अन्तर्वार्ता

दसैँमा मधुमेहका बिरामीले के खाने, के नखाने ?

By खबरहब

October 26, 2023

पछिल्लो समय मधुमेहका बिरामीहरू बढ्दै गएका छन्। मधुमेहले शरीरका हरेक कोशिकालाई नकारात्मक प्रभाव पार्ने गर्छ। मधुमेहको मुख्य कारण जीवनशैलीमा व्यायामको कमी, धेरै गुलियो, चिल्लो भोजन रहेको चिकित्सक बताउँछन्। योग र खानपानमा सुधार गरे प्रारम्भिक मधुमेह धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ। नेपालीमा चिनी रोग भनिने मधुमेह पछिल्लो समय बालबालिकामा पनि धेरै पाइएको छ। वंशाणुगत कारणले पनि मधुमेह हुन्छ। यस्तो मधुमेहमा जीवनभर इन्सुलिन लगाइरहनुपर्छ। यसैगरी अर्को प्रकारको मधुमेह ३५ वर्षको उमेर वा त्योभन्दा अघिदेखि हुनसक्छ। मधुमेह के कारणले बढिरहेको छ ? यसका लक्षण के हुन् ? कस्तो अवस्थामा जीवनभर नै औषधि खानुपर्छ ? मधुमेह हुन नदिनको लागि के–के कुरामा ध्यान दिने ? यिनै विषयमा आधारित रहेर खबरहबका लागि हर्मोन रोग विशेषज्ञ डा. दीपक मल्लसँग गरिएको कुराकानीको सम्पादित अंश :

मधुमेह भनेको के हो ? पिसाबबाट चिनीको मात्रा बग्दै जानु नै मधुमेह हो। त्यसैले यसलाई सुगर रोग पनि भनिन्छ। टाइप १ र टाइप २ गरेर यो दुई प्रकारको हुन्छ,। टाइप १ भनेको शरीरमा इन्सुलिनको मात्र छैन भने सुगर बढ्दै जान्छ। टाइप १ डाइबिटिज भएको थाहा नपाउनेहरू निमोनिया भएर बेहोस अवस्थामा अस्पताल आइसकेपछि मात्र थाहा पाइन्छ। यसमा बिरामीलाई इन्सुलिन चाहिन्छ। इन्सुलिन पाएको खण्डमा टाइप १ डाइबिटिज धेरै खतरा हुँदैन। टाइप २ भनेको इन्सुलिन पनि छ तर इन्सुलिनले राम्रोसँग काम गर्न पाएन भने हुन्छ। अर्को गर्भावस्थामा देखिने मधुमेह हुन्छ। यो पहिला थिएन तर गर्भ अवस्थामा देखिन्छ। गर्भअवस्थामा हाम्रो नेपालमा शारीरिक व्यायाम धेरै कम छ। विदेशतिर व्यायामहरू सुइमिङहरु गराउँछन्। तर नेपालमा सुत्केरी स्याहार गर्दा विभिन्न खाना खुवाइन्छ त्यसले सुगर लेबल बढ्न सक्छ।

पहिला उमेर बढ्दै जाँदा वा ४५ वर्ष कटेपछि देखिने समस्या भनेर बुझिन्थ्यो। तर अहिले युवामा पनि धेरै देखिएको छ, यो के कारणले हो ? पहिला वृद्धहरू हाम्रो ओपिडीमा आउँथेँ। तर अहिले २० देखि २२ वर्षका पनि धेरै आउँछन्। अहिले विशेष गरेर विदेशबाट आउनेमा यो समस्या देखिएको छ। विदेशमा मानिसहरूको जीवनशैली नेपालीको जस्तो छैन। बाहिरको खानेकुरा धेरै खाने, मोबाइल, ग्याजेटमा धेरै समय बिताउने, तनाव लिने, मन शान्त नहुने मानिसमा यो रोग देखिन्छ। एक त परिवारबाट टाढा बस्नुपर्ने त्यसमा पनि काम, अध्ययन, परिवारको अपेक्षा पूरा गर्ने, लगानी गरेर गएको पैसाको चुक्ता गर्ने, आफ्ना सपना पूरा गर्नुपर्ने लगायतका कुरालाई व्यवस्थापन गर्न नसक्दा मानसिक रूपमा बढी तनाव भएकाले मधुमेह भएको पाइएको छ।

जीवनशैलीले गर्दा मधुमेहको कारण पनि परिवर्तन भएको हो ? हो, इन्सुलिन नभएको र भएर पनि काम नगरेको व्यक्तिलाई नै मधुमेह भएको पाइएको छ। यस्तै शरीर जति मोटो भयो त्यसले पनि यो हुन्छ। जीवनशैली परिवर्तन भएको छ। सवारी साधन हुनेहरु काहीँ हिँड्दैनौँ। बाहिरका खानाहरू धेरै खान्छौं। अहिले अफिसमा काम गर्नेहरू धेरै ठूलो समस्यामा छन्।

यसका लक्षण के-के हुन् ? मधुमेहमा लक्षण नदेखिए पनि एक पटकमा आँखा, मिर्गौलामा समस्या आउन पनि सक्छ। तर मधुमेहमा लक्षण सुरुमै पत्ता लगाउनुपर्छ। पहिलाभन्दा दुब्लाउँदै गएमा, छालामा घाउ देखिने, शारीरिक क्रियाकलापमा इच्छा कम हुन थाल्ने, मुख सुक्दै जाने, तिर्खा धेरै लाग्ने, भोक धेरै लाग्ने, जति खाए पनि मान्छे दुब्लाउँदै जाने, लगायतका सुरुवाती लक्षण हुन्। यस्तै, दिशा र पिसाब गर्ने स्थानमा चिलाउने, पिसाब धेरै गन्ध हुने। पिसाब छिनछिनमा आउने अथवा पिसाबमा फिँज आउने, आँखा धमिलो हुँदै जाने लगायतका लक्षणहरू देखिन सक्छन्।

आफूलाई मधुमेह सुरु हुँदैछ भनेर घरैमा थाहा पाउन सकिँदैन ? यसमा सबैभन्दा पहिला बिरामीले जहिले पनि आफूलाई के भयो भनेर जान्नु पर्दछ। मैले हेरेको बिरामी १० वर्षपछि आउँदा पनि आँखा, मिर्गौला, खुट्टा, नसा र मुटु राम्रो हुनुपर्छ। प्रि डाइबेटिजमा परीक्षण आवश्यक छ। कसैको घरमा, मामाघरमा कसैलाई डाइबेटिज छ भने ३० वर्षभन्दा मुनि नै एक पटक परीक्षणमा जानुपर्दछ। अहिले परीक्षण एकदम सजिलो छ जताततै ल्याबहरू छन्। एउटा अनियमित चिनी र एचबी १ सी भन्ने जाँच गर्दा हुन्छ त्यो पनि भएन भने पिसाब मात्र जाँच गर्दा पनि हुन्छ। मधुमेहबाट जोगिनु मुख्य कुरा भनेको शारीरिक अभ्यास गर्नु हो। मानसिक अनि शारीरिक रूपमा स्वस्थ हुनुपर्छ। मुख्य कुरा तनाव लिनु भएन। बेलाबेलामा रगत जाँच गर्नुपर्छ।

मधुमेह हुँदा कस्तो खानेकुरा खानुपर्छ र कस्तो खानु हुँदैन ? मधुमेह हुँदा ठिक्क खाने र शारीरिक व्यायाम अनिवार्य गर्नुपर्यो। जति खाइन्छ त्यति नै व्यायाम पनि गर्नुपर्दछ। यसको लागि परिवारको सहयोग हुनुपर्दछ। नेपालमा मधुमेह भएका बिरामीले खाने कुराका बारेमा धेरै भ्रम छन्। घरदेखि बाहिर फास्टफुड खाँदा, बजारमा पाइने जुनसुकै पनि पेय पदार्थ, सूर्तीजन्य पदार्थ, मादक पदार्थ लगायतको सेवनले मधुमेह हुन्छ। अहिले बिरामीले चामल नखाने तर रोटी ६ वटा खान्छन्। हामीले बिहान ६, ९, १२, ३, ६, ९ बजे खानु भन्छौँ। फलफूलहरूमा आँप, अम्बा, खर्बुजाले सुगर लेबल बढाउँछ। त्यो खाएपछि साग सब्जी सलाद सुप धेरै खाने। तरकारीहरूमा पनि झोलहरू बढी हालेर खाने। तरकारी धेरै खाने भात रोटीहरू कम खाने मैदाबाट बनेका खाना धेरै नखाने। मदिरा धूम्रपान नगर्ने।

कस्तो अवस्थामा जीवनभर औषधि खानुपर्ने हो? मधुमेह जस्तो रोगको लागि हाम्रो जीवनशैलीमा परिवर्तन गर्नु आवश्यक छ। शारीरिक व्यायाम दिनमा ४५ मिनेट र हप्तामा ५ दिन मज्जाले गर्नु पर्दछ। समयमा उपचार गरेर औषधिहरू खानु पर्दछ। औषधि खाएर सुगर कम हुँदै गयो भने औषधि घटाउन पनि मिल्छ। पछि छोड्न पनि मिल्छ। तर डाक्टरको सल्लाह अनुसार मात्रै छाड्नुपर्छ। तर अहिले बिरामी औषधि खाना हिचकिचाउनु हुन्छ। सुगर लेबल ३०० देखि ५०० सम्मको आउनु हुन्छ। हामीलाई चाहिले फास्टिङ (भोको पेट) १२६ भन्दा कम र पीपी (खानापछि) १८० भन्दा कम चाहियो। बिरामी ढिलो आउँदा धेरै भइसकेको हुन्छ र औषधि खानुपर्छ। आँखा बिग्रियो भने अन्धकार हुन्छ, मिर्गौला नै बिग्रियो भने डाइलासिसमा जानुपर्ने हुन्छ, ट्रान्सप्लान्टमा पनि जानु पर्दछ। त्यसैले मधुमेहलाई समयमा नै ध्यान दिनुपर्छ।

मधुमेह हुन नदिन के गर्नुपर्छ ? केही मानिसलाई मधुमेहबारे जानकारी भए पनि मधुमेह लाग्नसक्छ। हाम्रो उद्देश्य भनेको मधुमेह भएकाहरूलाई कसरी अन्धोपनबाट जोगाउने, मुटु, मिर्गौला बिग्रनबाट जोगाउने भन्ने हो। मिर्गौला बिग्रियो भने हत्तपत्त परिवारकै सदस्यले मिर्गौला दिन मान्दैनन्। हाम्रो उद्देश्य भनेकै आज १६० भएको सुगरलाई १२० मा पनि ल्याउने र आँखा, मुटु, मिर्गौला, खुट्टा पनि जोगाइदिने हो।

यो दसैँमा सुगरका बिरामीले खाने कुरामा कसरी ध्यान दिने ? दसैं भनेको नेपालीहरुको विशेष पर्व हो। सबैले रमाइलो गरेर मनाउनुपर्छ। खानपानमा पनि विशेष ध्यान दिनु आवश्यक छ। जसमा चिल्लो नखाने, भात धेरै नखाने, खानामा कार्बोडाइड्रेड भएको खाना कम खाने। घरमा आफैले बनाएको खानेकुरा खानाले धेरै असर गर्दैन। परिवारमा कसैलाई मधुमेह छ भने अर्को पुस्तामा पनि त्यो आउँछ। त्यसैले सजक रहनु पर्दछ। दिनभर कम गरेर परिवारसँग बस्दा आनन्द हुन्छ। त्यसैले सुगर लेबल पनि कम हुनसक्छ। तनाव कम गर्ने, खानपिनमा ध्यान दिने, शारीरिक व्यायाम गर्ने गर्दा मधुमेहबाट बच्न सकिन्छ।