सांकेतिक तस्वीर ।

अपराध

सर्लाहीमा चिताबाट एक युवतीको शव बरामद, पतिसहित तीनजना पक्राउ

By खबरहब

September 28, 2023

सर्लाही– सर्लाहीमा जलाउनका लागि चितामा राखिएको एक युवतीको शव प्रहरीले बरामद गरेको छ ।

सर्लाहीको रामनगर गाउँपालिका–१ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको हो ।

हिजो दिउँसो मनुषमारा घाटमा जलाउने तयारी गरिएको अवस्थामा मनिषाको शवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मनिषाको मृत्यु शंकास्पद देखिएपछि शव बरामद गर्दै मनिषाका श्रीमान सुनिल साह, ससुरा रामेश्वर र देवर रामबाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

उनीहरूलाई घाटबाटै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

परिवारका सदस्यले छारे रोगबाट पीडित मनिषाले आत्महत्या गरेको दाबी गरेका छन् भने प्रहरीले शंकास्पद ठानेर शव बरामद गर्दै परिवारका सदस्यलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको हो ।

संकलित प्रमाणको आधारमा घटनाको अनुसन्धान र शवको पोष्टमार्टमको रिपोर्टपछि सबै थाहा हुने प्रहरीले जनाएको छ । युवतीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।