विश्वकपमा अप्रत्याशित नतिजा | Khabarhub Khabarhub

विश्वकपमा अप्रत्याशित नतिजा


८ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

भारतमा जारी विश्वकप क्रिकेटमा अप्रत्याशित परिणामको क्रम बढ्दो छ। योक्रम अफगानिस्तानको इङ्गल्यान्डमाथि भएको जितबाट सुरु भएर अहिले अफगानिस्तानकै पाकिस्तान माथिको जितसम्म पुगेको छ। यस बिचमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई हराइसकेको छ।

विगतमा भन्दा फरक स्वरूपमा भएको यस पटकको विश्वकपमा १० टोली सहभागी छन्। पहिलो चरणमा राउन्ड रोबीनको आधारमा सबैले एक आपसमा खेली सकेपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्ने छन्। सानदार बलिङ आक्रमण भएको भारत सुरुवाती पाँच खेलमा नै अपराजित हुँदै दोस्रो चरणमा प्रवेश गर्ने लगभग निश्चित भएको छ।

यस विश्वकपको सबैभन्दा बलियो दाबेदारको रूपमा पनि भारत देखिएको छ। सोमबारको दिवारात्रीको खेल भने विशेष थियो।

यो संरचनाको विश्वकपमा सबै भन्दा धेरै लक्ष्यको जित पहिल्याउने क्रममा पाकिस्तानले दिएको २८३ रनको लक्ष्य अफगानिस्तानले एक ओभर बाँकी रहँदा नै दुई विकेटको क्षतिमा पुरा गरेको हो। जितसहित अफगानिस्तान अङ्क तालिकाको छैटौँ स्थानमा उक्लेको छ।

टिनएजर स्पिनर नुर अहमदले १० ओभरमा ४९ रन खर्चेर तीन विकेट लिए पनि पाकिस्तान मीड ओभरमा धरमराएको हो।

२८३ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानलाई जितसम्म लैजानका लागि रहबामुल्लाह गुरबाज र इब्राहिम जर्दानले पहिलो विकेटका लागि १ सय ३० रनको साझेदारी गरेका थिए।

अफगानिस्तानको पाकिस्तानसँगको ८ एक दिवसीय भेटमा यो नै पहिलो जित पनि हो। यसअघि सबै भन्दा धेरै रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले सन् २०१४ मा संयुक्त अरब इमिरेट्सले आठ विकेटको क्षतीमा बनाएको २ सय ७६ रनको योगफललाई पछ्याएको थियो।

विश्वकपमा भने अफगानिस्तानको यो तेस्रो जित हो। यस अघि पहिलो जित हात पार्ने क्रममा अफगानिस्तानले सन् २०१५ मा स्कटल्यान्डलाई हराएको थियो।

हारसहित पाकिस्तानको सेमिफाइनल यात्रामा धेरै संकट देखिएको छ। सुरुवाती दुई खेलमा जित हात पारेको पाकिस्तानले त्यसपछि भारत, अस्ट्रेलिया र अफगानिस्तानसँग हारको सामना गरेको छ।

यो खेलमा जितका नायक भने १८ वर्षीय स्पिनर अहमद नै रहे। चौथो एक दिवसीय खेल खेलीरहेका अहमदले अब्दुल्ला सफीकलाई ५८ रनमा आउट गरे। यसैगरी, मोहम्मद रिजवान र कप्तान बाबर आजमको विकेट पनि लिए।

यो जितपछि अफगानिस्तानमा उत्साह थपिएको छ। नुरको उदयसँगै अफगानिस्तान संसारकै सबै भन्दा राम्रो स्पिनरहरूको देशको रूपमा समेत चिनिन पुगेको छ। रसिद खान अफगानिस्तानमा नाम चलेका स्पिनर हुन् भने यस अघि इङ्गल्यान्डसँगको खेलमा जित दिलाउने क्रममा मुजीबुर रहमानले पनि त्यत्तिकै शानदार प्रदर्शन गरेका थिए।

विश्वकप क्रिकेटमा यसअघि पनि अप्रत्याशित नतिजा नआएका होइनन्। भलै, त्यो नतिजा ल्याउने देश शक्ति राष्ट्रको रूपमा यथावतै रहन असफल रहेका हुन्। यसरी अप्रत्याशित नतिजा ल्याउने क्रममा सन् १९९६ को विश्वकपमा केन्याले वेस्ट इन्डिजलाई ७३ रनले हराएको थियो।

केन्या पहिलो पटक विश्वकप खेलीरहेको थियो। पहिले ब्याटिङ गरेको केन्या १ सय ६६ रनमा सीमित भएको थियो। यसपछि झिनो लक्ष्य पछ्याएको वेस्ट इन्डिज त झन् ९३ रनमा रोकियो। सो खेलमा शिव नारायण चन्द्रपाउल र रोजर हापर मात्र दोहोरो अङ्क बनाउन सफल भएका थिए।

सन् १९९९ मा बङ्गलादेशले पाकिस्तानलाई ६२ रनले हराएको थियो। बङ्गलादेशले नौ विकेटको क्षतिमा दुई सय २३ रन जोडेको थियो। जवाफमा ब्याटिङ गरेको पाकिस्तानले पहिलो १३ ओभरमा ४२ रन जोड्दै पाँच विकेट गुमाएको थियो। त्यहाँबाट बाहिर निस्कन नसकेर पाकिस्तान १ सय ६१ रनमा सीमित भएको थियो।

सन् २०११ मा आयरल्यान्डले इङ्गल्यान्डमाथि हात पारेको जित पनि त्यत्तिकै चर्चामा रहने गरेको छ। इङ्गल्यान्डले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा तीन सय २७ रनको योगफल खडा गरेको थियो।

आइसिसीको पूर्ण सदस्य समेत नभई सकेको आयरल्यान्डका लागि सो रन साँच्चै धेरै भारी नै थियो। जेम्स एन्डरसनले आइरिस कप्तान विलियम पोटरफिल्डलाई पहिलो बलमा नै आउट गरेका थिए।

दोस्रो र तेस्रो विकेटका लागि राम्रो साझेदारी गरेको आयरल्यान्डले २५ ओभरको समाप्तिमा पाँच विकेट गुमाएर १ सय ११ रन जोडेको थियो।

त्यसपछि केभिन ओ ब्रायनले विश्वकप क्रिकेटमा विरलै देखिने किसिमको विस्फोटक ब्याटिङको नमुना पेस गर्दै ५० बलमा नै शतक पुरा गरेका थिए। उनी ६३ बलमा १ सय १३ रन जोड्दै अविजित थिए।

इङ्गल्यान्डले पाँच बल बाँकी रहँदा नै ७ विकेटको क्षतिमा तीन सय २७ रन जोडेर जोडेर तीन विकेटको ऐतिहासिक जित हात पारेको थियो।

सन् २००३ को विश्वकपमा केन्याले श्रीलङ्कालाई ५३ रनले हराएको थियो। वर्षाले प्रभावित सो विश्वकपमा त्यसै जितका कारण केन्या सुपर सिक्स र अन्ततः सेमिफाइनलमा समेत प्रवेश गर्न सफल भयो।

केन्याले पहिले ब्याटिङ गरेर नौ विकेटको क्षतिमा दुई सय १० रनको योगफल खडा गरेको थियो। सनथ जयसुर्या, कुमार संगाकरा, महेला जयबर्धने र अरविन्द डी सिल्भा जस्ता नाम चलेका ब्याट्सम्यान रहेको श्रीलङ्का १ सय ५७ रनमा सीमित भएको थियो।

त्यसपछि भारतसँग सेमिफाइनलमा पराजित केन्या फेरि विश्वकपमा छनोट हुन सकेको छैन। केन्याको क्रिकेट त्यस यता ओरालो बाटोमा नै छ।

हाल जारी विश्वकपमा सबै टोलीले चार खेल खेलेका छन् भने पाँचौँ खेल खेल्न बाँकी नै छ। यस कारण सबै समीकरण अनिश्चित नै छ। एउटा के निश्चित भएको छ भने ९ खेलमा १४ अङ्क सेमिफाइनलमा लागि पर्याप्त हुनेछ। सेमिफाइनलमा प्रवेशका लागि पहिलो दाबेदार टोली भारत नै हो।

सुरुवाती चार खेलमा उत्कृष्ट प्रदर्शन गरेको न्युजील्यान्ड पाँचौँ खेलमा भारतसँग पराजित भएको छ। अब बाँकी रहेको अस्ट्रेलिया, दक्षिण अफ्रिका र पाकिस्तानसँगको खेल न्युजील्यान्डका सबै भन्दा महत्त्वपूर्ण हुनसक्ने छ।

दक्षिण अफ्रिकाको पनि अस्थिर प्रदर्शनका कारण यस विश्वकपको सेमिफाइनल समीकरण नै अस्थिर बनाएको हो।

लगातार ५ खेलमा ३ सय रनको योगफलको कीर्तिमान कायम गर्न सफल दक्षिण अफ्रिकी ब्याटिङ नेदरल्यान्ड्सका अघि भने नराम्रोसँग धरमराएको थियो। यी अस्थिर प्रदर्शनका बिच जारी विश्वकपका अबका हरेक खेल उत्तिकै महत्त्वपूर्ण हुन सक्छन्।
स्रोतः बीबीसी, क्रिकइन्फो, हिन्दुस्तान टाइम्स

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ८ : ११ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः