नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट | Khabarhub Khabarhub

नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट


९ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

चितवन– वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेका छन् । बर्खायाममा पानीको बहाव बढेपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन भएका हुन् ।

असार, साउन र भदौ महिनामा नदीमा बाढी आउने भएकाले तीन महिना मोटरबोट बन्द हुन्छ । यस वर्ष असोज महिनामा पनि नदीमा पानीको बहाव नघटेकाले अन्तिम सातादेखि दसैँको अवसर पारेर मोटरबोट सञ्चालन गरिएको नारायणी मोटरबोट व्यवसायी सङ्घका अध्यक्ष अशेष मल्लले बताए ।

पछिल्लो समय नारायणी नदीमा मोटरबोट चढेर मनोरञ्जन लिने आन्तरिक पर्यटकको भीड नै लाग्न थालेको छ । यस वर्ष मनसुनका कारण नदीमा असोज अन्तिम सातासम्म बाढी आएकाले मोटरबोट सञ्चालनमा ढिलाइ भएको र अब जेठसम्म नियमित मोटरबोट सञ्चालन हुने उनको भनाइ थियो ।

बिदाका दिन मोटरबोट चढ्न आउनेको सङ्ख्या उल्लेख्य हुने गरेको छ । ‘अहिले दैनिक दुई हजारको हाराहारीमा मोटरबोट चढ्न नारायणी नदी किनारमा पर्यटक आउने गरेका छन्’, अध्यक्ष मल्लले भने, ‘दसैँ र तिहारको समयमा उल्लेख्य मात्रामा पर्यटक यहाँ मनोरञ्जन लिन आउने गर्छन् ।’

विसं २०७६ मा एउटा बाट सुरु भएको मोटरबोट अहिले सानाठूला गरी ३२ वटा दर्ता भएर सञ्चालनमा आएका छन् । यस वर्ष १९ वटा मोटरबोटले सेवा सुरु गरिसकेकामा चौध वटा कम्पनी भरतपुर महानगरपालिकामा दर्ता छन् ।

मोटरबोट कम्पनीले विभिन्न प्याकेजमा सेवा दिइरहेका छन् । नारायणी नदीको पुलदेखि मजुवा टापु पोखरा बसपार्कसम्मको दूरी, मजुवा टापु पोखरा बसपार्कदेखि गैँडाकोटको राधाकृष्ण मन्दिरसम्मको दूरी, मजुवा टापुदेखि पारिजात पार्क र नारायणी पुलदेखि देवघाटसम्मको दूरीमा मोटरबोट सञ्चालन हुने गरेका छन् । एकपटकमा ठूला मोटरबोटमा १८ देखि २५ जनासम्म यात्रु अटाउँछन् ।

यस्तै साना मोटरबोटमा छदेखि १२ जनासम्म यात्रु चढाउने गरिन्छ । छोटो दूरीमा प्रतिव्यक्ति दुई सय ५० र लामो दूरीमा प्रतिव्यक्ति एक हजार पाँच सयसम्म तोकिएको छ ।

त्यहाँबाट उठेको रकमको १५ प्रतिशत कर भरतपुर महानगरपालिकाले लिने गरेको छ । नारायणीमा ४० एचपीको इन्जिनदेखि दुईसय एचपीको इन्जिनसम्मका बोट रहेको अध्यक्ष मल्लले जानकारी दिए ।

नदी किनारमा घुम्न आउने अधिकांश आन्तरिक पर्यटक यहाँ जलविहार गर्न रुचाउँछन् । यो यात्रामा यात्रुले नारायणी किनारको दृश्यसँगै नगरवन, गैँडाकोट, रिभरक्विन टापु, मौलाकालिका मन्दिर, हिमशृङ्खलालगायतको दृश्यावलोकन गर्न पाउँछन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार  ११ : २३ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस