फाइल तस्वीर

अन्तर्राष्ट्रिय

भारतको कश्मीर उपत्यकामा सौर्य ऊर्जाको खपत बढ्दै

By खबरहब

January 25, 2023

काठमाडौँ– भारतको कश्मीर उपत्यकामा सौर्य ऊर्जाको खपत बढ्दै गएको छ । सरकारले आवासीय भवनको छानोमा राखिने सौर्य प्यानलको खरिदमा २५ प्रतिशत अनुदान दिने घोषणा गरेसँगै उपत्यकामा सौर्य ऊर्जाको खपत बढेको हो ।

ऊर्जा वितरण केन्द्रबाट हुने बिजुलीको आपूर्तिमा अनियमितता र बिजुलीको महशुल पनि वृद्धि हुँदै गएकाले कश्मीर उपत्यकाका मानिसहरु सौर्य ऊर्जातर्फ आकर्षित भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

कश्मीरमा विद्युत आपूर्ति गर्दै आएको कश्मीर ऊर्जा वितरण प्राधिकरण लिमिटेडले हाल उपत्यकामा १ हजार ७ सय मेगावाट विद्युत आपूर्ति गर्दै आएको छ ।

केही वर्षअघिसम्म स्थानीयले खासै चासो नदिएकाले घाटामा चल्दै आएको व्यवसाय पछिल्लो समय भने ह्वात्तै बढेको कश्मीरको राजधानी श्रीनगरका सौर्य प्यानल व्यवसायीले जनाएका छन् । पछिल्लो समय सौर्य प्यानलको माग ४० प्रतिशतसम्म वृद्धि भएको ती व्यवसायीलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।