सम्झौताबिना नदीजन्य वस्तुको उत्खनन | Khabarhub Khabarhub

सम्झौताबिना नदीजन्य वस्तुको उत्खनन


११ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौताबिनै नदीजन्य वस्तुको उत्खनन् भएको छ । मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीको बगरमा डोजर लगाएर बालुवा निकालेर निकासी भएको हो ।

असार १५ देखि  भदौ १५ गतेसम्म नदीजन्य पदार्थ उत्खनन् गर्न नपाउने नियम छ । कानुनी व्यवस्था विपरीत म्याग्दी नदीबाट बर्खा याममा बालुवा उत्खनन गरेका हुन् ।

तोलावाङ, पतेनी, रानीवासा, कमेरे, इल्पु, भारवाङलगायत क्षेत्रमा ठेक्का सम्झौताबिनै बालुवा उत्खनन भएको गाउँपालिकाका जनप्रतिनिधिले नै बताएका छन् । गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले केही व्यक्तिहरूले ठेक्का सम्झौता नै नगरिकनै बालुवा उत्खनन गरेको गुनासो आएको र उनीहरूलाई जरिवाना तिराइएको बताए ।

‘हाम्रो पालिकाको क्षेत्रमा नदीजन्य वस्तुको उत्खनन र निकासीका लागि गत वर्ष भएको सम्झौता अवधि सकिएको छ । नयाँ आवको ठेक्का आह्वान भएको छैन’, उनले भने, ‘सम्झौताबिनै बालुवा उत्खननमा प्रयोग भएका डोजर र दुवानी गर्ने ट्याक्टरलाई नियन्त्रणमा लिएर जरिवाना तिराएका छौँ ।’

नदीबाट निकालेर भण्डारण गरिएका बालुवाको केही दिनमै अनुगमन गरेर जफत र लिलामी गर्ने तयारी गरेको पनि अध्यक्ष गर्बुजाले बताए । स्थानीय तहको प्रमुख आम्दानीको स्रोत रहेको नदीजन्य वस्तुको अवैध उत्खनन र चोरी निकासीले गाउँपालिकाले राजस्व गुमाउने जोखिम छ ।

म्याग्दी उद्योग वाणिज्य सङ्घ दरवाङ एकाइका अध्यक्ष लेकबहादुर पुनले हालै गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइमा ठेक्का सम्झौताबिनै उत्खनन गर्ने र ठेक्का आह्वान गर्दा सहभागी नहुने प्रवृत्ति देखिएको विषयमा प्रश्न उठाउनुभएको थियो ।

अवैध हिसाबले बालुवा उत्खनन गरेर वर्खामा थुपार्ने र हिउँदमा गाउँपालिकाले ठेक्का आह्वान गर्दा ठेक्का नै नपर्ने समस्या देखिएको हो । गत वर्ष मालिका गाउँपालिकाले नदीजन्य वस्तुको उत्खनन र निकासीको ठेक्का लगाउन चार पटकसम्म सूचना प्रकाशन गरेको थियो । बीस लाख बढीमा छ वटा बगर ठेक्का लागेको थियो ।

बर्खामा बाढीले बगाएर ल्याएको बालुवा थुपार्न नदीभित्र खाडल बनाएका छन् । छोटो समयमा धेरै, कम लागतमा बढी गहिराइमा पुगेर बालुवा निकाल्न पाइने लोभले कानुनले नदिए पनि डोजर प्रयोग गरेका छन् ।

नदी उत्खननमा संलग्न दुई जनालाई यसवर्ष ४५ हजार जरिवाना तिराइएको र उपाध्यक्षको नेतृत्वमा अनुगमन समितिले प्रतिवेदन दिएपछि थप जरिवाना गरिने प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले बताउनुभयो । ठेक्का सम्झौतामा मजदुर परिचालन गरेर उत्खनन गर्ने भनिए पनि व्यवहारमा डोजर’को प्रयोग हुने गरेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ९ : २६ बजे

जाडो बढेपछि विद्यालय जान छाडे बालबालिका

जलेश्वर– महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ४ को मझौरा गाउँका

युद्ध विरामपछिको इजरायल र मध्यपूर्व

१५ महिनाको समय न इजरायलको लागि सुखद रह्यो, न त

कहिले पुनर्निर्माण होला बीपी राजमार्ग ? (तस्बिरहरू)

काठमाडौं– गत असोज दोश्रो साता गएको बाढीपहिरोले क्षति गरेको बीपी

पर्यटक भित्र्याउन तीन सय वर्ष पुरानो मौलिक शहरको प्रवर्द्धन

बागलुङ– अहिलेको बागलुङ बजार दुई सय ८४ वर्षभन्दा पुरानो हो

रोजगारीको प्रलोभनमा नपर्न नेपाली दूतावास बैंककको आग्रह

बैंकक– नेपाली दूतावास बैंककले आकर्षक रोजगारीको प्रलोभनमा परी कम्बोडिया, लाओस,