अनुदानमा वितरित गहुँको बिउ नउम्रेपछि पालिकासँग क्षतिपूर्ति माग्दै किसान | Khabarhub Khabarhub

अनुदानमा वितरित गहुँको बिउ नउम्रेपछि पालिकासँग क्षतिपूर्ति माग्दै किसान


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको धनगढीमाई नगरपालिकाले मेयर शिव शंकर महतोको ठाडो आदेशमा बिउ खरिद गरी ५० प्रतिशत अनुदानमा बाँडेको गहुँको बिउ नउम्रिँदा किसान मर्कामा परेका छन् ।

नगरपालिकाले दोस्रो चरणको गहुँको बिउ मेयरको ठाडो आदेशमा उनकै नातामा पर्ने एक निजी व्यवसायीमार्फत करिब ११ लाखमा ११० क्विन्टल बिउ खरिद गरेर किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरे पनि खेतमा गहुँको बिउ नउम्रिँदा किसान मर्कामा परेका हुन् ।

नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा प्राप्त गहुँको बिउ ८ कट्ठा जमिनमा छरेको भए पनि एउटै नउम्रेको धनगढीमाई ४ फूलकाहाकट्टीका किसान जय प्रकाश महतोले बताए । उनले भने, ‘नगरपालिकाबाट प्राप्त बिउ नै छरेका थिए । एउटै बिउ नउम्रेकोले पनि खेत बाँझै छ । नगरपालिकाले उपलब्ध गराएको बिउ नउम्रेकाले आफूहरूले क्षतिपूर्ति पाउनुपर्छ ।’

महतोले वडाको सिफारिस लिएर दुई दाजुभाइले नगरपालिकाको कृषि शाखाबाट ४० किलो गहुँको बिउ ल्याएका थिए । उनीहरूले ८ कट्ठा खेतमा गहुँ छरेका थिए ।

धनगढीमाई नगरपालिका ४ जयपुरका किसान किशोरी यादवले भने, ‘नगरपालिकाबाट अनुदानमा ४५ रुपैयाँको दरले ४० केजी गहुँ छरेको १० दिन बितिसक्दा पनि गहुँ उम्रेन । सँगै छरेको जौ उम्रे पनि गहुँ नउम्रेपछि गाउँमै पुनः ६० रुपैयाँ किलोका दरले बिउ किनेर छरेँ ।’

यसबारे थप बताउँदै उनले प्रश्न गरे, ‘६ दिनमा उम्रिएर ९ दिनमा दुई पात हुनुपर्ने गहुँ यत्रो दिन बित्दा पनि उम्रिएन । खाद, मल, ट्याक्टरको जोताई सबै खेर गयो । हामी किसानको जहाजै डुब्यो। कसरी बालबच्चा पाल्ने ? यही उब्जाले जसोतसो परिवार चलिरहेको थियो । यो पटक लगानी धेरै लागिसक्यो, पस्तिया भएको गहुँ पनि कति फल्ने पत्तो छैन ।’

यस्तै व्यथा छ धनगढीमाई ४ जयपुरका रासोभित यादवको पनि । उनले पनि बुबा र आफ्नो नाममा ४० केजी बिउ ल्याएर १० कट्ठामा छरेका थिए । अहिले खेत बाँझै छ । छरेको बिउ नउम्रेपछि उनी नयाँ बिउ किनेर पुनः छर्ने तरखरमा छन् ।

यी ४ चार त प्रतिनिधि किसान मात्र हुन् । नगरपालिकाबाट अनुदानको गहुँको बिउ लैजाने ५५० जना किसानको अवस्था  यस्तै छ । धनगढीमाई नगरपालिकाले किसानलाई अनुदानमा बाँडेको गहुँको बिउ  नउम्रिएपछि ५५० जना किसानको करिब १३५ बिघा खेत बाँझै हुने भएको छ ।

कतिपय किसान दोहोर्‍याएर नयाँ बिउ खरिद गर्दै छर्ने तयारीमा छन् भने धेरैको खेत बाँझै हुने भएको छ । अघिल्लो चरणमा ट्रेडिङ्ग कर्पोरेसन लिमिटेड लहानबाट बिउ खरिद गरेका थिए । बिउको माग बढेपछि नगर प्रमुखको ठाडो आदेशमा सुनसरीको देवानगञ्जस्थित कुशवाहा बिज भण्डारबाट उक्त बिउ ल्याएका थिए । सुनसरीबाट ल्याएको आदित्य जातको ११० क्विन्टल गहुँको प्रति किलो ४५ मा किसानलाई वितरण गरेको थियो । उक्त बिउ लैजाने ५५० जना किसान ठगिएका हुन् ।

गहुँ नउम्रेपछि किसानको ट्याक्टर जोताई खर्च, डिएपी मल र पोटास छरेको खर्च, कियाली बनाउन लागेको मजदुर खर्च  र बिउ किनेको खर्च पनि डुबेको छ । यस विषयमा धनगढीमाई नगरपालिकाका कृषि शाखा प्रमुख अशोक पासवानसँग जिज्ञासा राख्दा उनले भने, ‘पहिलो चरणमा साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडबाट ल्याएको १० लाख बराबरको गौतम जातको गहुँको बिउ राम्रो थियो । उक्त बिउ प्रतिकिलो ८० रुपैयाँमा उपलब्ध भएको र  ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गरिएको थियो । साल्ट ट्रेडिङ्गको बिउ लैजाने सबै किसानको गहुँ राम्रो उम्रिएको छ । गहुँको बिउ माग्ने किसानको चाप बढेपछि पुनः ११ लाख बराबरको  ११० क्विन्टल गहुँको बिउ मगाइयो ।  तर, पछिल्लो लटमा आएको बिउमा धेरै सिकायत आयो। दैनिक दर्जनौँ किसान कृषि शाखा घेराउ गर्न आउँछन्। गहुँको बिउ उम्रिएन, क्षतिपूर्ति देऊ भन्छन् । हामीले के गर्नु के गर्नु? अप्ठ्यारोमा परेका छौँ ।’

मयेर शिव शंकर महतोकै आदेशमा बिउ ल्याएर वितरण भएको पासवानले बताए। उनले भने, ‘आफूहरूले रोजेको पनि होइन, निर्णय गरेको पनि होइन। पालिकाबाट जुन बिउ उपलब्ध गराइयो त्यही बिउ वितरण गरिदिएका हौँ । ल्याबबाट ल्याएर हामीसमक्ष पेस गरिएको जर्मिनेशन र मर्सराइजर प्रमाण पत्र  हामीले हेरेका हौँ । प्रमाण पत्र ठिकै थियो। कुन बिउ कति दर रेटमा कहाँबाट खरिद गर्ने भन्ने सबै निर्णय मेयर साहबको हो।’

नगरपालिकाको कृषि संयोजकसमेत रहेका १ नम्बर वडाका वडाध्यक्ष सूर्य नारायण यादवलाई पनि यसको जिम्मेवारी र जबाफदेही मेयर महतोले लिनुपर्ने बताए। किनकि बिउ उनकै निर्देशनमा कुशवाहा बिज भण्डार सुनसरीबाट खरिद गरिएको उनले बताए । उनका अनुसार आदित्य जातको बिउ किसानले मागेकै थिएनन्।

सुनसरीबाट किन बिउ खरिद गरियो होला ? भन्ने प्रश्नमा वडाध्यक्ष यादवले भने, ‘नाता, कुटुम्बले पनि काम गरेको होला। अब किसानको मर्का त नगरपालिकाले बुझ्नु पर्छ। अनर्थ भएको छ।’ धनगढीमाई नगरपालिका ४ का वडाध्यक्ष ओम यादवले दर्जनौँ किसान गुनासो गर्न आएको बताए। उनले आफै किसानको खेत–खेत घुमेर हेरेको भन्दै पछिल्लो लटमा बाँडिएको बिउ नउम्रिएको बताए। उनले बिउका कारण सयौँ किसान मर्कामा परेको बताए।

यस सम्बन्धमा आवश्यक जानकारी लिन हामीले धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकुमार महतोसँग बारम्बार फोन सम्पर्क गर्ने प्रयास गर्‍याैँ तर उनले फोन  सम्पर्कमा आउन चाहेनन्।   यस सम्बन्धमा धनगढीमाई नगरपालिकाका मेयर शिव शंकर महतोसँग बुझ्दा उनले बाहिर हल्ला चलेजस्तो केही भएको नभएको भन्ने जवाफ दिए । दुई चार जना किसानको खेतमा चिस्यान नभएर गहुँ नउम्रिएको हुनसक्ने उनले बताए । ‘धेरै किसानको खेत बाँझै छ, हामी आफैँ किसानको खेतमा पुग्यौ भनेपछि मेयर महतोले आफू काठमाडौंमा भएको भन्दै १० गते बिउ बिक्रेता पनि मगाउँछु  के  भएको हो?  म फर्केपछि हेर्छु,’ मेयर महतोले भने।

किसान क्षतिपूर्ति माग्दै छन् नि भन्ने प्रश्नको जवाफ दिँदै मेयर महतोले भने, ‘नगर कार्यपालिकाको बैठकबाट निर्णय गरेर खरिद गरिएको हो। क्षतिपूर्ति दिनै परे बिउको पैसा मिनाहा गरिदिउँला ।’

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ४ : ०२ बजे

प्रधानमन्त्रीको दाबी : यो सरकारले देश र जनताको हितमा ऐतिहासिक काम गरेको छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको

बृखबहादुरको ९०औँ बर्थडे : करोडको जग्गा दान

सुनसरी– धरान १४ विजयपुर बस्ने बृखबहादुर डंगोलले आफ्नो ९०औँ जन्म

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा

वीरगञ्ज– नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर

कक्षा १२ की परीक्षार्थीमाथि झापाको दमकमा गोली प्रहार

झापा- झापाको दमकमा एकजना विद्यार्थीलाई गोली हानिएको छ। शुक्रबार स्थानीय