ताप्लेजुङ— नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेक्रम जारी छ । विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । तर ताप्लेजुङको ग्रामीण क्षेत्रमा बसोबास गर्ने समुदायले भने अलैँची बगानमै दसैँ मनाएका छन् ।
घरबाट टाढा रहेको बगानमा अलैँची टिप्न आएका किसान कामको चटारोले गर्दा घर जान पाएनन् । घरबाट निस्किएका फक्ताङलुङ गाउँपालिका–६ फेम्बूका बिर्खबहादुर लिम्बू अलैँची बगानदेखि घर फर्किएका छैनन् । फक्ताङलुङ गाउँपालिका–५ ओखरबोटेको अलैँची बगानमा उनको दिनचर्या बितिरहेको छ । अहिले लिम्बूको परिवार नै बगानमै छन् । दैनिक आठदेखि १२ खेताला लगाइरहेका उनले यस वर्षको दसैँ पनि यही बगानमा मनाए ।
फक्ताङलुङ–५ तामावाका पूर्ण लिम्बू पनि अलैँची बगानमै दसैँ मनाए । एक बगानदेखि अर्को बगानमा सर्दा पूजापाठ गरेरमात्र टिपाइ सुरु गर्ने चलन छ । उनले मङ्गलबार अलैँची बगानमा पूजापाठ गरे । पूजा गर्दा कुखुराको भाले चढाउनुपर्ने हुन्छ । उनले भाले चढाएर ओखरबोटेको अलैँची बगान टिपाइ सुरु गरेका छन् । पूजा गर्ने बर्सेनिको चलन छ ।
बगानमा अलैँची टिप्न, छोडाउन र सुकाउन धमाधम भएकाले उनको परिवार दसैँमा घर फर्कन नपाएको हो । ‘टिप्न थालेपछि यसलाई गुम्स्याउने, छोडाउने र सुकाउने गर्नुपर्छ,’ उनले भने, ‘खेतालालाई छुट्टी दिए पनि घरको मान्छेले त बगान छोड्न पाइँदैन ।’
सुकाइसकेपछि बल्ल बगानको काम सकिन्छ । त्यसैले दसैँका बेला पनि अलैँची बगानमै बस्नु परेको उनले बताए । चाडबाड जहाँ, जसरी पनि मनाउनुपर्ने भएकाले आफूहरूले कुखुराको भाले खाएर दसैँ मनाएको लिम्बूले सुनाए ।
सिरिजङ्गा–६ मामाङ्खेका हर्क लिम्बूले पनि यस वर्ष टीका लगाउन पाएन । बगानमा धमाधम काम भएकाले घर जानै सकेनन् । ठूलो बगानमा टिपिरहेका उनी तिहारअघि नै काम सकेर फर्कने तयारीमा छन् ।
मेरिङदेन गाउँपालिका—५ नाल्बुका विमला लिम्बूले केही समयअगाडि आफ्नो परिवारका लागिमात्र खाना बनाउँथिन् । तर अहिले अलैँची टिपाइ सुरु भएसँगै खेतालाका लागि उनको बिहान खाजा बनाउ र खाना बनाउनमा व्यस्तता बढेको छ । छरछिमेकमा खेताला नपाइने भएकाले लिम्बूको अलैँची बगानमा धेरै टाढाबाट अलैँची टिप्ने मजदुर बोलाएका छन् । अलैँची टिप्ने खेतालाहरूलाई बिहान खाजा दिएर बिहानको समयमा बगानमा अलैँची टिप्न जाने गर्दछन् । बिहानको १० बजे खान खाने समय हुन्छ । आँखा देखुन्जेलसम्म बेलुका अलैँची बगानमै टिप्ने गर्दछन् । साँझबिहान बगानमै बसेर अलैँची टिप्ने मजदुरलाई पाँच सयदेखि ६ सय ५० रुपैयाँ ज्याला दिनु पर्दछ ।
अलैँची टिप्ने मजदुर पाउनै गाह्रो
विगतका वर्षमा गाउँघरमा अलैँची टिप्नका लागि छरछिमेकीबीच अर्मपर्म गरिन्थ्यो । एक छिमेकीको बगानमा टिपाइसकेर अर्को छिमेकीको बगान टिप्ने गरिन्थ्यो । तर, बिस्तारै यो प्रचलन लोप हुँदै गएको छ ।
अलैँची खेती हुने क्षेत्रमा प्रायः सबै गाउँलेको अलैँची बगान छ । आफ्नो बगानमा आफैँले टिप्न सकिँदैन । समयमै टिप्न नसक्दा जङ्गली जनावरले पाकेको फल खाइदिने गर्छन् । त्यसका लागि समयमै टिपेर भित्र्याउनु पर्छ । तर, विगतका वर्षमा जस्तो खेताला पाउन छोडेको फक्ताङलुङ गाउँपालिका—५ का अलैँची किसान कुमार राईले बताए ।
उनले भने, ‘आजभोलि खेताला पाउनै गाह्रो छ । गाउँभरी पैसा बोके खेताला खोज्दा पनि पाइँदैन । सबैलाई आफ्नै बगानमा टिप्न भ्याइनभ्याई हुन्छ ।’ गाउँका केही युवा वैदेशिक रोजगारीमा गएकाले पनि खेताला पाउन मुस्किल हुँदै गएको सिदिङवा गाउँपालिका—४ की कृषक अनिता लिम्बूले बताइन् ।
प्रतिक्रिया