विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


८ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

आज कार्तिक ८ ,२०८० या अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर २५, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

क्यामरुनको उत्तरी क्षेत्रमा सशस्त्र डाकुद्वारा करिब ५० जना अपहरण
सशस्त्र डाकुहरूले क्यामरुनको उत्तरी क्षेत्रमा गत तीन दिनको अवधिमा करिब ५० जनालाई अपहरण गरेको छ ।

स्थानीय सुरक्षा स्रोतले बुधबार जनाए अनुसार लुटेराहरूले मङ्गलबार यस क्षेत्रको टुबोरो इलाकामा करिब २० व्यक्तिलाई आक्रमण गरी अपहरण गरेको जानकारीमा आएको छ ।

त्यसको ४८ घण्टापछि सोही इलाकाबाट ३० जनालाई अपहरण गरेको सुरक्षा स्रोतले बताएको छ । मङ्गलबार राति यस क्षेत्रका सुरक्षा अधिकारीले सिन्ह्वालाई दिएको जानकारी अनुसार बन्धकहरूको खोजी भइरहेको छ।

सन् २०२१ देखि क्यामरूनको उत्तरी क्षेत्र हतियारधारी डाकुहरूको निरन्तर हिंसात्मक अपहरण र आक्रमणको केन्द्रमा रहेको छ।

गाजामा आक्रमणका लागि हामी तयार छौँ : आईडीएफ प्रमुख
इजराइल प्रतिरक्षा फौज (आईडीएफ)ले दक्षिण सीमामा तैनाथस्थल सेना गाजामाथि आक्रमणका लागि तयार रहेको घोषणा गरेको दि जेरुसेलम पोस्टले बताएको छ ।

इजराइलको दक्षिणी सीमामा पत्रकारहरूलाई जानकारी दिँदै आईडीएफ प्रमुख हर्जी हलेवीले भने, ‘हामी आक्रमणका लागि तयार छौँ भन्नेबारेमा म स्पष्ट हुन चाहन्छु ।’

उनले आईडीएफ मुलुकको राजनीतिक क्षेत्रसँगको समन्वयमा गाजामाथि स्थल आक्रमणको ‘सटिक समय’मा निर्णय लिने प्रक्रियामा रहेको बताए ।

अक्टोबर ७ मा हमासको इजराइलमाथि आतङ्ककारी हमलापछि गाजामाथि जबाफी आक्रमणमा भएको ढिलाइबारे उनले भने, ‘यो चरणमा सामरिक र रणनीतिक कारक छन्, हामीलाई तयार रहन र सुधार गर्न प्रत्येक मिनेटको उपयोगका लागि धेरै समय प्राप्त हुन्छ ।’ उनका अनुसार प्रत्येक मिनेट गुज्रिँदा दुश्मनमाथि अझ धेरै हमला भइरहेको छ ।

‘अर्को पक्षमा प्रत्येक मिनेट खेर जाँदा हामी शत्रुमाथि धेरै हमला गरिरहेका छौँ, उसका लडाकूलाई मारिरहेका छौँ, उसका कमान्डरहरूलाई मारिरहेका छौँ, उसको पूर्वाधारलाई नष्ट गरिरहेका छौँ र अर्को कदमका लागि धेरै जासुसी जानकारी बटुलिरहेका छौँ’, हमासले इजराइली आक्रमणका लागि जति लामो समय पर्खिरहन्छ त्यति नै तनावग्रस्त हुने उल्लेख गर्दै उनले भने, ‘हामीले उनीहरूलाई तनावमा राखेका छौँ ।’

इजरायलद्वारा संयुक्त राष्ट्रसङ्घका महासचिवको राजीनामा माग
अक्टोबर ७ मा हमासले गरेको आतङ्ककारी हमलापछि गाजामा इजरायलको जबाफी कारवाहीविरुद्ध संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको टिप्पणीलाई लिएर इजरायलले उनको राजीनामा माग गरेको छ ।

राष्ट्रसङ्घमा इजराइली राजदूत गिलाड एर्डानले महासचिव गुटेरेसलाई राष्ट्रसङ्घको नेतृत्व गर्नका लागि ‘अनुपयुक्त’ भन्दै उनको राजीनामा माग गरे ।

‘बालबालिका, महिला र वृद्धवृद्धाहरूको सामूहिक हत्याको अभियानमा समझदारी देखाउने महासचिव राष्ट्रसङ्घको नेतृत्व गर्न योग्य हुनुहुन्न, म उनलाई तुरुन्त राजीनामा दिन आग्रह गर्दछु, इजराइली नागरिक र यहुदीहरूका विरुद्ध भएको सबैभन्दा भयानक अत्याचारका लागि दया देखाउने महासचिवसँग कुरा गर्नुको कुनै औचित्य नै छैन’, सामाजिक सञ्जाल एक्समा उनले भने।

राष्ट्रसङ्घका महासचिव गुटेरेसले हमासले गरेको हमला ‘शून्यमा नभएको’ भन्दै ‘प्यालेस्टिनी नागरिकहरूको सामूहिक सजाय’ लाई उचित नभएको भनी टिप्पणी गरेपछि इजराइलको उक्त भनाइ आएको हो ।

‘हमासले गरेको हमला शुन्यमा भएको होइन भन्ने कुरालाई पनि मान्यता दिनु महत्वपूर्ण हो, प्यालेस्टिनी जनता ५६ वर्षदेखि दमनकारी कब्जामा परेका छन्, उनीहरूले आफ्नो भूमि निरन्तर बस्तीको व्यवस्थापन र हिंसाबाट ग्रस्त भएको देखेका छन्, उनीहरूको अर्थतन्त्र अवरुद्ध भएको छ, उनीहरूका मानिस विस्थापित भएका छन् र घर ध्वस्त भएको छ, आफ्नो दुर्दशाको राजनीतिक समाधान हुने उनीहरूको अपेक्षा हराउँदै गइरहेको छ’, महासभामा महासचिव गुटेरेसले भने, ‘प्यालेस्टिनी जनताको गुनासोहरूले हमासले गरेको भयानक हमलालाई उचित ठहर गर्न सक्तैन, ती भयानक हमलाले प्यालेस्टिनी जनताको सामूहिक सजायलाई उचित ठहर गर्न सक्तैन ।’

बालबालिकालाई हानि पुर्‍याएकोमा अमेरिकाका दर्जनौँ राज्यद्वारा मेटाविरुद्ध मुद्दा दायर
फेसबुक र इन्स्टाग्रामको मालिक मेटामाथि दर्जनौँ अमेरिकी राज्यहरूले ‘बालबालिकाको पीडाबाट फाइदा लिँदै’ उनीहरूको मानसिक स्वास्थ्यलाई हानि पुर्याएको र यसको प्लेटफर्मको सुरक्षाबारेमा मानिसहरूलाई भ्रममा पारेको आरोप लगाएका छन् ।

‘आफ्नो आर्थिक फाइदालाई अझ धेरै बनाउने कोसिसमा मेटाले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्मको महत्वपूर्ण खतराका बारेमा जनतालाई बारम्बार गुमराहमा पारेको छ’, क्यालिफोर्नियाको सङ्घीय अदालतमा दायर संयुक्त मुद्दामा भनिएको छ ।

मेटाविरुद्ध ४० भन्दा धेरै राज्यले मुद्दा लगाएका छन् । यद्यपि केही राज्यले सङ्घीय अदालतमा मुद्दा हाल्नुको सट्टा स्थानीय अदालतमा मुद्दा दायर गरेका छन् । दायर मुद्दामा मेटाले युवा प्रयोगकर्ताहरूलाई उनीहरूको स्वास्थ्यमा हानि पुगे पनि प्लेटफर्ममा अधिकतम समय बिताउनका लागि डिजाइन गरिएको बिजिनेस मोडल बनाएर उनीहरूको शोषण गरेको बताइएको छ ।

‘बालबालिका र किशोर किशोरी खराब मानसिक स्वास्थ्यको रेकर्ड स्तरबाट पीडित छन् र यसका लागि मेटा जस्तो सामाकिजक मिडिया कम्पनीहरू जिम्मेबार छन्’, न्युयोर्कका महान्यायाधिवक्ता लेटिया जेम्सले मुद्दाको घोषणा गर्दै एक विज्ञप्तिमा भने, ‘मेटाले जानीजानी आफ्नो प्लेटफर्ममा हेरफेर गर्न सकिने सुविधाका साथ डिजाइन गरेर बालबालिकाको पीडाबाट फाइदा लिएको छ र यसले बालबालिकाको आत्मसम्मानलाई घटाउँदै उनीहरूलाई प्लेटफर्ममा लत लगाउँछ ।’

मुद्दामा मेटामाथि आर्थिक लाभ लिनका लागि कमजोर युवाहरूलाई नोक्सान गर्ने भ्रामक र गैरकानुनी व्यवहार गरेको आरोप लगाइएको छ । महान्यायाधिवक्ता जेम्सका अनुसार मुद्दामा संघीय अदालतसँग मेटालाई चलाखीपूर्ण रणनीति बन्द गर्न र क्षतिपूर्तिका साथै ठूलो आर्थिक जरिवाना गराउन आदेश दिन माथ गरिएको छ ।

‘मेटासहितका सामाजिक मिडिया कम्पनीहरूले राष्ट्रिय युवा मानसिक स्वास्थ्य संकटमा योगदान दिएका छन् र उनीहरूलाई जवाफदेही बनाउनुपर्छ’, उनले भने। मुद्दाबाट निराश भएको भन्दै मेटाले राज्यहरूले उमेर–उपयुक्त मापदण्ड बनाउनका लागि सामाजिक मिडिया कम्पनीसँग काम नगरिरहेको बताएको छ ।

किशोर प्रयोगकर्तालाई सहयोग गर्नका लागि आफ्नो एप्समा ३० भन्दा बढी टुल विकसित गरेको र अभिभावकका लागि अनलाइन गतिविधिलाई ‘आकार दिन’ सहज बनाएको मेटाले बताएको छ ।

मेटाले टिकटक, युट्युब र स्न्यापसहित प्रतिद्वन्द्वीको लोकप्रियतालाई हेरेर उद्योगव्यापी समाधान खोज्नुको सट्टा महान्यायाधिवक्ताले मेटालाई छनोट गर्नु निराशाजनक भएको उल्लेख गरेको छ ।

मध्यपूर्वमा आफ्ना नागरिकहरूका लागि सेना र विमान पठाउँदै अस्ट्रेलिया
मध्यपूर्वमा अस्ट्रेलियाली नागरिकहरूलाई लिएर चिन्ता बढेसँगै अस्ट्रेलियाले त्यहाँ सेना र दुई सैन्य यातायात विमान पठाउन लागेको बताएको छ ।

रक्षामन्त्री रिचर्ड माल्र्सले ‘ठूलो सङ्ख्यामा’ सेना पठाउन लागेको बताए पनि सैन्य सङ्ख्याबारे जानकारी दिएनन् । दुई वटा सी–१३०जे हरकुलस विमान तैनाथ गरिएको उनले जानकारी दिए।

उपप्रधानमन्त्री समेत रहेका माल्र्सले विमान र सेना कहाँ आधारित हुनेछन् भन्नेबारे खुलाएनन् । विमानहरूले उक्त क्षेत्रमा पहिला नै सी–१७ए ग्लोबमास्टर यातायात विमान र केसी–३० एयर रिफ्युलर थप्ने बताइएको छ ।

‘मध्यपूर्वमा यदि स्थिति बिग्रँदै गयो भने अस्ट्रेलियाली जनतालाई सहयोग पुर्याउनु यसको उद्देश्य हो’, उनले भने । इजराइल–हमास युद्ध अक्टोबर ७ मा गाजापट्टीबाट प्यालेस्टिनी आतङ्कवादी समूह हमासले इजराइलमाथि सुरु गरेको आश्चर्यजनक आक्रमणका कारण सुरु भएको हो । युद्ध सुरु भएपछि दुवैतर्फ हजारौँ नागरिक मारिएका छन् ।

अक्टोबर १३ देखि अहिलेसम्म आठ सयभन्दा धेरै अस्ट्रेलियाली नागरिकलाई इजरायलबाट बाहिर निकालिसकिएको छ । रक्षामन्त्री माल्र्सले सरकारले गाजामा ७९ र पश्चिमकिनारमा ५१ नागरिकलाई सहयोग गर्ने प्रयास गरिरहेको बताए। उनका अनुसार तिनीहरूलाई छोड्न भनिएको छ ।

मध्यपूर्वमा अस्ट्रेलियाको सैन्य उपस्थितिको एउटा लामो इतिहास छ । अस्ट्रेलियाली सेनाले इराक र सिरियामा इस्लामिक स्टेट समूहसँग लड्ने संयुक्त कार्यबलमा सैनिकहरूलाई योगदान दिने गरेको छ । उक्त कार्यबलले इराकी सुरक्षा फौजलाई प्रशिक्षण दिँदै आएको छ ।

यसअघिको कट्टरपन्थी सरकारअन्तर्गत अस्ट्रेलियाले सन् २०२० मा एसिया–प्रशान्त क्षेत्रमा आफ्नो रक्षा प्रतिबद्धताहरूमा ध्यान केन्द्रित गर्ने बताएको थियो । परिणामस्वरूप सो सरकारले मध्यपूर्वमा एउटा नौसैनिक जहाजको वार्षिक परिचालनलाई रोकेको थियो । यसबाट नेभिगेसन र सुरक्षाको स्वतन्त्रताको समर्थन गर्ने ३० वर्षको प्रतिबद्धता अन्त्य भएको थियो ।

किर्गिजस्तानको विकासमा सघाउन चीन इच्छुक : चिनियाँ प्रधानमन्त्री
चिनियाँ प्रधानमन्त्री ली छ्याङले उच्च गुणस्तरको बेल्टमा केन्द्रित भएर किर्गिजस्तानको पूर्वाधार विकासमा चीन साथ दिन तयार रहेको बताएका छन् । आर्थिक तथा व्यापारिक सहयोगको दायरा विस्तार गर्न पनि चीन इच्छुक रहेको उनको धारणा छ ।

किर्गिस्तानका राष्ट्रपति सदिर जापारोभसँगको भेटमा लीले दुवै पक्षलाई औद्योगिक र आपूर्ति शृङ्खलाको स्थिरता कायम राख्न, बहुआयामिक कनेक्टिभिटी निर्माण गर्न र चीन–किर्गिजस्तान–उज्बेकिस्तानको रेलवे निर्माणको प्रारम्भिक शुरुवातका लागि काम गर्न पनि आह्वान गरे ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ७ : ५८ बजे

कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

जुम्ला – यहाँको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो

स्पेनविरुद्ध जर्मनी : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गतको पहिलो क्वाटरफाइनल

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौं फैसला कार्यान्वयन अन्तर्गत लेनदेन

दार्चुलामा बाढीपहिरोबाट १६ परिवार विस्थापित

दार्चुला – दार्चुलामा बाढीपहिरोबाट १६ परिवार विस्थापित भएका छन् ।