यसपालिको आँपमा फड्के किराको प्रकोप « Khabarhub

यसपालिको आँपमा फड्के किराको प्रकोप


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

धनगढी- कैलालीमा यस वर्ष आँपको राम्रै फल लाग्ने आंकलन गरिए पनि फूलमै रोग देखिएका कारण त्यो आ‌ंकलन गलत हुन सक्ने देखिएको छ । व्यावसायिक आँप खेतीमा ढुसी लाग्न थालेपछि किसान चिन्तित भएका छन् । आँपको फलमा फड्के किराको प्रकोप लाग्न थालेकाले जिल्लाका किसान चिन्तित बनेका हुन् । आँपको पात नै नदेखिने गरी बोटै ढपक्क ढाकेर फूल फुल्दा खुसी भए पनि अहिले फड्के किराका कारण ढुसी लाग्न थालेकाले चिन्ता बढेको गेटास्थित आँप कृषक रामहरी ओझाले बताए ।

उनका अनुसार मधुवा किराले खाएर गुलियो लेसिलो पदार्थ आँपको मजुरा फूलमा ओकलेपछि मजुराफूलमा ढुसी लागेर झर्ने र दाना नलाग्ने समस्या बढ्न थालेको हो । ‘पहाडमा लालीगुराँस फुलेझैँ आँपमा ढकमक्क मजुरा फूल फूलेको देख्दा मन रमाएको थियो तर फूलमा ढुसी लागेर कालो बनाएको छ, जसका कारण आसा गरेजस्तो आँप नफल्ने भएको छ,’ उनले भने ।

धनगढी–३का भोजराम चौधरीले पनि आफ्नो १० कठ्ठा जमिनमा लगाएको आँपका बोटमा मधुवा किराको प्रकोप देखिएको बताए । उनले मधुवाका कारण मजुरा फूल झरेर दाना नलागेकाले यस वर्ष आर्थिक समस्यामा परिने हो कि चिन्ताले पिरोलिरहेको बताए । चौधरीको आँप बगैँचामा पनि मधुवाको प्रकोप देखिएको छ । फागुन महिनाको अन्तिम सातादेखि मजुराफूलमा मधुवा किराको प्रकोप देखिएकामा अहिले ढुसी देखिन थालेको उनको भनाइ थियो ।

धनगढी–१२ का जीवन शर्माले पनि आँपको फूलकै ढुसी पलाएको बताए । ‘लहलह फूल देखेर रहर लागेको थियो,’ शर्माले भने, ‘तर अहिले फूल पूरै डढेर कालो भएको छ, यस्तो पहिला देखिएको थिएन, यस पटक के रोग लागेछ पत्तै भएन ।’ घरमा एक दुई वटा मात्रै रुख भएका कारण औषधी वा विषादी खरिदको चक्करमा भने नलागेको उनले बताए ।

कृषि ज्ञानकेन्द्र कैलालीका प्रमुख खगुन्द्र शर्माले भने रोगका किरा र ढुसी लाग्न नदिन सुरुमै किराको प्रकोप नियन्त्रणको उपाय अपनाउन सके फूललाई बचाउन सकिने बताए । त्यसका लागि किरा मार्ने र ढुसी नष्ट गर्ने विषादी छर्कनुपर्ने कार्यालय प्रमुख शर्माले बताए । किरा मार्न बजारमा नीमले बनाएको औषधी पाइने भए पनि ढुसीका लागि भने विषादी नै प्रयोग गर्नुपर्ने उनले बताए । ‘ढुसी लाग्न सुरु हुने वित्तिकै विषादी प्रयोग गर्न सके फललाई बचाउन सकिने उनले बताए । तर, रोग लागिसकेपछि भने विषादी प्रयोग गरेर पनि केही फाइदा नहुने उनले बताए ।

मजुरा फूल फुल्नुअघि आँपको रुखको जरा वरिपरि खनेर पानी हाल्ने र फेददेखि ३ फिट माथि सम्मको भागमा चुन दल्ने प्राकृतिक उपचारले पनि मधुवा किराको प्रकोप रोक्न सकिने कृषि ज्ञान केन्द्रका प्रमुख शर्माले बताए । उनले भने, ‘जिल्लाका प्रायः अधिकांश किसानले प्राविधिक ज्ञानबिना नै विषादी प्रयोग गर्छन्, जुन पसलबाट विषादी ल्याएको हो, त्यही पसलेको सल्लाहअनुसार विषादी प्रयोग गर्दा कहिलेकाहीँ फल झर्ने र फूल डढ्नेजस्ता समस्यासमेत देखिने गर्छ ।’

मधुवा किराको प्रकोप देखापरेपछि विषादीबाहेक अर्को विकल्प नरहेकाले पीडित किसानले प्रक्रिया पुर्‍याइ कार्यालयमा आएमा औषधि एवम् प्राविधिक सहयोग उपलब्ध गराइने कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ । विषादी र रोग नियन्त्रणका लागि कृषि विज्ञसँग सुझाव लिन कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख शर्माले सुझाव दिएका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ३ : ३१ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को