तस्वीर : रासस

राजनीति

राजनीतिमा सेवाभाव हुनुपर्छ : राष्ट्रपति पौडेल

By खबरहब

March 27, 2023

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका छन् ।

सोमवार काठमाडौंमा पूर्वमन्त्री स्वर्गीय नविन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको सुख दुःख बुझेर उनीहरूकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिबद्धता र समर्पण नेतामा हुनुपर्ने बताए ।

‘राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ । जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरुको सुख दुःख बुझेर उनीहरुकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिवद्वता र समर्पणबाट अभिप्रेरित हुनुपर्छ ।’ उनले भने।

राष्ट्रपति पौडेलले आफूले जोशीलाई जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरुका सुख दुःख बुझ्ने व्यक्तित्वको रुपमा चिनेको बताए । स्व. जोशीको व्यक्तित्व वर्तमान नेपाली समाजका लागि प्रेरणादायी हुने धारणा पनि उनले राखे।