नेपाली उद्यमी व्यावसायीहरु आर्थिक मन्दीलगायत बैङ्किङ समस्याबाट पीडित छन् । उद्यमी व्यावसायीहरुको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचन पनि आउँदैछ । चैत २८ र २९ गते नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । यस विषयमा आधारित रहेर महासङ्घको आसन्न निर्वाचनमा वस्तुगत तर्फमा उम्मेदवार कार्यकारी सदस्य तथा स्वास्थ्य तथा सीप विकास समितिका सभापति हेमराज ढकालसँग प्रभा थापाले गरेको कुराकानी सम्पादित अंश :
अहिले निर्वाचनको माहौल कस्तो छ ?
हाम्रो विधानमा ३ वर्ष पुगेपछि निर्वाचन हुने भन्ने छ । अन्तिम पटक कोभिडको कारणले २५ जना भन्दा भेला नहुने कुराले निर्वाचन सरेको थियो, नत्र कहिल्यै सरेको थिएन । मेरो पनि ३०–३५ वर्षको अनुभवमा आर्थिक मन्दीबाट यति असहज अवस्था भएको थिएन । विधानको कारणले नेतृत्व परिवर्तन गर्नुपर्ने भएको हो । यो समयमा नै हुन्छ ।
निर्वाचन आर्थिक एजेन्डा भन्दा पद प्राप्तिको लागि बढी केन्द्रित भएको हो ?
महासङ्घ निजी क्षेत्रको छाता सङ्गठन हो । सरकारपछि यसको सबभन्दा ठूलो संयन्त्र छ । हरेक स्थानीय तहसम्म उद्योग वाणिज्य सङ्घ रहेका छन् । प्रदेशमा पनि प्रदेश उद्योग वाणिज्य महासङ्घ छन् । वस्तुगततर्फ १२२/१२३ वटा सङ्घहरू छन् । संरचना ठूलो हुँदै गएपछि राजनीति पनि हुने रहेछ ।
महासङ्घले जति कार्य गरेपनि कमजोर देखियो किन ? र महासङ्घ केमा कमजोर भयो त ?
सरकारले महासङ्घका कुरा सुनिदिएको भए राम्रो हुन्थ्यो । आन्तरिक सुझबुझ हुन नसकेको जस्तो देखिन्छ । राजनीति पनि घुसेको जस्तो लाग्छ । यो ‘ग्लोबल क्राइसिस’ हो इन्ट्रेस्ट रेड सबैतिर बढेको छ । हाम्रो सञ्चिति कम, आयात गर्ने क्षमता कम भएको छ र सरकारले जोगाएर, मेनटेन गरेर मात्र बस्ने भए अझ कमजोर हुन्छ । महासङ्घले पहल नै नगरेपछि कार्य अगाडि बढ्न सक्दैन । शान्तिपूर्ण हिसाबमा अगाडि बढ्नु अति जरुरी छ ।
वस्तुगततर्फ कै सदस्यहरू टाढिँदै गर्दा तपाईँको निर्वाचनमा जित्ने आधारहरू के छन् ?
वस्तुगतभित्र कृषिका सदस्यहरू धेरै छन् । यी क्षेत्रका नियम कानूनहरू परिमार्जन गर्नुपर्ने छ । हामीले काम नै गरेर अगाडि बढ्नु पर्ने अवस्था रहेको छ । सरकारले सुन्ने वातावरण बनाउनुपर्छ, नसुनेको अवस्थामा हामीले अलिकति बल पनि देखाउनुपर्ने हुन्छ । नेतृत्वमा रहँदा त्यहाँ भएका गतिविधिको व्याख्या र विश्लेषणलाई ध्यानमा राखेर अगाडि बढ्ने प्रयासमा लाग्ने छु । म नेतृत्वमा पुग्दैगर्दा वस्तुगत सङ्घमा सदस्यहरूलाई लिएर महासङ्घ हिजो भन्दा आज फरक भयो भन्ने देखाउन सक्ने अवस्थामा छु जस्तो लाग्छ र आम हाम्रो सदस्यहरूले खोजेको पनि त्यही हो ।
स्वास्थ्य तथा सीप विकास समितिका सभापति रहँदा यहाँको कार्यकालमा तपाईँले गरेका कार्यहरू कस्ता रहेका छन् ?
पहिला शिक्षा तथा सीप विकास समिति थियो । यो कोभिड भएपछि सरकारले कोभिडलाई मिनिमाइज गर्न नसकेको भ्याक्सिन दिन नसकिरहेको हाम्रो स्वास्थ्यको संरचनाले धान्न नसकिरहेको अवस्थामा निजी क्षेत्रलाई पनि स्वास्थ्यमा राख्नुपर्छ भनेर अध्यक्ष गोल्छाज्युले मेरो समितिमा स्वास्थ्य पनि थपेर कोभिड निराकरणमा लाग्नुपर्छ भनेर दिनुभएको थियो । सरकारले पनि केही गर्न नसकेको अवस्थामा धेरै स्थानमा हामीले आइसोलेसन गरेर फ्रिमा खाना, बस्न, अस्पतालको व्यवस्था महासङ्घले गरेको थियो । हामीले त्यसबाट एउटा सम्मान पनि प्राप्त गरेका थियो ।
वस्तुगततिरका समस्या के के छन् ? आफू उम्मेदवार भएपछि त्यो पदमा पुगेर पहिला गर्ने कामहरू के के छन् ?
वस्तुगत सङ्घका साथीले हामीलाई महासङ्घले उपेक्षा गर्यो, हाम्रा समस्याको सुनुवाइ गरेन, चुनाव चुनाव मात्र भयो भन्ने छ । समितिमा भएका परिषदहरुमा उनीहरूका कुरा सुनेर, साथमा लिएर अघि बढ्ने वातावरण बनाउनुपर्छ जस्तो लाग्छ । हामीले काम गर्न सकेको छौँ वा छैनौँ, त्यसको बारेमा पनि विश्वासको वातावरण बनाउनुपर्छ । हामी इन्डिया र चाइनाजस्ता ठूलो बजारको बीचमा छौँ । त्यसकारण हामी उत्पादनमुखी हुनुपर्यो । सम्भावनाका क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्यो ।
प्रस्तुति – कुसुम गौतम