ब्रेकिङ स्टोरी

सभामुखले दोहोरो भूमिका दाबी गर्न मिल्दैन : सर्वोच्च 

By खबरहब

July 27, 2023

काठमाडौँ– सर्वोच्च अदालतले प्रदेशसभा सभामुखले दोहोरो भूमिका दाबी गर्न नमिल्ने आदेश गरेको छ । 

कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले कांग्रेसका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्ति गर्नका लागि समर्थन गरेपछि परेको रिटमा फैसला गर्दै सर्वोच्चले यस्तो फैसला गरेको हो । 

कोशी प्रदेशसभा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सभामुख बाबुराम गौतमको हस्ताक्षरबाट थापालाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति असंवैधानिक दाबी गर्दै बदरको माग राखेर दायर रिटको सुनुवाइपछि दिएको पूर्ण इजलासको आदेशमा भनिएको छ, ‘सभामुखको पदमा बहाल रहेको व्यक्तिले प्रदेश सभा सदस्यको पनि हैसियत रहेको भनी छुट्टै थप वा दोहोरो भूमिकाको दाबी गर्न मिल्दैन ।’

सभामुखले कुनै पनि राजनीतिक दल वा कुनै दलका सदस्यहरूलाई समर्थन गर्न नहुने भनेर पनि सर्वोच्चको ठहर छ ।