दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार | Khabarhub Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 8 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दिनभर आज रेशम चौधरीको आममाफीको फाइल राष्ट्रपतिद्वारा फिर्ता, एमालेद्वारा प्रतिनिधिसभाको बैठक अवरोध, शरणार्थी प्रकरणमा फरार अभियुक्त लक्ष्मी महर्जन पक्राउ, भारतसँग पेट्रोलियम पाइपलाइन सम्बन्धी सम्झौता गरिने, जसपाको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्तलगायतका समाचारले प्रमुख स्थान पाए ।

रेशम चौधरीको आममाफीको फाइल राष्ट्रपतिद्वारा फिर्ता

राष्ट्रपति कार्यालयले टीकापुर घटनामा जन्मकैदको सजाय भएका रेशम चौधरीलाई माफी दिने प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाएको छ ।

राष्ट्रपति पौडेलले शुक्रबार सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका चौधरीलाई आममाफीका लागि सरकारले पठाएको फाइल गृह मन्त्रालयमा नै फिर्ता पठाएका हुन्।

राष्ट्रपति पौडेलले टीकापुर नरसंहारमा हत्या भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) केशव बोहराकी पत्नी शारदा बोहराले शीतल निवासमा शुक्रबार नै दर्ता गराएको निवेदन पनि गृह मन्त्रालयमा पठाएका छन्।

सात सुरक्षाकर्मीसहित एक बालकको ज्यान जानेगरी भएको टीकापुर घटनामा अदालतबाट दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका चौधरीलाई सरकारले आममाफी दिएर थुनामुक्त गर्न खोजेपछि इन्स्पेक्टर पत्नी शारदाले राष्ट्रपति कार्यालयमा निवेदन दिएर चौधरीलाई थुनामुक्त नगर्न माग गरेकी थिइन्।

एमालेद्वारा प्रतिनिधिसभाको बैठक अवरोध

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ।

सवा १२ बजेपछि सुरु भएको बैठक आरम्भ भएको जानकारी सभामुख देवराज घिमिरेले गराए लगत्तै एमालेका सांसदहरु उभिएर विरोध जनाएका हुन्।

नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा सांसद लेखनाथ दाहालले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पशुपतिनाथको सुनको जलहरीको नाममा पितलको जलारी चढाएर भ्रष्टाचार गरेको बताएको भन्दै त्यसबारे छानबिनको माग गर्दै बैठक अवरोध गरेको हो ।

एमालेका प्रमुख सचेतक पदम गिरीले सभामुखले उक्त विषयमा जवाफ दिन रुलिङ नगरी बैठक अघि बढाउन खोजे वेल घेर्ने चेतावनी दिएका छन् ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले यो विषय नटुग्याएसम्म बैठक नचल्ने बताएका छन्।

जिम्मेवारीमा रहँदा समय खेर नफाल्न जनप्रतिनिधिलाई अध्यक्ष ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका जनप्रतिनिधिहरूलाई जिम्मेवारीमा रहँदा समय खेर नफाल्न निर्देशन दिएका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा शुक्रबार एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने क्रममा अध्यक्ष ओलीले जनप्रतिनिधिका जिम्मेवारीमा रहेका बेला जवाफदेशी र उत्तरदायी रहनुपर्ने उल्लेख गर्दै समय खेर नफाल्न निर्देशन दिएका हुन् ।

प्रशिक्षण कार्यक्रममा उनले जनप्रतिनिधिले हरेक समय आफूले आफैँलाई प्रश्न सोध्नुपर्ने उल्लेख गरे । उनले समयको उपयोगिता तथा महत्वलाई बुझ्न निर्देशन दिएका हुन् ।

‘हामीसँग धेरै समय छैन । परिस्थिति फेरिएको छ ।’ उनले भने, ‘त्यसैले बेलैदेखि हामीले उपलब्धी, कामहरु देखिने गरी जनतासमक्ष प्रस्तुत गरेर जानुपर्छ ।’

शरणार्थी प्रकरण : फरार अभियुक्त लक्ष्मी महर्जन पक्राउ

नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा संलग्न अर्की अभियुक्त पक्राउ परेकी छन् । अनुसन्धान अघि बढेदेखि फरार रहेकी अभियुक्त लक्ष्मी महर्जनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

काठमाडौँ प्रहरी परिसरका एसपी सिताराम रिजालका अनुसार महर्जनलाई पक्राउ गरेपछि आजै जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको छ ।महर्जनसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले बुधबार नै अदालतमा मुद्दा दर्ता गरिसकेको छ ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित पक्राउ परेका १६ जना र पक्राउ नपरेका १७ जनासहित ३३ जनाविरुद्ध मुद्दा चलाइएको छ।

भारतसँग पेट्रोलियम पाइपलाइन सम्बन्धी सम्झौता गरिने

मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पेट्रोलियम पाइपलाइन सम्बन्धी सम्झौता गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पेट्रोलियम पाइपलाइन सम्बन्धी सम्झौता गर्ने निर्णय गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालका अनुसार इन्धन टर्मिनल ट्यांकी विरगञ्जबाट लोथरभण्डाराको नेपालले बनाउने र उतातिर सिलगुडि चारआलिस भारतले बनाउने निर्णय भएको बताए ।

जसपाको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त

जनता समाजवादी पार्टी नेपाल (जसपा)को संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन् ।

पार्टी अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवले उनलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

प्रमुख सचेतकमा नियुक्त भएका प्रदीपलाई संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन तथा नियमानुसार पाउने सेवा सुविधा उपलब्ध गराइदिन अध्यक्ष यादवले संघीय संसद्का महासचिवलाई पत्र लेखेका छन् ।

प्रचण्डविरुद्ध युद्ध अपराधको मुद्दा दर्ता गर्न सर्वोच्चमा निवेदन

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन माओवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको छ ।

लेलिन विष्टसमेतले शुक्रबार प्रधानमन्त्री प्रचण्ड, डा भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाएर कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन् ।

उनीहरूलाई आफूहरूलाई बाल्यावस्थामा युद्धमा प्रयोग गरेको भन्दै प्रचण्ड र भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाइनुपर्ने जिकिर रिट निवेदनमा गरेका छन् ।

साथै आफूहरूलाई बाल सेनाको दर्जाबाट बञ्चित गर्ने किसिमका कार्य नगर्नु भनी विपक्षीहरूको नाममा परमादेशको आदेश जारी गर्न पनि उनीहरूले माग गरेका छन् ।

वडाअध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेका अवस्थामा जनकपुरधाम उपमहानगरपालिका–११ का वडाअध्यक्ष र सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले जग्गा दर्ता सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग्दै गरेका आधारमा आयोगको बर्दिबास कार्यालयबाट गएको टोलीले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायलाई ५० हजार घुस रकमसहित केही समयअघि पक्राउ गरेको थियो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार आरोपीद्वयलाई बिगोबमोजिम कैद सजाय र बिगो असुलको माग गर्दै आज मुद्दा दायर गरिएको हो ।

सांसद बन्न पैसा नबुझाएको ढाकाको प्रष्टीकरण

राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले समानुपातिक सांसद बन्न पार्टीलाई पैसा नबुझाएको प्रष्टीकरण दिएका छन्।

बिहीबार एक विज्ञप्ति निकालेर उनले तीन करोड बुझाएको भनेर केही मिडियामा आएको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन्।

आफूले कुनै मिडियासँग नबोलेको र समाचार सम्प्रेषणका लागि अनुरोध पनि नगरेको उनको जिकिर छ। उनले कानूनी प्रक्रियामा जाने चेतावनीसमेत दिएका छन्।

‘स्वीकृत आधारबिना नै तथ्यहीन समाचार बनाएर व्यक्ति तथा पार्टीको चरित्र हत्या गरेमा स्वयं आफैं कानूनी प्रक्रियामा जान बाध्य हुनेछु।’ उनले भनेका छन्।

भारतसँग पेट्रोलियम पाइपलाइन सम्बन्धी सम्झौता गरिने

मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पेट्रोलियम पाइपलाइन सम्बन्धी सम्झौता गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पेट्रोलियम पाइपलाइन सम्बन्धी सम्झौता गर्ने निर्णय गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालका अनुसार इन्धन टर्मिनल ट्यांकी विरगञ्जबाट लोथरभण्डाराको नेपालले बनाउने र उतातिर सिलगुडि चारआलिस भारतले बनाउने निर्णय भएको बताए ।

राष्ट्र बैंकले २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने

नेपाल राष्ट्र बैंकले २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

यही जेठ १४ गते आइतबार बोलकबोल गरिने जनाइएको छ । यसअघि यही जेठ ८ गते पनि केन्द्रीय बैंकले रु ३४ अर्ब २० करोड बराबरको ट्रेजरी बिलको बोलकबोल प्रक्रियामार्फत बिक्री गरेको थियो । पछिल्लो पटक बिक्री गर्न लागिएको ट्रेजरी बिल २८ दिने अवधिदेखि तीन सय ६४ दिने अवधिसम्मको छन् । आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैंकले उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

केन्द्रीय बैंकका अनुसार हाल ट्रेजरी बिलको अल्पकालीन ब्याज सात दशमलव ९१ प्रतिशत बराबर रहेको छ । यस्तै तीन सय ६४ दिनको ब्याज भने आठ दशमलव ८० प्रतिशत बराबर छ । अन्तरबैंक ब्याजदर भने सात प्रतिशत बराबर छ ।

सीसीपीका विदेश विभाग प्रमुखसँग माओवादी प्रतिनिधि मण्डलको भेट

चीन भ्रमणमा गएको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको टोलीले चिनिया कम्युनिष्ट पार्टी (सीसीपी)का विदेश विभाग प्रमुख लिउ च्यान छाओबीच भेटवार्ता गरेको छ।

सापकोटा नेतृत्वको माओवादी प्रतिनिधि मण्डलले बिहीबार सीसीपीका विदेश विभाग प्रमुख लिउ नेतृत्वको टोलीसँग बेइजिङमा भेटवार्ता गरेको हो।

एक्लाएक्लै र सामूहिक गरी दुई चरणमा भएको भेटमा दुई देश र दुई पार्टीको सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ। त्यसक्रममा चिनियाँ विदेश विभाग प्रमुख लिउले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले लिएको आर्थिक विकास र समृद्धिको लक्ष्यमा चीनले निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

उपाध्यक्ष सापकोटाले चीन नेपालको छिमेकी मात्र नभएर विकास साझेदार समेत भएको चर्चा गरे। ल्हासा र मानसरोबरको भ्रमण गरेर राजधानी बेइजिङ पुगेको सापकोटा नेतृत्वको टोली अहिले राजनीतिक भेटघाटमा व्यस्त छ।

यही जेठ ५ गते चीन प्रस्थान गरेको सापकोटा नेतृत्वको २० सदस्यीय टोली १८ जेठमा स्वदेश फर्कने कार्यक्रम छ।

शान्ति सैनिक दिवस : प्रधानसेनापति शर्माद्वारा राष्ट्रसङ्घको झण्डोत्तोलन

प्रधानसेनापति प्रभुराम शर्माले संयुक्त राष्ट्रसङ्घको विश्व शान्तिकार्यको उद्देश्य पूरा गर्न नेपाली सेना प्रतिबद्ध रहेको बताएका छन् ।

काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा आज आयोजित अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघीय शान्ति सैनिक दिवस समारोहमा उनले शान्ति स्थापनामा सेनाको सहभागिताले नेपालको प्रतिष्ठा बढाउन योगदान पुर्‍याएको उल्लेख गरे ।

समारोहमा प्रधानसेनापति शर्माले त्यहाँस्थित वीर स्मारकमा पुष्पहार अर्पण गर्नुका साथै राष्ट्रसङ्घ शान्ति सेनाको झण्डोत्तोलन गरे ।

शान्तिकार्य निर्देशक सन्तोषबल्लभ पौडेलले विश्वभर राष्ट्रसङ्घले विश्वशान्ति जस्तो पवित्र कार्यका लागि नेपाली सेनाले देखाएको विशिष्ट आँट, योगदान र बलिदानका लागि मान्यता प्रदान गरेको बताए । समारोहमा प्रधानसेनापति शर्माले विश्व शान्तिकार्यमा परिचालित हुने क्रममा बलिदानी दिने साहसिक सैनिकका परिवार र योद्धालाई पदक र कदरपत्र प्रदान गरी सम्मान गरे ।

राष्ट्रसङ्घको निस्वार्थ शान्तिकार्यमा योगदान पुर्‍याउने मरणोपरान्त सैनिक, प्रहरी र नागरिकलाई राष्ट्रसङ्घका पूर्वमहासचिव ड्याग ह्यामर सोल्डका नाममा स्थापित पदक र प्रमाणपत्र प्रदान गरिएको हो । उक्त सम्मान शान्ति मिसनमा खटिँदाको अवस्थामा वीरगति प्राप्त गर्ने सवारी साधनका प्राविधिक पिताम्बर थापा, सिपाही दीपेन्द्र वस्ती र पशुपति कार्कीका धर्मपत्नीलाई प्रदान गरियो ।

समारोहमा सहसेनानी कैलाशकुमार बस्नेत, जमदार गोविन्द थापा र हुद्दा हिक्मत तामाङलाई सम्मानपत्र प्रदान गरिएको थियो । नेपाली सेनाले विगत ६८ वर्षको अवधिमा विश्वका ४४ शान्ति मिसनमा खटिई योगदान पुर्‍याइसकेको छ । हालसम्म एक लाख ४५ हजार तीन सय ५६ शान्ति सैनिकले राष्ट्रसङ्घको शान्ति पदक प्राप्त गरिसकेका छन् ।

विश्व शान्ति स्थापनाकार्यमा हालसम्म ७२ सैनिकको वीरगति प्राप्त भइसकेको छ भने ६६ जना घाइते भएका छन् । हाल विश्वका विभिन्न मुलुकमा स्थापना भएका १३ शान्ति मिसनमा पाँच सय २९ महिलासहित छ हजार ५७ नेपाली शान्ति सैनिक परिचालित छन् ।

राष्ट्रसङ्घबाट अनुरोध भई आएमा एकै पटक १० हजारको सङ्ख्यामा शान्ति सैनिक खटाउन सक्ने नेपालले यसअघि नै प्रतिबद्धता जनाइसकेको छ । विश्व शान्तिका लागि धेरै सैनिक खटाउने मुुलुकको सूचीमा नेपाल हाल दोस्रो वरियतामा छ ।

वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा शान्ति स्थापनाकार्यका लागि खटिने विश्वका विभिन्न देशका सैनिक तालिमरत छन् । उक्त तालिम केन्द्रलाई ‘सेन्टर अफ एक्सिलेन्स’ का रूपमा विकास गर्ने लक्ष्य छ । उक्त सेन्टरबाट तालिम प्राप्त हाल छ हजार सैनिक कार्यक्षेत्रमा परिचालित छन् ।

भन्सार प्रशासनलाई चुस्त बनाउन चेम्बरको माग

नेपाल चेम्बर अफ कमर्सले भन्सार प्रशासनलाई चुस्त एवं करको दायरा फराकिलो बनाउन आग्रह गरेको छ । भन्सार कर तथा राजस्व सम्बन्धमा आयोजना गरिएको अन्तरक्रियामा उद्योगी–व्यवसायीले निर्यात सहजीकरण एवं करको दायरा बढाउन सरकारसँग माग गरेका छन् ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले राजस्व घटिरहेको सन्दर्भमा कर प्रशासनलाई चुस्त बनाउनुपर्नेमा जोड दिए। उनले भन्सार प्रयोजनका लागि सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिनुपर्नेमा जोड दिए । अध्यक्ष मल्लले भने, ‘विश्व व्यापार संगठनबाट निर्धारित मूल्यांकन पद्धतिमा रहेर भन्सार प्रयोजनका लागि सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिनुपर्दछ ।’

भन्सार नाकामा अन्तर्राष्ट्रियस्तरको क्वारेन्टिन प्रयोगशालाको उचित व्यवस्थापन गरेर आयात निर्यातलाई प्रभावकारी बनाउनसमेत अध्यक्ष मल्लले आग्रह गरे । भन्सार कार्यालयका कारणले हुने ढिलाइमा डेमरेज, डिटेन्सन तिर्नुपर्ने अवस्थाको निराकरण हुनुपर्ने उनको भनाइ छ ।

अध्यक्ष मल्लले सीमामा हुने अवैध व्यापारलाई निरुत्साहित गरी कर तथा राजस्वको दायरामा ल्याउनुपर्नेमा समेत जोड दिए । सोका लागि बिल लिने-दिने व्यवस्थालाई अनिवार्य रुपमा कार्यान्वयन गर्नसमेत उहाँले सरकारको ध्यानाकर्षण गराए । करको दर वृद्धि गरिनुभन्दा दायरा बढाइनुपर्ने भन्दै अध्यक्ष मल्लले यसका लागि नागरिकता वितरण गर्दासँगै पान कार्ड पनि दिलाउनुपर्ने बताए ।

अन्तरक्रियामा सहभागी अधिकांश उद्योगी व्यवसायीले सरकारले दिने निर्यात अनुदानलाई लक्षित वर्गमा पुर्‍याउनुपर्नेमा जोड दिएका थिए । कर राजस्वका सम्बन्धमा स्थानीय तहले आफूखुसी कर निर्धारण गर्दा पनि उद्योग व्यवसाय चलाउन समस्या भएको उनीहरूको गुनासो थियो ।

सीमा नाकामा हुने चोरी निकासीले राजस्व संकलनको लक्ष्यमा गम्भीर असर परेको अधिकांश व्यवसायीको भनाइ छ । कृषिमा आधुनिकीकरण गरी उत्पादन बढाउन कृषि कार्यमा प्रयोग हुने यन्त्र, उपकरण र आधारभूत प्रयोगका वस्तुमा आगामी बजेटमा भन्सार तथा कृषि सुधार शुल्कमा पूर्णतः छुट हुनुपर्नेसमेत व्यवसायीले माग गरेका छन् ।

चेम्बर अफ कमर्सको कर राजस्व तथा भन्सार समितिका सभापति परशुराम दाहालले कर राजस्वमा देखापरेका समस्याबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

जंगली हात्तीले क्षति पुर्‍याउने क्षेत्रमा स्वचालित सडकबत्ती जडान

जंगली हात्तीले क्षति पुर्‍याउने क्षेत्रमा शुक्लाफाँटा नगरपालिकाले स्वचालित (सेन्सरयुक्त) सडकबत्ती जडान सुरु गरेको छ । भारतीय दुधुवा नेशनल पार्क हुँदै नगरपालिका क्षेत्रमा पुग्ने जंगली हात्तीले बर्सेनि मानवीय र भौतिक क्षति गर्न थालेपछि त्यस्ता क्षेत्रमा सडकबत्ती जडान गर्न थालिएको हो ।

‘जंगली हात्ती उज्यालो भएको क्षेत्रमा जान डराउने गर्दछ’, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले भने, ‘उज्यालो भएमा स्थानीय बासिन्दाले टाढैबाट हात्ती आएको देख्न सक्ने भएकाले सतर्कता अपनाउन सक्छन् ।’ जीउधनको क्षति न्यूनीकरण गर्न सकिने भएकाले बत्ती जडानको काम भइरहेको उनले बताए ।

आर्थिक वर्ष २०७९-८० को नगरपालिकाको हिउँदे अधिवेशनमा सडकबत्ती जडान शीर्षकमा १० लाख बजेट विनियोजन गरिएको थियो । विनियोजित बजेटबाट सार्वजनिक खरिद ऐनअनुसार एक सय ७५ वटा सडकबत्ती खरिद गरी जडान गरिएको बताइएको छ ।

नगरपालिकाको ऊर्जा शाखाका प्रमुख सुरेन्द्र भट्टका अनुसार पूर्व-पश्चिम राजमार्गमा ६०, वडा नं १ मा १०, वडा नं २ मा सात, वडा नं ३ मा सात, वडा नं ४ मा नौ, वडा नं ६ मा आठ, वडा नं ७ मा १०, वडा नं ८ मा १०, वडा नं ९ मा आठ, वडा नं १० मा आठ, वडा नं ११ मा नौ र वडा नं १२ मा १० थान सडकबत्ती जडान गरिएको छ ।

त्यसैगरी नगरपालिकाबाट आवश्यकता भएका अन्य ठाउँमा थप बत्ती जडान गर्न १० वटा सडकबत्ती जडानको व्यवस्था गरिएको छ । जंगली हात्तीले क्षति पुर्‍याउने क्षेत्र र पूर्व–पश्चिम राजमार्गलाई लक्ष्य गरी सडकबत्ती जडानको काम भइरहेको नगरउपप्रमुख कल्पना पन्तले बताए ।

‘राजमार्ग क्षेत्रका नगरपालिकाका मुख्य बजार क्षेत्रमा अवान्छित गतिविधि रोक्न पनि सडकबत्तीले सघाउ पुर्‍याउँछ’, उनले भने, ‘रातिका बेला सर्वसाधारणलाई आवतजावत गर्न सघाउ पुग्छ, उज्यालो हुने ठाउँमा जङ्गली हात्ती प्रवेश नगर्ने भएकाले जनधनको क्षति हुनबाट जोगाउन सकिने भएकाले सडकबत्ती जडान गरेका छौँ ।’

वडा कार्यालयमार्फत हात्तीले क्षति पुर्‍याउने क्षेत्रमा यसअघि नै सडकबत्ती जडान गरिएको थियो। हात्तीलगायत जंगली जनावरको आतंक रोक्न र सर्वसाधारणलाई सचेत पार्न नगरपालिकाले तीन ठाउँमा अत्याधुनिक साइरन जडान गरेको छ । प्रत्येक वर्ष नगरपालिकाले सडकबत्ती जडान गर्दै आए पनि आवश्यक मर्मत नगर्दा अलपत्र पर्ने गरेको स्थानीयवासीको गुनासो थियो ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ९ : ०७ बजे

नेपाल प्रहरीका ४ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा

संसदको मल्लयुद्धमा दुई दिन विश्राम, मिलनविन्दु के ?

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि तीन बुँदे प्रारम्भिक

मलङ्गवामा सवारी चालक प्रयोगात्मक परीक्षण सेवा सुरू

सर्लाही – यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका

बागमती सफाइ महाअभियान ११ औँ वर्ष पूरा

काठमाडौं – ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

कोबे – पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह