दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 7 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमारेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी, भारत भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले मागे सुझाव, भारत भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले मागे सुझाव, संसदीय सुनुवाइ समिति गठन, अनिता ढुंगाना योजना आयोगको सदस्यमा नियुक्त, सिन्धुपाल्चोकको गोल्चे केन्द्रबिन्दु भएर भूकम्पलगायतले प्रमुख स्थान पाए ।

रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा टीकापुर घटनामा संलग्न रेशम चौधरीसमेत ४८२ जनाको कैद सजाय माफी गरेका छन् ।

आइतबार साँझ राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै ४८२ जनाको कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी भएको जानकारी दिएका छन् ।

आइतबारमात्रै मन्त्रिरिषदको बैठकले चौधरीको सजाय माफी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो ।

मन्त्रिपरिषदको सिफारिसमा सोमबारदेखि लागु हुनेगरी रमेश थलङ भन्ने हेमबहादुरसमेत ४७५ र जेष्ठ नागरिक उदयनारायण गिरीसमेत सात जना गरी कुल ४८२ को कैद भुक्तान हुन बाँकी सजाय माफी भएको हो ।

राष्ट्रियसभा बैठक : अख्तियार आयोग प्रमुख स्वतन्त्र व्यक्ति नियुक्ति गरिनुपर्ने

सांसदहरुले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि अख्तियार अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण आयोगमा निष्पक्ष र स्वतन्त्र व्यक्ति नियुक्त गरिनुपर्ने बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनीहरूले सुशासन कायम गर्न दुबै आयोगलाई अधिकार सम्पन्न कानुन बनाएर प्रभावकारी बनाइनुपर्नेमा जोड दिए । भ्रष्टाचार नियन्त्रणका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने उनीहरूको भनाइ थियो ।

सांसद नरबहादुर विष्टले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष स्वतन्त्र व्यक्ति नियुक्त हुनुपर्ने बताए । उनले निजामती कर्मचारीबाट अख्तियार प्रमुख नियुक्त हुन नहुने तथा सम्पत्ति शुद्धिकरणमा पनि स्वतन्त्र व्यक्ति नियुक्त गरेर अधिकार सम्पन्न बनाइनुपर्ने बताए ।

सांसद रामचन्द्र राईले सार्वजनिक संस्थान सधैँ घाटामा हुने गरेको भन्दै ती संस्थालाई प्रभावकारी रुपमा सञ्चालन गरी नतिजामुखी बनाइनुपर्ने खाँचो औँल्याए। उनले नेपाल टेलिभिजन स्याटेलाइटमा गइसक्दा पनि दूरदराजका गाउँसम्म पुग्न नसकेको उल्लेख गर्दै ध्यानाकर्षण गराए ।

सांसद कमला पन्तले संसद्लाई मर्यादित र प्रतिस्पर्धी बनाई मुलुकको सुशासन प्रवर्द्धनमा लाग्नुपर्नेमा जोड दिइन् । सांसद उदयबहादुर बोहोराले भ्रष्टाचार देशको सङ्क्रामक रोग हो भन्दै भ्रष्टाचार र अनियमितताको चुनौती तोडेर सुशासनको दिशामा मुलुकलाई अघि बढाउनुपर्ने बताए । उनले हालसम्म भएका सबैखाले भ्रष्टाचारको छानबिन गर्न माग गरे ।

सांसद वामदेव गौतमले नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा जोडिएका सबैलाई छानबिन गरेर कानुनी दायरामा ल्याउन माग गरे । सांसद भगवती न्यौपानेले स्वास्थ्यकर्मीले लामोसमयदेखि तलब भत्ता नपाएको गुनासो आएको भन्दै उनीहरूलाई तलब भत्ताको व्यवस्था गर्न अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद युवराज शर्माले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि सबै राजनीतिक दलहरू एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । सांसद गोमादेवी तिमिल्सिनाले मुलुकको हित र सुशासन प्रवर्द्धनमा सबै एकताबद्ध भएर लाग्नुपर्ने बताए । सांसदहरू भुवनबहादुर सुनार, तुलसाकुमारी दाहाल, गंगाकुमारी बेलबासेले नीति तथा कार्यक्रममार्फत समेटिएका कार्यक्रमलाई व्यवहारिक कार्यान्वयन गरिनुपर्नेमा जोड दिए ।

भारत भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले मागे सुझाव

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १७ जेठबाट भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । यसअघि आइतबार उनले आफ्नो भारत भ्रमणबारे पूर्व-प्रधानमन्त्रीसहित राजनीतिज्ञहरुलाई जानकारी गराउँदै सुझाव मागेका छन् ।

छलफलमा पूर्व-प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठसहित राजनीतिज्ञसँग आइतबार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणबारे जानकारी गराउँदै सुझाव मागेका हुन् ।

सो क्रममा उनीहरूले नेपालको हितलाई ध्यान दिन सुझाव दिएका छन् । उनीहरूले सीमा विवाद, ईपीजीको प्रतिवेदनसहित दुई देशबीच देखिएका विवाद समाधानमा भ्रमणलाई केन्द्रित गर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका हुन् ।

संसदीय सुनुवाइ समिति गठन

प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समिति गठन गरिएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकले प्रस्ताव गरिएका समिति सदस्यहरूको नामलाई बहुमतले सहमति जनाएको सभामुख देवराज घिमिरेले घोषणा गरेका छन् ।

समिति सदस्यमा ईश्वरी घर्ती, ईश्वरीदेवी न्यौपाने, जनार्दन शर्मा, जीवन परियार, डोलप्रसाद अर्याल, पदम गिरी, पशुपतिशमशेर जबरा, प्रकाश अधिकारी, महेशकुमार बर्तौला, रमेश लेखक, लिलानाथ श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् ।

उनीहरूको नामलाई प्रतिनिधिसभाले बहुमतसहित सहमति जनाएको हो ।

आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको प्रगति विवरण संसद्‌मा पेस

अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०७९-८० को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८० प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठकमा पेस गरेका छन् । आर्थिक सर्वेक्षण पेस गर्दै अर्थमन्त्री महतले सन् २०२३ मा विश्वको अर्थतन्त्र नै समस्यामा परेकाले त्यसको असर नेपालको अर्थतन्त्रमा पनि परेको उनले बताए।

‘अन्तर्राष्ट्रिय आर्थिक परिवेश र संरचनात्मक समस्याका कारण थोक तथा खुद्रा व्यापार, निर्माण, उत्पादनमूलक उद्योगको उत्पादनलगायत समग्र आर्थिक क्रियाकलापमा सङ्कुचन भई चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर दुई दशमलव १६ प्रतिशत हुने अनुमान छ’, उनले भने ।

वस्तु आयातमा भएको सङ्कुचन र समष्टिगत मागमा आएको कमीका कारण आर्थिक गतिविधिमा सुस्तता आइ स्रोत व्यवस्थापनमा पनि दबाब देखिएको उनले बताए।

विश्व बजारमा पेट्रोलियम पदार्थ, खाद्यान्न तथा कच्चापदार्थको मूल्यमा भएको वृद्धिका कारण पनि समस्या देखिएको अर्थमन्त्री महतले बताए । बाह्य क्षेत्रमा सुधार भएर शोधनान्तर स्थिति बचतमा, विदेशी मुद्राको सञ्चिति बढेको, पर्यटन आवागमन बढेकोलगायत अर्थतन्त्रमा सकारात्मक संकेत पनि देखिन थालेको उनले बताए ।

आर्थिक सर्वेक्षणमा संघीय सरकारबाट निर्माण भएको सडकको लम्बाइ ३४ हजार एक सय किलोमिटर पुगेको, कूल जडित विद्युत् क्षमता दुई हजार छ सय ६६ मेगावाट पुगेको उल्लेख छ ।

साथै आधारभूत तहमा विद्यार्थी भर्नादर बढेको, खुद मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदर घटेकोलगायतका सूचकहरू उनले प्रस्तुत गरे । आधारभूत खानेपानी सुविधा र विद्युत् सेवामा ९५ प्रतिशत नागरिकको पहुँच पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

अर्थमन्त्री डा महतले आजै सार्वजनिक संस्थानको वर्तमान कार्यसम्पादनको अवस्था, वित्तीय अवस्था र समस्या तथा चुनौतीको विश्लेषण सहितको प्रतिवेदन पनि प्रतिनिधिसभामा पेस गरेका छन् ।

‘विगतमा सार्वजनिक संस्थानले मुलुकको आर्थिक सामाजिक तथा पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भए पनि समयक्रममा खासगरी सञ्चालन एवम् व्यवस्थापनमा देखा परेका कमी कमजोरीका कारण समग्र वित्तीय स्थिति सन्तोषजनक नरहेको अवस्था छ’, अर्थमन्त्री महतले भने ।

उहाँका अनुसार नेपाल सरकारको लगानी रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा छन् र सार्वजनिक संस्थानमा सरकारको शेयर तथा ऋण लगानी गत असार मसान्तसम्ममा रू छ खर्ब १८ अर्ब पुगेको छ ।

गत आर्थिक वर्षमा सरकारले सार्वजनिक संस्थानबाट छ अर्ब १६ करोड बराबरको लाभांश लिएको छ । जुन लगानीको एक प्रतिशत बराबर मात्रै हो ।

अनिता ढुंगाना योजना आयोगको सदस्यमा नियुक्त

सरकारले लमजुङकी अनिता ढुंगानालाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।

साथै बैठकले गणतन्त्र दिवसको अवसरमा केही कैदीको बाँकी सजाय र केही कैदीलाई आममाफी दिने निर्णय गरेको छ । जसमा टीकापुर घटनाका दोषी रेशम चौधरीलाई आममाफी दिन उनको निवेदनको आधारमा राष्ट्रपति कार्यालयमा सिफारिस गर्ने बैठकले निर्णय सरकारकी प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकले सिन्धुलीमाढी भूमिस्थान चकमके उदयपुर कटारी सडक खण्डको स्तरोन्नतिका लागि राष्ट्रिय वनक्षेत्र प्रयोग गर्न स्वीकृति दिने, क्यानडामा आगामी भदौ ५ देखि ९ गतेसम्म आयोजना हुने विश्व वातावरणको सातौँ सभाको सम्बन्धित बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने र वन तथा वातावरण मन्त्रालयको मध्यतमोर जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि ताप्लेजुङ जिल्लाको राष्ट्रिय वनक्षेत्रको प्रयोग गर्न र सो जग्गामा रहेको रुख हटाउन स्वीकृति दिने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन् ।

संघीय संसदको संयुक्त बैठक र कार्यसञ्चालन नियमावली पारित

संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० पारित भएको छ।

संघीय संसदको आज बसेको संयुक्त बैठकले बहुमतले नियमावली पारित गरेको हो। नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले आजको संयुक्त बैठकमा उक्त नियमावली पारित गरियोस् भनी प्रस्ताव गरेका थिए।

आजै संघीय संसदको संयुक्त बैठकमा नियमावलीको मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल भएको थियो। दफाबार छलफलका क्रममा संशोधन प्रस्ताव गर्नुभएका सांसदहरु खिमलाल देवकोटा, जितेन्द्र नारायण देवले राख्नुभएको संशोधन प्रस्ताव फिर्ता लिनु भएको थियो भने अमरेशकुमार सिंह, प्रभु साह, सुमना श्रेष्ठ, प्रेम सुवाल, डा विमला राई पौड्यालले आफ्नो संशोधन फिर्ता लिएनन्।

संयुक्त सदनबाट नियमावली पारित गर्नका लागि निर्णयार्थ प्रस्तुत भएकोमा बहुमतले पारित भएको घोषणा सभामुखले गरेका थिए।

बागमती प्रदेशसभा बैठकबाट धन्यवाद प्रस्ताव पारित

बागमती प्रदेशको आज अपराह्न बसेको दोस्रो बैठकले प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालद्वारा प्रस्तुत धन्यवाद प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । उक्त धन्यवाद प्रस्तावलाई प्रदेशसभाका सदस्य मधुसुदनप्रसाद पौडेलले समर्थन गरेका थिए ।

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारको आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

सोही बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रमप्रति टेबुल गरेका थियो । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक यही जेठ १७ गते अपराह्न १ बजे बस्ने गरी बैठक स्थगित गरे ।

‘हिमाली क्षेत्रमा देखिएको नेटवर्कको समस्याप्रति ध्यानाकर्षण भएको छ’

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हिमाली क्षेत्रमा देखिएको टेलिकमको नेटवर्कको समस्या समाधानमा चासो व्यक्त गरेकी छन् ।

सगरमाथा आरोहणको ७०औँ वार्षिक समारोहमा हुलाक सेवा विभाग, फिलाटेलिक तथा हुलाक व्यवस्थापन कार्यालयले प्रकाशन गरेको ‘संस्मरणात्मक आवरण’ मा आज टाँचा लगाउँदै सरकारको प्रवक्ता समेत रहेकी मन्त्री शर्माले हिमाल आरोहण गर्ने क्षेत्रको बेसक्याम्प र सो भन्दा माथि टेलिकमको नेटवर्कमा देखिएको समस्याप्रति ध्यानाकर्षण भएको बताइन् ।

‘हिमालको बेसक्याम्पसम्म नेटवर्कको समस्या छ, नेटवर्कले काम गर्दैन भन्ने समस्या छ, त्यसले धेरैमा समस्या पैदा गरेको छ, धेरैतिरबाट गुनासो आउने गरेका छन् । सँगै हिमालमा सरसफाइको कुरा पनि उठ्दै आएकाले यी विषयमा मेरो ध्यानाकर्षण भएको छ’ उनले भनिन् । नेपाल पर्यटकीय हिसाबले अत्यन्त महत्वपूर्ण मानिएको र हिमाल आरोहण नेपालीका लागि गौरवको कुरा भएको उल्लेख गर्दै मन्त्री शर्माले हिमाल आरोहणका धेरै सम्भावना भएको उल्लेख गरिन् ।

‘हिमाल आरोहणको विषय मुलुकको अर्थतन्त्रसँग जोडिएको महत्वपूर्ण विषय हो, नेपालका हिमालबारे अझै प्रचारप्रसार हुनसकेको छैन । हामीले हिमालको बारेमा प्रचारप्रसार गर्न जरुरी छ’, मन्त्री शर्माले भनिन्। प्राचीन हिन्दूकुश हिमाल पर्वत शृङ्खलाको मध्यपूर्वी भागमा पर्ने नेपालको सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा विश्वको सर्वोच्च हिमशिखर सगरमाथा अवस्थित छ ।

मध्यमर्स्याङ्दीबाट उत्पादित बिजुलीमा वृद्धि

यहाँ उत्पादित मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली वृद्धि हुन थालेको छ । मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्न थालेसँगै बेँसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना केन्द्रबाट बिजुली उत्पादन वृद्धि हुन थालेको हो ।

केही दिन यता बेलाबेलामा वर्षा हुनाका साथै हिउँ पग्लिएर मर्स्याङ्दी नदीमा पानी बढेपछि यतिबेला दैनिक ५७-६० मेगावाटसम्म बिजुली उत्पादन भइरहेको केन्द्रका प्रमुख पवन बस्नेतले बताए । उनले भने, ‘जाडो याम सुरु भई सो नदीमा पानीको बहाव कम हुँदै जाँदा क्षमताभन्दा कम उत्पादन भइरहेको यस केन्द्रको बिजुली विस्तारै वृद्धि हुँदै गएको छ ।’ केही समय २६ मेगावाट मात्र बिजुली उत्पादन भएकामा यतिबेला वृद्धि हुँदै गएको र एक महिनाभित्रमा पूरै क्षमतामा उत्पादन हुने बताइएको छ ।

यस आयोजनाबाट बर्खायाममा क्षमताभन्दा बढी बिजुली उत्पादन हुने गर्दछ । मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्दा बिजुली उत्पादन बढ्ने र पानी घट्दा उत्पादन घट्ने भएकाले नदीको पानीको बहाव क्षमताको आधारमा बिजुली उत्पादन गर्ने गरिन्छ ।

सन् २००० मा निर्माण सुरु भएको यो आयोजना सन् २००८ मा सम्पन्न भएको थियो । कूल २७ अर्ब २० करोडको लागतमा निर्माण भएको यो आयोजना जिल्लाकै पहिलो तथा ठूलो जलविद्युत् आयोजना हो । जिल्लामा आधा दर्जनभन्दा बढी आयोजनाबाट बिजुली उत्पादन भएको छ । ती अधिकांश आयोजनाबाट पनि विस्तारै बिजुली उत्पादन वृद्धि भइरहेको बताइएको छ ।

जिल्लामा ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’, पचास मेगावाटको माथिल्लो मर्स्याङ्दी ए, न्यादी खोलामा निर्माण गरिएको ३० मेगावाटको न्यादी जलविद्युत्, दोर्दी करिडोरमा उत्पादित हिमालयन पावर पार्टनरको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जी लिमिटेडको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना, दोर्दीखोला जलविद्युत् कम्पनीको १२ दशमलव एक मेगावाटको दोर्दी–१, छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीको चार मेगावाट क्षमताको जलविद्युत्लगायतबाट बिजुली उत्पादन भइरहेको छ ।

धर्नामा बसेका १७ जना अधिकारकर्मी प्रहरी नियन्त्रणमा

सिंहदरबारमा धर्नामा बसेका १७ जना अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ योगदान गरेको स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजले १६ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा सिंहदरबारमा आयोजना गरेको धर्नाबाट १७ जना अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

शीर्ष नेताहरू भ्रष्ट भएकोले लोकतन्त्र खतरामा परेको आरोप लगाउँदै समाजले नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरूलाई कारबाही गर्नु पर्ने, तीन तहको सरकारले सुशासन, पारदर्शिता र जबाफदेहीता सुनिश्चित गर्नुपर्ने, लोकतान्त्रिक गणतन्त्रको मूल्य अनुरूप आचरण गर्नु पर्ने माग राखेर धर्ना दिएको थियो ।

प्रदर्शन प्रारम्भ हुनासाथ प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, नागरिक अगुवाहरू अर्जुन पराजुली, उत्तम पुडासैनी, विमल अर्याल, अधिकारकर्मीहरू चन्द्रमणि बञ्जारा, नम्रता खरेल, किरण ढकाल, दिवाकर पुडासैनी, बलबहादुर गाहा मगर, उमा गौतम, भगवान पुडासैनी, ईश्वर पुडासैनी, जयराम पुडासैनी, विकास थापा, रमेशकुमार बराल, चन्द्रमणि गौतम, रिता अधिकारीसहित १७ जनालाई गिरफ्तार गरेको हो ।

गिरफ्तार अधिकारकर्मीहरूलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।

सिन्धुपाल्चोकको गोल्चे केन्द्रबिन्दु भएर भूकम्प

सिन्धुपाल्चोकको गोल्चे केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रबिन्दु भएर आज दिउँसो १ बजेर १९ मिनेट जाँदा ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि यही जेठ १० गते बझाङको दौलीचौर वरपर केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको थियो ।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ ।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ९ : ०२ बजे

नहरमा डुबेर कैलालीका एक युवक बेपत्ता

धनगढी– नहरमा डुबेर कैलालीमा एक युवक बेपत्ता भएका छन् ।

कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

विराटनगर– कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका

कांग्रेसको एकपक्षीय अडानका कारण संसदीय समिति गठन हुन सकेन : मनिष झा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले कांग्रेसको एकपक्षीय अडानका

इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा

कतारको रोजगारी हापेका रेयर राईको अभिनय यात्रा

काठमाडौं- जस्तोसुकै गरीब परिवारमा जन्मे पनि निरन्तर संघर्ष र साधना