काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेल आज जनकपुरधाम जाने भएका छन् । राष्ट्रपति पौडेल नेपाली सेनाको हवाईजहाजबाट बिहान पौने ९ बजे जनकपुर विमानस्थल पुग्ने कार्यक्रम रहेको छ ।
जनकपुर विमानस्थलमा राष्ट्रपति पौडेललाई मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोज यादव, पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, सङ्घीय सांसद, नगरप्रमुख तथा सुरक्षा निकायका प्रमुखले स्वागत गर्ने छन् ।
राष्ट्रपति पौडेल विमानस्थलबाट सिधै जानकी मन्दिरका लागि प्रस्थान गर्नेछन् । जानकी मन्दिरमा मन्दिरका मूल महन्त रामतपेश्वर दाससहित प्रदेशका मन्त्री तथा सांसदले स्वागत गर्नेछन् ।
आधा घण्टा जानकी मन्दिरमा बिताउँदा राष्ट्रपति पौडेलले जानकी माताको विशेष पूजाअर्चना, अखण्ड दीप प्रज्वलन गर्नुका साथै सीता माताको माइती घर दर्शन, अखण्ड कीर्तन दर्शन र महन्तको कक्षमा प्रसाद ग्रहण तथा छोटो विश्राम गर्ने कार्यक्रम रहेको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले जानकारी दिए ।
जानकी मन्दिरमा पूजाअर्चना पश्चात प्रदेश प्रमुख, सभामुखसँग जलपान र नेपाल राष्ट्र बैंकको अतिथि निवासमा विश्राम तथा दिवा खानाको कार्यक्रम रहेको छ ।
सहरी विकास मन्त्रालयअन्तर्गतका सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालय धनुषाका प्रमुख प्रदीप खनालका अनुसार राष्ट्रपति पौडेलले दिउँसो १ बजे महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
समुद्घाटन कार्यक्रम पश्चात सोही सभाहलमा जनकपुरधाम उपमहानगरपालिकाका तर्फबाट राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन समारोहको आयोजना गरिने छ ।
राष्ट्रपति पौडेल दुवै कार्यक्रम पश्चात अपराह्न ३ बजे काठमाडौँ फर्किने छन् ।
प्रतिक्रिया