देश/प्रदेश

मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड अवरुद्ध

By खबरहब

June 25, 2023

बागलुङ– अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ–बुर्तिबाङ सडकखण्ड अवरुद्ध भएको छ । ढोरपाटन नगरपालिका–२ खप्तरिबाङमा माथिदेखि झरेको पहिराले सडक अवरुद्ध भएको हो ।

शनिबार राति गएको पहिराका कारण बुर्तिबाङबाट पोखरा, काठमाडौँ, बुटवललगायतका ठाउँमा जाने र ग्रामीण क्षेत्रबाट बुर्तिबाङ आउने यातायातका साधन ठप्प भएका छन् । 

सडक खुलाउनका लागि जेसिबी पठाएको ढोरपाटन नगरपालिकाका उपप्रमुख कल्याण कायतले जानकारी दिए । बुर्तिबाङ बजार नजिकै सडक अवरुद्ध हुँदा पैदलयात्रुले वैकल्पिक सडक प्रयोग गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । 

उपप्रमुख कायतले भने, ‘शनिबार साँझ ठूलो पानी परेको थियो, राति पहिरो गएछ, अहिले सडक खुलाउने प्रयास भइरहेको छ ।’