राजनीतिक रूपमा समीकरण बदलिएको छ। पुरानो गठबन्धन भत्किएपछि प्रतिनिधि सभाको ठूलो दल नेपाली कांग्रेससहित आठ दलको गठबन्धन बनेको छ। पहिलेको पाँच दलको गठबन्धनसँगै नयाँ दल यसमा सहभागी भएका छन्। चुनाव अघिकै गठबन्धन अब कायम भएको छ। प्रधानन्त्री हुँदा एउटासँग र राष्ट्रपति बन्नेसम्म एउटासँग गठबन्धन नेपालको राजनीतिमा गठबन्धनको सिलसिला रोकिएको छैन। पछिल्लो बदलिएको समीकरणले नेपालको राजनीतिक बाटो कता तिर उन्मुख हुन खोज्दै छ ? बदलिएको समीकरणको प्रभाव के हुनसक्छ ? यस विषयमा आधारित रहेर डा. विष्णु दाहालसँग नयन सापकोटाले गरेको कुराकानी सम्पादित अंश :
नेपाली राजनीतिमा एउटासँग गठबन्धन बनाएर चुनावमा जाने, चुनावको परिणाममा फरक खालको सरकार बनाउने खेल भइराखेको छ। अहिले राष्ट्रपति बन्ने अवस्थामा अर्को गठबन्धन बनेको छ। तपाईंले यसलाई कसरी हेर्नु भएको छ ?
राजनीतिमा नैतिकता नभएपछि, वैचारिक रूपमा प्रस्ट नभएपछि र यो राजनीति उद्देश्य प्राप्तिका लागि नभएर सत्ता प्राप्तिका लागि भएपछि समस्या देखिएका छन्। राजनीति र आफ्नो कर्महरू देश र जनताप्रति उत्तरदायी नभएपछि देशको उन्नति हुँदैन। दलहरु सत्तामा मात्र केन्द्रित भएका छन्। अपराधमा संलग्नलाई राजनीतिमा ल्याएको देखिन्छ। राजनीतिमा अपराधीकरण हुँदै गएको छ। यसले समाजमा धेरै नराम्रा प्रभाव छोडेको छ।
अहिलेको राजनीतिक प्रक्रियाले देशलाई कता लिएर जान्छ ?
राजनीतिको आधार बलियो बनाउन सक्नुपर्छ। जसमा आर्थिक स्थितिको विकास पहिलो प्राथमिकतामा पर्नुपर्छ। उत्पादनमा आधारित नभएको देशको रूपमा नेपाल रहेको छ। नेपालले उत्पादनलाई बढाउनुपर्छ। स्वदेशको उत्पादनमा आत्मनिर्भर बन्नुपर्छ। उत्पादनको क्षेत्रमा सबै पक्षलाई प्रत्यक्ष रुपमा समेट्नु जरुरी छ। नेतामा नैतिकता हराएको छ। अर्थशास्त्र, उत्पादन प्रणाली, वितरण जस्ता सम्पूर्ण पक्षमा ख्याल गर्नुपर्ने हुन्छ। हरेक क्षेत्रमा सकारात्मक प्रभाव देखिए मात्र देशमा सुधारको सुरुवात हुन्छ। संघीयतालाई बलियो बनाउनुपर्ने राजनीतिक दल सत्तामा केन्द्रित हुँदा संघीयतामाथि नै प्रश्न उठ्न थालेको छ।
कतिपयले त विदेशी चलखेल यस्तो भयो भन्छन् नि हो ?
विदेशी शक्ति आफैं आएको होइन। कुनै पनि देशको बाह्य शक्तिले आफू अनुकूलको वर्ग निर्माण गर्छ। २०४६ को एउटा ग्राउन्ड राष्ट्रिय थियो भने अर्कोग्राउन्ड अन्तर्राष्ट्रिय थियो। चाहे त्यो जुन एजेन्डाको होस्। धर्म र राजसंस्थाको कुरा पनि रहन्छ। कोही काम गर्न चाहँदैन। काम गर्दा धेरै दुःख हुन्छ भन्ने मानसिकता छ। त्यो दुःख गर्न कोही पनि चाहँदैनन्। पहिले नेपालको राजनीतिलाई भारतले धेरै होच्याउने गरेको थियो। त्यसमा अहिले कम भएको छ। प्रचण्डलाई सहज अमेरिकाले मानेको छ। त्यसमा भारतको पनि समर्थन छ। अमेरिकाले किन मान्यो भन्दा युद्ध अपराधमा अहिले पनि मुद्दा हाल्न सक्छ। एमसीसीमार्फत् प्रयास गरेको छ। त्यसमा सफलसमेत भयो। नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले युक्रेनको पक्षमा मत दिएका हुन्। नेपाललाई विश्व सामु नै अमेरिकाले प्रत्यक्ष रूपमा नियालेको छ भन्ने भान भएको छ। सहकार्य गरेर अगाडि बढ्ने भावनाको विकास हुनुपर्छ। पार्टीहरुले आफ्नो जिम्मेवारी अनुसार भूमिका निभाउन सक्नु पर्छ। केपी ओली आफू नै पार्टीमा तथा सक्रिय राजनीतिमा जान खोजेको र असफल भएको हो। केपी ओलीलाई झेल्न धेरैलाई असहज छ। प्रचण्डलाई झन् के हुन्थ्यो। अमेरिका नेपालमा लगानीको रूपमा आउने छ। पिउने पानीका कारण भारतका विभिन्न व्यावसाय ठप्प हुने अवस्था भएको कारणले अन्य देशको सहायतामा रहेको हो।
नेपालको सत्ता टिकाउन नसक्ने नेताहरुले अरु देशले खेले भनेर बुझ्नु गलत हो ?
चीनले रातमाटेदेखि केरुङसम्मको ट्रान्समिसन लाइन बनाउन खोजेको छ। चीनले पनि अन्य देशजस्तै नेपालको विद्युतप्रति चासो राखेको छ। नेपालको बिजुली सस्तो पर्ने चीनको सोच रहेको छ। राजनीतिक स्थिरता र विकाशका लागि अरुलाई दोष लगाउने भन्दा पनि पहिला आफू सक्षम हुनुपर्छ। नेताहरु विकास नगरी राजनीतिक अस्थिरतामा रुमलिएका छन्। यसको दोष अरुलाई लगाएर हुँदैन। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुति : कुसुम गौतम
प्रतिक्रिया