दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू « Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 7 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

आज दिनभरमा गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त, लुम्बिनीको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त, राष्ट्रिय सभा बैठक भोलिलाई सारियो, भूमिसम्बन्धी समस्या सम्बोधन गर्न क्रान्तिकारी निर्णय लिइने, ‘पूर्वलडाकूको नाममा पैसा बाँड्ने काम स्वीकार्य हुँदैन’, कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्युलगायतले प्रमुख स्थान पाए ।

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि प्रदेशप्रमुखबाट भएको आह्वान अनुसार पाण्डेले दाबी पेस गरेका थिए।

कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङको हस्ताक्षरसहित सुरेन्द्रलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए ।

पाण्डेले शपथ भने शुक्रबार मात्र लिनेछन् ।

लुम्बिनीको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त

लुम्बिनीको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् ।

संविधानको धारा १६८ (२) अनुसार चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

उनलाई नेकपा माओवादी केन्द्रसहित ८ दलका ५२ जना र एकजना स्वतन्त्र सांसदको समर्थन रहेको थियो । मुख्यमन्त्री चौधरीले शुक्रबार शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

२७ पुसमा मुख्यमन्त्री बनेका एमालेका लिला गिरीले विश्वासको मत लिन नसकेपछि पदमुक्त भएका थिए ।

राष्ट्रिय सभा बैठक भोलिलाई सारियो

आजका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक भोलिका लागि सारिएको छ ।

आज दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको बैठक विशेष कारणले भोलि शुक्रबारका लागि सारिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।

उनका अनुसार अब राष्ट्रिय सभा बैठक शुक्रबार अपरान्ह ४ बजेर १ मिनेटमा बस्नेछ ।

ब्याजदरको समस्या समाधान हुन्छ : अर्थमन्त्री

अर्थमन्त्री प्रकाशशरण महतले ब्याजदरको समस्या आगामी मौद्रिक नीतिमार्फत समाधान हुने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट एवं राजस्व नीति तर्जुमाका सन्दर्भमा आज यहाँ आयोजित कोशी प्रदेशस्तरीय अन्तरक्रियामा उनले मौद्रिक नीतिमार्फत ब्याजदर घटाइने बताए ।

‘अर्थतन्त्रमा देखिएको शिथिलता किन आयो भन्ने निजी क्षेत्र जानकार छ’, उनले भने, ‘ब्याजदरका विषयमा मौद्रिक नीति खुकुलो गर्न जरुरी छ, यसका लागि नेपाल राष्ट्र बैंकलाई भनिसकेको छु ।’ उनले राष्ट्र बैंकले यसलाई गम्भीररूपमा लिएको र छिट्टै एउटा निर्णयमा पुग्नेमा विश्वास व्यक्त गरे ।

राष्ट्र बैंकलाई स्वतन्त्ररुपमा काम गर्ने अधिकार भएको भन्दै उनले एउटा परिवेशमा राष्ट्र बैंकले मौद्रिक नीतिमा कसिकसाउ गरेको भए पनि अब भने खुकुलो गर्न जरुरी रहेको बताए। उनले मौद्रिक नीतिमार्फत् बजारमा पुँजी प्रवाह आवश्यक रहेको बताए। ‘ब्याजदरले अवश्य पनि समस्या सिर्जना गरेको छ । अब मौद्रिक नीतिमार्फत पुँजी प्रवाह जरुरी छ’, उनले भने, ‘यसमार्फत उद्योग व्यवसायलाई सहयोग पुग्नेछ ।’

उनले अहिले पुँजीगत खर्च कम भएको भन्दै यसलाई बढाउन आवश्यक रहेको उनको भनाइ छ । ‘हाम्रो ठेक्का प्रक्रिया, ‘साइट क्लियरेन्स’लगायतमा समस्या छ’, उनले भने, ‘यसले गर्दा आयोजनाको काम अपेक्षा अनुसार अघि बढ्न सकेको छैन ।’ उनले आर्थिक वर्षको अन्तिम त्रैमासमा ठेक्का लगाउने परम्परा हटाउनुपर्ने धारणा राखे ।

आर्थिक वर्षको पहिलो दिनबाट काम सुरु गर्नुपर्ने भन्दै उनले यसका लागि सबै मन्त्रालयका साथीसँग कुरा गरिरहेको बताए। उनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुतका लागि एक महिना बाँकी रहेको भन्दै बजेटमार्फत समस्या समाधानमा आफू इमान्दारिताका साथ लाग्ने स्पष्ट पारे ।

‘अर्थतन्त्र गाडी कुदेको जस्तै हो, गाडीमा, स्टेरिङ मात्रै राम्रो भएर हुँदैन अन्य पक्ष पनि राम्रो हुनुपर्छ’, उनले भने, ‘सबैले आ–आफ्नो जिम्मेवारी एक साथ पूरा गरेमात्रै गाडी गन्तव्यमा पुग्नसक्छ ।’ उनले निजी क्षेत्रलाई समस्याका कारण र नतिजा बुँदागत रुपमा उल्लेख गरी सुझाव दिन आग्रह गरे ।

भूमिसम्बन्धी समस्या सम्बोधन गर्न क्रान्तिकारी निर्णय लिइने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमिसम्बन्धी विद्यमान व्यवस्थामा क्रान्तिकारी निर्णय लिएर मात्रै वर्षौँदेखि थाँती रहेका समस्याको प्याकेजमा समाधान सम्भव भएको बताएका छन् ।

राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर उनले भूमिसम्बन्धी समस्या समाधानका निम्ति सरकार गम्भीर रहेकाले सोही बमोजिम कार्यसम्पादन गर्न आयोगलाई निर्देशन दिएका हुन् । छलफलका त्रममा प्रधानमन्त्री दाहालले भने, ‘भूमि व्यवस्थाको दीर्घकालीन समाधान आवश्यक छ । यसपटक मैले मन्त्रिपरिषद्को बैठकबाट भूमिसम्बन्धी केही क्रान्तिकारी निर्णय लिने सोंच बनाएको छु । पटक-पटक उही समस्या बल्झिएर भूमिसम्बन्धी समस्या भुमरीमा पर्नुहुँदैन । हामीले वैज्ञानिक र दीर्घकालीन समाधान दिनुपर्छ ।’ क्रममा

भेटमा प्रधानमन्त्री दाहालले सुकुम्बासी, अव्यवस्थित बसोबासीलगायत भूमिहीनका समस्या दीर्घकालीन रूपमा सम्बोधन गर्ने कामलाई प्राथमिकता दिन निर्देशन दिए । उनले भने, ‘धेरै वर्षदेखि हामी एउटै समस्यामा अल्झिरहेका छौँ । अब यसलाई सदाका लागि समाधान गर्नुपर्छ ।’

गाँस र बास जनताको पहिलो आवश्यकता भएको उल्लेख गर्दै उनले यसलाई गम्भीरताका साथ बुझेर काम गर्न निर्देशन दिए। ‘नीतिगत रूपमा गर्नुपर्ने काम सरकारले गर्छ । यसपटक यो समस्या सदाका लागि सम्बोधन गर्नैपर्छ’, उनले भने ।

प्रधानमन्त्री दाहालले बजेटको सिलिङ बढाउन पहल भइरहेको जानकारी दिए। उनले भने, ‘अर्थतन्त्र संकटमुक्त भइसकेको छैन । तर पैसा छैन भन्दैमा हामीले काम गर्न र पहल लिन छोड्नुहुँदैन । जहाँ संकट हुन्छ, त्यहाँ सम्भावना पनि हुन्छ ।’

अझ धेरै मेहेनत गरेर अर्थतन्त्र सुधार्ने र विकासलाई तीव्रता दिनेगरी काम गर्नुपर्नेमा प्रधानमन्त्री दाहालले जोड दिए । भेटमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी, मन्त्रालयका सचिव डा दामोदर रेग्मी, राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला, उपाध्यक्ष नहेन्द्र खड्कालगायत आयोगका पदाधिकारीको उपस्थिति थियो ।

‘पूर्वलडाकूको नाममा पैसा बाँड्ने काम स्वीकार्य हुँदैन’

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य नहुने बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत कोइरालाले मुलुकको ढुकुटीमा पैसा नभएर सरकारी कर्मचारीलाई तलब र पूर्व शिक्षकहरूको पेन्सन दिन समेत नसकेको अवस्थामा सरकारले पूर्व लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य नहुने बताएका हुन्।

उनले विगतमा क्यान्टोनमेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाबकिताब नबुझाएको र द्वन्द्वकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्ब्याएको आरोप पनि लगाएका छन्।

कोइरालाले माओवादी नेतृत्वको सरकारको यस्ता कामको विरोध गर्दै सचेत रहनुपर्ने बताएका छन्। उनले पूर्व लडाकुलाई पैसाभन्दा रोजगारी दिन सुझाव दिएका छन्।

डेङ्गु नियन्त्रणका लागि अभियान चलाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि अभियान सञ्चालनका लागि अनुरोध गरेको छ । मन्त्रालयले आज एक सार्वजनिक सूचनामार्फत ‘हरेक शुक्रबार बिहान साढे १० बजे १० मिनेट’ अभियान सञ्चालन गर्न अनुरोध गरेको हो ।

‘डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि शुक्रबारदेखि हरेक शुक्रबार बिहान साढे १० बजे १० मिनेट अभियान सञ्चालन गरी सबै सरकारी तथा सार्वजनिक कार्यालयले आफ्ना कार्यालय हाताभित्र र वरपर सबै कर्मचारी सहभागी गराई अनिर्वायरूपमा सरसफाइ अभियान सञ्चालन गर्न अनुरोध छ’, मन्त्रालयले भनेको छ ।

गत वर्षको डेङ्गु सङ्क्रमण अत्यधिक भएको भन्दै यस वर्ष समयमै सचेतना अपनाउन उक्त अभियान सञ्चालन गर्न सरकारीसँगै निजी, सर्वसाधारण तथा सरोकारवाला सबैलाई अनुरोध गरिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

मिटर ब्याज पीडितलाई निवेदन दिन जाँचबुझ आयोगको आग्रह

मिटर व्याजसम्बन्धी जाँचबुझ आयोगले पीडितहरूलाई निवेदन दिन आह्वान गरेको छ । बिहीबार आयोगले उपलब्ध भएसम्मका सम्पूर्ण प्रमाणसहित १५ दिनभित्र निवेदन दिन आग्रह गरेको हो ।

निवेदन अनलाइनबाट पनि दिन सकिने तथा सिधै आयोगमा वा निवेदकको जिल्लामा रहेको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ ।

आयोगले पीडितहरूलाई वैशाख १७ देखि ३१ गते भित्र दिइसक्न आग्रह गरेको छ । आयोगका अनुसार प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याज पीडित सहायता कक्ष स्थापना गरिएको छ । सोही कक्षमा निवेदन फाराम निःशुल्क उपलब्ध हुनेछ ।

आयोगले वैशाख १७ गतेदेखि धनुषाको जनकपुरमा कार्यालय सञ्चालनमा ल्याउँदै छ ।

सन्दीपलाई वर्ल्डलिंकको एक लाख नगदसहित सम्मान

नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सले सम्मान गरेको छ । ओडिआईमा सबैभन्दा छिटो १ सय विकेट लिएकोमा बधाई दिँदै वर्ल्डलिंकले सन्दीपलाई एक लाख नगदसहित सम्मानित गरेको हो ।

राष्ट्रिय क्रिकेट टोलीका स्पिनर समेत रहेका लामिछानेले एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्धको खेलमा एक विकेट लिएसँगै दुर्लभ विश्व कीर्तिमान आफ्नो नाममा गराएका थिए ।

आज भएको कतारविरुद्धको खेलमा नेपालको जितमा नायक बनेका लामिछानेले कतारको महत्वपूर्ण पाँच विकेट लिएका थिए ।

कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सोही अवधिमा १ सय ११ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार कूल २५१७ जनामा कोरोना परीक्षण गर्दा १११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कूल २५१७ परीक्षणमध्ये पीसीआर परीक्षणबाट १०४० र एन्टीजेनबाट १४७७ जनामा नमुना परीक्षण गर्दा १ सय ११ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयले कोरोना सक्रिय सङ्क्रमितको संख्या ३७८ पुगेको जनाएको छ ।

बिहीबार ६० जना संक्रमण मुक्त भएका छन् ।

लक्ष्यअनुसारको राजस्व संकलन गर्न मुस्किल

चालु आर्थिक वर्षमा कैलालीको सत्ती भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व संकलन गर्न मुस्किल देखिएको छ । भन्सार कार्यालयको मासिक राजस्व संकलनको अवस्था हेर्दा लक्ष्यको आधा रकम पनि संकलन नभएको देखिएकाले चालु आर्थिक वर्षमा लक्ष्य भेटाउन मुस्किल पर्ने देखिएको हो ।

भन्सार कार्यालयले चालु आर्थिक वर्ष सकिन तीन महिना बाँकी रहँदा चैत मसान्तसम्म पाँच करोड ३१ लाख ६८ हजार एक सय ८७ अर्थात् कूल लक्ष्यको ३१ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । भन्सारले १६ करोड ९४ लाख ४१ हजार राजस्व संकलनको लक्ष्य लिएको थियो । लक्ष्य पूरा गर्नका लागि भन्सार कार्यालयले बाँकी रहेको तीन महिनामा ११ करोड ६२ लाख ७२ हजार आठ सय १३ रुपैयाँ राजस्व संकलन गर्नुपर्ने देखिन्छ ।

भन्सार कार्यालयका निमित्त प्रमुख तुलसीराम थारुले चालू आर्थिक वर्षमा राजस्वको लक्ष्य भेटाउन मुस्किल रहेको बताए । ‘चैतसम्म कूल राजस्वको ३१ प्रतिशत मात्रै संकलन भएको छ । अब तीन महिनामा त्यस्तो कुनै चमत्कार नै भन्न सकिँदैन, नभए यस वर्ष लक्ष्य पूरा हुँदैन’, उनले भने , ‘अहिलेको आर्थिक मन्दीका कारण राजस्व संकलनमा गिरावट आएको हो । दिनभर भन्सार सुनसान हुँदा राजस्व कसरी उठ्छ ? उनका अनुसार उठेको राजस्व पनि सबै आयातीत सामानबाट संकलन भएको हो ।’

सत्ती भन्सारबाट निर्यात भने शून्य जस्तै भएको निमित्त प्रमुख थारु बताउँछन् । ‘भन्सारबाट आउने सबैभन्दा बढी भनेको हार्डवयरको सामान हो । त्यसपछि छिटफुट कपडालगायतका सामानको आयात हुन्छ’, थारुले भने, ‘त्यसबाहेकको सामान आयात निकै कम हुन्छ । तरकारीलगायतका वस्तुको आयातका लागि क्वारेन्टाइन छैन । त्यो भए राजस्व बढ्थ्यो की ? ।’

मूल भन्सार कायम भएपछि सत्ती भन्सार कार्यालयले एक वर्षमात्रै लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको देखिन्छ । आर्थिक वर्ष २०७७-७८ मा भन्सार कार्यालयले एक सय ११ प्रतिशत राजस्व संकलन गरेको थियो । उक्त आर्थिक वर्ष भन्सार कार्यालयले रु १४ करोड २३ लाख ४८ हजार राजस्व सङ्कलनको लक्ष्य पाएकामा रु १५ करोड ८३ लाख सात हजार नौ सय ७३ राजस्व संकलन गरेको थियो । त्यसभन्दा अन्य कुनै पनि वर्ष लक्ष्यअनुसारको राजस्व संकलन
नभएको थारुले बताए ।

गत आवमा पनि भन्सारले लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेन । भन्सारले गत वर्ष पनि रु २० करोड ५८ लाख ६१ हजारको लक्ष्य लिएकामा रु १० करोड ६७ लाख ९३ हजार छ सय चार राजस्व संकलन गर्न सकेको थियो । यो लक्ष्य सत्ती भन्सार कार्यालय स्थापनादेखिकै सबैभन्दा बढी हो । आर्थिक वर्ष २०७५-७६ मा मूल भन्सारका रुपमा विकास भएको सत्ती भन्सार कार्यालयले त्यस वर्ष लक्ष्यको ६३ दशमलव २३ प्रतिशत अर्थात् पाँच करोड ६९ लाख ११ हजार छ सय ७३ राजस्व संकलन भएको थियो । भन्सारलाई रु नौ करोड राजस्व संकलन गर्ने लक्ष्य दिइएको थियो ।

बढी धुवाँ फाल्ने १५ सवारीसाधन कारबाहीमा

काठमाडौँ उपत्यकामा मापदण्डभन्दा बढी धुँवा फाल्ने १५ वटा सवारी साधनलाई कारबाही गरिएको छ । वातावरण विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तोकिएको भन्दा बढी धुवाँ फाल्ने सवारीसाधनका चालकलाई कारबाही गरेको हो ।

काठमाडौँको बबरमहलमा गरिएको प्रदूषण जाँचका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने सात सार्वजनिक बस, पाँच माइक्रोबस, दुई पिकअप भ्यान र ट्रक एक गरी १५ वटा सवारीसाधनका चालक कारबाहीमा परेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार दुबै निकायका संयुक्त रुपमा खटिएको टोलीले २५ वटा सवारीसाधनमा जाँच गर्दा मापदण्डभन्दा बढी धुवाँ फाल्ने १५ वटा सवारीसाधन फेला पारी कारबाही गरेको हो ।

कारबाहीमा परेका सवारी साधनका चालकले मर्मतपश्चात् तोकिएको जरिवाना तिरेसँगै नियन्त्रणमा लिइएका उनीहरूका कागजपत्र फिर्ता गरिनेछ । पछिल्लो समय उपत्यकामा मापदण्डभन्दा बढी धुवाँ फाल्ने गाडीको सङ्ख्या बढेकाले त्यस्ता सवारी साधनको प्रदूषण जाँच हुँदै आएको छ ।

महानगरद्वारा बालाजुको कोतःधुकु पेट्रोल पम्प सिल

काठमाडौं महानगरपालिकाले बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको छ । बिहीबार महानगरको टोलीले सो पेट्रोल पम्प सिल गरेको हो ।

मापदण्डविपरीत सञ्चालन भइरहेको कोतःधुकु पेट्रोल पम्पले असुरक्षा बढेको उजुरीपछि महानगरले सिल गरेको हो ।

सिल गर्नुअघि सो पेट्रोल पम्पको कानुनी हैसियत, मापदण्ड पालना र त्यसबाट सडक र मानिसलाई हुने असुरक्षालगायतका विषयमा महानगरले आयल निगमलाई सोधेको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  ९ : ०० बजे

सुरु भयो राप्रपा केन्द्रीय समिति बैठक, सहभागिताको विषयमा विवाद (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज

रैथाने स्वादमा आधुनिकता र तापक्रमको असर

मनाङ– पहिले जैविक खेतीपाती मात्रै हुने ठाउँ हो मनाङ ।

रास्वपा केन्द्रीय कमिटी बैठक शनिबार बस्दै, विधान पारित गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय कमिटी बैठक शनिबार बस्ने भएको

विदेशी नागरिकलाई दलालबाट जोगिन सकारको आग्रह, भन्यो : भिसा सेवा सरकारी निकायबाट मात्रै लिनू 

काठमाडौं– विभिन्न उद्देश्यले नेपाल भ्रमण गर्ने विदेशी नागरिक  तथा आम सर्वसाधारणलाई

हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

बागमती– हेटौँडा उपमहानगरपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत ६० जना श्रमिकलाई सामाजिक