एकता र सद्भावको पक्षमा उभिन प्रधानमन्त्रीको अपिल « Khabarhub

एकता र सद्भावको पक्षमा उभिन प्रधानमन्त्रीको अपिल


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सद्भाव र एकता कायम राख्न अपिल गरेका छन् । केही दिनयता धरानमा भइरहेका गतिविधिबारे चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले धार्मिक तथा समुदायगत एकता, सहकार्य र सामाजिक सद्भावको वातावरण बनाइराख्न आग्रह गरेका हुन् ।

यस्ता गतिविधिले सामाजिक एकतामा पार्न सक्ने नकारात्मक प्रभावबारे सरकार गम्भीर रहेको जनाउँदै प्रधानमन्त्री दाहालले संवाद र सहाकार्यका माध्यामबाट समस्या समाधानका लागि पनि अपिल गरेका छन् ।

“एकले अर्काको विचार, आस्था र भावनाको सम्मान गरेरमात्र सही अर्थमा राष्ट्रिय एकता हासिल गर्न सकिन्छ । त्यसका लागि संवाद र सहकार्यका माध्यमबाट समस्याको समाधान गर्न र सम्भावित समस्याबाट समाज र नागरिकलाई सुरक्षित राख्न नेपाल सरकारले आवश्यक सतर्कता अपनाइरहेको व्यहोरासमेत म स्पष्ट गर्दछु”, प्रधानमन्त्रीले भनेका छन्, “धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई संवादको माध्यमबाट समाधान गर्न सकिनेतर्फ ध्यानाकर्षण गराउँदै त्यस दिशामा आवश्यक पहलका निम्ति स्थानीय राजनीतिक दल, सामाजिक सङ्घसंस्था, बौद्धिक समुदाय र आदरणीय जनसमुदायमा हार्दिक अपिल गर्दछु ।”

विमतिलाई संवादको माध्यमबाट समाधानमा पुर्याउन राजनीतिक शक्ति, विभिन्न सामाजिक संस्था, धार्मिक समुदाय र त्यसका अगुवा एवं नागरिक समाजको भूमिका महत्त्वपूर्ण रहनेमा प्रधानमन्त्री दाहालले जोड दिएका छन् । धार्मिक तथा समुदायगत एकता, सहकार्य र सामाजिक सद्भावका माध्यमबाट नै राष्ट्र निर्माणको ऐतिहासिक कार्यभार पूरा गर्न सकिनेबारे पनि उनले नागरिकलाई स्मरण गराए । सामाजिक एकतामा खलल पुग्ने कार्यबाट टाढा रही एकता र सद्भावको पक्षमा उभिन र समस्या समाधानका निम्ति आ–आफ्नो ठाउँबाट हरसम्भव पहल गर्नका लागि धरानवासीलाई पनि प्रधानमन्त्रीले आग्रह गरेका छन् ।

“नेपालको संविधानले प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं सांस्कृतिक परम्पराको मर्यादा राखी परापूर्वदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हक सुनिश्चित गरेको छ । कसैले कसैको धर्म र भावनाप्रति नकरात्मकता, द्वैष बढाउने तथा एक–अर्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न कानुनतः निषेध गरिएको छ”, प्रधानमन्त्रीले जारी गरेको अपिलमा भनिएको छ ।

उनले जुनसुकै जाति, भाषा, धर्म र सम्प्रदायका मानिस भए पनि सामाजिक सम्बन्ध र सहकार्यबिना हाम्रो व्यक्तिगत जीवन र सामाजिक प्रणालीले पूर्णता प्राप्त गर्न नसक्ने बताए । उन्ले हामीबीचको एकता, सद्भाव र सहकार्य भावनात्मक सम्बन्धका साथै सामाजिक प्रगति र विकासका निम्ति अपरिहार्यसमेत रहेको बताए ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  १० : ०२ बजे

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक

ग्लोबल साउथको आर्थिक पहुँचमा केन्द्रित ब्रिक्स सम्मेलन सम्पन्न, तनावबीच सहकार्यको खोजी

काठमाडौं– नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन सम्पन्न भएको छ ।

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५