सिद्धार्थ राजमार्ग जीर्ण : वर्षौँदेखि स्तरोन्नतिको पर्खाइमा « Khabarhub

सिद्धार्थ राजमार्ग जीर्ण : वर्षौँदेखि स्तरोन्नतिको पर्खाइमा


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

वालिङ – पोखरा–सुनौली जोड्ने सिद्धार्थ राजमार्गको स्तरोन्नति गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाको पहलमा परामर्शदाताको उपस्थितिमा स्याङ्जाका विभिन्न ठाउँमा आयोजना गरिएका सार्वजनिक सुनुवाइ कार्यक्रममा सरोकारवालाले राजमार्ग स्तरोन्नतिको माग गरेका हुन्।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पोखरा सडकखण्डको एक सय ५७ किलोमिटर सडक स्तरोन्नतिका लागि वर्षौँदेखि आवाज उठदै आएको छ। स्याङ्जाको गल्याङ, वालिङ, भिरकोट, पुतलीबजारलगायत ठाउँमा सार्वजनिक सुनुवाइ गरी सरोकारवालाको राय तथा सुझाव सङ्कलन गरिएको सडक विभागका प्रतिनिधि युवराज सत्यालले बताएका छन्। बुटवलबाट पोखरासम्म सुझाव सङ्कलन गरिएको उनले बताए। “सिद्धार्थ राजमार्ग धेरै पुरानो, साँघुरो र जीर्ण हुँदै गएको छ, यसको स्तरोन्नति गर्नुको विकल्प छैन”, वालिङ नगरप्रमुख कृष्ण खाँण बताउँछन्।

स्याङ्जालीको भविष्यसँगै जोडिएको उक्त राजमार्गको स्तरोन्नति अति अत्यावश्यक भएको उनको भनाइ छ। “सडक छेउछाउका बासिन्दा पटक–पटक आतङ्कित भइरहनुभन्दा एकपटक दीर्घकालीन हुने गरी सडक विस्तार गर्नु उपयुक्त हुन्छ”, खाँणले भने। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई जोड्ने उक्त सडकको स्तरोन्नति जरुरी छ।

सिद्धार्थ राजमार्गको दायाँबायाँ रहेका घरटहरा बचाऔँ सङ्घर्ष समितिका अध्यक्ष पिताम्बर श्रेष्ठ सडक स्तरोन्नति नगरिए यसको प्रयोगमा कमी आउने बताउँछन्। “वैकल्पिक मार्ग प्रयोग गर्ने बढ्दै छन्, त्यसैले यो सडक स्तरोन्नति आवश्यक छ”, उनले भने। सिद्धार्थ राजमार्ग सञ्चालनमा आएको ५२ वर्ष भए पनि अहिलेसम्म स्तरोन्नति हुन नसक्नु दुःखद् भएको उनको भनाइ छ। सडकका घुम्ती काट्दा र चौडा बनाउँदा हालको सडकको लम्बाई करिब ३२ किलोमिटर कम हुने दाबी गरिएको छ। घुमाउँरो र साँघुरो भएकै कारण दुर्घटना बढी हुने गरेको पाइएको छ।

सिद्धार्थ राजमार्ग स्तरोन्नति गरी बाह्रैमास सञ्चालन गर्न सकिने बनाउने योजना छ। भारतसँग जोड्ने व्यापारिक मार्गका रूपमा रहेको उक्त राजमार्गको सबैभन्दा बढी ६७ किलोमिटर क्षेत्र स्याङ्जामा पर्छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने तथा तराईलाई पहाडसँग जोड्ने मुख्य सडकको रूपमा यो राजमार्ग रहेको छ। हाल यो सडक ६ दशमलव ८ देखि ७ मिटर चौडा छ। अब स्तरोन्नति हुने सडक कुल १० मिटर चौडाइको हुने छ। स्याङ्जा अन्तर्गतको क्षेत्रमा ३७ पुल निर्माण गरिने छन्। विस्तारित सडकखण्डमा ४७ हेक्टर वन क्षेत्र पर्ट। यसमा ४३ सामुदायिक वन र एक धार्मिक वन रहेको बताइएको छ। सडक विस्तारका क्रममा दुई हजार आठ सय ८६ रुख कटान गर्नुपर्ने देखिएको छ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ८ : ३९ बजे

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

कर्णाली– कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन

‘संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको