काँचै स्याउ बेच्न बाध्य डोल्पाका कृषक | Khabarhub Khabarhub

काँचै स्याउ बेच्न बाध्य डोल्पाका कृषक


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– उत्कृष्ट स्याउ पाइने डोल्पाको ठूलीभेरी, त्रिपुरासुन्दरी नगरपालिकाको विभिन्न ठाउँमा स्याउ खरिद गर्नका लागि व्यापारी बोटमै पुगेका छन् । गाउँगाउँमा रहेका खेतबारीमा लटरम्म स्याउ फलेका स्याउले ठूलीभेरी, त्रिपुरासुन्दरीका गाउँबस्ती रङ्गिएका हुन् ।

त्रिपुरासुन्दरी नगरपालिका–३ स्थित सुँ, जिउँ, वडा नम्बर ४ को रङ्गमा कृषकले व्यावसायिक रूपमा स्याउ खेती गर्दै आएका छन् । त्यस्तै वडा नम्बर ७ मा पर्ने जुफाल, ८ र ९ मा पर्ने डाँगीबाडा वडा नम्बर ४, ५ र ११ मा पर्ने लोचा, थाला, तिप्ला र रह गाउँमा प्रसस्त स्याउ उत्पादन हुने गरेको छ ।

स्याउ बोटमा राम्रोसँग नपाक्दै ५० प्रतिशत स्याउ बिक्री गरिसकेको कृषि विकास कार्यालय डोल्पाले जनाएको छ । बजारको अभावमा प्रत्येक वर्ष कृषकले उत्पादन गरे जतिको सबै स्याउ बिक्री नहुने भएकाले काँचै स्याउ विचौलिया व्यापारीलाई प्रतिकिलो २० देखि ३० बेच्न बाध्य भएको कार्यालयको भनाइ छ ।

जिल्लामा स्याउको राजधानीको रूपमा परिचित रङ्ग गाउँमा ‘एक घर, एक स्याउ बगैँचा’ छ । प्रत्येक वर्ष एउटै घरमा न्यूनतम दश क्विन्टलसम्म स्याउ फल्ने गरे पनि व्यापारीले सबै खरिद नगर्ने कृषकको गुनासो छ ।

स्याउ बगानमा तीन वर्षयतादेखि नेपालगञ्ज, सुर्खेत, जाजरकोट, रुकुमलगायत जिल्लाबाट स्याउ किन्न व्यापारी घरमै पुग्ने गरेका छन् । नपाक्दै बोटमै विचौलिया आइपुग्ने रङ्गका कृषक तारा बुढाले बताए ।

बजार अभाव, सडकको असुविधा, ढुवानी समस्यालगायत समस्याका कारण नपाक्दै सस्तो मूल्यमा व्यापारीलाई जिम्मा लगाउन बाध्य हुने स्थानीय स्याउ कृषक हरि बुढाले बताए ।

अर्का कृषक रुद्री बुढाले यस वर्ष ११ क्विन्टल स्याउ जम्मा ३५ हजारमा बेचेको दुःखेसो पोखे । ‘मेरो बगैँचामा तीन सय बोट स्याउ छन्, पछि बिक्री हुँदैन कि भन्ने चिन्ताले साउन अन्तिममा नै सस्तो मूल्यमा स्याउ बगैँचा नै जिम्मा लाइसकेँ’, उनले भने, ‘व्यापारीले बोटमै प्रतिकिलो ५० किलोसम्म पाए कृषकलाई केही राहत हुन्छ, तर व्यापारीले बढीमा ३० रुपैयाँभन्दा धेरै हाल्न मान्दैनन्, बेचौँ घाटा छ, नबेचौँ पछि बिक्री गर्न समस्या हुन्छ ।’ विचौलिया व्यापारीले डोल्पाबाट लिएको स्याउबाट पाँच गुणाभन्दा पनि धेरै फाइदा खाने गरेको उनको भनाइ छ ।

अहिले स्याउका बोटमा हाँगा, फेदबाट बोक्रा निस्कने र त्यसपछि स्याउका बोटै सुक्न थालेको कृषकले बताएका छन् । नगरपालिकाले कृषि प्राविधिक पठाएर कृषकको समस्या समाधान गरिदिन आग्रह गरेका छन् ।

त्यसैगरी वडा नम्बर ३ जिउँका कृषक रामबहादुर गुरुङले पनि तीन सय बोट स्याउ रोपेका छन् । उनको बगैँचामा प्रत्येक वर्ष तीस क्विन्टलसम्म स्याउ फल्ने गर्छ, तर उनलाई पनि प्रत्येक वर्ष उत्पादित सबै स्याउ बिक्री नहुने चिन्ताले पिरोल्ने गर्दछ ।

नगरपालिकाले मूल्य निर्धारणमा चासो नराख्दा कृषक मारमा र विचौलिया व्यापारी फाइदामा भएको कृषकको भनाइ छ । उत्पादन भएजतिको सबै स्याउ उचित मूल्यमा बिक्री हुने हो भने स्याउबाट मात्रै डोल्पामा प्रत्येक वर्ष लाखौँ रुपैयाँ भित्रने कृषि विकास कार्यालय डोल्पाले जनाएको छ ।

डोल्पाबाट नेपालगन्ज, सुर्खेतसम्म सीधा गाडी पुग्ने व्यवस्था नहुञ्जेलसम्म स्याउ कृषक सधैँ मारमा पर्ने कार्यालयको भनाइ छ ।

डोल्पामा चार सय १२ हेक्टर जमिनमा स्याउ खेती गरिएको र प्रत्येक वर्ष तीन हजार दुई सय ९६ मेट्रिक टन स्याउ उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय डोल्पाका प्रमुख शरद लामाले बताए ।

त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकालाई काँचो स्याउ बिक्री–वितरणमा रोक लगाउन भने पनि चासो नदिएको उनको भनाइ छ । यस वर्षदेखि त्रिपुरासुन्दरी नगरपालिकाले व्यापारीबाट प्रतिकिलो एक रुपैयाँ ५० पैसा ढुवानी कर लगाउन सुरु गरेको छ । डोल्पामा स्थानीय जातको रेड, गोल्डेन स्याउ उत्पादन हुने गर्दछ ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ९ : ०१ बजे

कालीगण्डकी करिडोर : सेतोखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको

नेपाल वायुसेवा निगमद्वारा असोज मसान्तसम्मको जहाजको ऋण भुक्तानी

काठमाडौं – नेपाल वायुसेवा निगमले २०८२ असोज मसान्तसम्मको जहाजको ऋण

दक्षिण कोरियामा हुने शिखर वार्तामा चिनियाँ समकक्षी सीसँग भेट्ने ट्रम्पको भनाइ

वासिङ्टन – दक्षिण कोरियामा हुने एपेक शिखर सम्मेलनका क्रममा चीनका

पोखरा विश्वविद्यालयबाट पहिलोपटक एआइ विषयमा स्तानक कार्यक्रम सञ्चालन

काठमाडौं – पोखरा विश्वविद्यालयले पहिलोपटक आङ्गिक क्याम्पसबाट कृत्रिम बौद्धिकता र

जनकपुरमा गोली चल्यो

धनुषा – जनकुपरमा गोली चलेको छ । जनकपुर उपमहानगरपालिका–७ स्थित