विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम « Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

आज वैशाख १२, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल २५, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

अमेरिकामा थप चिनियाँ ‘प्रहरी चौकी’ फेला

अमेरिकी सुरक्षा निकायले अमेरिकामा चीनले स्थापना गरेका थप ६ अवैध ‘प्रहरी चौकी’ पत्ता लगाएका छन् । न्युयोर्क पोस्टको रिपोर्टका अनुसार अमेरिकी सुरक्षा निकायले आफ्नो देशमा रहेका थप ६ चिनियाँ ‘प्रहरी चौकी’ पत्ता लगाएका हुन् ।

यससँगै अमेरिकाभर अन्य धेरै गैरकानूनी संस्थाहरू पनि फैलिएको दाबी गरिएको छ । चीनमाथि बेलाबेलामा जासुसीको आरोप लाग्ने गरेको छ ।

यसअघि अमेरिकी गुप्तचर एजेन्सी एफबीआईले न्युयोर्कको म्यानहटनमा चिनियाँ प्रहरी चौकी रहेको खुलासा गरेको थियो । एफबीआईले यस घटनासँग सम्बन्धित दुई जनालाई पक्राउ गरेको थियो ।

लस एन्जलस र न्युयोर्क सहरबाहेक एफबीआईले सान फ्रान्सिस्को, ह्युस्टनका साथै नेब्रास्का र मिनेसोटाका सहरहरूमा पनि चिनियाँ प्रहरी चौकी फेला पारेको बताइएको छ ।

विश्वभर चिनियाँ नागरिकको निगरानी गर्नका लागि चिनियाँ कम्युनिष्ट पार्टीले यस्ता प्रहरी चौकी स्थापना गरेको अधिकारीको दाबी छ ।

बौद्ध संस्कृतिको संरक्षण मात्रै नभई प्रचारप्रसार आवश्यक : भारत अरुणाचलका मुख्यमन्त्री खाँडु

उत्तरपूर्वी भारतको अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाँडुले बौद्ध संस्कृतिको संरक्षण मात्रै नभई प्रचारप्रसार गर्नुपर्ने बताएका छन् ।

अरुणाचलको जेमिथाङमा आयोजित एक बौद्ध सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री खाँडुले आफ्नो राज्यमा ठूलो सङ्ख्यामा बौद्धमार्गीको बसोबास रहेको उल्लेख गरे । राज्यका बौद्धमार्गीले आफ्नो संस्कृति परम्परालाई जोगाएकोमा उनले सन्तोष पनि व्यक्त गरे ।

उनले आफ्नो राज्यमा बौद्धमार्गीका साथै धेरै धर्मावलम्बीको बसोबास रहेको उल्लेख गर्दै सबै धर्मबीच सहअस्तित्व हुनुपर्नेमा जोड लिए ।
जेमिथाङमा आयोजित उक्त सम्मेलनमा ६ सय जनाको प्रतिनिधित्व रहेको थियो ।

सन् १९५९ मा तिब्बतमाथि चिनियाँ आक्रमणपछि १४ औँ दलाई लामा जेमिथाङ नाकाबाट नै भारत गरेका थिए । सोही कारण यस सम्मेलनलाई निकै महत्वका साथ हेरिएको छ ।

म्यान्मारमा तत्काल हिंसा अन्त्य गर्न राष्ट्रसङ्घका पूर्वमहासचिव बानको आह्वान

संयुक्त राष्ट्रसङ्घका पूर्वमहासचिव बान की मुनले म्यान्मारमा तत्काल हिंसा अन्त्य हुनुपर्ने बताएका छन् । म्यान्मारका उच्च सैनिक अधिकारीहरूसँगको आकस्मिक भेटमा उनले हिंसा अन्त्यका निम्ति आह्वान गरेका हुन् ।

पूर्वमहासचिव बानले सोमबार म्यान्मारको राजधानी नेपिटोमा सैन्य सरकारका नेता, वरिष्ठ जनरल मिन आङ ह्लिङ र अन्य उच्च अधिकारीसँग भेटवार्ता गरेर हिंसा रोक्न अनुरोध गरे ।

विश्वभर शान्ति स्थापना तथा मानवअधिकार रक्षाको प्रयासमा जुटेको वरिष्ठ व्यक्तिहरू संलग्न समूहका तर्फबाट उनले सैन्य अधिकारीहरूलाई उक्त अनुरोध गरेको आज जारी विज्ञप्तिमा जनाइएको छ । पूर्वमहासचिव बान उक्त समूहका उपाध्यक्ष हुन् ।

म्यान्मारको वर्तमान वस्तुस्थिति बुझ्न पूर्वमहासचिव बान त्यहाँ पुगेका हुन् । सोमबार राति नेपिटोबाट ब्याङ्कक उडेका उनले त्यहाँ रहँदा सैन्य अधिकारीहरूसँग सेना र प्रजातन्त्र पक्षधरहरूबीचको हिंसा रोक्नुपर्नेमा जोड दिएको विज्ञप्तिमा उल्लेख छ ।

उनले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) र संयुक्त राष्ट्रसङ्घले म्यान्मारमा शान्ति योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

सन् २०२१ मा प्रजातन्त्रवादी नेत्री आङ सान सुची नेतृत्वको नागरिक सरकारलाई अपदस्थ गरेपछि सैनिक सरकारविरुद्ध भएका आन्दोलनले हिंसात्मक रुप लिएका छन् । सैन्य सरकारले आन्दोलन दबाउन हवाई हमलालगायत घातक कारबाही गर्दै आएको छ ।

हिन्दू मन्दिर तोडफोडका घटना नियन्त्रण गर्न गम्भीर छौँ : अस्ट्रेलियन मन्त्री सुक्कर

अस्ट्रेलियाका सुकुम्बासी, सामाजिक तथा सामुदायिक आवासमन्त्री माइकल सुक्करले हिन्दू मन्दिरमा तोडफोडका घटना नियन्त्रण गर्न आफ्नो सरकार गम्भीर रहेको जनाएका छन् । केही खालिस्तान पृथकतावादी समर्थकहरूको गतिविधि र हिंसाप्रति अस्ट्रेलियाले शून्य सहनशीलताको नीति लिएको उनको भनाइ छ ।

भारतीय समाचार संस्था एएनआईलाई दिएको अन्तरवार्तामा अस्ट्रेलियाका मन्दिरलाई लक्षित गर्दै भएका तोडफोडका घटनाबाट धेरै भारतीय चिन्तित रहेको मन्त्री सुक्करले बताए । उनले कुनै पनि हालतमा यस्ता हिंसात्मक कार्य सह्य नहुने पनि बताए ।

उनले भारत र अस्ट्रेलियाबीचको सम्बन्ध निकै महत्वपूर्ण रहेको पनि बताए । अन्तरवार्तामा उनले अस्ट्रेलियामा रहेको भारतीय प्रवासी समुदायले पनि दुई मुलुकबीचको सम्बन्धलाई महत्वपूर्ण बनाएको टिप्पणी गरे ।

हिंसा बढ्दै जाँदा सुडानीहरु नाइल नदीको पानी पिउन बाध्य

सुडानमा युद्धरत पक्षबीच युद्धविरामको सहमति भएको छ । संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा सुडानी सशस्त्र बल एसएएफ र र्‍यापिड सपोर्ट फोर्सेस आएसएफ ७२ घण्टा युद्धविराम गर्न सहमत भएका हुन् ।

हिंसा सुरु भएदेखि युद्धग्रस्त राजधानी खार्तुमका बासिन्दालाई घरभित्रै बस्न भनिएको छ । उनीहरू खाना र पानीको चरम अभाव झेलिरहेका छन् । बम विष्फोटले पानी आपूर्तिका पूर्वाधार क्षतविक्षत भएका छन् । हिंसा बढ्दै जाँदा सुडानीहरू नाइल नदीको पानी पिउन बाध्य भएका छन् ।

सोबार मध्यरातदेखि युद्धविराम लागू भएको जनाइएको छ । सङ्घर्षरत दुवै पक्षले युद्धविराम पालना गर्ने प्रतिबद्धता जनाएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले ४८ घण्टा लामो वार्तापछि सुडानी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स आरएसएफबीच सम्झौता भएको बताएका छन् ।

यही वैशाख २ गतेदेखि प्रारम्भ भएको द्वन्द्वमा चार सयभन्दा बढीको मृत्यु भइसकेको छ । जारी युद्धका कारण हजारौँ घाइते भएका छन् भने ठूलो सङ्ख्यामा विदेशीहरू पलायन भएका छन् । यसअघिका युद्धविरामका प्रयास असफल भएका थिए ।

राष्ट्रसङ्घीय निकायहरूले चार सय २७ जना मारिएका तथा तीन हजार सात सयभन्दा बढी घाइते भएका जनाएका छन् । युद्धमा खार्तुमस्थित इजिप्सियन दूतावासका प्रशासन सहायक एक कर्मचारीको मृत्यु भएको इजिप्टको विदेश मन्त्रालयले पुष्टि गरेको छ । उनी घरफिर्तीको प्रक्रियामा सहभागी हुन दूतावास आउँदै गरेका बेला आक्रमणमा परेका हुन् । खार्तुमका सडकमा लाश यत्रतत्र छरिएका छन् ।

आरएसएफले युद्धविरामको उद्देश्य मानवीय सङ्कट उत्पन्न हुन नदिन तथा देशवासीलाई आवश्यक स्वास्थ्य सेवाका साथै सुरक्षित स्थानसम्मको पहुँच सुनिश्चित गर्न तथा कूटनीतिक नियोगहरूलाई खाली गर्नु रहेको जनाएको छ । प्रतिद्वन्द्वी समूह एसएएफले पनि आरएसएफले युद्धविराम पालना गरेमा आफूले पनि त्यसलाई मान्ने बताएको छ ।

घोषित युद्धविरामले उनीहरूलाई शहरबाट सुरक्षित स्थानतर्फ जान सहज हुनेछ । विदेशी सरकारहरूलाई पनि आफ्ना आफ्ना कूटनीतिज्ञ र नागरिकको उद्धार गर्न सजिलो हुने बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सुडान हिंसाले देशको सम्पूर्ण क्षेत्र र छिमेकी भूभागमा निम्त्याउन विपत्तिको आगो फैलनसक्ने चेतावनी दिएका छन् ।

आइतबार रातिदेखि सुडानमा इन्टरनेट सेवा अवरुद्ध भएको छ । देशबाट हजारौँ नागरिक छिमेकी देशमा पलायन भएका छन् भने करिब चार हजार विदेशीले सुडान छाडेका छन् ।

पाकिस्तानको प्रतिआङ्कवाद कार्यालयमा विष्फोट हुँदा १२ जनाको मृत्यु

उत्तर पश्चिम पाकिस्तानको स्वात उपत्यकास्थित प्रतिआङ्कवाद कार्यालयमा विष्फोट हुँदा १२ जनाको मृत्यु भएको छ । विष्फोटमा अधिकांश सुरक्षा अधिकारीले ज्यान गुमाएका छन् ।

विष्फोटमा परी ४० जनाभन्दा बढी घाइते भएका छन् भने आसपासका भवनहरू भत्किएका छन् । उक्त विष्फोट बाह्य हमलाका कारण भएको कुनै प्रमाण नभेटिएको र विद्युतीय त्रुटिका कारण दुर्घटना भएको अनुमान सरकारी अधिकारीहरूले गरेका छन् ।

अफगानिस्तानको छिमेकी खैबर पख्तुनख्वामा प्रान्तीय प्रहरीका प्रवक्ताले गोला बारुदमा आगलागी हुँदा विष्फोट भएको हुनसक्ने बताएका छन् ।

पाकिस्तानी तालिबान समूहले विगत केही समयदेखि सुरक्षा बलहरूलाई लक्षित गरी धेरै आक्रमण गर्दै आएको छ । यद्यपि यो विष्फोटको जिम्मेवारी कुनै समूहले लिएको छैन ।

प्रतिआतङ्कवाद विभागका क्षेत्रीय प्रमुख सोहेल खालिदले पनि कार्यालयमा भएको विष्फोट आतङ्कवादीले गराएको नभई त्यो एक दुर्घटना भएको प्रारम्भिक अनुसन्धानको प्रतिवेदन आफूलाई प्राप्त भएको बताएका छन् ।

कार्यालयमा राखिएका हातहतियार गोलाबारुदमा लापरवाहीका कारण आगो सल्केर विस्फोट भएको हुनसक्ने उनको अनुमान छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ८ : ०२ बजे

बालेन भन्छन्– देशलाई इमानदार नेतृत्व चाहिएको छ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान