तीन वर्षदेखि टिपताला नाका बन्द « Khabarhub

तीन वर्षदेखि टिपताला नाका बन्द


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– कोरोना सङ्क्रमण फैलिएदेखि बन्द भएको ताप्लेजुङस्थित टिपताला नाका अझै खुलेको छैन । चीनको तिब्बतसँग सीमा जोडिएको उत्तरी टिपताला नाका तीन वर्षदेखि बन्द छ । कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै चीनले नाका बन्द गराएको थियो ।

लामो समयदेखि नाका बन्द हुँदा सीमा नजिक बसोबास गर्ने नागरिकलाई समस्या भएको छ । सीमा नजिकका ओलाङ्चुङगोला, याङ्मा, घुन्सालगायत ठाउँका बासिन्दालाई बढी समस्यामा भएको छ । यहाँका बासिन्दाले खाद्यान्न, लत्ताकपडालगायत दैनिक उपभोग्य वस्तु तिब्बतको रिउबजारबाट आयात गर्दै आएका थिए । गलैँचा, घिउ, छुर्पी, जडीबुटीलगायत उत्पादन रिउबजारमै लगेर बेच्ने गरेका थिए ।

दोहोरो व्यापार सम्बन्धसहित सर्वसुलभरूपमा खाद्यान्नलगायत दैनिक उपभोग्य सामान उपभोग गर्दै आएका उनीहरूलाई अहिले समस्या भएको छ । व्यवसायीले उत्पादन गरेका गलैँचाले बजार नपाएपछि घरमै  थन्किएका छन् भने अन्य उत्पादन पनि सहजरूपमा बजार लैजान सकिएको छैन । खाद्यान्नसहितका सामान महँगो ढुवानी खर्चसहित सदरमुकाम फुङ्लिङबाट लैजानुपर्ने बाध्यता छ । फुङ्लिङमा प्रतिकिलो ३० पर्ने नुन ओलाङचुङगोलामा रु दुई सय पर्छ । अरु सामानको मूल्य पनि उत्तिकै महँगो छ ।

‘नाका बन्द हुँदा चिराइतोलगायतका जडीबुटी निर्यात भएको छैन, तिब्बतको बजारमा पुग्ने गलैँचा घरैमा थन्किएका छन्, पशुपालकलगायत व्यापार व्यवसायीको आम्दानी घटेको छ, दैनिक उपभोग्य वस्तु महँगोमा खरिद गरेर उपभोग गर्नुपर्ने बाध्यता छ’, ओलाङचुङगोलाका निवर्तमान वडाध्यक्ष छेतेन शेर्पाले भने।

उनका अनुसार सदरमुकाम फुङ्लिङबाट इलाडाँडा भन्ने ठाउँसम्म सडक यातायात हुँदै लगिएका सामान त्यहाँदेखि भरियामार्फत ओलाङ्चुङगोला पुर्‍याउन प्रतिकिलो रु ६० सम्म ढुवानी भाडा लाग्छ । याङ्मा पुर्‍याउँदा अझ बढी लाग्छ ।याङ्मा, घुन्सओलाङ्चुङगोला अझै सडक सञ्जालसित जोडिएका छैनन् ।

यहाँ बसोबास गर्नेको मुख्य पेसा व्यवसाय पशुपालन, जडीबुटी सकलन तथा व्यापार र गलैँचा उत्पादन हो । घिउ, छुर्पीजस्ता दूधजन्य उत्पादन पशुपालकले गोठबाटै बिक्री गर्थे । गलैँचा उत्पादकले रिउबजारमा लगेर बेच्ने गरेका थिए । रिउबजार जाँदा गलैँचा साथमा लिएर जानेले महिनौँ पुग्ने खाद्यान्नलगायत सामान लिएर फर्किने गरेका थिए । तर अहिले गलैँचा बेच्ने ठाउँ नहुँदा व्यवसाय नै ठप्प भएको छ ।

यहाँका उत्पादन नेपाली बजारमा पुर्‍याउन भौगोलिकरूपमा कठिनाइ हुने र ढुवानी खर्च बढी लाग्ने हुँदा समस्या भएको स्थानीयवासी बताउँछन् । यता ताप्लेजुङसहित इलाम, पाँचथरका किसान र व्यापारीले संकलन गरेको चिराइतोलगायतका जडीबुटी पनि तिब्बततर्फ नै निर्यात हुँदै आएको थियो ।

अहिले झापाको बिर्तामोड हुँदै अन्यत्र निर्यात हुन थालेको छ । कोभिड-१९ सँगै बन्द भएका अन्य क्षेत्रका नाका खुले पनि टिपताला नाका अझै बन्द हुँदा समस्या भएको स्थानीयवासीको भनाइ छ । सरकारले यसरी लामो सयमदेखि बन्द रहेको नाका खोल्न पहल गरिदिए जीवनयापनमा सहज हुने उनीहरु बताउँछन् ।

सदरमुकाम फुङ्लिङबाट सवारीसाधन र पैदल गरेर ओलाङ्चुङगोला पुग्न झण्डै दुई दिन लाग्छ । फुङ्लिङबाट साविकको लेलेपसम्म सवारीसाधनमा र त्यसभन्दा माथि पैदल हिँड्नुपर्छ । ओलाङ्चुङगोला यसअघि नै तिब्बतसँग सडक सञ्जालले जोडिए पनि सदरमुकामसँग भने जोडिएको छैन ।

यता याङ्मा, घुन्सा र थुदाम पुग्न दुईदेखि तीन दिन लाग्छ । ओलाङ्चुङगोलामा ५३ परिवारको बसोबास छ भने याङ्मामा १३ परिवार बस्छन् ।

–सन्तोष पुर्कुटी रासस

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  १ : ०६ बजे

नेकपाले शक्तिशाली दलित विकास प्राधिकरण गठन गर्नेछ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिङ्गो दलित

चीनसहित पाँच देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं- उत्तरी छिमेकी चीनसहित पाँच देशका नवनियुक्त राजदूतहरूले राष्ट्रपति रामचन्द्र

रास्वपा छाडेका बागमतीका उपसभापति हुमागाईं कांग्रेसमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईं नेपाली

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चकाे आदेश

काठमाडौं- सर्वोच्च अदालतले बीएन्डसी मेडिकल कलेजका मालिक एवम् हिन्दु धर्म

पोखरा विमानस्थलमा भ्रष्टाचार विवाद : पूर्वसचिव सुशील घिमिरेसँग मागियो डेढ लाख रुपैयाँ धरौटी

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा लागत अस्वाभाविक रूपमा बढाएर नेपाल