माध्यमिकी परिक्रमाका यात्रीलाई इस्लाम धर्मावलम्बीले गरे स्वागत « Khabarhub

माध्यमिकी परिक्रमाका यात्रीलाई इस्लाम धर्मावलम्बीले गरे स्वागत


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मिथिला माध्यमिकी परिक्रमाका यात्रीलाई आज बिहान ध्रुवकुण्डमा इस्लाम धर्मावलम्बीले स्वागत गरेका छन् ।

यात्राको सातौँ दिनको विश्रामका लागि आज ध्रुवकुण्ड आइपुगेका यात्रीलाई स्थानीय इस्लाम धर्मावलम्बीले स्वागत गरेका हुन् । महोत्तरीको बलवा नगरपालिकाको धमौरास्थित ध्रुवकुण्ड वरपरका बस्तीमा मुस्लिम बसोबास बाहुल्य छन् ।

जिल्लाको मडैमा छैटौँ दिनको रात्रिविश्राम गरेका यात्री आज बिहानदेखि ध्रुवकुण्ड पुग्दैछन् । आफ्नो ठाउँमा आइपुगेका यात्रीलाई ध्रुवकुण्ड नजिकका धमौरा, रौजा र अधियानपुरसहितका बस्तीका इस्लाम धर्मावलम्बीले आज बिहान स्वागत गरेका हुन् । ध्रुवकुण्ड आइपुगेका यात्रीलाई फूलमाला र गम्छा ओढाएर सम्मान गर्दै बिहान इस्लाम धर्मावलम्बीले स्वागत गरेका छन् ।

जिल्लामा इस्लाम धर्मावलम्बीको सघन बसोबास रहेको धमौरामा हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र ध्रुवकुण्ड अवस्थित छ । सत्ययुगमा राजकुमार ध्रुवले तपस्या गरेको ठाउँ मानिने ध्रुवकुण्डलाई हिन्दूले पवित्र धार्मिकस्थल मान्ने गरेका छन् । आफ्नो ठाउँ १५ दिने माध्यमिकी परिक्रमाको सातौँ दिनको विश्रामस्थल रहँदै आउनु गौरवको कुरा भएको इस्लाम धर्मावलम्बी बताउँछन् ।

“यहीँ धमौरामा हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल ध्रुवकुण्ड छ, यहीँ नै केही दूरी पर इस्लाम धर्म परम्पराका सुफी सन्त गदालीबाबा, बहार अलीबाबा र रहमत अलीबाबाको पवित्र मजार (समाधीस्थल) छ”, धमौराका बासिन्दा मन्सुल कवारी भन्छन्, “हिन्दूहरु मजारस्थलमा श्रद्धा जनाउँदै मन्नत (आशिष) माग्न आउँछन्, हामी इस्लाम धर्मावलम्बी ध्रुवकुण्डको विकासबारे चासो राख्छौँ ।” मजार र ध्रुवकुण्ड आफ्नो ठाउँ चिनाउने पवित्रस्थल भएकाले हिन्दू र मुसलमान दुवैको उत्तिकै चासोमा पर्ने मन्सुलको भनाइ छ ।

आज बिहान यात्राको सातौँ दिनको रात्रिविश्रामको प्रबन्धमा मुस्लिम आफ्ना छिमेकी हिन्दूसँगै तल्लीन देखिन्छन् । “यात्री हाम्रो ठाउँमा राम्रोसँग बस्न सकुन्, यो ठाउँ सबैको मनमा रहन सकोस्, हामी यो चाहान्छौँ” धमौराका ७५ वर्षीय इस्लाम धर्मावलम्बी हासिम कवारी भन्छन्, “यात्रीको स्वागत, बसोबास र अन्य प्रबन्ध ठिकठाक रहन सकोस् भन्ने हाम्रो प्रयत्न हो ।”

यो मध्यमा परिक्रमा आपूmहरुका लागि अतिथि सत्कारको खास अवसर रहँदै आएको इस्लाम धर्मावलम्बीको भनाइ छ । “मिथिला माध्यमिकी परिक्रमा हाम्रो ठाउँ चिनाउने खास अवसर हो”, धमौराको अधियानपुरका बासिन्दा इस्लाम धर्मावलम्बी अमानुल्ला शेष भन्छन्, “माध्यमिकी परिक्रमाको यो अवसरलाई आफ्नो ठाउँको विकासमा प्रयोग गर्न जान्नु पर्दछ, यसका लागि यात्रीको सुरक्षा, आवास र उपचार व्यवस्था हाम्रा खास दायित्वका कुरा हुन् ।”

हिन्दू परम्पराको मिथिला माध्यमिकी परिक्रमाको सातौँ दिनको विश्रामस्थल ध्रुवकुण्ड धमौरा इस्लाम धर्मावलम्बी बसोबास बाहुल्यता भएको ठाउँ हो । धमौराका अधियानपुर, रौजाबजार, धमौराटोल र भगवतीपुर बस्तीमा इस्लाम धर्मावलम्बीको बसोबास छ । यस ठाउँमा परिक्रमाको सातौँ दिनको विश्राम परम्परालाई स्वागत गर्न सके र राम्रो बिदाइ गर्नसके धार्मिक सद्भावको सन्देशसमेत प्रवाहित हुने इस्लाम धर्मावलम्बी बताउँछन् ।

“मिथिला माध्यमिकी परिक्रमा धर्मको बन्धनले कसिएको हामी ठान्दैनौँ”, धमौराको भगवतीपुरका अर्का इस्लाम धर्मालम्बी मञ्जुर अन्सारी भन्छन्, “मिथिलाको महाकुम्भ भनिने यो यात्रा सिङ्गो मिथिला क्षेत्रको साझा संस्कृति बनिसकेको छ ।” धमौरामा मिथिला माध्यमिकी परिक्रमाको सातौँ दिनको विश्रामस्थल रहेको ध्रुवकुण्ड र रौजास्थित इस्लाम धर्मावलम्बीको पवित्र धार्मिकस्थल रौजामजार रहेका छन् ।

इस्लाम धर्मावलम्बी गदालीबाबासहित तीन जना सन्तको रौजामजारमा बर्सेनि हजारौँ सङ्ख्याका हिन्दू दर्शन र मन्नत (मनोकामना) माग्न र भाकल दिन पुग्ने गरेका छन् । धमौराको विकासमा यी दुवै पक्षलाई उजागर गरेर उज्याला सम्भावना बढाउन सकिने कुरामा (धमौरा) का हिन्दू, इस्लाम दुवै धर्मावलम्बी सहमत देखिन्छन् ।

माध्यमिकी परिक्रमाका यात्री ध्रुवकुण्ड आएपछि उनीहरुको आवास, भोजन, उपचार र अन्य आवश्यक प्रबन्धमा हिन्दू र इस्लाम धर्मावलम्बी नबाँडिए झैँ रौजामजारको व्यवस्थापन, आवश्यक प्रबन्ध र प्रचारप्रसारमा पनि हिन्दू तथा इस्लाम धर्मावलम्बी सँगसँगै हातेमालो गर्ने गरेका यहाँका बुढापाका बताउँछन् । “ध्रुवकुण्ड र रौजामजार हाम्रा साझा वैभव हुन्”, धमौराकै बासिन्दा ६० वर्षीय सुशील यादव भन्छन्, “आफ्नो ठाउँको चिनारी विस्तार गर्न र विकासका लागि यी दुवै सम्भावना बढाउन हामीले नै पहलकदमी लिनपर्छ ।”

मिथिलामा १५ दिने यो परिक्रमाका यात्रीले पाँच रात महोत्तरीमा बिताउने परम्परा रहँदै आएको छ । चौथो दिनको विश्रामका लागि मटिहानीबाट सुुरु भएको महोत्तरीको यात्रामा यात्री पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनमा बास बस्ने गर्छन् । आज ध्रुवकुण्डमा रात्रि बासपछि सोमबार यात्री कञ्चनवनका लागि प्रस्थान गर्नेछन् ।

मिथिलाको महाकुम्भ भनिने १५ दिने यो परिक्रमामा सहभागी हुँदा मन पवित्र हुने यात्री बताउँछन् । पारिवारिक कल्याण र मोक्षको कामनाका साथ गरिने यो यात्रामा नेपाल र भारतका गरी एक सय ३३ किलोमिटरको वृत्तभित्र परिक्रमा गरिन्छ । यस अवधिमा महोत्तरीमा पाँच, धनुषामा छ र छिमेकी मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा चार रात्रिबासको परम्परा रहँदै आएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  २ : १४ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती