अहिले माओवादी पार्टी वैचारिक रुपमा कहाँनेर अल्मलिराखेको छ ? उसले वैचारिक बाटो पत्ता लगाउनुपर्छ भन्ने कुरा गरिराखेको छ । तर, अहिलेको प्रणालीमा जतिसुकै राम्रो गरे पनि, जतिसुकै असल मान्छेलाई प्रधानमन्त्री बनाइदिए पनि, राष्ट्रपति बनाइदिए पनि धेरै राम्रो परिणाम आउँदैन । एउटा असल नियत भएको नैतिकवान मान्छेले अलिकति फरक पार्न त सक्छ, तर धेरै ठूलो कायापलट गर्न सक्दैन ।
कायापलट कतिबेला हुन्छ ? जस्तो– अहिलेको शिक्षा प्रणालीमै परिवर्तन गर्नुपर्छ । शिक्षामा केही प्राविधिक पक्ष, केही शिक्षकहरु त थप्न सकिएला, तर शिक्षामा गुणात्मकरुपले परिवर्तन ल्याउनका निम्ति हामीले शिक्षाको प्रणाली र शिक्षासम्बन्धी सोचलाई नै फेर्नुपर्ने हुन्छ । त्यसैले अहिलेको अर्थराजनीति र संस्कृतिमा पनि पुरानोलाई प्रतिस्थापन गरेर नयाँ ल्याउने ढंगले अभियान चलायौं भने बल्ल त्यसले सफलता दिन्छ ।
अहिले राजनीतिक पार्टीहरुको असफलता कहाँ छ त भन्दा राजनीतिक पार्टीहरु यही संविधान, यही गणतन्त्र, संघीयता र अहिले भइरहेको धर्म निरपेक्षतालाई बचाउने कुरा गरिराखेका छन् । यसलाई विकसित तुल्याएर मात्रै अगाडि जान सकिन्छ ।
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता लागु नै भएन
जस्तो-गणतन्त्र । अहिले गणतन्त्र कहाँ लागुभएको छ ? गणतन्त्रको घोषणा भयो, तर शिक्षा व्यवस्थामा गणतन्त्र लागु भयो ? हाम्रो समाज व्यवस्थामा गणतन्त्र लागु भयो ? हाम्रो कम्युनिटीभित्र गणतन्त्र लागु भएको छ ? हाम्रो परिवारमा गणतन्त्र आइपुगेको छ ? गणतन्त्र तपाईले लागू नै नगरेपछि त कमजोर भयो नि । समाज त स्थिरत त बस्दैन । जब, हामी प्रगतिशील विकल्पतिर जान सक्दैनौं, प्रतिगामीहरु अगाडि आउँछन् । त्यसैले, अहिलेको प्रगतिशील विकल्प भनेको गणतन्त्रलाई लागू गर्नु हो ।
नयाँ दलहरु आक्रामक ढंगले फुटबल खेलिराखेका छन्, गोलपोष्ट छैन ।
म फेरि जोड दिएर भन्छु- नेपालको राजनीतिमा अहिले हावी भएका जुन पदावलीहरु छन्, धर्म निरपेक्षता, संघीयता, समावेशी प्रजातन्त्र, गणतन्त्र, यी राजनीतिक पदावलीहरुको अन्तर्वस्तु के हो ? संघीयता लागू भएको छ त ?
एकछिनका लागि मान्नोस् अहिले एक नम्बर प्रदेशमा मोरङको सिडियोले मुख्यमन्त्रीलाई गिरफ्तार गर्ने भनेर वारेन्ट काट्यो भने के हुन्छ ? किनभने, त्यहाँ पुलिस खटाउने, वारेन्ट काट्ने अधिकार त सिडियोलाई छ ।
मुख्यमन्त्रीलाई गिरफ्तार गर्यो भने के हुन्छ ? मुख्यमन्त्रीसँग त आफ्नो कर्मचारीतन्त्र नै छैन । आफ्नो पुलिस नै छैन । आफ्नो लोकसेवा नै छैन । आफ्नो शिक्षा नै छैन । त्यसकारण संघीयता त लागू भएकै छैन । संघीयता लागु गर्ने प्रयास गर्नुपर्यो । धर्म निरपेक्षता लागू गर्ने प्रयास गर्नुपर्यो ।
धर्म निरपेक्षता भनेको सबभन्दा महत्वपूर्ण चिज हो । धर्म निरपेक्षता भनेको राज्य विश्वासको पछाडि जाँदैन, राज्य तथ्यको पछाडि जान्छ भन्ने हो । अर्थात् राज्यले कुनै विश्वासलाई टेवा पनि दिँदैन, समर्थन पनि गर्दैन, शीर पनि झुकाउँदैन ।
चाहे त्यो इस्लाम धर्म होस्, चाहे क्रिश्चियन धर्म होस्, चाहे हिन्दु धर्म होस् । चाहे झाँक्री धर्म होस् या केही प्रथाहरु हुन् । मान्छेले धर्म मान्छ, व्यक्तिसँग आस्था हुन्छ तर राज्यले विज्ञानलाई मात्रै मान्छ । राज्यले तथ्यलाई मात्रै मान्छ । यो हो धर्मनिरपेक्षता ।
जस्तो-शिक्षामा पाठ्यक्रम फेरिदिनुपर्यो । पाठ्यक्रममा देखिनुपर्यो देशमा पञ्चायती व्यवस्था थियो, देशमा राणाकाल थियो । यो देशमा गणतन्त्रका निम्ति मानिसहरु शहीद भए, यहाँ जनआन्दोलन भयो । यहाँ लाखौं नेपालीहरु सडकमा ओर्लिएका थिए भन्ने कुरा आउनुपर्यो ।
यहाँ कैयौं मानिसहरुले जेलको चिसो छिँडीमा रात बिताए भन्ने कुरा कहीँ न कहीँ लेखाइमा आउनुपर्यो नि त । कहीँ न कहीँ त संस्थागत हुन पाउनुपर्यो नि । यो कहीँ देखिन्छ ? एक कक्षादेखि एमएसम्म पढ्दा कसैलाई थाहा हुन्छ ? कि, नेपालमा यसरी त्याग तपस्या गरियो, मानिसहरु सहिद भए ।
नेपालका राजनीतिक पार्टीहरु पुराना नयाँ, जोसुकै हुन्, तिनीहरुले इमान्दारितापूर्वक यो राजनीतिलाई लागु गर्ने कोशिस गर्नुपर्छ । पार्टीहरुले आक्रामक कार्यक्रम बनाएर यी कुराहरु लागु गर्नुपर्छ ।
सरकारमा जो होस्, तर नीति के छ ? त्यसलाई पथप्रदर्शन केले गरेको छ ? तपाई १५-२० वर्षयताका सरकारको नीति र कार्यक्रम हेर्नुहोस्, अंक घटबढ होला, शासकहरु जहाँ छन्, त्यहाँ प्राथमिकता भएर बजेट बढी गएको होला, तर एउटै ढर्रा छ, एउटै ढाँचा छ । जुन दिन यो नीति र कार्यक्रम पहिलाका सबै चिजलाई बिर्सेर नयाँ बनाउने सोच आउँछ, त्यसपछि चाहिँ परिवर्तन देखा पर्न थाल्छ ।
अहिले जुन शासन व्यवस्था हावी छ, यसको विकल्प चाहिएको छ । प्रगतिशील, जनमैत्री, अझ भनौं यो पृथ्वीमैत्री विकल्प चाहिएको छ ।
नयाँ दलसँग गोलपोष्ट छैन
नयाँ दलहरु आक्रामक तरिकाले त आएका छन्, तर कस्तो छ भने आक्रामक ढंगले फुटबल खेलिराखेका छन्, गोलपोष्ट छैन । कहाँ छिराउँदाखेरि गोल लाग्ने हो भन्ने छैन ।
राजनीतिक पार्टीहरुसँग पहिला त राजनीतिक लक्ष चाहियो क्या । राजनीतिक लक्ष निर्धारण गर्नुपर्यो । यिनीहरुसँग लक्ष नै छैन । पुरानाको विरोध गर्ने हदसम्म ठीक छ । यो कुरा जनताले मन पराएजस्तो देखिन्छ ।
त्यसैका आधारमा पनि भोट दिए । तर, गर्ने के त ? पुरानाले गर्न नसक्नुको कारण पहिल्याउनुपर्यो, पत्ता लगाउनुपर्यो । अनि आफू त्यसबाट मुक्त भएर अगाडि बढ्नुपर्यो ।
माओवादीको भविष्यबारे
म ८४-८५ कुनै मिति भन्दिनँ । मुख्य कुरा नेपालमा अस्थित्वमा भएका सबै राजनीतिक पार्टीहरु जिवन्त चिजहरु हुन् । कुनै यति सालमा जन्मिए, यति सालमा मर्छन् भन्ने हुँदैन । यसको स्थायित्व केही पनि छैन । जुन राजनीतिक पार्टीले आफूलाई बेला-बेलामा विघटन गर्न सक्दैन, त्यो पार्टीले नयाँ जीवन पाउन सक्दैन । माओवादी पनि त्यही हो । माओवादीले पनि आफूलाई विघटन गर्न सकेन ।
जस्तो- महाधिवशेन भयो भने सम्पूर्ण कमिटीहरु विघटन गर्दिनुपर्यो । एउटा न्युक्लियसजस्तो बनाएर पूर्णरुपमा विघटन गर्दिनुपर्यो । तलैबाट कार्यकर्ताले चुनाव गर्दै आउनुपर्यो । अरु कुनै चिजको भूमिका हैन, क्षमता, योग्यताका आधारमा चुनाव हुँदै आएर महाधिवेशनमा यो भन्न नसकियोस् कि को महामन्त्री बन्छ, को अध्यक्ष बन्छ ।
जब कसैको महाधिवेशन सम्मेलन हुँदैछ, अध्यक्ष त्यही हुने हो, महासचिव त्यसैलाई बनाउने हो भनेर पत्रकारले यदि अड्कल गर्न सक्नुहुन्छ भने त्यो महाधिवेशन नै होइन । त्यो सम्मेलन नै होइन । त्यो त भन्न नसक्ने हुनुपर्यो । पुरानो विघटन हुनुपर्यो, तोडिनुपर्यो ।
जस्तो- सर्पले बेलाबेलामा काँचुली फेर्छ । आफ्नो पुरानो छाला फ्याँकिदिन्छ । कतिपय प्रजातिका चराहरुले आफ्नो चुच्चो, पखेटाहरु भत्काउँछन् र नयाँ पखेटा आउँछ, नयाँ चुच्चो पलाउँछ ।
यस्तै राजनीतिक पार्टीहरुले पनि आफूलाई विघटन गर्न सक्नुपर्छ र पुनर्निर्माण गर्न सक्नुपर्छ । त्यो गर्न नसक्दा नै अहिलेको हविगत भएको हो । अहिलेसम्म यो परिपाटी नै देखिएन । अहिले जो नयाँ पार्टीहरु बनिराखेका छन्, उनीहरुले पनि गठन गराइ र काम गराइचाहिँ पुरानै पार्टीकै अनुकरण गरेजस्तो देखिन्छ ।
माओवादीको सम्पत्ति भनेको इतिहासको धरोहर हो । यो हजारौं शहीदहरुको पार्टी हो । हजारौं मानिस बेपत्ता भएको पार्टी । लाखौं परिवार विघटन भएको । यो माओवादी आन्दोलनमा जोडिएर दुःख पाएका मान्छेहरु मात्रैले पनि पार्टी ठीक छ भन्दिए भने माओवादी पार्टी धेरै बलियो र सशक्त भएर आइहाल्छ । त्यो आएन भने हाम्रो पार्टी तल गएको गयै छ ।
बाहिरका मानिसलाई भन्दा पनि ती परिवारभित्रका मानिसहरुलाई आशा जगाउन मात्रै पार्टीले सक्यो भने पार्टी बलियो हुन्छ । त्यस्ता करिब ३ लाख परिवार माओवादीसँग जोडिएका छन् । तीन लाख परिवारमा पार्टी अबचाहिँ ठीक ठाउँमा आयो, पार्टीले अब केही गर्छ भन्ने विश्वास पलाएका दिन पार्टी अगाडि बढ्छ ।
जब वैचारिकरुपमा अगाडि बढ्न सकिँदैन, चेतनाले जब गाइड गर्न छोड्छ नि, त्यसपछि अलमल शुरु हुन्छ । जस्तो- पहिला हाम्रा धेरै साथीहरुमाथि गुनासो के थियो भने उनीहरुले परिवारलाई हेर्दै हेर्दैनन् । अहिले पत्रकारहरुले माओवादीमा परिवारमोह बढी भयो भनेर प्रश्न गरिरहनुभएको छ । भनेपछि हामीमा कत्रो ठूलो परिवर्तन आएछ त ?
परिवारप्रति प्रेम हुनु त राम्रो कुरा हो । तर, त्यो प्रेमका निम्ति नाजायज कुरा गर्नु चाहिँ खराब हो । हिजो हामीले किन परिवारको वास्ता नगरेको देखिन्थ्यो त भन्दा हामीलाई विचारले डोर्याइराखेको थियो । हामीले विचारलाई नै सबैभन्दा ठूलो चिज मान्थ्यौं । विचारको बलियो आड नभएपछि अब लठ्ठी त टेक्नुपर्यो ।
जस्तो-एउटा बिरामीले लठ्ठी टेक्छ नि । अब हामीले धनको लठ्ठी, परिवारको लठ्ठी, मावलीको लठ्ठी, सुसरालीको लठ्ठी टेक्नुपर्ने अवस्थामा त्यहीबेला पुगिन्छ, जब तपाईलाई बलियो विचारले साथ दिँदैन । त्यसैले माओवादी पनि र अरु पार्टीहरुमा पनि अहिलेको सामुहिक जटिलतालाई चिरेर अगाडि बढ्न विचारकै अभाव भएको हो ।
विचारमा जब कुहिरो लाग्छ, त्यसपछि कहिले घारीमा पुगिन्छ, कहिले पहाडमा ठोक्किन्छ । कहिले कहाँ पुगिन्छ । पार्टीमा थुप्रै कमी कमजोरी आएका छन् । कोही जेल गइराखेका छन्, कोहीलाई मुद्दा चलिराखेको छ । यो त देखिइराखिएको छ ।
म फेरि पनि भन्छु माओवादीले यी कुरालाई आत्मसात गरेर नयाँ विचारलाई जन्माउने ढंगले अभ्यास गर्यो भने भविष्य छ, नत्र भने इतिहासमा धेरै रिक्तता रहँदैन ।
जस्तो– अहिलेसम्म नेपालमा मजदुर किसानको पार्टी कुन हो त, सुकुम्बासीको पार्टी कुन हो भन्दा माओवादी भन्ने भाष्य निर्माण भएको थियो । विस्तारै सुकुम्बासीलाई, मजदुर किसानलाई लाग्न थाल्छ कि माओवादीले हाम्रो हित गर्दैन भन्ने लागेपछि उनीहरुले आफ्नो पार्टी बनाउँछन् । मजदुर, किसान, सुकुम्बासीको हित म गर्छु भनेर कोही न कोही आइहाल्छ ।
म फेरि पनि भन्छु माओवादीले यी कुरालाई आत्मसात गरेर नयाँ विचारलाई जन्माउने ढंगले अभ्यास गर्यो भने भविश्य छ, नत्र भने इतिहासमा धेरै रिक्तता रहँदैन ।
मेरो कुरा पार्टीमा लागु भएन, गुट चलाउन चाहिनँ
हामीले पार्टीमा कुरा उठाउँछौं, दस्तावेज नै लेखेर दिन्छौं । तर ठा–ठाडै बाझ्ने काम गरिँदैन । अर्को कुरो, अधिकांशले यसलाई वास्ता नगरेपछि त के गर्ने । जस्तो– महाधिवेशनमा कसैको मत आएन । कसैले नयाँ विचार ल्याएन ।
यदि कुनै युवाले पार्टीलाई सही विचारले नेतृत्व गर्ने गरी अगाडि आउँछ भने म उसलाई नेता मान्न तयार छु । तर, ऊ वैचारिक हतियारसहितको नेता हुनुपर्छ, निहत्था चाहिँ होइन । मुख्यतः नयाँ विचारले नयाँ नेता खोज्छ । अहिलेको कार्यदिशा, अहिलेको जो सिस्टम छ, अहिलेको यथास्थितिलाई किन चाहियो र नयाँ नेता ? यसरी नै चलिरहनका लागि त नयाँ नेता चाहिँदैन ।
मेरो कुरा पार्टीमा लागु भएन । अहिलेको राजनीतिमा गुट चलाउन धेरै महंगो छ । त्यसका लागि पैसा चाहिन्छ । पैसाका निम्ति विभिन्न ठाउँमा सम्झौता गर्नुपर्छ । म त्यो गर्दिनँ । गुटले फुटतिर लान्छ । विचारले चाहिँ पार्टीलाई नयाँ जीवन दिन्छ ।
पृथ्वी गोलो छ भन्ने सावित हुनका निम्ति सयौं वर्ष लाग्यो । शुरुमा पृथ्वी गोलो छ भन्ने मान्छेले सजायँ पाए । म पनि किन राजनीतिमा छु भन्दा मेरो कुरा लागु होला । मैले अहिले जुन किताव लेखें, मेरा साथीहरुका लागि लेखेकै होइन, उहाँका छोराछोरीका लागि लेखेको । यो देशका कुना कुनामा बस्ने युवाहरुले यो कितावलाई पढिदिए र यसमाथि विवेचना गरिदिए भने मलाई सन्तोष हुनेछ भनेको छु मैले ।
मैले महाधिवशेनमै दस्तावेज पेश गरेको थिएँ । तर त्यो दस्तावेज नेपालका सबै पत्रिकाले छापे, कमेन्ट कसैले गरेनन् । ठीक हो कि, बेठिक हो कि, दुई शब्द कसैले लेखेन । महाधिवेशनको हलमा आउनेले पनि केही भनेनन् । भनेपछि यति सम्वेदनहीन छ मेरो समाज । मेरा आफन्तहरु । अनि म के गर्न सक्छु र !
यो पत्रकार जगतले पनि कम से कम यो गलत छ त भन्न सक्थे । त्यो पनि कसैले भनेन । यसमा उपयोगी, राम्रो कुरा छ भने, त्यो पनि कसैले भनेन । छापियो ढ्याप–ढ्याप । हुलाकमा चिठी आयो, जस्तोको त्यस्तै लगेर दियोजस्तो मात्र भयो । अब के गर्ने त ? मेरो समाजले मेरा कुराहरु अहिले सुनिराखेको छैन । मेरो कुरालाई मानिराखेको छैन । तर, अ अर्को कितावको तयारी गरिराखेको छु ।
मैले विकल्प शीर्षकको पुस्तक लेखें । यो केही सामयिक र केहीचाहिँ सैद्धान्तिक, वैचारिक विषयहरुसँग सम्बन्धित छ । जहिले पनि पोलिटिकल आइडियोलोजीमा सामयिक विषयलाई ध्यान दिनैपर्छ ।
सामयिक र विशिष्टतालाई । स्थानविशेष, देशविशेष, समयविशेषलाई पनि ध्यान दिनुपर्यो । त्यही प्रयत्न यो पुस्तकभित्र भएको छ । शीर्षकमा विकल्प भनेको चाहिँ अहिले जुन शासन व्यवस्था हावी छ, अहिले जुन अर्थ राजनीतिक कायम छ र जुन प्रकारको संस्कृतिको वर्चश्व यहाँ छ, त्यसको विकल्प चाहिएको छ । प्रगतिशील, जनमैत्री, अझ भनौं यो पृथ्वीमैत्री विकल्प चाहिएको छ ।
(नेकपा माओवादी केन्द्रका नेता कार्कीसँग खबरहबका लागि ज्ञानु घिमिरेले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया