विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

आज पुस ११ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर २७, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

आइफिल टावरको सेवा अनिश्चितकालका लागि बन्द
फ्रान्सिस्थित विश्वकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको आइफिल टावरले कर्मचारी हडतालमा उत्रिएपछि बुधबारदेखि अनिश्चितकालका लागि सेवा बन्द गरिएको छ ।

टावर हेर्नका लागि दिइँदै आएको पर्यटकीय सेवा अनिश्चतकालका लागि अवरूद्ध बनेको टावर सञ्चालक समितिले पुष्टि गरेका छ । टावर निर्माण गर्ने इन्जिनियर गुस्ताभ आइफिलको मृत्युको १०० औँ वर्ष पुगेको सन्दर्भमा टावर व्यवस्थापन सम्बन्धी कमजोरी देखाउँदै यसमा कार्यरत कर्मचारीले हडताल गरेका फ्रान्सको श्रमिक महासङ्घ (सीजीटी) ले एक विज्ञप्तिमा जनाएको छ ।

महासङ्घले टावरको अपरेटर सेटे ‘विपत्तितर्फ उन्मुख’ भएको बताइएको छ। सेटेले आगन्तुकहरूसँग माफी माग्दै बुधबारका लागि इलेक्ट्रोनिक टिकट भएका सबै आगन्तुक पर्यटकलाई ‘उनीहरूको इमेल जाँच गर्न’ भन्दै सेवा अवद्धताबारे जानकारी गराएको छ ।

पेरिसको सबैभन्दा प्रसिद्धस्थल आइफिल टावरले हरेक वर्ष करिब ७० लाख आगन्तुकहरूलाई आकर्षित गर्दछ, जसमध्ये करिब तीन चौथाइ विदेशी पर्यटक रहने गर्छन् ।

आइफिलको २७ डिसेम्बर १९२३ मा ९१ वर्षको उमेरमा निधन भएको थियो ।

इजरायल र हिजबुल्लाह विद्रोहीबीच भिडन्त
इजरायल र लेबनानको सीमामा इजरायल र इरान समर्थित हिजबुल्लाह विद्रोहीबीच भीषण भिडन्त भएको छ । सो क्षेत्रमा धेरै इजरायली हवाई हमला जारी रहेको बताइएको छ ।

इरान समर्थित हिजबुल्लाह बिद्रोहीले इजरायलका कम्तीमा आठ स्थानमा आक्रमण गरेको जनाउँदै त्यसको जिम्मेवारीसमेत लिएको छ।

भिडन्तमा इजरायली सेनाले आफ्ना ९ सैनिकहरू घाइते भएको जनाएको छ । जसमा एक जना गम्भीर घाइते भएका छन् भने उनको उपचार जारी रहेको छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार लेबनानमा नकौरालाई टायरसँग जोड्ने क्लाईलेह उपत्यकामा तीनवटा इजरायली हवाई आक्रमण भएको थियो। साथै, सीमाबाट लगभग १६ किलोमिटर दूरीमा रहेका स्थानमा पनि दुईवटा हवाई आक्रमणहरू भएका थिए।

भिडन्तको क्रममा धेरै बमबारीसमेत भएको जनाइएको छ ।

दक्षिणी थाइल्याण्डमा बाढीका कारण छ जनाको मृत्यु
दक्षिणी थाइल्यान्डमा बाढीबाट कम्तीमा छ जनाको मृत्यु र हजारौँ घरबारविहीन भएको अधिकारीहरूले बुधबार बताएका छन् ।

डिसेम्बर २२ देखि आएको बाढीले सातुन, सोङ्ख्ला, पट्टानी, याला र नाराथिवाट प्रान्तमा ७० हजारभन्दा धेरै घरमा क्षति पुगेको क्षेत्रीय अधिकारीहरूले बताएका छन् ।

नाराथिवाटमा ८९ वर्षीया महिला र एक बालकसहित छ जनाको मृत्यु भएको प्रान्तीय उपगभर्नर प्रिचा नुआलनोईले बताए । उनका अनुसार धेरै दिनको भीषण वर्षापछि अर्का एक व्यक्ति बेपत्ता भएका छन् । वर्षाका कारण बाढीको पानीको सतह केही स्थानमा करिब तीन मिटरको उचाइसम्म बढेको छ ।

स्थानीय मिडिया फुटेजमा सडक हिलो र बाढीले डुबेको तथा बासिन्दाहरूले छतमा शरण लिइरहेको तस्बिर देखाइएको छ । राहत टोलीहरूले बोतलबन्द पानी र खाजा वितरण गर्न तथा क्षति वा हताहतको जाँच गर्नका लागि रातभर काम गरेका छन् ।

थाइल्यान्डको विपद् रोकथाम तथा न्यूनीकरण विभागका अनुसार बुधबार बिहान बाढीको सतह कम भएको छ । मलेसियाको सीमामा रहेको नाराथिवाट प्रान्तमा ट्र्याक धसेका कारण केही रेल सेवा धेरै दिनसम्म बन्द भएपछि पुनः सञ्चालनमा आएको उपगभर्नर प्रिचाले बताएका छन् ।

वर्षाको मौसममा सामान्यतया समयसमयमा बाढीको प्रकोप देखिए पनि वैज्ञानिकहरूले मानवनिर्मित जलवायु परिवर्तनले वर्षालाई अझ तीव्र बनाएको बताएका छन् ।

इजरायलद्वारा आफ्ना नागरिकलाई दिल्लीमा भ्रमण नगर्न सुझाव
नयाँदिल्लीस्थित इजरायली दूतावास नजिकै मंगलबार बम विस्फोट भएपछि इजरायलको राष्ट्रिय सुरक्षा परिषद्ले भारतमा विशेषगरी नयाँदिल्लीमा आफ्ना नागरिकलाई भिडभाड हुने स्थानमा नजान सुझाव दिएको छ ।

दिल्ली प्रहरीलाई मंगलबार आएको फोनमा मङ्गलबार साँझ चाणक्यपुरी कूटनीतिक क्षेत्रमा इजरायली दूतावास नजिकै विस्फोट भएको जानकारी दिइएको थियो ।

विस्फोटपछि दूतावास नजिकै इजराइली राजदूतलाई सम्बोधन गरिएको पत्रसमेत भेटिएको थियो । दिल्ली प्रहरीले फरेन्सिक प्रमाणका लागि सान्दर्भिक प्रमाण पठाएको छ ।

भारतका लागि इजरायली उपराजदूत ओहद नकास कायनारले दूतावासका कर्मचारी र कूटनीतिज्ञहरू सुरक्षित रहेको र आफ्नो सुरक्षा दलले घटनाबारे अनुसन्धान गरिरहेको मंगलबार बताएका थिए ।

परिषद्ले इजरायलीहरूलाई बाहिरी आक्रमणबाट बच्नका लागि रेस्टुरेन्ट, होटल तथा बारसहित धेरै सार्वजनिक स्थानमा नजान तथा कार्यक्रममा भाग नलिन पनि आग्रह गरेको छ ।

इराकमा भएको विस्फोटमा दुई पर्यटकको मृत्यु
पश्चिमी इराकको मरुभूमिमा मंगलबार सडक किनारमा भएको बम विस्फोटमा परी मारिएका दुई कुवेती र साउदी पर्यटकको शव फेला परेको इराकी सेनाले बताएको छ ।

सुरक्षा मिडिया सेलले जारी गरेको विज्ञप्तिअनुसार पर्यटक भिसामा इराक प्रवेश गरेका एक साउदी र एक कुवेती अनबर, सलाहुद्दिन र निनेवेह प्रान्तमा फैलिएको विशाल मरुभूमिमा बेपत्ता भएका थिए । इराकी सुरक्षा बलले अनबर मरुभूमिमा बेपत्ता पर्यटकको खोजीमा व्यापक अभियान सञ्चालन गर्दा उनीहरूको जलेको शव फेला पारेका हुन् ।

विज्ञप्तिमा आतंकवादी समूह इस्लामिक स्टेट (आइएस) ले सडक किनारमा छोडेको पुरानो बममा उनीहरूको गाडीले ठक्कर दिँदा भएको विस्फोटबाट मृत्यु भएको आशंका गरिएको छ ।

यसैबीच अनबर प्रान्तको एक सुरक्षा स्रोतका अनुसार कुवेती र साउदी मरुभूमिमा शिकार यात्रामा रहेका थिए । उनीहरू आइएसको गतिविधिबाट पूर्णरूपमा सुरक्षित थिएनन् । सन् २०१७ मा आइएसको पराजयपछि इराकमा सुरक्षा स्थितिमा सुधार भएको छ ।

यद्यपि आइएसका केही अवशेष सहरी केन्द्र, मरुभूमि तथा उबडखाड क्षेत्रमा लुकेका छन् र उनीहरूले सुरक्षा फौज र सर्वसाधारणविरुद्ध लगातार गुरिल्ला हमला गरिरहेका छन् ।

एयर अरेबियाले काबुलमा दैनिक उडान सुरु गर्ने
एयर अरेबियाले बुधबार काबुलका लागि दैनिक उडान गर्ने घोषणा गरेको छ र यो अफगानिस्तानको राजधानी काबुलमा सेवा प्रदान गर्ने संयुक्त अरब इमिरेट्स ९युएई० को दोस्रो एयरलाइन्स बनेको छ ।

शारजाहस्थित बजेट क्यारियरले जनवरी १० देखि दिनको एक पटक काबुलबाट लगातार उडान भर्नेछ । समूहका प्रमुख कार्यकारी अधिकृत अदेल अल अलीले भने, ‘यो सेवाले यात्रुहरूलाई मूल्यमा आधारित र किफायती हवाई यात्राका साथै अन्वेषण गर्न नयाँ गन्तव्यहरू प्रदान गर्नको लागी हाम्रो निरन्तर समर्पणको प्रमाण हो ।’

सन् २०२१ मा अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएपछि गत महिना फ्लाई दुबई अफगानिस्तानमा उडान सुरु गर्ने पहिलो अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी बनेको थियो ।

सर्वसाधारणको सामूहिक उद्धारका क्रममा काबुल विमानस्थलमा भद्रगोल अवस्था बनेको थियो । विमानस्थल परिसरमा नै आत्मघाती बम विस्फोटमा १३ अमेरिकी सैनिकसहित १७० भन्दा बढीको मृत्यु भएको थियो।

काबुल विमानस्थलको पूर्ण सञ्चालनलाई अफगानिस्तानको बिग्रिएको अर्थतन्त्रलाई पुनरुत्थान गर्न महत्वपूर्ण मानिएको छ । फ्लाई दुबईबाहेक अफगानिस्तानको काम एयर र एरियाना अफगान एयरलाइन्सले काबुलबाट दुबई, मस्को, इस्लामाबाद र इस्तानबुललगायत गन्तव्यमा सीमित उडान भर्दै आएका छन् ।

गत वर्ष संयुक्त अरब इमिरेट्स ९युएई० को कम्पनी जीएएसीले अफगानिस्तानको हवाई यातायात व्यवस्थापनका लागि एक सम्झौतामा हस्ताक्षर गरेको थियो।

चालु आर्थिक वर्षमा पाकिस्तानको भुक्तानी सन्तुलनमा सुधार
पाकिस्तानले चालु आर्थिक वर्षको डिसेम्बर २० सम्म भुक्तानी सन्तुलनमा वार्षिकरूपमा पाँच अर्ब ६० करोड अमेरिकी डलरले सुधार गरेको वाणिज्य मन्त्रालयले बताएको छ ।

कार्यवाहक वाणिज्यमन्त्री गौहर इजाजलाई उद्धृत गर्दै मन्त्रालयको विज्ञप्तिमा सकारात्मक व्यापार आँकडा र माथि जाने प्रवृत्तिले पाकिस्तानको लचिलोपनलाई प्रतिबिम्बित गरेको उल्लेख छ ।

‘हामी आफ्ना निर्यातलाई सक्षम बनाउने र निर्यातका लागि नयाँ गन्तव्य खोज्ने दिशामा काम जारी राख्नेछौँ’, मन्त्री इजाजले भने ।

यसै आर्थिक वर्षको डिसेम्बर २० सम्ममा पाकिस्तानको निर्यात बढेर १४ अर्ब डलर पुगेको विज्ञप्तिमा उल्लेख छ । यसले वार्षिकरूपमा ७० करोड ९० लाख डलरले सुधार भएको देखाएको छ ।

उत्तर कोरियाली गुप्तचर प्रमुखमाथि दक्षिण कोरियाले लगायो प्रतिबन्ध

प्योङयाङले हालै अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेपछि दक्षिण कोरियाले अवैध साइबर गतिविधिलाई लिएर उत्तर कोरियाको गुप्तचर निकायका प्रमुखमाथि प्रतिबन्ध लगाएको सोलको विदेश मन्त्रालयले बुधबार बताएको छ ।

प्योङयाङ उसको आणविक बम तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमका लागि पहिलेदेखि नै अन्तर्राष्ट्रिय दबाबमा छ । उत्तर कोरियाली नेता किम जोङको नेतृत्वमा आणविक बम तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रममा प्योङयाङले तीव्र गतिमा प्रगति गरेको छ ।

सोल, टोक्यो र वासिङ्टनले उत्तर कोरियाको साइबर अपराध, क्रिप्टोकरेन्सी र मनी लन्ड्रिङ गतिविधिलाई सम्बोधन गर्न उपायहरू समावेश गर्ने तीनतर्फी पहल सुरु गरेको सातापछि यस्तो घोषणा आएको हो । साइबर अपराध, क्रिप्टोकरेन्सी र मनी लन्ड्रिङबाट उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र कार्यक्रमहरूमा कोष उपलब्ध गराउने विश्वास गरिन्छ ।

रीलाई उत्तर कोरियाली ह्याकिङ समूह किमसुकी, लाजरस र एन्डारियलको मूल संगठनका प्रमुख भएको विश्वास गरिन्छ । ती समूहमाथि सोलले पहिलादेखि नै प्रतिबन्ध लगाएको छ ।

रीसँगै सोलले ‘उत्तर कोरियाका लागि आणविक(सम्बन्धित खनिज र संयुक्त राष्ट्रसङ्घद्वारा स्वीकृत सामग्री लिथियम(६ को व्यापार’ मा संलग्न भएको भन्दै पूर्वकूटनीतिज्ञ युन चोलसहित अन्य सात उत्तर कोरियालीमाथि प्रतिबन्ध लगाएको छ ।

कालो सूचीमा परेका व्यक्तिहरूलाई सोलको पूर्वअनुमति बिना दक्षिण कोरियाली नागरिकसँग विदेशी मुद्रा र वित्तीय कारोबार गर्न रोक लगाइएको छ । विश्लेषकहरूका अनुसार यी कदम दुवै मुलुकबीच अत्यन्त सीमित व्यापारलाई ध्यानमा राखेर मुख्यरूपमा प्रतीकात्मक हुन् ।

सोलले अहिले गत वर्ष अक्टोबरमा प्योङयाङको हतियार कार्यक्रमसँग सम्बन्धित ८३ व्यक्ति र ५३ संस्थालाई कालो सूचीमा राखेको सोलको विदेश मन्त्रालयले जनाएको छ ।

उत्तर कोरियाले हालै उसको आणविक तथा सैन्य धम्कीहरूलाई बढाएको छ । उसले नोभेम्बरमा एउटा जासुसी उपग्रहको सफलतापूर्वक प्रक्षेपण गरेको छ भने यसै महिना सबैभन्दा उन्नत आइसिबिएमको परीक्षण गरेको छ । उत्तर कोरियाली नेता किमले गत साता आणविक कार्यक्रमलाई ‘उक्साएको’ खण्डमा प्योङयाङ आणविक हमला गर्न नहिचकिचाउने बताएका थिए ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ८ : ०१ बजे

गगनलाई रविको प्रश्न : सहकारीमा ऋण मागेको प्रमाणित नभए राजनीति छोड्न तयार हो ?

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कांग्रेस महामन्त्री गगन थापालाई आफूले

गाजामा युद्ध रोक्ने अन्तर्राष्ट्रिय दबाब इजराइलद्वारा अस्वीकार

तेल अभिव – गाजामा युद्ध रोक्ने अन्तर्राष्ट्रिय दबाबलाई अस्वीकार गर्दै

नायक अनमोल केसीको आत्मसमीक्षा : मेरो प्रतिस्पर्धा भुवन केसीसँग हो

काठमाडौं – अनमोल केसी नेपाली फिल्मका सफल र महँगा नायकमध्ये

आजका समाचार : संसद्‌ बैठक स्थगितदेखि कोशीमा सरकार विरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

कांग्रेसले निरन्तर सदन अवरोध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित नेपाली

बैतडीको पाटनमा भारतको सहयोगमा बन्न लागेको विद्यालय भवन शिलान्यास

बैतडी- बैतडीको पाटन नगरपालिकामा भारत सरकारको आर्थिक सहयोगमा विद्यालय भवनको