमीहरुको कथामा आधारित नाटक हामीले गर्‍यौँ, आजदेखि तिमीहरुलाई हामीले यही थानमा स्थिर राख्छौँ भनेर अर्को वर्षसम्मका लागि जिम्मा लगाएर बस्छौँ ।”

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ६ : २२ बजे

बजेटले अर्थतन्त्रलाई नयाँ दिशा दिने सिएनआईको विश्वास

काठमाडौं– नेपाल उद्योग परिसङ्घ (सिएनआई)ले सरकारले हालै सार्वजनिक गरेको आर्थिक

तनहुँ जलविद्युत् आयोजना : मुख्य बाँध ५० प्रतिशत पूरा

दमौली– तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत

अर्थमन्त्रीको गैरकानुनी हर्कत, आर्थिक विधेयकमा सुटुक्क ११ पेज हटाए

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले गम्भीर गैरकानुनी हर्कत गरेको फेला

अध्यक्ष ओली प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित

काठमाडौँ– नेकपा एमालेको दुईदिने ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक

वीरगञ्ज नाकाबाट १० महिनामा २० अर्ब ७९ करोडको खाद्यान्न आयात

वीरगन्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को १० महिनामा