अब शिक्षकले विद्यार्थीलाई सिर्जनशील बनाउनुपर्छ | Khabarhub Khabarhub

अब शिक्षकले विद्यार्थीलाई सिर्जनशील बनाउनुपर्छ

‘विद्यार्थीले शिक्षकलाई होइन अब गुगललाई नमस्कार गर्ने भए’



संविधान सभाबाट संविधान जारी भएको आठ वर्षपछि जसोतसो संघीय शिक्षा ऐन आउने प्रक्रियामा रहेको छ। यो प्रतिनिधि सभामा दर्ता भएको छ। तर विवाद नै छ। कतै शिक्षकको आन्दोलन, कतै विद्यालय व्यवस्थापनको आन्दोलन, कतै राजनीतिक पार्टीको असन्तुष्टि देखिन्छ। घोक्ने घोकाउने प्रमाण पत्र थमाउने र युवालाई विदेश पठाउने शैक्षिक प्रणाली सुधारका लागि परिकल्पना सबैले गरेका थिए। तर शिक्षा ऐन आउँदा नआउँदै विवादमा पर्यो। समग्रमा हाम्रो यतिबेलाको शिक्षा क्षेत्रको चुनौती के थियो ? ऐन कानुन परिवर्तन गर्नुपर्ने हो कि व्यवहार र हाम्रो चरित्र परिवर्तन गर्नपर्ने हो ? यस्तै विषयमा आधारित रहेर शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालासँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

संविधानले परिकल्पना गरे अनुसारको नयाँ सङ्घीय शिक्षा ऐन आयो। अब केही होला भनिएको थियो। तर त्यो संविधानले जोगाएको भरोसा अहिले यो शिक्षा ऐन आउँदा अरु विवाद देखिएको छ। सबैको असन्तुष्टि छ। नयाँ कानुन आउँदै गर्दा तपाईंहरूसँग परामर्श भएर आएको हो ?
सडकबाट हामीले परामर्श दिने कामहरू जारी थियो। तर हामीसँग व्यक्तिगत रूपमा सल्लाह छैन। अर्को यो घोक्ने घोकाउने भन्ने बारेमा म के बुझ्छु भने घोक्ने भनेको हाम्रो पुर्खाको सम्पत्ति हो। हामीले के घोक्यौ भनेर चाहिँ सोच्नुपर्छ।

अर्को हाम्रा विद्यार्थी प्रमाणपत्र लिएर मात्र विदेश पुगेका छन्। उनीहरूलाई सीप हामीले दिएका छैनौं। हामीले सीपको प्रमाणपत्र पनि दिनुपर्छ। तिमी यो यो गर्न सक्छौँ भनेर प्रमाण पत्र दिनुपर्छ। देशमा बस्दा सम्भावना रहेको कुरासमेत जानकारी दिनुपर्छ।

अहिलेसम्म हाम्रो नेतृत्व वा राजनीतिक दलहरूले गरेको बदमासी केही छैन भन्ने किसिमको भयो। त्यसको सट्टा हामीसँग जे छ त्यसलाई सुन्दर बनाउन सक्छौँ। हामीसँग प्रकृति छ, अलिकति सुन्दर बनाउने हो भने त्यो प्रयोग हुन्छ। हामीसँग फूल छ त्यसैमा अलिकति बास्ना थप्ने काम गरिदिएपछि सुगन्धित हुन्छ। यहाँ यो किसिमको सम्भावना छ भन्ने किसिमको कुरा गर्नुपर्यो। अब त्यसरी शिक्षा ऐनमा लेखिने विषयवस्तु होइन। यो भनेको शिक्षकले आफ्नो सोच बदल्ने हो। त्यो बदल्नलाई हामीले सकेका छैनौँ ।अहिले शिक्षा ऐनले झन् अन्योल बनाइदियो। शिक्षकहरू आन्दोलित भए।

पछिल्लो पुस्तामा आइरहेको शिक्षा प्रणाली र पद्धतिमा सुधार गर्नु जरुरी छैन र ?
वास्तवमा चिन्तनहरू कसरी फेरिन्छन् भने हिजो सम्भावनात्मक चिन्तन थियो। त्यो भनेको घोक्ने नै हो विश्वभरको चलन चल्ती नै त्यही हो। सम्भावनात्मक चिन्तन फेरिँदै गएर अहिले सिर्जनात्मक चिन्तन जसलाई निर्माणात्मक चिन्तन भनिन्छ। यो भनेको समाजसँग सिक्दै जाने हो। यो पश्चिमाले भनेको हुनाले गलत भनेको हो भन्ने लागेको हो तर होइन। हाम्रा मान्छेहरू गरेर जानेका मान्छेहरू हुन्। हाम्रा मान्छेले बनाएको नाङ्लो त्यसमा गणित नै गणित छ भन्ने कुरा हामीले नबुझेको हो। गणित त उसले बनाएका हुन्। गणितका अनेक सूत्र छन्।

हाम्रा मान्छेले बनाएको घर हामीले देखेका छौँ। त्यहाँ विज्ञानका अनेक सिद्धान्त लागू भएका छन्। शिक्षकले अर्कालाई गाली गर्नु भनेको आफ्नो कमजोरी अरूलाई लगाउनु हो। त्यसैले म कसरी देख्छु भने हामी व्यवहारतः ज्ञानी मान्छे हौँ। हामीले पढेको कुराकानीले हाम्रो व्यवहारमा भएको ज्ञानसँग जोड्न सकेनौँ। त्यो हाम्रो शिक्षक साथीहरूको कमजोरी हो। हामी शिक्षकलाई जसले तालिम, ज्ञान दिन्छौँ भनेर भन्ने गर्छौँ। त्यो हाम्रो कमजोरी हो। हामीले आफ्नो कमजोरी लुकाएर अरूलाई भनिराख्ने किसिमको अवस्था हो जस्तो मलाई लाग्दैन।

प्रस्तावित संघीय शिक्षा ऐनको सन्दर्भलाई लिएर शिक्षण पेसाको आकर्षण र सम्मानमाथि ठेस पुग्यो भनेर शिक्षक महासंघ आन्दोलनमा छ। शिक्षकलाई तिमीहरु राजनीति नगरी पढाइराख र पूर्णकालीन शिक्षक बन भन्दा कसरी ठेस पुग्यो ?
केही कुराले शिक्षकहरू आन्दोलनमा हुनु स्वाभाविक छ। एउटा राजनीतिक दलको भातृसंगठन भएर उहाँहरूले आफ्नो वर्चस्व कायम देखाउनुभएको हो। यतिबेलासम्म त्यसलाई नाइँ भन्नु पर्ने परिस्थिति छैन। राजनीतिक दलले म भ्रातृ सङ्गठन खोल्न सक्दिनँ है भनेर भन्न सकेनन्। त्यो उहाँहरूको लाचारीपन हो। त्यो राजनीतिज्ञको लाचारीपनले शिक्षकलाई मात्र हिर्काउने गर्दा उहाँहरूले हामी तिम्रो निम्ति सहायता पनि दिने, भोट पनि माग्ने तर तिमीले हामीलाई अन्याय गर्ने भन्ने बुझेर आन्दोलित हुनुभएको हो। त्यो ठिक हो, त्यो जायज छ।

दोस्रो, राजनीति गर्ने हो कि बल नीति गर्ने हो ? हाम्रो निम्ति यो अर्को प्रश्न हो। हाम्रो अहिलेसम्मको अभ्यास दल नीति हो, राजनीति हो। राजनीतिको अर्थ समग्र परिवर्तनको लागि काम गर्ने हुन्छ। यदि दल नीति नै हो भने हामीसँग अर्को सम्भावना छ। त्यो सम्भावना भनेको त्यो दलले भनेको नेपाली कांग्रेस भनेको समाजवादी शिक्षा, एमालेले भनेको जनमुखी शिक्षा, माओवादीले भनेको जनवादी शिक्षा, राप्रपावाले भनेको राष्ट्रवादी शिक्षा हुन्।

यी सबै शिक्षाको मुल मर्म भनेको पढ्दा अब्बल होस् र गरेर खान सकोस् भन्ने हो। यति साझा कुराकानीमा आफ्नो दलले भनेको कुरालाई कार्यान्वयन गर्छु भन्ने हिम्मत भएको भए दलीय हुँदा पनि अप्ठ्यारो थिएन। त्यसकारणले उहाँहरू अलिकति अप्ठ्यारोमा फस्नुभएको हो।

शिक्षकले सम्मानको कुरा गर्नु भएको छ। सम्मान भनेको आफूले आर्जन गर्ने विषय हो। कसैले दिएर दिइने विषयवस्तु होइन। त्यसको कारण विद्यार्थीको क्षमता बढेर गयो त्यो विशेष गरेर आधुनिक प्रविधिले गर्दा यो कृत्रिम बौद्धिकताले गर्दा अब शिक्षकको क्षमता त्यो ढङ्गबाट गएन। त्यसकारण विद्यार्थीले त गुगललाई नमस्कार गर्ने भए शिक्षकलाई होइन।

सुविधाको कुरामा म सहमत छु। सुविधा शिक्षकले खोजेको कुरा के हो भने उहाँहरूले अरूले जस्तो ल्यापटप लिन पाइयोस्, मोटरबाइक किन्न पाइयोस्, घर जमिन किन्न पाइयोस् भन्ने अनेक रहर हुन्छन्। शिक्षकसँग भएको रहर पुरा गर्नको निम्ति हामीसँग सजिलो उपाय थियो। त्यो भनेको तपाईँकै पैसाबाट कट्टी गरेर खोजेको कुरा पाँच वर्षमा वा १० वर्ष कतिमा भन्नुहुन्छ किस्ताबन्दीको शर्तमा भनेर पालिकाले जिम्मा लियो भने सम्भव छ। त्यो सम्भावनालाई हाम्रो नेतृत्वले कहिल्यै पनि बुझेन।

पालिकासँग बस्ने कि नबस्नेमा पनि पालिकामा आफ्नो दलको गुटको मान्छे भयो भने उहाँहरू खुसी, अर्को दलको मान्छे भयो भने उहाँहरूको विमति प्रश्न यही उठ्छ।

मलाई यसले जागिरबाट खुस्काउने हो कि भन्ने डर त्रास वा यिनीहरूले मलाई मूल्याङ्कन गर्दा अन्याय गर्छन् कि भन्ने डर स्वाभाविक हो। तर शिक्षकले नै उहाँहरूलाई बनाउनु भएको हो। शिक्षक भोट दिन पनि दौडिनुभयो र भोट दिलाउन पनि दौडिनुभयो।

त्यस कारणले अब संघीयतामा पालिकाको मर्म अनुसार शिक्षक बस्ने कि नबस्ने ? विकेन्द्रीकरणको चिन्तन अन्तर्गत पालिकामा शिक्षक बस्ने कि नबस्ने ? अथवा विकेन्द्रिकरणको सबैभन्दा तल्लो इकाई के हुने भन्ने प्रश्न उठ्छ। यो सबै कुराको राष्ट्रिय स्तरमा संविधानविद्, राजनीतिज्ञहरू बसेर टुङ्गो लगाउनुपर्ने हो। पहिला टुङ्गो गर्दा स्थानीय सरकार, सरकार हो है तीन तहको सरकार एक अर्कोसँग समन्वय गर्ने सरकार, एक अर्कोको अन्तर्गतको होइन है भन्ने किसिमको कुरो गरे त भयो नि। त्यसो हो भने स्थानीय तहमा उहाँहरू बस्नुपर्छ बस्न सकिएन भनेर भन्दा एकाइ कुन हो भन्दा संविधान संशोधन गर्नुपर्छ भन्ने हो।

शिक्षकले राखेको माग पनि यो आवश्यकता अनुसार संविधान संशोधन गरेर मिलाउने भनेको छ। त्यो कुरामा हामी अझै पनि अगाडि बढेनौँ र संविधान संशोधन गरेर के गर्ने भन्ने कुरा पनि गरेनौँ।

शिक्षकलाई सम्झौता गर न त त्यसो भए पालिकासँग सम्झौता गर्ने कला चाहिँ यो हो भनेर पनि सिकाएनौँ। त्यसकारण आन्दोलित हुनुको पछाडि थोरै राजनीतिक कारण पनि छ।

अब यसले शिक्षकहरू स्थानीय तहमा नबस्नु। जिल्ला शिक्षा कार्यालय ब्युँत्याउनु भन्ने कर्मचारी तन्त्रमा बस्ने अथवा केन्द्रिकरणमा बस्ने भए सङ्घीयता किन चाहिएको हो ? केन्द्रिकरण किन चाहिएको हो भनेर कसैले प्रश्न गर्यो भने शिक्षकले के जवाफ दिने ? त्यहाँ केही नैतिक आचरणका कुराहरू राखिएको छ। त्यो ऐनमा राख्नुपर्ने विषयवस्तु हो कि नीति नियममा विधि विधानमा राख्नुपर्ने हो ? ऐनमा के के राख्ने, नियमावली र कार्यविधिमा के के राख्ने भन्ने कुरा समेट्ने बित्तिकै शिक्षकको आन्दोलन समाप्त हुन्छ जस्तो लाग्छ।

अनिवार्य तथा निःशुल्क शिक्षा जारी भएको पाँच वर्ष भयो। तर कार्यान्वयनमा आएको छैन। अहिलेदेखि नै सङ्घीय शिक्षा ऐनमा यति ठुलो तरङ्ग किन ?
वास्तवमा हामी के गर्छौ भने ऐन बनाइसकेपछि नियमावली र कार्यविधि चाहिने रहेछ। एकै साथ बनाउँदा हुने हो तर हामी त्यो गर्दैनौँ।

२०७५ सालमा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन लागू भयो। तर दुई वर्ष लाग्यो नियमावली बनाउन। अहिले पनि कार्यान्वयन नहुने कारण भनेको कार्यविधि नै रहेनछ।

कुनै पालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा लागु गरे भने कसले सजाय पाउने ? कोही पनि दोषी हुँदैन। अहिले पनि शिक्षा ऐनमा निःशुल्क शिक्षा हुने, निजी विद्यालयले शुल्क लिने सरकारीले नलिने भन्यो। जोसँग जति पैसा छ तिर्नसक्ने पालिकाले तिर र नसक्ने पालिकाले एउटा फण्ड राखिएको छ त्यहाँ दरखास्त हालेर लेऊ भन्न सकिन्थ्यो। यो किसिमको चिन्तन पनि भएन। यो विषय कार्यान्वयन गर्ने कुरा अप्ठ्यारोमा परेको छ। त्यसकारण कार्यान्वयन हुन नसक्ने अवस्था आएको हो।

अहिले के बहस आवश्यक थियो ?
ऐनमा एउटा शब्द परेको छ त्यो भनेको शिक्षक पेसाकर्मी भन्नु पर्ने भन्ने भएको छ। पेसाकर्मी शिक्षकको भूमिका उ बिहानदेखि बेलुकासम्म आफ्नै पेसामा चिन्तन गरिरहन्छ। त्यसैमा काम र खोज अनुसन्धान गरिरहन्छ। कानुनले आशा गरेको पनि त्यही हो तर अभ्यस्तता दलसँग रहेर पेसासँग भयो। पेसासँग शिक्षकलाई क्रियाशील बनाउने संस्कार हामीले बनाउन सकेनौँ।

जस्तो स्कुल स्कुलका शिक्षकलाई बिहानै उठेर नयाँ कुराको जानकारी पाउनलाई उहाँको मोबाइलमा जानकारी दिइरहने किसिमको तरिका किन नगरेको होला ? त्यत्ति भएपछि शिक्षकले नयाँ कुरा थाहा पाए भने १० वर्ष अगाडिको विद्यार्थी र अहिलेको विद्यार्थीले के के सिके भनेर सोध्यो भनेर थाहा भइहाल्छ। केही नयाँ विधिको प्रयोग पो गरिएको छ कि पहिलाका विद्यार्थी र अहिलेको विद्यार्थीलाई कसरी पठाएको छ त भनेर हेर्नुपर्यो।

अहिलेको विषयवस्तु भोलिको २१ औँ शताब्दीको लागि चिन्तन गर्नुपर्ने हो। त्यो विद्यार्थी भनेको सिर्जनशील हुन्छ। विद्यार्थीले गरी खाने सीप चाहिन्छ। त्यो सीप दिने भूमिका कसको हो ? हरेक विद्यार्थी विश्लेषणात्मक क्षमता भएको समालोचकीय दृष्टिकोणबाट हेर्ने हुन्छ। अहिलेको भजने केटाकेटी वा शिक्षक वा राजनीतिक दललाई सिर्जनशील वा समालोचनात्मक ढङ्गबाट चिन्तन गर्ने कसरी बनाउने हो ? त्यस्तै भेलिको मान्छे अन्तर्राष्ट्रिय जगतको हो, राष्ट्रिय पनि हो त्यसकारण उसलाई सबै ठाउँमा जान सक्ने कसरी बनाउने हो? त्यसले गरी खाने सीप कसरी पाउने हो ? प्रविधिमार्फत पाउने हो कि यस्ता किसिमका कुराहरूमा संवाद हुनुपथ्र्यो। संवादपछि यसमा शिक्षकका राजनीतिक दलहरूको निजी विद्यालयको भूमिका के हो भनेर चिन्तन गर्न पाएको भए यसले बडो राम्रो बाटो दिन्थ्यो।

तर यो ऐनले पनि संविधानको धारा ३१.५ मा ५१ को च मा यसो गर्न सकिन्छ भनेको छ केही धाराहरू छुटेका पनि छन्। जस्तो धारा २४ र ४० दलितको हक अधिकारको कुराकानी वा धार्मिक विद्यालयको बारेका कुराहरू छुटेका छन्। त्यो जोड्न सक्ने अवस्था पनि छ। हर विद्यार्थीको अनिवार्य बचत गर्ने र त्यहाँ तिमीले पनि कमाउ र तिम्रो बाबुआमाले पनि कमसेकम दिनको एक रुपैयाँ हाल्देउ भन्ने किसिमको बचतको कुरा पनि छुटेको छ।

शिक्षकको वृत्तिविकासको लागि राज्यले के लगानी गरिराखेको छ ?
अन्तर्राष्ट्रिय जगतमा शिक्षकलाई तलब बढाउने बित्तिकै राम्रो पढाउँछन् भन्ने होइन रहेछ। हाम्रो सन्दर्भमा १० वर्षपछि अहिले शिक्षकको तलब बढेको छ। बढ्दा पनि उपलब्धि छैन भन्ने सरकारको तथ्याङ्कले प्रमाणित गर्छ। शिक्षकले न्यनतम् सेवा सुविधा पाउनुपर्ने रहेछ। पाएपछि उसले विशेष काम गर्यो भने विशेष रकम भन्ने हुँदो रहेछ। व्यवस्थापनको भाषामा बोनस। त्यो सुविधा खोज्दो रहेछ। आफूले कमाइसकेपछि जिन्दगी भरीलाई सजिलो हुने उपाय के भन्दा हुन सक्छ सेयर बजारमा उसको स्वतः लगानी हुने वा विद्युत् गृहमा स्वतः सेयर होल्डर हुन पाउने वा सिमेन्ट फ्याक्ट्रीमा स्वतः सेयर होल्डर हुन पाउने यस्ता अनेक उपायहरू छन्। यो उपाय जापानले गरिरहेको थियो। हामी पनि गर्न सक्छौँ यसो गरेको भए पैसा मात्र होइन रहेछ। सुविधा ठुलो कुरा रहेछ भन्ने हुन्थ्यो।

अर्को, सबै शिक्षकलाई एउटै डालोमा हाल्नुपर्ने विडम्बना छ किनभने कोही शिक्षक सारै राम्रो हुनुहुन्छ। यस्तो महान् मान्छेलाई हामीले कसरी सम्मान गर्ने भनेर सोच्नुपर्ने हुन्छ। त्यो सम्मान गर्न योग्य शिक्षक को हो ? त्यो पनि हामीलाई थाहा छैन। को साँच्चै बदमास नै छ जो पढाउन गएको हो जसलाई पढाउन तलब दिएर पठाएको छ। दिनभरी उसले सिक्ने सिकाउनुपर्ने कुरा त त्यही विद्यार्थीको बारेमा समाजको बारेमा पाठ्यक्रमको बारेमा विद्यार्थीको भविष्यको बारेमा चिन्तन गर्नुपर्नेमा दलका कुराकानी गरेर समय खर्च गर्छ। काम एउटाको र दाम अर्कोको यो स्थितिमा हामी फसेका छौँ। छुटाउन नै सकेको छैनौँ। सकेको भए सम्मान योग्य र सम्मानहिन मान्छे को भनेर थाहा हुन्थ्यो।

प्रत्येक पालिकामा शिक्षकलाई अद्यावधिक गर्ने डिजाइन हुनुपर्यो। शिक्षकहरू आफैले पनि गरिरहनु भएको छ। त्यस्तोलाई सम्मान गर्नुपर्छ। त्यसो गरेको भए शिक्षक सम्मानित हुन्थ्यो। नयाँ कुरा थाहा पाउँथ्यो। दिनभर काम के गर्ने भनेर थाहा पनि पाउँथ्यो। राजनीतिक दलहरूले गरेको अपराध कर्म आफै आफ्ना दलमा यति जना तपाईं शिक्षक संघबाट हाम्रो महासमितिमा जाने, यति जना हाम्रो राजनीतिमा जाने, यति जना यसो गर्ने भनेर लेख्ने आफै हुन्छन्। यो गलत अभ्यास हो। यो शिक्षकको बदमासी हो। त्यसमा त राजनीतिक दलहरू बसेर छलफल गरे हुन्छ। शिक्षकलाई राम्रो काम गरेमा वा राम्रो शिक्षक भएकोमा तपाईं पनि मेरो दलको सम्माननीय मान्छे हो भनेर भन्दा के बिग्रिएको थियो र ? दलको कुरा गर्ने हो भने शिक्षकलाई समालोचकीय ढङ्गबाट संवाद गर्ने किसिमको कुराकानी गरे के हुँदो हो ? जस्तो माक्र्सवाद, गान्धीवाद, लेलिनवाद, माओवाद, बिपीवाद, पुष्पलालवाद वा मदन भण्डारीवाद बोकेर बसेका मान्छेहरूलाई ती वाद त्यो बेलामा बनेको मुद्दाको चिन्तन हेर्नुहोस् न परिवर्तित समाज छ। परिवर्तनसँगै बुझ्नु पर्छ भन्नुपर्यो।

विद्यार्थीको सिकाइ उत्सुकतासँग हाम्रो पढाइलाई जोड्न किन सकेको छैनौँ ?
यसमा दुई उदाहरण रुकुम पश्चिमको लिउ ल त्यहाँ मैले शिक्षा साथीलाई सोधे यो बत्ती मुनि अँध्यारो हुन्छ कि उज्यालो हुन्छ भनेर उहाँहरूले अँध्यारो हुन्छ भन्नुभयो। विद्यार्थीहरूलाई सोध्दा उनीहरूले उज्यालो हुन्छ भने। टुकी बाल्ने शिक्षक र बिजुली बाल्ने विद्यार्थी हो। यो दुवै परिवेशका ठिक हुन्। यसले सङ्केत गर्ने कुरा भनेको हाम्रो शिक्षक अद्यावधिक भएनन्। अद्यावधिक बनाउन जरुरी छ।

अर्को, विद्यार्थीले सोधेको प्रश्नले मलाई छटपटी बनाएको छ। त्यो भनेको सबैले पढ भनेर कराएको छ। तर मैले थाहा नपाएको कुरा कसरी पढ्ने हो भन्नुभयो। भनेपछि पढ्ने पनि कला रहेछ। भैँसी किन्ने मान्छेले पढ्ने कला जानेको रहेछ नि किनकि उसले सिङ पढ्ने हो कि जिब्रो पढ्ने हो कि छाला पढ्ने हो कि फाँचो पढ्ने हो भनेर उसले जान्दछ। यति राम्रोसँग हाम्रो रगत रगतमा ज्ञान छ। त्यो ज्ञानलाई हाम्रो शिक्षकलाई जोड दिने बित्तिकै उसले पढ्न जान्दछ।

पढ्नेसँगै गर्ने कुराकानी अर्को पाटो हुँदो रहेछ। त्यो गर्ने भनेको चुनौती रहेछ। अहिलेको युवा चुनौती लिन चाहने रहेछ। अहिले हेर्दा राजस्व जम्मा गर्न ६७ करोड रुपैयाँ कसरी विद्यार्थी युवाले जम्मा गरे भन्दा त्यो कम्प्युटरको एप बनाएर विदेशमा बेचेर भने हामी कहाँ कृषि, जलस्रोत, पर्यटनका कुरा गरिरहेका छौँ। विद्यार्थी कहाँ पुगिसके छ त ?
यसो भएपछि जब सम्भावना उसले घरैमा देख्छ भने किन विदेश जान्छ। जस्तो कालिकोटमा ढुङ्गैढुङ्गाको ठाउँ छ त्यहाँ केही ढुङ्गालाई काटेर साना साना चिजबिज बनाएर बेचेर पैसा कमाएका छन्। हामीलाई त प्रकृतिले नै धेरै अवसर दिएको छ त्यो सम्भावना देखाउने चिन्तन र राजनीतिक नेतृत्व नै भएन।

जनकपुरका ५० या ५२ वटा पोखरीहरूलाई सञ्चालित गरेर त्यहाँ कहीँ फूल फुल्ने, कतै ढुङ्गा चलाउने बस्न मिल्ने बनाएको भए कति जनाले रोजगारी पाउँछन्। हाम्रो नेतृत्वलाई थोत्रो कुराकानी बोक्न सजिलो भयो। मन्दिरमा पैसा खर्च गर्ने हो भन्छन् मन्दिर भनेको धरोहर हो। हाम्रा पुर्खाले दिएको ज्ञानको गहिराइ बोकेको नै छैनन्। सम्भावना छ केटाकेटीहरूले बाटो देखाउँछन् यो बाटोमा नयाँ नेतृत्वलाई हिँडाउने प्रयास गर्नुपर्छ।

अहिलेको शिक्षा ऐनले निराशा मात्र ल्याएको हो ?
अहिलेको सकारात्मक काम भनेको पहिलेको मस्यौदा ऐन बजारमा आयो। त्यसको तुलनामा अहिलेको ऐनले धेरै अगाडिको काम ल्याएको छ। अहिले एकदमै छटपटिएको मान्छे समाजमा भनेको शिक्षक हो। अब शिक्षकको समस्या कसरी समाधान गर्ने भनेर अघि बढ्ने एउटा पाटो बन्छ। शिक्षकलाई अब २१ औँ शताब्दीको विद्यार्थीलाई हिजो जसरी पढाइएको छ त्यो ढङ्गले मैले २० वर्ष पढाए भनेर भन्नु हुँदैन। अब विस्तारै टाउकोमा चिप्स हालेर अगाडि जाने बेला आइसक्यो अब कसरी पढाउनु हुन्छ भनेर भन्यो भने उहाँहरूले आफै सोच्नुहुन्छ। यसो गर्यो भने नयाँ बाटो बन्छ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  १ : २१ बजे

तेञ्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता हुँदै

काठमाडौं – तेञ्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिताको दोस्रो संस्करण

शुक्रबारदेखि पुसे झरीको सम्भावना, जाडो बढ्ने

काठमाडौं – पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः

पार्टीले ६ महिनाको छुट्टी दियो : विन्दा पाण्डे

काठमाडौं – नेकपा एमालेबाट ६ महिना निलम्बनमा परेकी नेतृ डा.

महाधिवेशनको मुखमा नेविसंघमा भाँडभैलो, इतरले थाल्यो समानान्तर अभ्यास

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा ‘भाँडभैलो’ मच्चिएको

मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना

भक्तपुर – मध्यपुरथिमिको पाटी बिहारमा आज बुद्धको अस्थिधातु स्थापना गरिएको