धारामा पानी नपठाउने तर बिल पठाउने काम अन्त्य गर्नुस् : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

धारामा पानी नपठाउने तर बिल पठाउने काम अन्त्य गर्नुस् : प्रधानमन्त्री प्रचण्ड


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धारामा पानी नआउने तर बिल आउने समस्याबाट धेरै उपभोक्ता दिक्दार भएकाले त्यो समस्या तुरुन्त समाधान गर्न निर्देशन दिएका छन् ।

सिंहदरबारमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त ब्रिफिङ तथा छलफल कार्यक्रममा उनले पानी नआउने उपभोक्ताको बिल मिनाहा गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘धारामा पानी नआउने तर बिल चाहिँ आइरहने समस्या के हो ? यसबाट उपभोक्ता दिक्दार छन् । त्यसैले कहाँकहाँ त्यस्तो समस्या छ, जहाँको धारामा पानी आउँदैन, त्यो बिल मिनाहा गर्ने व्यवस्था मिलाउनुस् र आगामी दिनमा त्यस्तो समस्या आउन नदिन योजनाबद्ध रूपमा काम गर्नुस् ।’ मेलम्ची खानेपानी आयोजनाको कामलाई थप तीव्र पार्नसमेत उनले निर्देशन दिए ।

दैनिक १७ करोड लिटर पानी एक महिनाभित्र सुन्दरीजलमा पुर्‍याउने योजनासहित २८ दिनको एकीकृत कार्य योजना निर्माण भई अहिले दुई सत्रमा काम भइरहेकामा प्रधानमन्त्रीले प्रसन्नता व्यक्त गरे । उनले भने, ‘एक महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा ल्याइन्छ । यसैअनुरूप खानेपानी मन्त्रालयको नेतृत्व र सबै टिमले विशेष चासो दिएर काम गर्नुहोला ।’

काठमाडौँ उपत्यकामा अहिले दैनिक २५ करोड लिटर खानेपानीको माग रहेकाले मेलम्चीबाहेक अन्य स्रोतको पनि पहिचान गरी कार्य गर्नुपर्नेमा प्रधानमन्त्री दाहालले जोड दिए । मकवानपुरस्थित सिस्नेरी खोलाबाट एघार करोड लिटर पानी काठमाडौँ उपत्यकामा पथान्तरण गर्नका लागि सम्भाव्यता अध्ययन भइरहेकाले यसलाई तीव्रता दिन उनले सरोकारवाला निकायलाई आग्रह गरे ।

‘पहाडी तथा हिमाली क्षेत्रमा महिलाले घरदेखि टाढाबाट गाग्रीमा पानी बोकेर ल्याउनुपर्ने अवस्था छ । यसबाट महिलामा आङ खस्ने समस्या देखिएको अवस्था छ । यसलाई सम्बोधन गर्ने प्रस्ताव ल्याउनुस्’, प्रधानमन्त्रीले भने ।

बैठकमा खानेपानी मन्त्री महेन्द्रराय यादवले खानेपानी आयोजनामा संरचनागत सुधार जरुरी रहेको बताउँदै सार्वजनिक खरिद नियमावलीको सरलीकरण, कानुनी समस्याको सम्बोधन गरी खानेपानी आयोजना निर्माणमा लगानी गर्न इच्छुक अन्तर्राष्ट्रिय समुदायलाई आकर्षित गर्नुपर्ने उल्लेख गरे । उनले चुरेमा रिजर्भ ट्याङ्की बनाएर चुरे क्षेत्रको रिचार्ज गर्नुपर्ने भन्दै काठमाडौँमा रहेका ढुङ्गेधाराबाट खेराइरहेको खानेपानीको सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

बैठकमा मुख्यसचिव डा अर्यालले मेलम्चीसँगै याङ्ग्री र लार्के खोलाको पानी मेलम्ची आयोजनामा जोड्ने कामलाई प्राथमिकता दिनुपर्ने बताए । मेलम्ची आयोजना निर्माणका क्रममा बाँकी रहेको बक्यौता रकम कानूनी प्रक्रिया मिलाएर टुङ्ग्याउनुपर्ने उनको भनाइ थियो । उनले भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि केही नयाँ प्रावधान राखेर अगाडि बढ्नुपर्ने बताए ।

प्रधानमन्त्री कार्यालयका सचिव मणिराम गेलालले खानेपानी मन्त्रालयमातहतका काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय मर्जर गर्ने कामलाई छिटो टुङ्गोमा पुर्‍याउनुपर्ने बताए। उनले केयुकेएलको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिँदै खानेपानीको महसुल पुनः निर्धारण गर्नुपर्ने बताए ।

प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्यालले धारामा पानी नआउँदा पनि खानेपानीको महसुल तिर्न उपभोक्ता बाध्य रहेकाले यस्तो महसुल सरकारले मिनाहा गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ५ : ३५ बजे

एकपछि अर्का नेताले रास्वपा छाड्दै, बागमती उपसभापति पनि हुमागाईं पनि बाहिरिए

काठमाडौं- खासगरी टिकट वितरणलाई लिएर देखिएको विवादपछि राष्ट्रिय स्वतन्त्र पार्टीबाट

चिनियाँ रोबोट कुकुरलाई आफूले बनाएको दाबी गर्ने भारतको गलगोटिया विश्वविद्यालय प्रश्नको घेरामा

काठमाडौं- भारतको एउटा विश्वविद्यालयले चिनियाँ रोबोट कुकुरलाई आफैँले बनाएको दाबी

प्रहरीले भन्यो- यसवर्ष सवारी दुर्घटनामा १ सय ३२ जनाले ज्यान गुमाए

काठमाडौं– उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्षमा सवारी दुर्घटनामा

एमालेको घोषणा पत्रमा परराष्ट्र नीति : सबैसँग मित्रता, भारत र चीनलाई पहिलो प्राथमिकता

काठमाडौं- नेकपा (एमाले) ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि

प्रधानमन्त्री रहमानद्वारा १८० दिनको प्राथमिकता योजनाको रूपरेखा प्रस्तुत

एजेन्सी – बङ्गलादेशका नव निर्वाचित प्रधानमन्त्री तारिक रहमानले आफ्नो सरकारको