आज साउन ९, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई २५, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।
‘अफगान आप्रवासीका समस्या सम्बोधन गर्न पाकिस्तानले पहल गरिरहेको छ’
पाकिस्तानको कराँचीमा रहेको अफगान वाणिज्यदूतले पाकिस्तानमा २५ लाख अफगान आप्रवासीको बसोबास रहेको जनाएका छन् ।
कराँचीस्थित अफगान वाणिज्यदूत अब्दुल जबार टखारीले हाल पाकिस्तानमा २५ लाख अफगान आप्रवासी रहेको र तीमध्ये केबल ३ लाखसँग मात्रै आवश्यक वैध कागजात नभएको बताएका हुन् ।
अफगान समाचार संस्था टोलोन्युजले टखारीलाई उद्धृत गर्दै जनाएअनुसार अफगान आप्रवासीका समस्या सम्बोधन गर्न पाकिस्तानले पहल गरिरहेको छ ।
पछिल्लो समय अफगान आप्रवासीलाई लिएर पाकिस्तानले सुरक्षा चिन्ता जाहेर गर्दै आएको छ । हालै संयुक्त राष्ट्रसंघका लागि पाकिस्तानको स्थायी नियोगले आइन्दा अफगान आप्रवासीलाई आफ्नो मुलुकमा बसोबास गर्न दिन नसकिने जनाएको थियो ।
आप्रवासनसम्बन्धी विज्ञहरुले अफगानिस्तानबाट उद्गम हुने आप्रवासीको लहर रोक्न अफगानिस्तानमा शासन गरिरहेको तालिबान सरकारले आवश्यक कदम चाल्नुपर्ने बताएका छन् ।
हिन्दी भाषा प्रवर्द्धन गर्न भारतद्वारा राष्ट्रसंघलाई १० लाख डलर प्रदान
अन्तर्राष्ट्रिय क्षेत्रमा हिन्दी भाषालाई प्रचलनमा ल्याउनका लागि भारतले संयुक्त राष्ट्रसंघलाई १० लाख डलर प्रदान गरेको छ ।
संयुक्त राष्ट्रसंघमा भारतीय स्थायी प्रतिनिधि रुचिरा कम्बोजले राष्ट्रसंघीय विश्वव्यापी सञ्चार विभागकी उपसचिव मेलिसा फ्लेमिङलाई उक्त रकम बराबरको चेक प्रदान गरेकी हुन् ।
राष्ट्रसंघमा भारतीय नियोगले भाषागत समावेशिताका लागि स्थायी प्रतिनिधि कम्बोजमार्फत् भारतले राष्ट्रसंघलाई उक्त रकम प्रदान गरेको जानकारी दिएको छ ।
यसबाट हिन्दी भाषामा राष्ट्रसंघीय गतिविधिको मल्टिमिडिया सामग्री र समाचारको उत्पादनका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
स्थायी प्रतिनिधि कम्बोजले भारत सरकारले हिन्दी भाषाको प्रवद्र्धनका लागि निरन्तर लागि रहने उल्लेख गरेकी छिन् ।
चिनियाँ विदेशमन्त्री छिन गाङ बर्खास्त
चीन सरकारले विदेशमन्त्री छिन गाङलाई बर्खास्त गरेको छ ।
चिनियाँ राज्य सञ्चालित सञ्चार माध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले गाङलाई चीन सरकारले बर्खास्त गरेको जनाएको हो । चीनको सिन्ह्वा समाचार संस्थाले गाङलाई बर्खास्त गरिएको जनाएको हो ।
चीनको संसदले उनलाई बर्खास्त गर्ने विषयमा मतदान गरेको अमेरिकी टेलिभिजन च्यानल सीएनएनले जनाएको छ । उनको स्थानमा पूर्वविदेशमन्त्री वाङ यीलाई नयाँ विदेशमन्त्री नियुक्त गरिएको छ ।
सन् २०२२ सम्म चीनको विदेशमन्त्रीको जिम्मेवारी सम्हालेका वाङ हाल सत्तारुढ कम्युनिष्ट पार्टीको विदेश विभाग शाखाका निर्देशकका रुपमा कार्यरत रहेका छन् ।
यसअघि गाङ विगत एक महिनादेखि बेपत्ता रहेको बताइएको थियो । उनी एक जना टेलिभिजन प्रस्तोतासँग प्रेम सम्बन्धमा रहेको समाचार सार्वजनिक भएको थियो ।
रूसी रक्षामन्त्री सर्गेई शोइगुले उत्तर कोरियाको भ्रमण गर्ने
रूसका रक्षामन्त्री सर्गेई शोइगु कोरियाली युद्धविरामको वार्षिकोत्सव मनाउन उत्तर कोरियाको भ्रमणमा जाने भएका छन् ।
उत्तर कोरियाली सरकारी समाचार माध्यमले कोरोना महामारीलगायत कारणबाट लामो समयसम्म हुननसकेका उच्चस्तरीय भ्रमण पुनः सुरु हुने जनाएको छ ।
चिनियाँ प्रतिनिधिमण्डल पनि सोही कार्यक्रममा सहभागी हुने पुष्टि भएको भोलिपल्ट रुसी रक्षामन्त्रीको घोषणा सार्वजनिक भएको हो ।
रक्षा मन्त्री सर्गेई शोइगुको नेतृत्वमा रूसी महासङ्घको एक सैन्य प्रतिनिधिमण्डल यसैसाता प्योङ्योङ पुग्ने बताइएको छ ।
युद्धविरामको वार्षिकोत्सवमा धेरै चिनियाँ कूटनीतिज्ञ उपस्थित हुन जनाएको छ । विश्वबाट एक्लिएको उत्तरका सिमाना सन् २०२० मा कोभिड महामारीका कारण बन्द भएको थियो ।
प्योङयाङले युद्धविराममा हस्ताक्षर गरेको ७० वर्ष पूरा भएको अवसरलाई विजय दिवसका रुपमा मनाउन यो साता ठूलो सैन्य परेडलगायत कार्यक्रम आयोजना हुने अपेक्षा गरिएको सोलस्थित एनके न्यूजले जनाएको छ ।
प्यालेस्टाइनमा इजरायली सेनाको कारवाहीमा तीन जना मारिए
इजरायली सेनाले मङ्गलबार प्यालेस्टाइनस्थित पश्चिम किनारको नाब्लस शहरमा गरेको कारवाहीमा तीन प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले आरोप लगाएको छ ।
नाब्लसमा इजरायली सेनाको गोली लागेर तीन जना प्यालेस्टिनीको मृत्यु भएको छ जनाउँदै मन्त्रालयले मारिएकाको पहिचान भइनसकेको बताएको छ ।
सशस्त्र आतङ्ककारीले नाब्लसमा एउटा गाडीबाट आफ्ना सैनिकमाथि गोली प्रहार गरेपछि त्यसको प्रतिकारमा गोली चलाइएको इजरायली सेनाले स्पष्ट गरेको छ । सैनिक जवानले आतङ्ककारीबाट तीन थान एम–१६ राइफल, एउटा बन्दुक, कारतूस र अन्य सैन्य उपकरण बरामद गरेका सेनाले एक विज्ञप्ति निकालेर बताएको छ ।
सन् १९६७ मा भएको छ दिन लामो युद्धपछि इजरायलले कब्जा गरेको पश्चिम किनारमा प्रायःसधै हिंसाका घटना भइरहन्छन् । गत वर्षको सुरुदेखि यस क्षेत्रमा इजरायललाई लक्ष्य गरेर प्यालेस्टिनीले शृङ्खलाबद्ध आक्रमण गर्दै आएका छन् ।
अन्तर्राष्ट्रिय मान्यतामा ठूलो बाधक अमेरिका : तालिबान सरकार
तालिबानले अफगानिस्तानमा आफ्नो सरकारलाई अन्तर्राष्ट्रिय मान्यता पाउनमा अमेरिका सबैभन्दा ठूलो बाधक भएको बताएको छ ।
तालिबानका कार्यवाहक रक्षामन्त्री मुल्लाह मोहम्मद याकूब मुजाहिदले अरबी न्यूज च्यानललाई दिएको अन्तर्वार्तामा सो कुरा भनेका हुन् ।
उनले सरकारले मान्यता पाउनका लागि सबै शर्त पूरा गरेको बताए । उनले यति हुँदाहुँदै पनि अमेरिकाको दबाबमा अन्य देशले आफूहरुलाई चिन्न नसकेको बताए ।
उनले भने, ‘हामी अमेरिकाको दबाबमा नआएका देशहरूबाट मान्यताको लागि अपील गर्छौं। हामी चाहन्छौं कि विश्वका शक्तिशाली इस्लामिक देशहरूले हामीलाई सरकारको रूपमा मान्यता दिउन् ।’
साउदी अरेबियाले उनीहरुलाई मान्यता दिएमा थप ५८ मुस्लिम देशसँग वार्ता गर्ने तयारी गरिरहेको उनले बताए ।
कार दुर्घटनाको आरोपपछि न्युजिल्याण्डका न्याय मन्त्रीबाट राजिनामा
न्युजिल्याण्डका न्याय मन्त्री किरी एलेनलाई कार दुर्घटनाको आरोप लागेपछि आफ्नो पदबाट राजीनामा दिएका छन् । दुर्घटना वेलिङ्गटनमा भएको थियो । घटना लगत्तै प्रहरीले एलेनलाई हिरासतमा लिएको थियो।
न्यूजील्याण्डको सार्वजनिक सेवा रेडियो प्रसारक, रेडियो न्यूजील्याण्डका अनुसार न्याय मन्त्री किरी एलेनले कार दुर्घटना पछि राजिनामा दिएका हुन् ।
लापरवाही तरिकाले ड्राइभिङ गरेको तथा एक पुलिस अधिकारीको आज्ञा पालन गर्न अस्वीकार गरेपछि उनलाई कारबाहीका लागि सिफारिस गरिएको थियो ।
वेलिङ्टनमा कार ठोक्किएपछि प्रहरीले आइतबार राति किरी एलेनलाई नियन्त्रणमा लिएको थियो । यो घटनापछि किरी एलेनले एक विज्ञप्ति जारी गर्दै आफूले तत्काल सबै पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।
इजरायलमा न्यायिक सुधार विधेयक पारित, सडकमा लाखौँको प्रदर्शन
इजरायलको बेन्जामिन नेतान्याहु सरकारले सोमबार ठूलो राजनीतिक विजय हासिल गरेको छ । इजरायली संसद ९नेसेट० ले न्यायिक सुधार सम्बन्धी महत्त्वपूर्ण विधेयक पारित गरेको छ।
टाइम्स अफ इजरायलका अनुसार यो विधेयक पारित भएपछि देशको कुनै पनि अदालतले सरकार वा कुनै पनि मन्त्रीले दिएको आदेशलाई प्रतिबन्ध लगाउन सक्ने छैन।
सुरुमा यससँग सम्बन्धित दुईवटा कुरा जान्नु महत्त्वपूर्ण छ। पहिलो, न्यायिक सुधार लामो प्रक्रिया हो र यसमा धेरै विधेयकहरू पारित गर्नुपर्ने हुन्छ। सोमबार मात्रै एउटा विधेयक पारित भएको छ । दोस्रो, विधेयकमा केही परिमार्जन गरिएको छ ।
व्यापक रूपमा हेर्ने हो भने सरकारका निर्णयहरूलाई अदालतले रोक्न सक्दैन तर सरकारले आफ्नो इच्छा लागू गर्न सक्ने अवस्था पनि होइन। प्रत्येक आदेशको पछाडि कारणहरू मात्र दिनु पर्दैन, तर तिनीहरू प्रमाणित पनि गर्नु पर्नेछ।
न्यायिक सुधारको बारेमा इजरायलमा कडा विरोध भएको थियो। सोमबार मतदानका क्रममा विपक्षीले बहिष्कार गर्दा लाखौँ मानिस संसदबाहिर नेतान्याहु सरकारको विरोधमा उत्रिएका थिए । उनीहरुलाई रोक्न प्रहरीले पानीको फोहोरा समेत प्रयोग गरेको थियो ।
इजरायलको पत्रिका ‘हारेट्ज’का अनुसार दुई दिनअघि शल्यक्रिया गरेर पेसमेकर जडान गरेर फर्किएका नेतान्याहुले यो विधेयक पारित गर्न आफ्नो पूरा शक्ति लगाएका थिए। न्यायिक सुधारको अगाडि उनले पहिलो र सबैभन्दा महत्त्वपूर्ण जीत हासिल गरेका छन्।
मतदानको कुरा गर्दा विधेयकको पक्षमा ६४ र विपक्षमा शून्य मत परेको थियो । जसका कारण विपक्षीले मतदान बहिष्कार गरेका थिए । सरकारले विपक्षीसँग अन्तिम समयसम्म वार्ता गरेको थियो ।
उनले विधेयकमा परिमार्जनका लागि सुझाव दिन समेत आग्रह गरेका छन् । तर, विपक्षी गठबन्धन बन्न सकेन र मतदानमा भाग लिन अस्वीकार गर्यो।
प्रतिक्रिया