नवदुर्गामा मौलाकालिका पुगे हालसम्मकै धेरै भक्तजन | Khabarhub Khabarhub

नवदुर्गामा मौलाकालिका पुगे हालसम्मकै धेरै भक्तजन


११ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

चितवन– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा अवस्थित मौलाकालिका मन्दिरमा यस वर्षको नवदुर्गामा पहिलेका वर्षहरूभन्दा धेरै भक्तजन पुगेका छन् । मन्दिर व्यवस्थापन समितिका अनुसार यस वर्ष पहिलेको भन्दा भक्तजनको ठूलो सङ्ख्यामा भीड लागेको हो ।

दसैँको नवदुर्गा सुरु भएदेखि मौलाकालिका दर्शन गर्न जाने क्रम बढेको हो । पहिले गैँडाकोटबाट माथि मन्दिरसम्म हिँडेर जानुपर्नेमा अहिले मन्दिरसम्म पुग्नका लागि केबलकार निर्माण भएपछि सहज भएको हो । 

अघिल्ला वर्षहरूमा मन्दिरमा बिहानको समयमा मात्र भक्तजन जाने गरेको भए पनि यस वर्ष साँझसम्म नै गएका थिए । ज्येष्ठ नागरिक, अपाङ्गता भएका एवं अशक्तसमेत केबलकार चढेर मन्दिर पुग्ने गरेका छन् । 

चितवनमा दिउँसोको गर्मी समयमा उकालो हिँड्न कठिन हुने भएकाले बिहान मात्र मन्दिरमा भीड हुने गरेकोमा अहिले साँझसम्म नै भक्तजन जाने गरेको पाइएको छ ।

धार्मिक सेवा समिति मौलाकालिकाका अध्यक्ष शालिग्राम सापकोटाका अनुसार यस वर्ष नवदुर्गा लागेसँगै भक्तजनको सङ्ख्या बढेको छ । यस वर्ष नवदुर्गा लागेपछि र त्यसअघि पनि गत वर्षहरूका तुलनामा झण्डै ३० प्रतिशत भक्तजन बढेको उनको भनाइ छ । 

उनले पहिले पहिले हरेक वर्ष १० प्रतिशतको हाराहारी दर्शनार्थी बढ्ने गरेकामा यस वर्ष केबलकार सेवा उपलब्ध भएसँगै थप २० प्रतिशत भक्तजन बढेको बताए ।

फूलपाती, अष्टमी र नवमीमा मात्र २५ हजार भक्तजन मन्दिर पुगेका उनको अनुमान छ । यसमध्ये सबैभन्दा बढी फूलपातीका दिन नौ हजारको हाराहारीमा भक्तजन त्यहाँ पुगेको उनले बताए । उनले भने, ‘केबलकार बनेपछि सहजताका कारण भक्तजनको सङ्ख्या पनि बढेको हो ।’

कार्यालय बन्द भएपछिको पहिलो दिन भएकाले फूलपातीका दिन भक्तजनको निकै भीड थियो । उनले आज कोजाग्रत पूर्णिमाका दिन पनि भक्तजनको निकै भीड लाग्ने अनुमान गरिएको बताए । यहाँ हालै सञ्चालनमा ल्याइएको केबलकार र अरु दुईवटा बाटोबाट भक्तजन मन्दिर पुग्ने गर्दछन् । तर पछिल्लो समयमा केबलकार चढेर मन्दिर जानेको सङ्ख्या धेरै छ ।

बिदाका दिन र पर्व विशेषमा भने भक्तजनको सङ्ख्या बढ्ने गर्दछ । उनले भने, ‘बिहान ११ बजेपछि आउने प्रायः भक्तजन केबलकारकै कारण आएका हुन् ।’ दिउँसोको समयमा गर्मी हुने भएकाले पैदल भक्तजन कम हुने गर्दछन् । बिहानीको समयमा केबलकारसँगै पैदलै भक्तजन मन्दिर पुग्ने गर्दछन् ।

मौलाकालिका केबलकार लिमिटेडका स्टेसन म्यानेजर सुरज पौडेलका अनुसार वैशाख महिनामा २५ हजार व्यक्ति केबलकार चढेर मन्दिर पुगेका थिए । यो सङ्ख्या जेठमा २६ हजार थियो भने असार र साउनमा केही घटेको थियो ।

अहिलेको मन्दिर विसं २०५३ सालमा बनेको भए पनि मन्दिरको इतिहास भने १५७५ साल देखिकै छ । पाँच सय वर्ष पहिले पाल्पा राज्यको सैनिक टुकडीले मौला राखेर शक्तिपीठको पूजा गर्ने भएकाले मन्दिरको नाम मौलाकालिका राखिएको किंवदन्ती छ । करिब २० वर्षयता मात्रै मन्दिरमा भौतिक संरचनाको विकास गरेर भक्तजन भित्र्याउन थालिएको हो ।

मौलाकालिका शक्तिपीठको दर्शन र पूजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । यही आस्थाका कारण नेपालका विभिन्न जिल्लाबाट पूजाआजाका लागि भक्तजन यहाँ आउने गरेका छन् । 

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ८ : ३७ बजे

नायक अनमोल केसीको आत्मसमीक्षा : मेरो प्रतिस्पर्धा भुवन केसीसँग हो

काठमाडौं – अनमोल केसी नेपाली फिल्मका सफल र महँगा नायकमध्ये

आजका समाचार : संसद्‌ बैठक स्थगितदेखि कोशीमा सरकार विरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

कांग्रेसले निरन्तर सदन अवरोध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित नेपाली

बैतडीको पाटनमा भारतको सहयोगमा बन्न लागेको विद्यालय भवन शिलान्यास

बैतडी- बैतडीको पाटन नगरपालिकामा भारत सरकारको आर्थिक सहयोगमा विद्यालय भवनको

डा. भगवान कोइरालाको निर्माणाधीन बाल अस्पताललाई मीनबहादुरले ४१ करोड दिने

काठमाडौं- भाटभटेनी सुपरमार्केटका अध्यक्ष एवम् प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले डा.

कमल थापाले पार्टीका दुईवटा विभागमा गरे मनोनयन

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम दुईवटा