अन्तर्राष्ट्रिय

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

By खबरहब

October 27, 2023

आज कार्तिक १० ,२०८० या अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर २७, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको हृदयघातका कारण निधन भएको छ । सांघाइमा रहेका उनलाई गएराति अचानक हृदयघात भएको चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ । उनी केही समयदेखि सांघाइमा बस्दै आएका थिए ।

उपचारका सबै उपायहरू असफल भएपछि स्थानीय समय अनुसार गए राति १२ बजेर १० मिनेटमा उनलाई मृत घोषणा गरिएको थियो ।

चिनियाँ कम्युनिस्ट पार्टीको १७ देखि १९औँ केन्द्रीय समितिका राजनीतिक ब्युरोका स्थायी समितिका सदस्यसमेत रहेका ली सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका थिए । उनी चिनियाँ क्याबिनेटको स्टेट काउन्सिल प्रमुख थिए।

अघिल्लो वर्ष प्रधानमन्त्रीको पदबाट बाहिरिनुअघि उनी चिनियाँ कम्युनिस्ट पार्टीका सबैभन्दा दोस्रो शक्तिशाली व्यक्ति थिए । ली खछियाङ एक अर्थशास्त्रीसमेत थिए । जसले सुरुवाती दिनमा चीनको अर्थव्यवस्था सम्हाल्ने बागडोर दिइएको थियो ।

चीनद्वारा ‘स्थिर’ अमेरिकी सम्बन्धको आह्वान चीनका विदेशमन्त्री वाङ यीले बिहीबार महिनौँको अशान्तिपछि अमेरिकासँग अधिक स्थिर सम्बन्धको अपेक्षा गरेको बताएका छन् । चिनियाँ राष्ट्रपति सि जिनपिङको सम्भावित अमेरिका भ्रमणको तयारीका लागि वासिङ्टनको दुर्लभ भ्रमणका क्रममा विदेशमन्त्री वाङले सो कुरा बताएका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले एसिया–प्रशान्त आर्थिक सहयोग ९एपीईसी० शिखर सम्मेलनमा भाग लिन आफ्ना चिनियाँ समकक्षी सिलाई सान फ्रान्सिस्कोमा आमन्त्रण गरेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग भेटवार्ता गरेर भ्रमणको सुरुआत गरेका छन् । भेटमा विदेशमन्त्री ब्लिङ्केनले आफ्ना पाहुनासँग आफू ‘रचनात्मक कुराकानी’ का लागि उत्सुक रहेको बताए ।

जुन महिनामा बेइजिङको भ्रमणमा आएका ब्लिङ्केनलाई वाङले चीन ‘असमझदारी कम गर्न’ चाहेको बताएका थिए । ‘चीन सामान्य आधारको विस्तार गर्न चाहन्छ र सहयोगलाई अगाडि बढाउन चाहन्छ जसले दुवै मुलुकलाई लाभ हुनेछ । हामी अमेरिका–चीन सम्बन्धलाई स्थिर बनाउन सकौँ र त्यसलाई स्वस्थ, स्थिर र दिगो विकासको मार्गमा फर्काउन सकौँ’, उनले भने।

मतभेद अझै आउने कुरा स्वीकार गर्दै वाङले भने, ‘चीनले शान्तिपूर्वक जवाफ दिनेछ किनकी के सही हो र के गलत हो भन्ने कुरा कसको हात बलियो र आवाज उच्च छ भन्ने कुराले निर्धारण गर्दैन भन्ने हाम्रो भनाइ हो ।’

शुक्रबार वाङले ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानसँग कुराकानी गर्नेछन् । राष्ट्रपति बाइडेनसँग कुनै बैठकको घोषणा गरिएको छैन तर बेइजिङमा राष्ट्रपति सिले ब्लिङ्केनलाई भेट दिएपछि बाइडेनसँग वाङको भेटवार्ता हुने व्यापक अपेक्षा गरिएको छ ।

अमेरिकाद्वारा सिरियामा इरानी फौजले प्रयोग गर्ने दुई साइटमा आक्रमण अमेरिकी सेनाले पूर्वी सिरियामा इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कप्र्स (आईआरजीसी) र सम्बद्ध समूहले प्रयोग गर्ने दुई वटा साइटमा आक्रमण गरेको अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले बताएका छन् ।

‘अक्टोबर १७ देखि सुरु भएको इरानी समर्थित मिलिसिया समूहद्वारा इराक र सिरियामा अमेरिकी कर्मचारीहरूविरुद्ध जारी तर करिब असफल आक्रमण शृङ्खलाको प्रतिक्रियास्वरूप गरिएको यो सटिक आत्मरक्षा आक्रमण हो’, रक्षामन्त्री अस्टिनले एक विज्ञप्तिमा भने ।

आक्रमणका क्रममा एक अमेरिकी ठेकेदारको हृदयाघातबाट मृत्यु भएको र २१ अमेरिकी सैनिक सामान्य घाइते भएको तर सबै आफ्नो काममा फर्किएको उनले बताए।

अमेरिकी सैनिकहरूमाथि भएको हमलाविरुद्ध अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीलाई स्पष्टरूपमा दिएको चेतावनीपछि अमेरिकाले सिरियामा आक्रमण गरेको ह्वाइट हाउसले बिहीबार बताएको छ ।

विज्ञप्तिमा रक्षामन्त्री अस्टिनले सिरियामा आईआरसीजीले प्रयोग गर्ने साइटमाथि गरिएको आक्रमणलाई गाजामा इजराइल र हमास आतङ्कवादीबीच जारी सङ्घर्षबाट टाढा राख्न माग गरे ।

‘आत्मरक्षामा यो सङ्कुचितरूपमा तयार गरिएको आक्रमणको उद्देश्य सम्पूर्णरूपले इराक र सिरियामा अमेरिकी कर्मचारीहरूको रक्षा गर्नु थियो’, उनले भने, ‘यो आक्रमण इजराइल र हमासबीच जारी सङ्घर्षबाट भिन्न र फरक छ, साथै इजराइल–हमास सङ्घर्षप्रति हाम्रो दृष्टिकोणमा कुनै परिवर्तन आएको छैन ।’

कतारमा आठ भारतीय नागरिकलाई मृत्युदण्डको सजायबाट भारत ‘स्तब्ध’ कतारले आफ्ना आठ नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको घटनाबाट स्तब्ध भएको भारतले बताएको छ । समाचारअनुसार जासुसीको आरोपमा मृत्युदण्डको सजाय पाउनेमा उच्चपदस्थ नौसैनिक अधिकारी रहेका छन् ।

भारतीय विदेश मन्त्रालयले एक विज्ञप्तिमा “नयाँदिल्लीले कतारी अधिकारीहरूसँग निर्णय लिने’ र बन्दीहरूलाई ‘सबै कन्सुलर र कानूनी सहयोग विस्तार’ जारी राख्ने बताएको छ ।

‘कतारको अदालतले आज अल दाहरा कम्पनीका आठ भारतीय कर्मचारीसँग सम्बन्धित मामिलमा फैसला सुनाएको हामीसँग प्रारम्भिक जानकारी भएको छ’, बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी मृत्युदण्डको फैसलाबाट गहिरो स्तब्ध भएका छौँ र विस्तृत फैसलाको प्रतीक्षा गरिरहेका छौँ ।’

खाडीस्थित कम्पनी अल दाहराले एयरोस्पेस, सुरक्षा र रक्षा क्षेत्रलाई ‘पूर्ण सहयोग समाधान’ प्रदान गर्ने उक्त कम्पनीको वेबसाइटमा उल्लेख छ । कतारका अधिकारीहरूका तर्फबाट यसबारे तत्काल कुनै पुष्टि गरिएको छैन ।

भारतको विदेश मन्त्रालयले मृत्युदण्ड पाउने ती आठ व्यक्तिको कथित आरोपबारे कुनै विवरण दिएको छैन । ‘यो मुद्दा प्रक्रिया गोप्य प्रकृतिको भएकाले अहिले थप टिप्पणी गर्नु उपयुक्त हुँदैन, मन्त्रालयले सबै कानूनी विकल्पहरूको खोजी गरिरहेको छ’, विज्ञप्तिमा भनिएको छ ।

यद्यपि केही भारतीय मिडियाले सजाय पाउनेहरूमा पूर्वनौसैनिक अधिकारी भएको बताएका छन् । उनीहरूमा पूर्वक्याप्टेन र कमान्डर पनि रहेको छन् । उनीहरूलाई सन् २०२२ अगस्टमा दोहामा गिरफ्तार गरिएको थियो ।

टाइम्स अफ इन्डिया, हिन्दुस्तान टाइम्स र प्रेस ट्रस्ट अफ इन्डिया सबैले उनीहरूलाई ‘जासुसीको कथित मामिला’ मा गिरफ्तार गरिएको बताएका छन् ।

इजरायल–हमास द्वन्द्वबारे संयुक्त राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त संयुक्त राष्ट्रसङ्घले इजरायल र हमासबीचको द्वन्द्वमा दुवै पक्षबाट युद्ध अपराध भइरहेकामा चिन्ता व्यक्त गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले जबर्जस्ती स्थानान्तरण, सामूहिक सजाय र बन्धक बनाइएका घटना युद्ध शुरू भएको २१ औं दिनमा पनि जारी रहेको उल्लेख गरेको छ ।

प्रवक्ता रविना शमदासानीले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भने,’युद्ध अपराध भइरहेकामा हामी चिन्तित छौं । हामी हमासको नृशंस आक्रमणको जवाफमा गाजावासीमाथि भएको सामूहिक सजायको बारेमा चिन्तित छौं, जुन युद्ध अपराध पनि हो ।’

उनले युद्ध अपराध भएको छ कि छैन भनेर प्रमाणित गर्ने काम स्वतन्त्र अदालतको भएको बताए । इजरायली अधिकारीहरूका अनुसार गत अक्टोबर ७ मा हमासका बन्दुकधारीले गाजामा आक्रमण गरेपछि इजरायलले गाजामा भारी बमबारी गरेको छ जसमा एक हजार ४०० जनाको मृत्यु भएको छ ।

हमास शासित गाजा पट्टीको स्वास्थ्य मन्त्रालयले उक्त आक्रमणमा सात हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ, जसमा मुख्यतया सर्वसाधारण र धेरै बालबालिका रहेका छन् ।

इजरायलले गाजामा खाद्यान्न, पानी र बिजुलीको आपूर्तिमा कटौती गरेको छ । हमासले हतियार र विस्फोटक पदार्थ बनाउन प्रयोग गर्ने भन्दै इन्धनको सबै आपूर्तिमा रोक लगाएको हो ।

इजरायली सेनाले गाजा पट्टीको उत्तरी क्षेत्रमा रहेका मानिसहरूलाई ९२४ लाख जनसङ्ख्याको लगभग आधा० सङ्ख्यालाई सम्भावित स्थल आक्रमणअघि दक्षिणतर्फ जान आह्वान गरेको छ ।

अमेरिकाद्वारा युक्रेनलाई १५ करोड अमेरिकी डलरको सैन्य सहायताको घोषणा अमेरिकाले रुसविरुद्ध लड्न हतियार र उपकरण सैन्य सहायता प्याकेजअन्तर्गत युक्रेनलाई १५ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।

अमेरिकाको विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी सरकार एउटा नयाँ प्याकेजमा हतियार र उपकरणहरूको घोषणा गर्दछ जसमा हवाई रक्षा, तोपखाना, ट्याङ्क र अन्य क्षमताहरू समावेश छन् ।’

‘हतियार र उपकरणहरूको यो नयाँ प्याकेजमा हवाई रक्षा, तोपखाना, एन्टी–ट्याङ्क र अन्य क्षमताहरू समावेश छन् जसले रुसी आक्रमणहरूविरुद्ध आफ्नो क्षेत्रको रक्षा गर्ने युक्रेनको क्षमतालाई अझ बढाउने छ, युक्रेनले रुसी सेनाहरू विरुद्ध आफ्नो जवाफी हमलालाई जारी राखेको छ’, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले बिहीबार जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, ‘युक्रेनको सेनाले रुसी सेनाद्वारा कब्जा गरिएका क्षेत्रलाई पुनः प्राप्त गर्नका लागि बहादुरीपूर्वक लडिरहेको छ र यो अतिरिक्त सहयोगले उनीहरूलाई प्रगति जारी राख्न सहयोग गर्नेछ, यो प्याकेजले युक्रेनका लागि पूर्वनिर्देशित उतारचढावअन्तर्गत घोषणा गरिएको १५ करोड अमेरिकी डलरको हतियार र उपकरण प्रदान गर्दछ ।’

अमेरिकाले युद्धग्रस्त युक्रेनका लागि आफ्नो सहयोग दोहोर्याउँदै अमेरिका र उसका सहयोगी मुलुकहरूले रुसले आफ्नो सेना फिर्ता नगरेसम्म युक्रेनलाई सहयोग जारी राख्ने बताएको छ ।

‘रुसले यो युद्ध सुरु गरेको थियो र ऊ कुनै पनि समय युक्रेनबाट आफ्नो सेनालाई फिर्ता बोलाएर र आफ्नो क्रुर हमलालाई रोकेर यसलाई समाप्त गर्न सक्छ, रुसले निर्दोष मानिसलाई मारिरहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘जबसम्म यस्तो हुँदैन अमेरिका र हामीले बनाएको ५० भन्दा धेरै मुलुकहरूको गठबन्धन युक्रेनको पक्षमा उभिनेछ र हामी युक्रेनलाई उसको भविष्य सुरक्षित बनाउन सहयोग गर्नका लागि कांग्रेससँग काम जारी राख्नेछौँ ।’

अगस्ट १४ मा अमेरिकाले युक्रेनका लागि २० करोड अमेरिकी डलरको सुरक्षा सहयोग घोषणा गरेको थियो ।

इजरायलको ‘स्थल सेना’ ले गर्यो गाजामा रात्रिकालीन आक्रमण स्थल आक्रमणको तयारी गरिरहेको बेला लडाकु विमान र ड्रोनहरूको सहयोगले स्थल सेनाले पछिल्ला दिनमा गाजामा ‘लक्षित आक्रमण’ गरेको इजरायली सेनाले शुक्रबार बताएको छ ।

‘पछिल्लो दिनमा आईडीएफ लडाकू विमान र यूएभीको साथमा स्थल सेनाले मध्य गाजापट्टीमा थप लक्षित आक्रमण गरेको छ’, सेनाले एक विज्ञप्तिमा भनेको छ, ‘आईडीएफले एन्टी–ट्याङ्क मिसाइल प्रक्षेपण स्थलहरू, सैन्य कमान्ड र नियन्त्रण केन्द्रहरूका साथै हमासका आतंकवादीलगायत कयौँ आतंकवादी लक्ष्यहरू पहिचान गरी प्रहार गरेको छ, कारवाहीको अन्त्यमा सेना उक्त क्षेत्रबाट बाहिर निस्केको छ ।’

सेनाले जारी गरेको श्यामश्वेत फुटेजमा बख्तरबन्द सवारीको एउटा समूह देखिन्छ जसमा आक्रमणपछि आकाशमा धुलोको बाक्लो बादल उडेको थियो । सेनाले अघिल्लो रात पनि प्यालेस्टिनी क्षेत्रको उत्तरी भागमा ट्याङ्क र स्थल सेनामार्फत यस्तै प्रकारको स्थल अभियान सञ्चालन गरेको थियो ।

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले यसै साताको सुरुमा इजरायलले ‘स्थल आक्रमणको तयारी गरिरहेको’ दोहोर्याएपछि पछिल्लो आक्रमण भएको हो ।

इजराइली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा हमास बन्दुकधारीहरूको भीडले इजरायलमा घुसपैठ गरी एकहजार चार सय मानिसलाई मारेको थियो । मारिनेहरूमा अधिकांश सर्वसाधारण थिए । त्यस्तै हमासले दुई सय २४ भन्दा बढीलाई बन्धक बनाएको छ ।

इजरायलको जवाफी हवाई तथा तोप आक्रमणमा गाजापट्टीमा दुई हजार नौ सय १३ बालबालिकासहित कम्तीमा सात हजार २८ मानिस मारिएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्कमा उल्लेख छ ।

सन् २००५ मा प्यालेस्टिनी क्षेत्रबाट एकतर्फीरूपमा इजरायल फिर्ता भएपछि गाजामा मारिनेको सङ्ख्या यो सबैभन्दा बढी हो ।