राजनीति

धनकुटाका आगलागी पीडितलाई मन्त्री राईको सहयोग

By खबरहब

January 25, 2023

धनकुटा– धनकुटाको सिन्धुवा बजारका आगलागी पीडितलाई भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले आफ्नो मासिक तलबबाट कटृा हुनेगरि  सहयोग उपलब्ध गराएका छन् ।

उनले छथर जोरपाटी गाउँपालिका-६ स्थित सिन्धुवा बजारमा पुगेर आठ पीडितलाई ५५ हजार सहयोग गरेका हुन् । मन्त्री राईले  पीडित झमक थापालाई रु १५ हजार, सन्तबहादुर राईलाई १० हजारका साथै लीला थापा, डिकबहादुर खड्का, ललित राई, डम्बरबहादुर थापा, अर्जुन घिमिरे र यमन मगरलाई जनही पाँच-पाँच हजार प्रदान गरे । उनले आगजनीमा नष्ट भएको घर बनाउन पहल गरिने प्रतिबद्धता पनि जनाए ।

स्थानीयवासीसँगको भेटमा मन्त्री राईले चाँडै नयाँ भूमि आयोग गठन गरेर भूमिहीनको समस्या समाधान गरिने जानकारी दिए । धनकुटाको भूमिसम्बन्धी समस्या समाधान गर्न जिल्लाका मालपोत अधिकृत र नापी अधिकृतसँग छलफल भइरहेको पनि उनको भनाइ थियो। 

गत पुस ३० गते राति लागि हुँदा छथर जोरपाटी गाउँपालिका–६ स्थित सिन्धुवा बजारका पाँच घर जलेर नष्ट हुँदा ४९ लाख बराबरको धनमाल क्षति भएको थियो ।