दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार | Khabarhub Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 6 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

आज दिनभर सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रचण्डको तयारी, सरकारले कोशी नामकरणबारे छानबिन समिति बनाउने, सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान, गृहमन्त्रालयका २५ जना अधिकारीको सरुवा, मेलम्चीको पानी सूर्यविनायकमा वितरण गर्न सम्झौतालगायत समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू :

सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

शनिबार काठमाडौंमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सोमबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् ।

प्रचण्डले आइतबार साँझसम्म मन्त्रिमण्डल बाँडफाटका विषयलाई टुंग्याउने र सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने जानकारी गराएका बैठकपछि माओवादी सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

प्रधानमन्त्रीले सवै दलसँग छलफल गरेका र आइतबार गठबन्धन बैठकमा मन्त्रीहरूको नाम प्रस्ताव हुने पौडेलले जानकारी दिए ।

बैठकमा संसदलाई प्रभावकारी बनाउने, संक्रमणकालीन न्यायसँग सम्बन्धी विधेयकलाई टुङ्गाउन अन्य दलहरूसँग छलफल गर्ने निर्णय भएको उनले बताए ।

सरकारले कोशी नामकरणबारे छानबिन समिति बनाउने

सरकारले कोशी प्रदेश नामकरण विवादपछि यही चैत ५ गते भएको घटनाको छानविन गर्न समिति गठन गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको’ आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

कोशी प्रदेश नामकरण विवादपछि देखिएको घटनाक्रमप्रति सरकार गम्भीर रहेको र चैत ५ गते भएको घटनाका सम्बन्धमा गृहमन्त्रालयले समिति गठन गरी तत्काल छानबिन अघि बढाउने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए ।

समग्र घटनाका सम्बन्धमा छलफल गर्न सरकारले सम्बन्धित पक्षलाई संवादका लागि आह्वान गरेको छ ।

सरकारले युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारले युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको जनाएका छन् ।

शनिबार भरतपुरमा नेपाल कराते महासंघको ७ औँ प्रशिक्षक प्रशिक्षण तथा मास्टर्स् मिट्स् प्रतियोगिताको समारोहलाई बालुवाटारबाट भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्रीले खेलाडीलाई हौसला बढाउनेदेखि प्रतियोगितामा विजयी खेलाडीहरूलाई पुरस्कृत गर्ने, खेल क्षेत्रका कार्यक्रमहरू उपस्थित भएर सम्बोधन गर्ने गरेको जनाएका हुन् ।

प्रधानमन्त्रीले भने, “मैले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको छु । तीन महिनाको अवधिमा मैदानमै पुगेर खेलाडीलाई हौसला बढाउनेदेखि प्रतियोगितामा विजयी खेलाडीहरूलाई पुरस्कृत गर्ने, खेल क्षेत्रका कार्यक्रमहरू उपस्थित भएर सम्बोधन गर्ने र खेल क्षेत्रसँग सम्बन्धित पदाधिकारीहरूलाई बोलाएर खेल क्षेत्रको विकास, खेलाडीहरूको भविष्य निर्माण र भविष्य खेल क्षेत्रमा देशको उचाइ कसरी बढाउन सकिन्छ भन्नेबारे निरन्तर सम्वाद र अन्तरक्रिया गर्दै आइरहेको छु । यसबाट नै तपाईहरूलाई प्रष्ट हुन्छ– वर्तमान सरकार र यसको नेतृत्व युवाहरूको भविष्य निर्माणमा सबैभन्दा प्रतिवद्ध र इमानदार छ।”

सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान

कास्कीको मादी गाउँपालिका वडा नं १ र २ मा निर्मित सुपर मादी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको छ ।

कूल ४४ मेगावाटको जलविद्युत् आयोजनाको निमार्ण सम्पन्न गरी आन्तरिक परीक्षण भई आयोजनास्थलबाट १९ किलोमिटर दूरीमा रहेको लेखनाथ सवस्टेशनमा जडान गरिएको कार्यकारी अध्यक्ष पुष्पज्योति ढुङ्गानाले जानकारी दिए ।

उनका अनुसार आयोजनाको बाँध, सुरुङमार्ग, विद्युत् गृहलगायत सम्पूर्ण क्षेत्रको काम सम्पन्न भइसकेको छ । आयोजना निर्माणमा आठ अर्ब ७० करोड रुपैयाँ खर्च भएको अध्यक्ष ढुङ्गानाले बताए । विसं २०७५ मङ्सिरदेखि निर्माण थालेको बताउँदै उनले २०७८ चैतदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिए पनि कोरोना महामारी तथा २०७८ असार १ मा मादी खोलामा आएको बाढीलगायत कारणले केही समय ढिलो भएको उल्लेख गरे ।

सुरुमा सात अर्ब ४७ करोड रुपैयाँ लागत भनिए पनि बाढी प्रकोप, बैंकको ब्याजदरमा आएको परिवर्तन, अर्थतन्त्रमा देखिएको तरलतालगायत कारणले उक्त लागत बढ्न गएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार बाढीका कारण एक अर्ब रुपैयाँभन्दा बढी नोक्सानी भएको छ । मुख्य सुरुङको लम्बाइ करिब छ किलोमिटर रहेको र कमजोर भौगोलिक अवस्थाका कारण करिब आठ सय मिटर पेनस्टक पाइप सुरुङभित्र जडान गर्दा करिब २५ करोड रुपैयाँ लागत थपिएको जनाइएको छ ।

आयोजनाका लागि दुई अर्ब १० करोड रुपैयाँ शेयर पुँजी रहेको छ । बाँकी सानिमा विकास बैंकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक, प्रभु बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कं लि।को लगानी रहेको अध्यक्ष ढुङ्गानाले जानकारी दिए ।

वार्षिक २४२ दशमलव ६५ गिगावाट घन्टा बिजुली उत्पादन हुने आयोजनाको सुपर मादी हाइड्रो पावर लिमिटेड प्रवद्र्धक एवं सिभिल ठेकेदार फेवा कन्ट्रक्सन प्रालि, हाइड्रो मेकानिकल ठेकेदार माछापुच्छ्रे मेटल एण्ड मेसिनरी प्रालि र इलेक्ट्रो मेकानिकल ठेकेदार एशिया प्यासिफिक पावर टेक प्रालि र परामर्शदाता सानिमा हाइड्रो एण्ड इञ्जिनियरिङ कम्पनी रहेका छन् ।

बेवारिसे मोटरसाइकलका हकदारको खोजी सुरु

जिल्ला प्रहरी कार्यालय झापाले लामो अवधिदेखि प्रहरी परिसरमा बेवारिसे अवस्थामा थन्क्याइएका मोटरसाइकलका हकदारको खोजी सुरु गरेको छ ।

कार्यालयले यही फागुन २६ गते सार्वजनिक सूचना जारी गर्दै प्रहरीका विभिन्न परिसरमा दुई सय ३३ मोटरसाइकल बेवारिसे रहेको हुँदा त्यसको हकदाबी गर्न १५ दिनको म्याद दिएको जनाएको छ ।

पन्ध्र दिनभित्र हकदाबी गर्न कोही नआएमा कानूनबमोजिम लिलामी प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।

जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयमा बेवारिसे अवस्थामा यस्ता मोटरसाइकल सयौँको सङ्ख्यामा वर्षौंदेखि राखिँदै आएको छ ।

अधिकांश मोटरसाइकल चालू अवस्थामा छैनन् भने कतिपयको पार्टपुर्जा हराएका वा बिग्रिसकेका छन् । ब्लूबुक नभेटिएका, भारतबाट चोरी भएर आएका, चेसिस नम्बर र नम्बर प्लेट नभएकालगायतका मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिने गरेको छ । सुरक्षितरुपमा भण्डारण नगरिएका कारण कैयौँ मोटरसाइकल लगातार घामपानी परेर कबाडी बनिसकेका छन् ।

मन्त्रिपरिषद्ले जारी गरेको सरकारी सम्पत्ति तथा जिन्सी मालसमान लिलाम बिक्रीसम्बन्धी कार्यविधि २०७९ परिच्छेद ३ को दफा २० अनुसार प्रहरीले स्वामित्व नखुलेका पुराना सवारीसाधन लिलाम बिक्री गर्न लागेको सूचना अधिकारी रिजालले बताए ।

लिलामी प्रक्रिया सुरु गरिएका अधिकांश मोटरसाइकल नेपाली नम्बरकै छन् । केही साधन भारतीय नम्बरका र केहीको नम्बर प्लेट नै पत्ता नलागेको अवस्था रहेको प्रहरीले जनाएको छ ।

गृहमन्त्रालयका २५ जना अधिकारीको सरुवा

गृह मन्त्रालयले २५ जना अधिकारीको सरुवा गरेको छ । अतिरिक्त समूहमा रहेका १४ सहसचिव तथा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा मातहतका निकायमा सरुवा गरिएको हो ।

सरुवा हुनेमा १४ राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) सहित रहेका छन् । गृह सचिव विनोदप्रकाश सिंहका अनुसार मन्त्रालयले अतिरिक्तमा रहेका ११ सहसचिवको पदस्थापन र तीनजनाको सरुवा गरेको छ भने ११ जना सहसचिवको विभिन्न निकायमा सरुवा गरेको छ । जसअनुसार सहसचिव रामबन्धु सुवेदीलाई अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँको प्रमुख अध्यागमन अधिकृतमा पठाएको छ भने त्यहाँका वासुदेव घिमिरेलाई गृह मन्त्रालय वा अन्तर्गत सारिएको छ ।

सहसचिव रुद्रसिंह तामाङलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र महादेव पन्तको आन्तरिक व्यवस्थापन महाशाखा, गृहमा पदस्थापन गरिएको छ । यसैगरी, मेखबहादुर मगरातीलाई जिल्ला प्रशासन कार्यालय पाँचथर, रामकृष्ण अधिकारीलाई लमजुङ, जयकुमार घिमिरेलाई जुम्ला, प्रेमप्रसाद आचार्यलाई पर्वत, कोमलप्रसाद धमलालाई दोलखा, वेदप्रसाद खरेललाई सल्यान, मदन कोइरालालाई प्यूठान र रामकुमार महतोलाई जाजरकोटको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ ।

थानेश्वर गौतमलाई धनकुटा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव अनिता निरौलालाई जिल्ला प्रशासन कार्यालय रामेछापको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरेलाई जिल्ला प्रशासन कार्यालय जुम्लाको सहायक प्रजिअ, धनकुटाकी लीलाकुमारी केसी (पाण्डे) लाई पाँचथरको सप्रजिअ, दोलखाका प्रजिअ शेखर पौड्याललाई जिल्ला प्रशासन कार्यालय इलामको सहायक प्रजिअ, रामेछापका प्रजिअ शोभाखर रेग्मीलाई जिल्ला प्रशासन कार्यालय बैतडीको सहायक प्रजिअमा सरुवा गरिएको छ ।

यसैगरी, जिल्ला प्रशासन कार्यालय लमजुङका प्रजिअ वसन्तराज पुरीलाई सहायक प्रजिअ दोलखा, पर्वतका प्रजिअ चित्राङ्गत बराललाई सप्रजिअ बागलुङ, र बागलुङका प्रजिअ गणेशप्रसाद पौडेललाई जिल्ला प्रशासन कार्यालय पर्वतको सहायक प्रजिअ र प्यूठानका प्रजिअ वेदप्रसाद अर्याललाई जिल्ला प्रशासन कार्यालय रौतहटको सहायक प्रजिअमा सरुवा गरिएको छ ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय सल्यान, जुम्ला र जाजरकोटका प्रजिअहरु क्रमशः कृष्णचन्द्र पौडेल, मुकेशकुमार केशरी र अञ्जन न्यौपानेलाई क्रमशः प्यूठान, धनुषा र धनकुटाको सहायक प्रजिअ बनाई पठाएको जनाएको छ ।

न्यायिक समितिको राष्ट्रिय सम्मेलनमा चार कार्यपत्र प्रस्तुत हुने

काठमाडौँ महानगरपालिकाको आयोजनामा यही चैत १५ र १६ गते काठमाडौँमा हुन लागेको न्यायिक समिति राष्ट्रिय सम्मेलनमा मुख्यगरी चार कार्यपत्र प्रस्तुत हुने भएका छन् ।

महानगर उपप्रमुख एवं न्यायिक समिति संयोजक सुनिता डङ्गोलले पहिलो कार्यपत्र न्यायिक समितिको अवधारणा, विभिन्न कानुनमा भएका न्यायिक समितिसम्बन्धी व्यवस्था, न्याय सम्पादनमा न्यायिक समितिको क्षेत्राधिकार र यसको प्रचलन विषयमा हुने इन्दु तुलाधरले प्रस्तुत गर्ने जानकारी दिए ।

सम्मेलनको दोस्रो प्रस्तुतिका रुपमा डा सरिता खनालले न्यायिक समितिले गर्ने न्यायिक निर्णय र यसका लागि अनिवार्यरुपमा पालना गर्नुपर्ने प्रक्रियाका विषयमा प्रस्तुति गर्नेछन् ।

तेस्रो विषय स्थानीय विवाद समाधानमा मेलमिलाप प्रक्रिया र यसको प्रवर्द्धन विषयमा हुनेछ । यसलाई रामकृष्ण काफ्लेले प्रस्तुत गर्नुहुनेछ । चौथो प्रस्तुति कामपाको कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यले गर्नेछन् । उनको विषय न्यायिक समितिले गर्ने न्यायिक निर्णय र यसका लागि अनिवार्यरुपमा पालना गर्नुपर्ने प्रक्रियासम्बन्धी हुनेछ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ अनुसार न्यायिक समितिको क्षेत्राधिकार, दफा ४८ अनुसार अधिकार क्षेत्रको प्रयोग, दफा ४९ अनुसार न्यायसम्पादनका प्रक्रियाबाट न्यायिक समितिले काम गरिरहेका छन् । न्यायसम्पादन गर्दा कानुनका सर्वमान्य सिद्धान्त, नजिरको सिद्धान्त साथै प्रचलित ऐन कानुनको मूल्य र मान्यतालाई आधार मान्ने गरिएको छ ।

कामपासहित सात सय ५३ वटै स्थानीय तहबाट सम्मेलनमा सहभागिता रहने बताइएको छ । सम्मेलनमा एक हजार जनाको सहभागिता रहने महानगरले जानकारी गराएको छ । “हामीले सबै पालिकाबाट न्यायिक समितिका संयोजकलाई उपस्थित हुन अनुरोध गरेका छौँ, संयोजक उपस्थित हुन नसक्ने अवस्थामा सदस्यलाई सहभागी हुन इमेल र फोनमार्फत निमन्त्रणा गरिसकेका छौँ”, उपप्रमुख डङ्गोलले भने ।

मेलम्चीको पानी सूर्यविनायकमा वितरण गर्न सम्झौता

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले सूर्यविनायक नगरपालिका क्षेत्रलाई पनि मेलम्चीको खानेपानी वितरण गर्ने भएको छ ।

सूर्यविनायक नगरपालिका क्षेत्रमा खानेपानीको चरम अभावलाई कम गर्न वडा नं १ देखि ६ सम्म पाण्डुबजारमा रहेको मेलम्ची खानेपानी रिजर्भ ट्याङ्कीबाट पानी वितरण गर्नेगरी केयुकेएल र नगरपालिकाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।

नगरपालिकाको तर्फबाट नगर प्रमुख वासुदेव थापा र उपप्रमुख सरिता तिमिल्सिना भट्टराई तथा केयुकेएलका तर्फबाट उपकार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्की र खानेपानी सञ्चालन महाशाखाका प्रमुख रमेश केसीबीच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

धनुषामा एक आपसमा ट्रक ठोक्किँदा तीनको मृत्यु

धनुषामा एकापसमा ट्रक ठोक्किँदा ३ जनाको मृत्यु भएको छ ।

शनिबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका–३ हरिहरपुरमा ट्रक एक आपसमा ठोक्किँदा तीनको मृत्यु भएको छ भने एकजना घाइते हुन पुगेका छन् ।

ना.६ ख ६५७८ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १. ०१–००१ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोक्किएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार सो ट्रकमा सवार अर्का एकजनालाई घाइते अवस्थामा उद्धार गरिएको छ, घाइतेको ढल्केवर हस्पिटलमा उपचार भइरहेको छ । मृतकको अझै पहिचान खुल्न सकेको छैन ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ८ : ५५ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि