लाल सागरमा जहाजमाथि हुथी आक्रमण : विश्व व्यापारमै जोखिम | Khabarhub Khabarhub

लाल सागरमा जहाजमाथि हुथी आक्रमण : विश्व व्यापारमै जोखिम



यमनका हुथी विद्रोहीले लाल सागरमा व्यवसायिक पानीजहाजलाई लक्षित गरी आक्रमण गर्न थालेपछि विश्वव्यापी व्यापार र पारवहनमा चुनौती थपिएको छ । गत अक्टोबर ७ मा इजरायल र हमासबीच युद्ध सुरु भएदेखि हुथी समूहले इजरायललाई लक्षित गरी बारम्बार आक्रमण गर्दै आएको छ ।

गत नोभेम्बर १९ मा हुथी समूहले हेलिकोप्टर र साना हतियारको प्रयोग गरी एउटा व्यवसायिक जहाजलाई नियन्त्रणमा लिएको थियो । इजरायली स्वामित्वमा रहेको भन्दै उक्त पानीजहाज नियन्त्रणमा लिइएको हुथी विद्रोहीको दाबी थियो । त्यसयता हुथी विद्रोहीले ड्रोन, क्षेप्यास्त्र र साना डुङ्गाको प्रयोग गरी दर्जनौँ जहाजमाथि आक्रमण गर्दै आएका छन् ।

हुथी विद्रोही प्यालेस्टाइनमा जारी इजरायली आक्रमणको बदला लिन इजरायलसँग सम्बन्धित पानीजहाजलाई लक्षित गरी आक्रमण गरेको बताउँदै आएका छन् । तर, हुथीको निशानामा अरु देशका जहाज पनि पर्दै आएका छन् । यसबाट विश्व व्यापारका लागि निकै महत्वपूर्ण मानिने लाल सागरको समुद्री सुरक्षामा नै चुनौती थपिएको छ ।

हुथीको आक्रमणसँगै एकातर्फ लाल सागरमा समुद्री बीमा शुल्क ह्वात्तै बढेर गएको छ भने अर्कोतर्फ विश्वका ठूला पारवहन कम्पनीहरुले आफ्नो जहाजलाई लाल सागरको बाटो नलैजाने घोषणा गरिसकेका छन् । यसबाट पारवहन खर्च बढ्न गई विश्वभर नै उपभोग्य वस्तुको मूल्य बढ्ने आकलन गरिएको छ ।

लाल सागरको भूरणनीतिक महत्व

अरब प्रायद्विपको पश्चिमी सीमामा अवस्थित लाल सागरलाई विश्व व्यापारका लागि निकै महत्वपूर्ण मानिन्छ । प्राचीन मिश्र, त्यसपछि रोमन र सो क्षेत्रमा विभिन्न कालखण्डमा शासन गरेका मुसलमानहरुले भारतसँग व्यापार गर्न लाल सागरको प्रयोग गर्दै आएको इतिहासमा पढ्न पाइन्छ ।

सन् १८६९ मा स्वेज नहरको निर्माण सम्पन्न भएसँगै लाल सागर एसियालाई युरोपसँग जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग बन्न पुग्यो । युरोपेली र एसियाली मुलुकले व्यापार गर्ने सबैभन्दा छोटो मार्ग भएकाले भूरणनीतिक रुपमा पनि यसलाई अत्यन्त महत्वपूर्ण मानिन्छ ।
हरेक महिना यस मार्ग हुँदै ३० लाख कन्टेनर बोकेर २ सयभन्दा धेरै जहाज ओहोर दोहोर गर्दै आएको अल जजीराले उल्लेख गरेको छ ।

रोयटर्सका अनुसार यस क्षेत्र भएर ओहोर दोहोर गर्ने जहाजले विश्व व्यापारको १२ प्रतिशत हिस्सा ओगट्छ । त्यसबाहेक तेल आपूर्तिका लागि पनि यो मार्ग धेरै महत्वपूर्ण छ । खाडीमा अवस्थित तेल उत्पादक देशहरुले युरोपमा अवस्थित तेल उपभोक्ता देशहरुसँग व्यापार गर्नका लागि पनि यस मार्गको प्रयोग गर्छन् । युक्रेनमा रुसले आक्रमण गरेसँगै पछिल्ला वर्षहरुमा रुसी तेल र ग्यासको आपूर्तिमा कटौती गरेका युरोपेली देशहरुका लागि यो मार्गको महत्व झन् बढेर गएको छ ।

उत्तरमा स्वेजको खाडी र स्वेज नहरले लाल सागरलाई भूमध्य सागरसँग जोड्दछ भने उत्तरपूर्वतर्फ लाल सागरको सीमामा अक्बाको खाडी पर्छ । यही अक्बाको खाडीले जोर्डन र इजरायलको एलियट बन्दरगाह सहरलाई छुन्छ । लाल सागरको सीमा पूर्वमा साउदी अरब पर्छ भने पश्चिममा इरेट्रिया, जिबौटी, सुडान र इजिप्ट पर्छन् । दक्षिणमा बाब अल मण्डिब भनिने साँघुरो जलक्षेत्रले लाल सागरलाई आदेनको खाडी र अरब सागरलाई जोड्दछ ।

त्यसैगरी, लाल सागरको दक्षिणपूर्वमा यमन पर्छ । बाब अल मण्डिब त्यस्तो स्थान हो, जसको पश्चिममा सोमालिया, जिबौटी र इरेट्रिया पर्छन् भने पूर्वमा यमन पर्छ । उत्तरमा लाल सागर र दक्षिणमा आदेनको खाडीलाई छुने यस साँघुरो जलक्षेत्रको चौडाइ केबल २९ किलोमिटर छ । यही संवेदनशील र भूरणनीतिक जलक्षेत्रको फाइदा उठाउँदै हुथीले जहाजलाई लक्षित गरी आक्रमण गर्दै आएका छन् ।

हुथी समूह

हामीले बारम्बार समाचारमा हुथी समूहका बारेमा सुन्दै र पढ्दै आएका छौँ । खासगरी सन् २०१४ मा यमनमा सुरु भएको गृहयुद्धयता समाचारमा यो समूहको नाम बारम्बार आउने गरेको छ । आखिर को हुन् त यमनका हुथी विद्रोही र यो समूहले किन लाल सागरमा ओहोर दोहोर गर्ने जहाजमाथि आक्रमण गरिरहेको छ ?

सुन्नीबहुल यमनको सादा प्रान्तमा तत्कालीन राष्ट्रपति अली अब्दुल्लाह सालेहको शासनविरुद्ध सन् ९० को दशकमा शिया धार्मिक नेता हुसैन अल हुथीले अन्सर अल्लाह (ईश्वरका समर्थक) समूहको स्थापना गरेका थिए । यही समूहलाई बोलिचालीको भाषामा हुथी भनेर चिनिन्छ । यो समूह अमेरिका, यहूदी, इजरायल र मध्यपूर्वमा रहेका सुन्नी शासन भएका मुलुकको कट्टर दुश्मन मानिन्छ ।

अरब जगतमा सुरु भएको आन्दोलनबाट सन् २०१२ मा सालेह सत्ताच्युत भएसँगै यमनमा उत्पन्न शक्ति शून्यताको फाइदा उठाएर सन् २०१४ मा हुथी समूहले सैन्य अभियान सञ्चालन गर्‍यो । तीव्र गतिमा मुख्य सहरतर्फ अघि बढेको शिया सम्प्रदायको हुथी समूहले सन् २०१५ मा राजधानी साना कब्जा गरेपछि सुन्नी अधिराज्य साउदी नेतृत्वको अरब गठबन्धनले यमनी गृहयुद्धमा हात हाल्यो र हुथीविरुद्ध आक्रमण थाल्यो । बीबीसीका अनुसार सन् २०२२ सम्म यमनी युद्धमा परी ३ लाख ७७ हजार जनाभन्दा धेरैले ज्यान गुमाइसकेको संयुक्त राष्ट्रसंघको अनुमान छ ।

हुथी समूहले आफूलाई ‘इस्लामिक प्रतिरोध समूह’ अर्थात् इस्लामिक रेजिस्ट्यान्सको सदस्य बताउने गरेको छ । इरानको नेतृत्वमा रहेको यो समूहमा हुथी र इरानसँगै सिरियाली सरकार, प्यालेस्टाइनका हमास र इस्लामिक जिहाद, लेबनानको हेज्बोल्लाह र इराकमा सक्रिय इरानसमर्थित लडाकु समूहहरु रहेका छन् ।

पश्चिमी यमनको विशाल भूभागमा कब्जा जमाएको हुथी समूहसँग लामो दूरीसम्म मार हान्न सक्ने अत्याधुनिक ब्यालेस्टिक क्षेप्यास्त्र, मानवरहित हवाइ उपकरण (ड्रोन) र अन्य हतियारहरु, तालिमप्राप्त चुस्त लडाकु दस्ता र ठूलो आक्रमणको योजना बनाउनसक्ने क्षमता रहेको ठानिन्छ ।

इरान र लेबनानको हेज्बोल्लाह समूहले हुथी समूहलाई हतियार उत्पादन र लडाकुलाई तालिम दिने गरेको बताइन्छ । सुन्नीबहुल साउदी अरब र भूरणनीतिक रुपमा महत्वपूर्ण लाल सागर नजिकै यमनमा आफ्नो प्रभाव विस्तार गर्न इरानले यस समूहलाई हतियार, पैसा र अरु सैन्य सहयोग गर्ने गरेको दाबी गरिन्छ । पछिल्लो समय लाल सागरमा जहाजमाथि हुथी समूहले गर्दै आएको आक्रमणको योजना पनि इरानकै सहयोगमा बनाएको बताइन्छ ।

बीबीसीका अनुसार अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता एड्रिएन वाट्सनले लाल सागरमा हुथीले गरिरहेको आक्रमणको मुख्य योजना बनाउन इरानले सहयोग गरेको दाबी गरेकी छिन् । यद्यपि इरानले भने प्रत्यक्ष रुपमा हुथी समूहलाई सहयोग गर्ने गरेको भन्ने आरोपको खण्डन गर्दै आएको छ ।

गत अक्टोबर ७ मा इजरायल र हमासबीच युद्ध सुरु भएयता हुथी समूहले इजरायलको दक्षिणी एलियट शहरलाई लक्षित गरी बारम्बार क्षेप्यास्त्र प्रहार गर्दै आएपनि इजरायली रक्षा बल, साउदी र सो क्षेत्रमा तैनाथ अमेरिकी फौजले ती आक्रमणलाई निस्तेज पार्दै आएका छन् । अहिले भने हुथी समूहले लाल सागरमा ओहोर दोहोर गर्ने जहाजलाई लक्षित गरी आक्रमण गर्दै आएको छ ।

खर्च बढ्यो

यस किसिका आक्रमणबाट विश्वव्यापी आपूर्ति प्रक्रियामा चुनौती थपिएको छ । जहाजी बीमा कम्पनीहरुले पनि यस क्षेत्र भएर ओहोर दोहोर गर्ने जहाजको बीमा शुल्क ह्वात्तै बढाएका छन् । ब्लूमबर्गका अनुसार यसअघि शून्य दशमलव १ वा २ प्रतिशत रहेको जहाजी युद्ध–बीमा शुल्क हुथीको आक्रमणसँगै ह्वात्तै बढेर शून्य दशमलव ५ प्रतिशतसम्म पुगेको छ । यसको अर्थ १० करोड डलर पर्ने जहाजले बीमा शुल्कबापत हरेक यात्रामा ५ लाख डलरसम्म तिर्नुपर्छ । यो शुल्क लाल सागर र आदेनको खाडी भएर ओहोर दोहोर गर्ने सबै व्यवसायिक जहाजमा लागू हुने ब्लूमबर्गले जनाएको छ ।

लण्डनको बीमा बजारले दक्षिणी लाल सागरलाई यसअघि नै ‘उच्च जोखिम क्षेत्र’ का रुपमा सूचीकृत गरिसकेको छ । जहाजको पारवहन खर्च बढेसँगै लामो समयसम्म लाल सागरमा सुरक्षा चुनौती कायमै अवस्थामा यसले संकटकै रुप लिने जानकारहरु बताउँछन् । जहाजमाथि हुथी विद्रोहीको आक्रमणका कारण रणनीतिक आर्थिकसँगै क्षेत्रीय भूराजनीतिमा पनि चुनौती बढेर गएको बेलायती नौसेनाका पूर्वभाइस एडमिरल डंकन पोट्सले रोयटर्सलाई बताए ।

लाल सागरमा बढेको बीमा शुल्क तिर्नुभन्दा ठूला पारवहन कम्पनीहरुले अफ्रिकाको सुदूर दक्षिणी विन्दुमा अवस्थित केप अफ गुड होप भएर जहाज लैजान थालेका छन् ।

एपीका अनुसार एमएससी, माएस्र्क, सीएमए सीजीएम ग्रुप र हापाग ल्योडजस्ता ठूला पारवहन कम्पनीले लाल सागरको बाटो नभइ केप अफ गुड होप भएर आफ्ना जहाज लैजाने घोषणा गरिसकेका छन् । यद्यपि पछिल्लो समय माएस्र्कले भने यो घोषणा फिर्ता लिएको जनाइएको छ । त्यसैगरी, तेल कम्पनी बीपीले पनि लाल सागरको बाटो भएर आफ्ना जहाज नलैजाने ‘अस्थायी’ घोषणा गरेको छ ।

तस्बिर- मक्सार

समुद्रमा व्यवसायिक जहाजी गतिविधिको निगरानी गर्दै आएको प्रोजेक्ट४४ लाई उद्धृत गर्दै जापानी समाचार संस्थान एनएचकेले जनाएअनुसार हुथीको आक्रमणका कारण हालसम्म १ सय ८५ जहाज प्रभावित भएका छन् भने यीमध्ये १ सय ५७ जहाज स्वेज नहरको बाटो मोडेर केप अफ गुड होपतर्फ लागेका छन् । तर, लाल सागर र स्वेजको नहरको बाटो नभइ केप अफ गुड होप भएर जहाज लैजाँदा धेरै समय लाग्ने र यसमा पनि खर्च बढी हुन आउने जानकारहरु बताउँछन् ।

उदाहरणका लागि लाल सागर र स्वेज नहर हुँदै भूमध्य सागरको बाटो भएर सिङ्गापुर बन्दरगाहबाट नेदरल्याण्ड्सको रोटरड्याम बन्दरगाहको दूरी ८ हजार ४४० नौटिकल माइल अर्थात् १५ हजार ६ सय किलोमिटर पर्छ । तर, लाल सागर र स्वेज नहरको बाटो नभइ केप अफ गुड होपको बाटो हुँदै सिङ्गापुरबाट रोटरड्याम पुग्न ११ हजार ७२० नौटिकल माइल अर्थात् २१ हजार ७ सय किलोमिटरको दूरी पार गर्नुपर्छ ।

डेनमार्कको कोपनहेगनमा रहेको सेनेटा बजार विश्लेषण कम्पनीका प्रमुख विश्लेषक पिटर स्याण्डले डीडब्लूलाई बताएअनुसार स्वेज नहर र लाल सागरको बाटो नभई केप अफ गुड होप हुँदै एसियाबाट युरोपतिर सामान लैजाँदा दशौँ लाख डलर बढी खर्च आउँछ । ‘साङ्घाईबाट रोटरड्यामसम्म लाल सागर नभई केप अफ गुड होप हुँदै जाँदा एकतर्फी जहाजको इन्धन खर्च १० लाख डलरसम्म बढी पर्न जान्छ ।’ उनले भने, ‘यो धेरै ठूलो खर्च हो ।’

अब के होला ?

केप अफ गुड होप भएर जहाज लैजाँदा जहाजको आगमनमा ढिला हुने र यसबाट बन्दरगाहको व्यवस्थापनमा पनि चुनौती थपिने अर्को जोखिम छ । रोयटर्सका अनुसार केप अफ गुड होपको बाटो भएर जहाज लैजाँदा थप १० देखि १४ दिनसम्म लाग्छ ।

युरोपेली बन्दरगाहले ठूलो परिमाणको कन्टेनर व्यवस्थापन गर्ने क्षमता राख्ने भएपनि ढिला गरी एकैपटक धेरै कन्टेनर आइपुग्दा बन्दरगाह सञ्चालनमा पनि बाधा पुग्ने जानकारहरु बताउँछन् । ‘मानौँ हाम्रो बन्दरगाहले सातामा ५० हजार कन्टेनरको व्यवस्थापन गर्न सक्छ । तर एक सातासम्म बन्दरगाहमा केही पनि आएन र अर्को साता लाखौँ कन्टेनर आए भने यसबाट व्यवस्थापन नै अस्तव्यस्त हुन जान्छ ।’ डीडब्लूसँगको कुराकानीमा डेनमार्कमा आधारित भेस्पुची मरिटाइम नामक जहाजी परामर्शदाता कम्पनीका प्रमुख कार्यकारी लार्स जेनसन भन्छन् ।

त्यसबाहेक केप अफ गुड होप तिरबाट लैजाँदा जहाजलाई इन्धन भर्न र केही भैपरी आएको खण्डमा त्यहाँ नजिकै रहेका अफ्रिकी बन्दरगाहहरुको जहाज व्यवस्थापन गर्ने क्षमतामा प्रश्न उठ्ने गरेको छ । रोयटर्सका अनुसार केप अफ गुड होपनजिकै रहेको दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो डर्बान बन्दरगाह, केप टाउनको बन्दरगाह र न्ग्कुराको बन्दरगाह यसअघि सन् २०२२ मै विश्व बैंकको ‘सबैभन्दा खराब’ बन्दरगाहको सूचीमा छन् । त्यसबाहेक केन्याको मोम्बासा बन्दरगाह र तान्जानियाको दार एस सलाम बन्दरगाहले पनि ठूलो सङ्ख्यामा जहाजलाई व्यवस्थापन गर्न असक्षम रहेको विश्वास गरिन्छ ।

यी बन्दरगाहको विकल्पमा पारवहन कम्पनीहरुले नामिबियाको वाल्भिस बे र मौरिससको पोर्ट लुइ बन्दरगाहको प्रयोग गर्ने विकल्प रहेको माएस्र्क परवहन कम्पनीका प्रवक्तालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

लाल सागरबाट बाटो मोडेर केप अफ गुड होपतर्फ जहाज लैजाँदा प्रयोग गर्नुपर्ने मोजाम्बिक च्यानलको मार्ग मौसमी दृष्टिले पनि जोखिमपूर्ण छ । यहाँ बारम्बार आँधी आउने गरेको छ जसका कारण जहाजको इन्धन चाँडै सकिन गइ नजिकैका बन्दरगाहमा तत्काल इन्धन भर्नुपर्ने बाध्यता आउनसक्छ । यस्तोमा अफ्रिकी बन्दरगाहले ती जहाजको कसरी व्यवस्थापन गर्छन् त्यो चासोको विषय छ ।

लाल सागरमा जारी संकटका कारण जहाजहरु केप अफ गुड होपतर्फ मोडिँदा जहाजहरुले इन्धन भर्नुपर्ने आवश्यकताका कारण दक्षिण अफ्रिकाले डिसेम्बर महिनामा कीर्तिमान परिमाणमा २ सय ३० किलोटनसम्म इन्धन आयात गर्ने अपेक्षा गरिएको छ । ‘हुथी आक्रमणका कारण केप अफ गुड होपतर्फ मोडिएका जहाजमा इन्धनको मागका कारण डिसेम्बर महिनामा दक्षिण अफ्रिकाले कीर्तिमान परिमाणमा इन्धन आयात गर्ने अपेक्षा गरिएको छ ।’ केप्लर डेटा एनालिटिक्स कम्पनीका बजार विश्लेषक युनेस अजौजीले रोयटर्ससँग भने ।

इन्धनकै कुरा गर्दा लाल सागरमा जारी संकटका कारण पछिल्लो समय तेलको भाउमा पनि उच्च वृद्धि भएको छ । ब्लूमबर्गका अनुसार बुधबार तेलको भाउ तीन सातायताकै उच्च भएको छ ।

वेस्ट टेक्सानसको इन्टरमिडिएट बजारमा तेलको भाउ ७५ डलर प्रतिब्यारेलसम्म पुगेको छ । त्यसबाहेक जानकारहरुका अनुसार लाल सागरमा जहाजमाथि हुथी समूहको आक्रमणको जोखिम कायमै रहे तेलसँगै खाद्यान्न, विद्युतीय सवारी, कपडा, खेलौनाजस्ता वस्तुको भाउ पनि बढ्नसक्छ ।

पछिल्लो समय अर्कोतर्फ गाजामा जारी युद्ध अन्त्य भएमात्रै लाल सागरमा जहाजमाथि हुथीको आक्रमण रोकिने तर्कले पनि पछिल्लो समय ठाउँ पाउन थालेको छ । तर। गाजामा जारी युद्ध तत्काल रोकिने कुनै छाँटकाँट भने छैन । यससँगै हुथी आक्रमणको जवाफ दिन अमेरिकाले नौसैनिक अभियानको घोषणा गरेको छ ।

अल जजीराका अनुसार यसअघि नै लाल सागरमा अमेरिकी नौसैनिक युद्धपोत यूएसएन कार्ने, यूएसएन मेसन, जापानी युद्धपोत जेडीएस आकेबोनो र दक्षिण कोरियाली युद्धपोत आरओकेएस याङ मान चुन तैनाथ छन् ।

अमेरिकाले यही नौसैनिक युद्धपोतमार्फत् लाल सागरमा हुथीले प्रहार गर्ने ड्रोन तथा क्षेप्यास्त्रलाई निस्तेज पार्दै आएको छ । लाल सागरमा तैनाथ अमेरिकी नौसैनिक युद्धपोतले बुधबारमात्रै हुथी समूहले प्रहार गरेको १४ वटा क्षेप्यास्त्र खसालेको अमेरिकाको सेन्ट्रल कमाण्डले जनाएको छ ।

लाल सागरमा हुथीको आक्रमणविरुद्ध अमेरिकाले यसअघि नै १० देश सम्मिलित नौसैनिक अभियानको घोषणा गरिसकेको छ । लाल सागरमा व्यापारिक हित संरक्षण गर्न नौसैनिक अभियान सुरु गरिएको अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले बताएका छन् । ‘अपरेशन प्रोस्पेरिटी गार्जियन’ नाम दिइएको यस नौसैनिक अभियानमा अमेरिकासँगै क्यानाडा, बहराइन, ग्रिस, नर्वे, नेदरल्याण्ड्स, डेनमार्क, सेचेल्स, बेलायतजस्ता मुलुक पनि सम्मिलित छन् । यी मुलुकहरुले लाल सागरमा व्यापारिक हित संरक्षणका लागि नौसैनिक युद्धपोत तैनाथ गर्नेछन् ।

यसअघि इटाली, स्पेन र फ्रान्स पनि अभियानमा सामेल हुने घोषणा गरिएपनि ती मुलुकले आफ्नो नाम फिर्ता लिइसकेका छन् । अमेरिकाले यस अभियानमा सामेल हुन आग्रह गरेपनि चीन र अन्य अरब मुलुकहरुले अमेरिकी आग्रह अस्वीकार गरेको अल जजीराले जनाएको छ । यस नौसैनिक अभियानले पारवहन कम्पनीलाई कति विश्वस्त बनाउन सक्छ त्यो भने समयले बताउनेछ ।

यता, हुथी समूहले भने लाल सागरमा अमेरिका र साझेदार मुलुकहरुले सैन्यकरण बढाएको भन्दै यसले अन्तर्राष्ट्रिय जहाजी गतिविधिमा थप जोखिम ल्याउने चेतावनी दिएको छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ८ : ५४ बजे

रास्वपाले भन्यो- उपसभामुखले लेखेको पत्र अमेरिकी दूतावासमा दर्ता भएको रहेनछ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानाले लेखेको

गुल्मीमा धान उत्पादनको क्षेत्रफल घट्दै

गुल्मी– यहाँका किसानलाई यतिबेला रोपाइँको चटारो छ । असार महिनाको

एनसीबी र राहदानी विभागबीच समझदारी

काठमाडौं– अपराध नियन्त्रण गर्न राष्ट्रिय केन्द्रीय ब्यूरो काठमाडौँ (एनसिबी) र

कटौती भएको प्राविधिक सचिवको पद थप गर्न माग

काठमाडौं– विभिन्न मन्त्रालयमा कार्यरत प्राविधिक सहसचिवहरुले कटौती भएको प्राविधिक सचिवको

कैलाली भन्सारले गर्‍यो सात अर्ब राजस्व संकलन

गोदावरी– कैलाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०-८१ मा सात