दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

आज दिनभर प्रतिनिधिसभाका १० समितिको सभापतिमा ११ जनाको उम्मेदवारी, ललिता निवास प्रकरणमा किर्ते कसुरमा मुद्दा दायर, धार्मिक सहिष्णुता कायम राख्न गृहमन्त्री श्रेष्ठको आग्रह, गाई गोरुको हत्या गरी सार्वजनिक भोज गर्नेमाथि कारबाही गर्न मधेशी आयोगको माग, एसिया कप खेल्न सन्दीप लामिछाने सोमबार पाकिस्तान जाने, नेप्से परिसूचक ओरालोलगायतका समाचारले प्रमुख स्थान पाए ।

प्रतिनिधिसभाका १० समितिको सभापतिमा ११ जनाको उम्मेदवारी, कुन समितिमा को उम्मेदवार ?

प्रतिनिधिसभा अन्तर्गतका विभिन्न १० विषयगत समितिको सभापति पदको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ । समितिको सभापतिका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टीकातर्फबाट आज उम्मेदवारी दर्ता भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

दशमध्ये नौ समितिको सभापतिमा एकल उम्मेदवारी परेको छ भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ ।

अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राजकिशोर यादव, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमतका अब्दुल खान र रास्वपाका गणेश पराजुलीको उम्मेदवारी परेको छ ।

ललिता निवास प्रकरण : किर्ते कसुरमा मुद्दा दायर

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आज काठमाडौँ जिल्ला अदालतमा किर्ते कसुरमा मुद्दा दायर गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले गरेको अनुसन्धान प्रतिवेदनको सिफारिसका आधारमा सरकारी वकिलले उक्त कसुरमा मुद्दा दायर गरेको हो ।

सरकारी लिखत तथा दस्तखत किर्ते गरेर सरकारी जग्गा व्यक्तिको नाममा बनाएको अभियोगमा दुई सय ९० जनालाई प्रतिवादी बनाई मुद्दा दायर गरिएको छ । मुद्दा दर्ता गरिएकामध्ये ५२ जनालाई जग्गा जफत प्रयोजनमा प्रतिवादी बनाइएको छ ।

धार्मिक सहिष्णुता कायम राख्न गृहमन्त्री श्रेष्ठको आग्रह

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जातीय तथा धार्मिक सहिष्णुता कायम राख्न सबैसँग आग्रह गरेका छन् ।

प्रेस सेन्टर नेपाल पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषतायुक्त नेपालको पहिचान भएकाले विधितासहितको एकतालाई कायम राख्न सबैसँग आग्रह गरे ।

धर्म, संस्कृति र परम्परा एकअर्काको आस्था, भावना तथा परम्पराप्रति सहिष्णुतासहित सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा उभिन सबैसँग आग्रह गर्दै गृहमन्त्री श्रेष्ठले सामाजिक सद्भाव बिगार्ने र एकता भत्काउनेमाथि सरकारले संविधान तथा कानुन बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिए ।

गाई गोरुको हत्या गरी सार्वजनिक भोज गर्नेमाथि कारबाही गर्न मधेशी आयोगको माग

गाई गोरुको हत्या गर्नेमाथि कारबाही गर्न मधेशी आयोगले माग गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै आयोगले गाई गोरुको हत्या गरी सार्वजनिक भोजको आयोजना गर्नेमाथि तत्काल कारबाही गर्न माग गरेको हो ।

संविधानमा गाईलाई राष्ट्रिय जनावर उल्लेख गरिएकाले यसलाई सबै जात तथा धर्मका मानिसहरुले सम्मान गर्नुपर्ने भन्दै आयोगको जिकिर छ ।

अस्थीरता चाहने केही तत्वले देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्ने प्रयास गरे : नेता कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्ने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सुनसरीको धरानमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले अस्थीरता चाहने केही तत्वहरुले देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्ने प्रयास गरिरहेको बताएका हुन् ।

सरकारका कामलाई जनतामा स्थापित गरौँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय सरकारले गरेको कामबाट एकथरी व्यक्तिहरू विक्षिप्त भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले सरकारले गरेका राम्रा कामबाट केही व्यक्ति अत्तालिएकाले पार्टी सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेको दाबी गरे ।

नेकपा (माओवादी केन्द्र) निकट नेपाल बुद्धिजीवी संगठनको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले सरकारका काम कारबाहीलाई प्रभावकारीरूपमा अगाडि बढाउन आग्रह गरे ।

बेपत्ता छानबिन र मेलमिलाप आयोगका कार्यावधि थपसम्बन्धी आदेश पेस

राष्ट्रियसभामा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको कार्यावधि थप गर्नेसम्बन्धी आदेश पेस भएको छ । सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरूपण तथा मेलमिलाप आयोगको कार्यावधि थपसम्बन्धी मन्त्रिपरिषद्को निर्णयअनुसार आदेश पेस गरेका हुन् ।

मन्त्री गुरुङले ती आयोगबाट सम्पादन हुनुपर्ने शान्ति प्रक्रियाका काम बाँकी रहेकाले गत असार १९ गतेको निर्णयबाट आगमी पुस मसान्तसम्म कार्यावधि थप गर्ने गरी आदेश जारी भएको जानकारी गराए । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा ९२० बमोजिम बाधा अड्काउ फुकाउ आदेश जारी गरी सदनमा पेस गरेको हो ।

एक अर्ब जनसङ्ख्याका लागि पानीको स्रोत नेपाल : मन्त्री डा महत

अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायका लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताएका छन् । विश्व वातावरण कोषको सातौँ एसेम्बली बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री डा महतले दक्षिण एसियाका एक अर्ब भन्दा बढी जनसङ्ख्याको लागि पानीको स्रोत नेपाल रहेको विषयबारे विश्व समुदायको ध्यानाकर्षण गराए ।

उनले नेपालले जैविक विविधता तथा वातावरण संरक्षणमा इमान्दार प्रयास गरिरहेको उल्लेख गर्दै दुर्लभ तथा सङ्कटापन्न जङ्गली जनावर तथा प्रजातीको संरक्षण गरेको र सोको नतिजास्वरुप बाघ तथा गैँडाको सङ्ख्यामा उल्लेख्य रूपमा वृद्धि भएको बताए । वन तथा वन्यजन्य सम्पदा नेपालका लागि मात्र नभइ विश्व मानव समुदायकै साझा सम्पदाको रुपमा रहेको मन्त्री डा महतको भनाइ थियो ।

यी प्रयासका बाबजुत जलवायु परिवर्तनका दृष्टिकोणले नेपाल विश्वको १०औँ उच्च जोखिमयुक्त मुलुकमा परेको र पछिल्ला दिनमा बाढीपहिरो अतिवृष्टि सुख्खा साथै हिमताल विस्फोटको जोखिमसमेत बढेको उनले बताए ।

भ्रष्टाचारमा मुछिएका माओवादीका नेतालाई पनि अनुसन्धानको दायरामा ल्याउँछौं : प्रधानमन्त्री

प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र अनियमिततालगायतका प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउने बताएका छन् ।

कांग्रेसको रूपान्तरण अभियानका अगुवासँग आइतबार बिहान कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले अनुहार नहेरी कुनै पनि प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउने प्रतिबद्धता जनाएका हुन् ।

राष्ट्रियताको प्रवर्द्धन र लोकतन्त्रलाई बलियो बनाउनका लागि ध्यान केन्द्रित गर्नुपर्छ : अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियताको प्रवर्द्धन र लोकतन्त्रलाई बलियो बनाउनका लागि ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।

समाजवादी प्रेस संगठन नेपालको दोश्रो स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले मुलुकलाई स्थीरताका साथ अघि बढाउन परिवर्तन र रुपान्तरणका साथै राष्ट्रियताको प्रवर्द्धन र लोकतन्त्रलाई बलियो बनाउने मिशनमा अघि बढ्न आग्रह गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादनमा क्रान्ति नभएसम्म मुलुकको परिवर्तन सम्भव नरहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हरियाली प्राकृतिक कृषि अभियानले आयोजना गरेको केन्द्रीय कार्यशाला गोष्ठीको उद्घाटनमा प्रधानमन्त्री दाहालले कृषि उत्पादनमा देखिने गरी परिवर्तन गर्नुपर्ने बताए । कार्यशाला गोष्ठीमा ३४ जिल्लाबाट प्रतिनिधित्व रहेको आयोजकले जनाएको छ ।

भोलिदेखि मुद्दाको पेशी तारिख स्वचालित प्रणालीबाट : प्रधानन्यायाधीश श्रेष्ठ

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायका उपभोक्तालाई छिटो र सहजरूपमा न्याय दिने उद्देश्य सोमबारदेखि पेशी तारिखका लागि स्वचालित (अटोमेसन) प्रणाली लागू गर्ने बताएका छन् ।

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठलाई बधाई तथा शुभकामना दिन आज आयोजित कार्यक्रममा उनले भोलिदेखि उक्त प्रणाली लागू गर्न लागिएको जानकारी दिए ।

एसिया कप खेल्न सन्दीप लामिछाने सोमबार पाकिस्तान जाने

एसिया कप खेल्न राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने सोमबार पाकिस्तान जाने भएका छन् ।

लामिछाने प्रतिवादी रहेको बलात्कार मुद्दामा आइतबार पेसी तोकिएपनि हेर्न नभ्याइनेमा परेपछि उनी सोमबार पाकिस्तान प्रस्थान गर्न लागेका हुन् । उनको मुद्दामा अर्को पेसी भदौ २१ गतेका लागि तोकिएको छ ।

नेपाली क्रिकेट टिमका अन्य सदस्यहरु भने यसअघि नै पाकिस्तान पुगिसकेका छन् । एसिया कप यही भदौ १३ देखि ३१ गतेसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना हुँदैछ ।

नेप्से परिसूचक ओरालो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ ।

एक्सचेञ्जका अनुसार परिसूचक आज २० दशमलव ५४ अङ्कले ओरालो लागेर एक हजार नौ सय ९३ दशमलब ३८ कायम भएको छ । आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ४४ अङ्कले ओरालो लागेर तीन सय ८२ दशमलव ११ मा सीमित भएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ८ : ५९ बजे

आगलागी पीडितलाई राहत वितरण

कञ्चनपुर- कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ जुडाकाका आगलागी पीडित जयदेव ठगुन्नासहित

राष्ट्र बैंकको मौद्रिक नीति समीक्षा : सवारी साधनको जोखिम भार घट्यो

काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०८०-८१ को मौद्रिक नीतिको

घरजग्गा खरिदमा राष्ट्र बैंक लचिलो, आम्दानीको ७० प्रतिशतसम्म ऋण भुक्तानी सीमा

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो

कांग्रेसले समय मागेपछि सुरु हुन सकेन प्रतिनिधि सभा बैठक

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केही समय माग गरेपछि

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।  नेपाल