कुनै एक समयको कुरा हो, एउटा ठूलो राज्यमा एकजना राजा थिए । ती राजालाई सिकार खेल्ने ठूलो सोख थियो । बेला मौकामा उनी आफ्नो राज्यमा रहेको घना जङ्गलमा गई बाघ, गैंडा, मृग, हात्तीलगायत जनावरको सिकार गर्ने गर्थे ।
एक दिनको कुरा हो उनी आफ्ना मन्त्रीसँग सिकार गर्न वनमा गए । सिकार गर्ने क्रममा राजको देब्रे हातको एउटा औंला तरबारले काटियो । राजालाई असह्य पीडा भयो । उनले आफ्नो काटिएको औंला सँगै रहेका आफ्ना मन्त्रीलाई देखाउँदै असह्य पीडा भएको बताए ।
राजाको काटिएको औंला देखेपछि मन्त्रीले भने, ‘सरकार ! नआत्तिबक्सियोस् । भगवान्ले जे गर्छन्, राम्रैका लागि गर्छन्, जे हुन्छ राम्रैका लागि हुन्छ ।’ मन्त्रीका यस्ता कुरा सुनेर राजालाई भयङ्कर रिस उठ्यो । उनले मन्त्रीलाई भने, ‘हे मूर्ख ! मन्त्री ! मेरो औंला काटिएको छ । मलाई असह्य पीडा भइरहेको छ । तिमी चाहिँ जे भयो राम्रै भयो भन्छौ । तिमीले मेरो अपमान गर्ने, तिमीले मेरो गद्दी ताकेको । पख अब म तिमीलाई ठूलो सजाय दिन्छु ।’
मन्त्रीसँग यति भन्दै राजाले आफ्ना सैनिकहरूलाई बोलाएर मन्त्रीलाई झ्यालखानामा लगेर थुन्न आदेश दिए । अनि आफू चाहिँ वनमा बनाएको आफ्नो शिविरमा गएर चोटमा मलमपट्टी गरेर सुते ।
भोलिपल्ट बिहानै फेरि हतियारहरुका साथ उनी सिकारमा जान तयार भएर सिकार गर्न निस्के । घोडामा चढेर सिकार खोज्ने क्रममा राजाले एउटा मृग देखे । राजाले मृगलाई वाण प्रहार गरे तर मृग उम्केर गयो । राजा पनि मृगको पछि पछि लागे । मृगलाई जङ्गलको निकै भित्रसम्म राजाले लखेटे तर अन्त्यमा त्यसलाई मार्न सकेनन् ।
मृगको पिछा गर्दै गएका राजा थकित भए । थकित राजा थकाइ मार्न बसेका मात्र के थिए, केही अपरिचित व्यक्तिहरू आएर राजालाई समाती बाँधेर आफूसँगै लगे ।
राजाले ती मानिसहरूलाई सोधे, तिमीहरू को हौ ? मलाई कहाँ लैजान लागेको ? म यो देशको राजा हुँ । राजाको कुरा सुनेर ती मानिसहरूको नाइकेले जवाफ दियो, ‘यहाँ नजिकै वनदेवीको मन्दिर छ । त्यहाँ हरेक वर्ष एक जना बाहिरको मानिसको बलि चढाउने परम्परा छ । नरबलि दिने दिन आज परेको छ र संयोगवश तिमी भेटियौ, तसर्थ तिम्रो बलि चढाउन हामीले तिमीलाई त्यहाँ लैजाँदै छौँ ।’
त्यस व्यक्तिको कुरा सुनेर राजा निकै नै डराए । आफ्नो जीवन सकिन आँटेको उनले सम्झे र रामनाम जप्न थाले ।
ती अपरिचित व्यक्तिले केही बेरमै राजालाई मन्दिरमा पुर्याए । त्यहाँ छुट्टै किसिमका मानिसहरको जमात थियो, किनभने त्यहाँ वर्षमा एक पटक मनाइने नरबलिको पर्व मनाइँदै थियो ।
त्यहाँ पुगेपछि राजा झन् डराए । उनलाई मन्दिरको मूल पूजारीका सामु पेस गरियो । पूजारीले एकछिन राजालाई गम्भीरताका साथ हेरे र उनलाई नुवाइधुवाइ गर्न अह्राए । राजालाई नुहाउने क्रममा उनको हातको एक औंला काटिएको देखेपछि नुहाइदिने व्यक्तिले पुजारीलाई उक्त जानकारी गरायो ।
त्यसपछि पुजारीले भने, ‘यस व्यक्तिको एउटा औँला काटिएको रहेछ अर्थात् त्यस व्यक्तिको शरीर अपूर्ण छ । अपूर्ण शरीर भएको यो व्यक्ति बलिमा चढ्न अयोग्य छ ।’
पूजारीले राजालाई बलिमा नचढाउने घोषणा गरेपछि राजा अत्यन्तै खुसी भए । राजासँग माफी मागियो र उनलाई पहिलेको ठाउँमा ससम्मान लगेर छाडियो ।
राजाले आफ्नो मन्त्रीले भनेको कुरा सम्झे । आफ्नो औँला राम्रैका लागि काटिएको उनलाई लाग्यो र मन्त्री भेट्न उनी जङ्गलबाट राजधानी फर्केर सिधै कारागारमा पुगेर उनले आफ्ना मन्त्रीलाई भने, ‘हे मन्त्री ! मलाई क्षमा गरिदेऊ । तिमीले भनेको वचन सुनेर मैले तिमीलाई सजाय दिएँ, जुन ठूलो गल्ती थियो ।’
राजाले आफूलाई बलिमा चढाउन मन्दिर लगिएको र काटिएको औंलाले आफूलाई जोगाएको सारा वृत्तान्त मन्त्रीलाई सुनाए । मन्त्रीलाई सजाय दिएर आफूले गल्ती गरेको कुरा पनि भने ।
राजाको कुरा सुनेर मन्त्री हाँसे र भने, ‘सरकार ! हजुरले मलाई थुनेर कुनै गल्ती गर्नुभएन । यो त भगवान्को लीला हो । भगवान् जे गर्छन् राम्रोका लागि गर्छन् ।’
मन्त्रीले यति भनेपछि राजाले भने, ठिक छ मेरो औँला काटिएकाले मैले बलिमा चढ्नु परेन र बाँच्न पाएँ, यो त ठिकै भयो तर तिमी त अनाहकमा जेल जानुपर्यो । त्यसका लागि म धेरै दुःखी छु । मलाई माफ गर ।
होइन सरकार मेरा लागि पनि राम्रै भएको छ । यदि हजुरले मलाई नथुनिबक्सेको भए म पनि हजुरसँगै सिकार गर्ने क्रममा मृगको पछि लाग्थेँ । ती मानिसहरूले मलाई पनि बाँधेर लैजान्थे । मेरो शरीर पूर्ण भएकाले त्यहाँ मेरो बलि दिइने थियो ।
्
त्यसैले हजुरले मलाई यहाँ थुनेर त मेरो ज्यान पो जोगियो त ! मन्त्रीको कुरा सुनेर राजा खुसी भए । उनले मन्त्रीलाई ससम्मान मुक्त गरे र उनको पद फिर्ता गरिदिए । त्यसैले भनिन्छ नि ‘जे हुन्छ राम्रैका लागि हुन्छ ।’
प्रतिक्रिया