अलैँची टिप्न किसानलाई चटारो, बगानमै मनाए दसैँ « Khabarhub

अलैँची टिप्न किसानलाई चटारो, बगानमै मनाए दसैँ


८ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


822
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ— नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेक्रम जारी छ ।  विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । तर ताप्लेजुङको ग्रामीण क्षेत्रमा बसोबास गर्ने समुदायले भने अलैँची बगानमै दसैँ मनाएका छन् ।

घरबाट टाढा रहेको बगानमा अलैँची टिप्न आएका किसान कामको चटारोले गर्दा घर जान पाएनन् । घरबाट निस्किएका फक्ताङलुङ गाउँपालिका–६ फेम्बूका बिर्खबहादुर लिम्बू अलैँची बगानदेखि घर फर्किएका छैनन् । फक्ताङलुङ गाउँपालिका–५ ओखरबोटेको अलैँची बगानमा उनको दिनचर्या बितिरहेको छ । अहिले  लिम्बूको परिवार नै बगानमै छन् । दैनिक आठदेखि १२ खेताला लगाइरहेका उनले यस वर्षको दसैँ पनि यही बगानमा मनाए ।

फक्ताङलुङ–५ तामावाका पूर्ण लिम्बू पनि अलैँची बगानमै दसैँ मनाए । एक बगानदेखि अर्को बगानमा सर्दा पूजापाठ गरेरमात्र टिपाइ सुरु गर्ने चलन छ । उनले मङ्गलबार अलैँची बगानमा पूजापाठ गरे । पूजा गर्दा कुखुराको भाले चढाउनुपर्ने हुन्छ । उनले भाले चढाएर ओखरबोटेको अलैँची बगान टिपाइ सुरु गरेका छन् । पूजा गर्ने बर्सेनिको चलन छ । 

बगानमा अलैँची टिप्न, छोडाउन र सुकाउन धमाधम भएकाले उनको परिवार दसैँमा घर फर्कन नपाएको हो । ‘टिप्न थालेपछि यसलाई गुम्स्याउने, छोडाउने र सुकाउने गर्नुपर्छ,’ उनले भने, ‘खेतालालाई छुट्टी दिए पनि घरको मान्छेले त बगान छोड्न पाइँदैन ।’

सुकाइसकेपछि बल्ल बगानको काम सकिन्छ । त्यसैले दसैँका बेला पनि अलैँची बगानमै बस्नु परेको उनले बताए । चाडबाड जहाँ, जसरी पनि मनाउनुपर्ने भएकाले आफूहरूले कुखुराको भाले खाएर दसैँ मनाएको लिम्बूले सुनाए । 

सिरिजङ्गा–६ मामाङ्खेका हर्क लिम्बूले पनि यस वर्ष टीका लगाउन पाएन । बगानमा धमाधम काम भएकाले घर जानै सकेनन्  । ठूलो बगानमा टिपिरहेका उनी तिहारअघि नै काम सकेर फर्कने तयारीमा छन् ।

मेरिङदेन गाउँपालिका—५ नाल्बुका विमला लिम्बूले केही समयअगाडि आफ्नो परिवारका लागिमात्र खाना बनाउँथिन् । तर अहिले अलैँची टिपाइ सुरु भएसँगै खेतालाका लागि उनको बिहान खाजा बनाउ र खाना बनाउनमा व्यस्तता बढेको छ । छरछिमेकमा खेताला नपाइने भएकाले लिम्बूको अलैँची बगानमा धेरै टाढाबाट अलैँची टिप्ने मजदुर बोलाएका छन् । अलैँची टिप्ने खेतालाहरूलाई बिहान खाजा दिएर बिहानको समयमा बगानमा अलैँची टिप्न जाने गर्दछन् । बिहानको १० बजे खान खाने समय हुन्छ । आँखा देखुन्जेलसम्म बेलुका अलैँची बगानमै टिप्ने गर्दछन् । साँझबिहान बगानमै बसेर अलैँची टिप्ने मजदुरलाई पाँच सयदेखि ६ सय ५० रुपैयाँ ज्याला दिनु पर्दछ ।

अलैँची टिप्ने मजदुर पाउनै गाह्रो
विगतका वर्षमा गाउँघरमा अलैँची टिप्नका लागि छरछिमेकीबीच अर्मपर्म गरिन्थ्यो । एक छिमेकीको बगानमा टिपाइसकेर अर्को छिमेकीको बगान टिप्ने गरिन्थ्यो । तर, बिस्तारै यो प्रचलन लोप हुँदै गएको छ । 

अलैँची खेती हुने क्षेत्रमा प्रायः सबै गाउँलेको अलैँची बगान छ । आफ्नो बगानमा आफैँले टिप्न सकिँदैन । समयमै टिप्न नसक्दा जङ्गली जनावरले पाकेको फल खाइदिने गर्छन् । त्यसका लागि समयमै टिपेर भित्र्याउनु पर्छ । तर, विगतका वर्षमा जस्तो खेताला पाउन छोडेको फक्ताङलुङ गाउँपालिका—५ का अलैँची किसान कुमार राईले बताए । 

उनले भने, ‘आजभोलि खेताला पाउनै गाह्रो छ । गाउँभरी पैसा बोके खेताला खोज्दा पनि पाइँदैन । सबैलाई आफ्नै बगानमा टिप्न भ्याइनभ्याई हुन्छ ।’ गाउँका केही युवा वैदेशिक रोजगारीमा गएकाले पनि खेताला पाउन मुस्किल हुँदै गएको सिदिङवा गाउँपालिका—४ की कृषक अनिता लिम्बूले बताइन् ।

    

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ८ : ५० बजे

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल

जापान भूकम्प अपडेट : २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

कुमामोटो– जापानका आपतकालीन उद्धारकर्मीहरुले भुकम्पले भत्कीएको सपिङ्ग मलबाट जिवित मानिसलाई

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु घोषणा

काठमाडौं– जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सरकारबारे खुश्वुको आक्रोश : नागरिकमाथि गोली बर्साएर शान्ति सुरक्षा कायम गर्न खोजेको हो ?

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक झडप

गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै

बागमती– गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकको गन्तव्यस्थलका रुपमा विकास गरिँदै आएको छ