स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा बिस्तार गर्न निर्देशन « Khabarhub

स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा बिस्तार गर्न निर्देशन


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दिगो विकास तथा सुशासन समितिले स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा पुर्‍याउन निर्देशन दिएको छ । समितिको आज बसेको बैठकमा समिति सभापति प्रकाश पन्थले कार्यक्रम कार्यान्वयनमा देखिएका नीतिगत र व्यवस्थापकीय समस्या समाधान गर्दै पहुँच बिस्तार गर्न निर्देशन दिए। 

उनले गुणस्तरीय स्वास्थ्य सेवा, औषधि आपूर्ति, उपचार प्रक्रिया सरल बनाइ दक्ष जनशक्तिको व्यवस्थापन गर्न समेत निर्देशन दिए । समितिले सुर्तिजन्य पदार्थमा लगाउने कर वृद्धि गरी त्यसबाट संकलित रकम स्वास्थ्य उपचार र जनस्वास्थ्य सेवाका कार्यक्रममा खर्च गर्ने व्यवस्था गर्न निर्देशन दिइएको छ । 

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रममा सुधार गर्न आवश्यक भएको बताए। उनले भने, ‘स्वास्थ्य बीमा कार्यक्रम चुस्तदुरुस्त बनाउन नसकेको स्वीकार गर्छौँ । कमीकमजोरीलाई चाँडोभन्दा चाँडो सुधार गरी प्रभावकारी कार्यान्वयन गर्नेछौँ ।’ 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले स्वास्थ्य बीमाको दुरुपयोग रोक्न र बीमितको स्वामित्व बढाउनुपर्नेमा जोड दिए । ‘बीमित आफैले बीमा रकमका लागि चिकित्सकसँग सिफारिस माग्दा दुरुपयोग बढेको छ’, उनले भने, ‘बीमितले पनि स्वामित्व ग्रहण गर्ने गरी संयुक्त भुक्तानीको व्यवस्था गर्न आवश्यक देखिन्छ ।’

स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. दामोदार बसौलाले कर्मचारीको अभावका कारण बोर्डको काम प्रभावित भएको बताए। उनले बीमितका लागि प्रथम सेवा बिन्दु तोक्न नसक्दा विशिष्टीकृत सेवा अस्पतालमा भीडभाड बढेको बताए। 

उनले ४०७ स्थानीय तहमा सेवा प्रदायक संस्था नहुँदा पनि बीमा प्रभावकारी बन्न नसकेको गुनासो गरे । बैठकमा समितिले स्वास्थ्य बीमामा दोहोरोपन, औषधि अभाव, सेवा प्रवाह चुस्त नभएको र यसप्रति घट्दो आकर्षणबारे मन्त्रालय र बोर्डसँग जवाफ मागेको थियो ।

समिति सदस्य कमला पन्तले बोर्डलाई मासिक भुक्तानी दिन सुझाव दिए । सदस्य भुवनबहादुर सुनारले स्वास्थ्य बीमा झन्झटिलो बनेको भन्दै सेवा सरलीकृत गर्नमा जोड दिए। सदस्य तुलप्रसाद विश्वकर्माले  कर्मचारीले बीमितप्रति गर्ने व्यवहार सुधार गर्न कर्मचारीका लागि परामर्शको व्यवस्था गर्न सुझाव दिए । 

बोर्डका अनुसार स्वास्थ्य बीमा कार्यक्रम ७७ जिल्लाका सात सय ४९ स्थानीय तहमा विस्तार भएको छ । चार सय ५९ वटा सेवा प्रदायक स्वास्थ्य संस्था नवीकरण नहुँदा बिमित हुने र नवीकरण हुने दर घटेको हो । 

चालु आवको वैशाख मसान्तसम्म २० लाख ९३ हजार एक सय ७० परिवारका ६७ लाख ६४ हजार ६ सय ४४ जना कार्यक्रममा भइ हालसम्म ४१ लाख १७ हजार सात सय आठ जनाले मात्रै नवीकरण गराएका छन् ।

स्वास्थ्य बीमा कार्यक्रम लागू भएदेखि अहिलेसम्म सेवा प्रदायक संस्थालाई रु ३१ अर्ब भुक्तानी भइसकेको छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ५ : ३६ बजे

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर