मिडियामा साहित्यले महत्त्व पाएको छ « Khabarhub

मिडियामा साहित्यले महत्त्व पाएको छ

समाजमा महिलाको सोचाइ नै परिवर्तन भएको छ


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सन्ध्या पहाडीले साहित्यका विविध विधामा कलम चलाएकी छन्। उनी कविताको फाँटमा निकै रमाएको पाइन्छ। उनका कवितामा नारीको सशक्त आवाज, मानवीय पीडा, वेदना र संवेदना पाइन्छ। नेपाली भाषा, साहित्य, कला र सिर्जनाको विषयमा केन्द्रित भएर कवि तथा साहित्यकार सन्ध्या पहाडीसँग भगवती बस्नेतले गरेको कुराकानी सम्पादित अंश:

तपाईंको साहित्यिक यात्रा कस्तो रहेको छ ?
साहित्य सिर्जनामा लागेको तीन दशक भइसकेको छ। विद्यालयको पढाइदेखि नै म साहित्य लेखनमा सक्रिय थिएँ । सानोमा नै स्कुलमा निबन्ध लेखेर पुरस्कार पाएँ। त्यसबाट साहित्यतर्फ लाग्ने प्रेरणा पाएकी थिएँ। रेडियो नेपालको बाल कार्यक्रममा गएर पनि कविता सुनाएको सम्झना छ।

तपाईंको नेपाल टेलिभिजनमा भएको अभिव्यक्ति कार्यक्रमको केही संस्मरण सुनाइदिनु हुन्छ?
त्यो समयमा नेपाल टेलिभिजन मात्र नेपाल टेलिभिजन थियो। अन्य च्यानलपछि आएका हुन्। त्यतिबेला एउटा टिभीको धेरै चाम थियो। एउटा मात्र टेलिभिजन भएकोले धेरैले राम्रो प्रतिक्रिया दिने भएकोले त्यहाँ पुग्नु ठूलो गर्वको विषय हुन्थ्यो।

रेडियो नेपालमा तपाईंले चलाउने महिला सम्बन्धित कार्यक्रम के कस्ता विषय छलफल हुने गरेका थिए ?
समाजका विविध विषयमा छलफल हुने गरेको थियो। यो २०५०/२०५१ साल तिरको कुरा हो। जुन साप्ताहिक रूपमा विभिन्न विषयमा छलफल हुने कार्यक्रम थियो। यो वास्तवमा महिलासँग सम्बन्धित कार्यक्रम थियो। त्यो समय नै फरक थियो। अहिले महिला सम्बन्धी सोच अझ फरक भएर अगाडि बढेको छ।

महिलामा पहिले र अहिले के कस्तो परिवर्तन पाउनु हुन्छ ?
धेरै परिवर्तन छ। अहिलेको परिस्थितिले नै महिलामा धेरै सचेतनाको विकास गराएको छ। अहिलेको नयाँ पुस्ताको सोचाइमै धेरै भिन्नता पाइन्छ। महिलालाई अध्ययनले पनि धेरै अगाडि बढाएको छ। विभिन्न राजनीतिक घटना तथा परिघटनाले विभेदको एक हदसम्म अन्त्य भएको छ।

नेपाली लेखक संघबारे केही भन्दिनुस् न ?
नेपाली लेखक संघको आफ्नो एउटा इतिहास छ। बिपी कोइरालादेखि युग कवि सिद्धिचरण श्रेष्ठ जोडिएर खोलेको संस्था हो। लेखक साहित्यकारको पक्षमा आफ्नो काम गर्दै आएको छ। त्यसको निरन्तरता अहिले पनि भइरहेको छ।

तपाईं वृत्त चित्रमा स्क्रिप्ट राइटिङ गर्नुभयो त्यो बेलाको अनुभव कस्तो छ ?
त्यो समयमा धेरै नै गाह्रो थियो। कुनै काम गर्न पनि अहिले जस्तो सजिलो थिएन। सुटिङमा हिँड्दा नै इकुप्मेन्ट पाउन गाह्रो थियो। अहिले त्यो सहज छ। धेरै कुरा मिल्नु पर्ने थियो। मिडियाले समाचारलाई मात्र महत्त्व दिएका हुन्थे। तर साहित्यले कम महत्त्व पाएको थियो। अहिले त्यसमा सुधार आएको छ।

मान्छेले नेपाली लोक साहित्यमा कतिको अध्ययन गरेको पाउनु भयो ?
नेपाल म्युजिक सेन्टरमा म २०६३ सालदेखि संलग्न रहेकी छु। यसले लोक साहित्यमा अध्ययन अनुसन्धान गर्ने काम धेरै गरेको छ। विभिन्न जातजातिको अध्ययन अनुसन्धान गर्ने पहिला लोक साहित्य अध्ययनमा ध्यान नदिएको अवस्था थियो। अहिले त्यो छैन। यसको खोजी र अध्ययन गर्नेहरु बढेर गएका छन्।

अनुशासनको अन्तर्दृष्टि पत्रिकाको प्रधान सम्पादक भएर काम गर्दा के कस्ता सिर्जना पाउनु भयो ?
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केही समय कार्यरत रहेको हो। सबै देशमा यसका आजीवन सदस्य, च्यापटर, लेख रचना, कथा कविता पनि अटाएका छन्। केही कथा विशेष भनेर पनि निकालिएको छ। यसमा सबै किसिमका सिर्जना रहेका छन्।

वर्तमान साहित्यको अवस्था कस्तो पाउनु भएको छ ?
साहित्यको अवस्था आशा लाग्दो नै छ। लेखनमा पनि धेरै विषय समेटिएका छन्। अहिलेका साहित्यकार लेखेर ठूलो उपलब्धि प्राप्त गर्न सफल भएका छन्। यो देख्दा खुशी लाग्छ। कलात्मक रूपमा पनि ती उत्कृष्ट रहेका छन्। अहिलेको अवस्थामा भने हतारिएको हो जस्तो मलाई लाग्छ। गम्भीरतामा कम भएको हो जस्तो लाग्छ। लेखनको त बाढी जस्तो आएको छ अहिले। संख्यात्मक रूपमा मात्र होइन, गुणात्मक रूपमा पनि उत्कृष्ट सिर्जना पाइन्छ। कतिपयमा धैर्यता तथा गम्भीरता कम भएको अनुभव चाहिँ हुने गरेको छ।

तपाईंको विचारमा कविता के रहेछ ?
कविता परिवर्तनशील छ। त्यस कारण एउटा परिभाषामा बाँध्न सकिन्छ जस्तो मलाई लाग्दैन। कविता भाषाको सुन्दर, विशिष्ट अभिव्यक्ति यसको आफ्नै विशिष्ट संरचना, लय रहेको छ। कुनै विषय कवितामा नअटाएको छैन। भनिन्छ जहाँ नपुगे रवि त्यहाँ पुगे कवि सबै विषय कवितामा समेटिएका छन्।

सिर्जनात्मक जीवनलाई फर्केर हेर्दा कस्तो लाग्छ ?
पछाडि फर्केर हेर्दा पछुतो लाग्दैन। आफू जुन युगमा बाँचे त्यसमा गर्व नै लाग्छ। चेतनाको हिसाबले मानिसले सिक्ने भनेको जिन्दगीबाट नै रहेछ। चेतना हिजोको दिनमा कम थियो आज बढी हुँदै गएको छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ७ : २३ बजे

प्रधानमन्त्री बालेनको उद्योगी व्यवसायीसँग श्रृंखलाबद्ध भेटघाट, अर्थतन्त्र चलायमानमा कति फरक पर्ला ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ सरकार बनेको एक सय दिनसम्म

एक वर्षमा २० खर्ब ९६ अर्बको आयात, निर्यात तीन खर्ब नाघ्यो

काठमाडौं– गत आर्थिक वर्ष ०८२-८३ को १ वर्ष अवधिमा नेपालमा

टेकुको आधुनिक फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने

काठमाडौं– काठमाडौं महानगरपालिकाले टेकुमा निर्माणाधीन आधुनिक फोहोर स्थानान्तरण केन्द्रलाई मंसिरभित्र

नेपालले गुमायो पाचौँ विकेट, दीपेन्द्रसिंह ऐरी आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले पाचौँ विकेट

राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ

काठमाडौं– कथावाचिका राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ परेकी छन् ।